तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

गलकोट । सगरमाथा आरोहणको कीर्तिमान सहजरूपमा सम्भव छैन । सहज हुँदो हो त सगरमाथा शिखर आरोहणको त्यति महत्व पनि हुने थिएन होला । निकै कम मानिसले ठूलो साहस र दृढताका साथ सगरमाथा चढेर रेकर्ड कायम गरेको इतिहासका बीच बागलुङका एक दृष्टिविहीन (न्यून दृष्टि भएका व्यक्ति) युवा अमिट केसीले पनि सगरमाथा आरोहणको इतिहास रच्ने प्रयास गर्नुभएको छ ।केसी सगरमाथा आरोहणको अहिले अन्तिम तयारीमा हुनुहुन्छ । 

केसीको प्रयास सार्थक भए विश्वको दोस्रो र नेपालको पहिलो दृष्टिविहीन सगरमाथा आरोहणको कीर्तिमानी रहनेछ । दृष्टिविहीन मानिस सगरमाथा चढ्नु अकल्पनीय र असम्भव प्रायः ठान्ने गरिए पनि केसीले केही वर्षअघि नै सगरमाथा चढ्ने साहसिक निर्णय गरेर पहिलो प्रयास गरिसक्नुभएको छ । 

बागलुङ जिल्लाको जैमिनी नगरपालिका–४ सर्कुवाका केसी जन्मजात दृष्टिविहीन हुनुहुन्छ । उहाँको सगरमाथा चढ्ने योजना आठ वर्षदेखिको हो ।सन् २०१७ मा पहिलोपटक सगरमाथाको अन्तिम आधार शिविर आठ हजार मिटरमाथि पुगेर मौसम खराबीका कारण फर्कनुपरेको केसीले बताउनुभयो । 

सगरमाथाको कठिन यात्रा मैले बुझिसकेको छु, त्यतिबेला नै सफल भइसक्ने थिएँ, मौसमका कारण फर्किनुप¥यो, आर्थिकरूपमा समेत समस्या थियो”, केसीले भन्नुभयो, “त्यसलगत्तै सरकारले दृष्टिविहीनलाई सगरमाथा आरोहणका लागि प्रतिबन्ध ग¥यो, दुई वर्ष सगरमाथा चढ्न पाउनुपर्छ भनेर सङ्घीय बेञ्चमा लडेर जिते, अब सगरमाथा चढ्ने अन्तिम तयारीमा छु ।” केसीले एक हप्ताभित्रै केही आर्थिक सहयोग जुटाएर सगरमाथा आरोहणमा लाग्ने बताउनुभयो ।उहाँ अहिले काठमाडौँमा सगरमाथा चढ्ने अन्तिम तयारी र आर्थिक सहयोग जुटाउन सक्रिय हुनुहुन्छ ।

“नेपालको पहिलो दृष्टिविहीन सगरमाथा आरोहण गर्ने लक्ष्य लिएको छु, आठ वर्षअघिदेखिको योजना अब साकार हुनेमा आशावादी छु, केही आर्थिक सहयोगसमेत जुटिसकेको छ”, उहाँले भन्नुभयो, “यसपटक नेपालको झण्डा र नेपाल उद्योग वाणिज्य महासङ्घको झण्डा सगरमाथामा फहराउने गरी तयारी थालेको छु ।”

यसरी आयो सगरमाथा चढ्ने योजना

रक क्लाइम्बिङमा रुचि रहेका अमिट केसी आठ वर्षअघि पोखरामा पुगेका बेला एक विदेशी नागरिकसँगको भेटपछि दृष्टिविहीनसमेत सगरमाथा चढ्न सक्छन् भन्ने मनमा जागेकाले निरन्तर अभियान चलाउँदै आएको उहाँले बताउनुभयो । 

विश्वको पहिलो दृष्टिविहीन अमेरिकाका एरिकले सन् २००१ मे २५ मा सगरमाथा चढेर विश्व कीर्तिमान राखिसकेका कराण आफू नेपालको पहिलो र विश्वको दोस्रो कीर्तिमान राख्ने प्रयासमा रहेको उहाँको भनाइ छ ।बागलुङ उद्योग वाणिज्य सङ्घको ५७औँ वार्षिक साधारणसभाको निर्णयानुसार नेपाल उद्योग वाणिज्य महासङ्घको झण्डा सगरमाथा पठाउने हस्तान्तरण गरिसकेको र केसीलाई सबै जिल्ला उद्योग वाणिज्य सङ्घलाई आर्थिक सहयोग गर्न आग्रह गरेको बागलुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष युवराज राजभण्डारीले जानकारी दिनुभयो ।

यसरी जुट्दै छ आर्थिक सहयोग

सगरमाथा चढ्न साहस र आत्मविश्वासले मात्रै हुँदैन । करिब एक करोड खर्चसमेत आवश्यक हुन्छ । अहिले केसी काठमाडौँमा आर्थिक सङ्कलन अभियानमा लागिरहेको र अझै आर्थिक समस्या देखिएको उहाँले बताउनुभयो । 

गण्डकी प्रदेश सरकार, गृहजिल्लाको नगरपालिकालगायतबाट केही सहयोग भए पनि अझै आर्थिक अभाव भइरहेको र सबैले सहयोग गरेमा आफूले नेपालको नयाँ कीर्तिमान कायम राख्न सक्ने विश्वास उहाँको छ ।अहिलेसम्म केसीलाई गण्डकी प्रदेश सरकारले पाँच लाख, जैमिनी नगरपालिकाले साढे दुई लाख, सिटी एक्प्रेसले एक लाख, जिएमइले रु ५० हजार, एनआरएनएका उपाध्यक्ष कुल आचार्यले एक लाख, अष्ट्रेलियाबाट गोविन्द सापकोटाले रु ५० हजार रकम सहयोग गरिसक्नुभएको केसीले जानकारी दिनुभयो । 

केसीलाई सगरमाथा चढ्न तालिमपश्चात रु ५० लाख खर्च लाग्ने अनुमान छ । विश्व अमेरिकी दृष्टिविहीन नागरिक एरिक विश्वकै पहिलो सगरमाथा आरोही भएपछि केसीलाई सगरमाथा चढ्ने प्रेरणा मिलेको थियो । पैतीस वर्षीय केसीले नेपालको नयाँ कीर्तिमानी राख्न सबैले सहयोग गर्न आग्रह गर्नुभयो । 

बागलुङकै सरकारी विद्यालयका शिक्षकसमेत रहेका केसी सगरमाथा आरोहण गर्ने अभियानकै कारण जागिरबाट निकालिएको बताउनुभयो ।अमेरिकीहरू यहाँ आएर सगरमाथा चढेर गइसके, के म आफ्नै देशको सगरमाथा चढ्न सक्दिनँ ? यही प्रश्नबाट घेरिएर सगरमाथाको चुचुरो चुम्ने सपना देख्न थाले”, केसीले भन्नुभयो । उहाँले विसं २०७२ मा सोलुखुम्बुस्थित छ हजार १८९ मिटरको ‘आइसल्याण्ड पिक’ र त्यही वर्ष छ हजार ४७६ मिटरको ‘मेरा पिक’समेत चढिसक्नुभएको छ । 

नेपाल क्लाइम्बिङ एशोसिएशनबाट सगरमाथा चढ्ने तालिम लिनुभएका केसीले सन् २०१७ मा सगरमाथा चुमिसक्ने भए पनि प्राविधिक समस्याका कारण फर्किनुपरेको बताउनुभयो । त्यसबेला सगरमाथा चुचुरोमा पुग्ने सपना भने अधुरै भए पनि यसपटक भने पूरा हुनेमा पूर्ण विश्वस्त रहेको उहाँले बताउनुभयो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …