तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

खुमाकान्त अर्याल वालिङ, स्याङ्जा

रातभरी जाग्राम वसेर विवाह गरिने ताक, भोलीपल्ट विहान डोली दिनेवालामा रातो फेटा गुतेका कन्याका वुवाले दुलाहा र सम्धीलाई दुई हात जोरेर मलीनो अनुहार गराउँदै, ज्वाइ राजा तथा सम्धी ज्यु ! धेरै केही दिन त सकिएन केवल नानी र पानी मात्र दिएका छौ, छोरीलाई जतन र इज्जत संग पालिदिनुहोला छोरी लाई मारे पाप, पाले पुण्य हुनेछ हजुर भन्दै विदाइ गरिन्थ्यो ।

गत मुङ्सिर ४ गते वुँथमा मतदान गर्न जाँदा ठ्याक्कै त्यही सम्वेदन शव्दहरूको स्मरण भयो जुन शव्दहरू डोली  दिदा दुलहीका वावुले भन्ने गर्थे, मारे पाप पाले पुण्य । वुँथमा गइ निर्वाचन संहिता अनुसार मतपत्रमा गोप्य छाप लगाउँदै पालै संग मतपेटिकामा खन्याउनु पनि डोली अनमाएर ज्वाँइका हातमा छोरी सुम्पनु जत्तिकै हुने गर्दछ । 

छोरीलाइ सकेसम्म राम्रो केटा वुझेरै दिदै त छौ तै पनि खाएजिए हुन्छ हुदैन र हेलाँ पो गर्छन कि भनेर वावु आमा चिन्तित भएजस्तै आजकल भने मतदाताहरू आफ्नो भोटको  दुरूपयोग त हुदैन भन्नेमा पनि आशंका गर्न लागेका छन्। केटा पक्षमा वुहारी कस्ति पर्ने हुन भनेर वरू धेरै चिन्ता नगरेजस्तै भोट पाउने उम्मेदवारले त्यति धेरै चिन्तित भएको पाइदैन जति मतदाता चिन्तित हुन्छन् । दाता त्यसलाइ भनिन्छ जसले आफ्नो प्यारो र आत्मीय चीज अरूलाइ विश्वास गरेर वुझाउछ। दानले यो श्रृष्टि परंपरा कायम गर्न अझ वढी मानव कार्य सम्पन्न गर्न, उपकारको शिलशिला कायम गर्न योगदान दिन्छ, त्यसै भएर त कन्या दिनुलाइ महादानको दर्जामा राखिन्छ । 

बुहारीको गूण, सीप र दीर्घ सोचले घरलाई स्वर्ग जस्तै वनाएको हुन्छ र त्यस्तो घरमा हुर्कने वालकले पनि ती गूण र संस्कारलाई ग्रहण गरेको हुन्छ त्यसैले त नारीलाई घरकि लक्ष्मी भनिन्छ भने ती कन्याका वावुलाइ दाता भनिन्छ । त्यसैले कन्या दिनेलाइ, घर जग्गा दिनेलाइ, असल सल्लाह र हौसला दिनेलाइ पनि दाताकै श्रेणीमा राखिन्छ । यसै गरि लोकतान्त्रिक राज्य प्रणालीमा राज्य सन्चालन तथा आफ्नो शासक चुन्नको लागि दिइने मतलाइ पनि दान भनिन्छ र मत दिने नागरिकलाइ मत-दाता भनिन्छ,किन भने राज्य निर्माणमा उनको सहभागीता हुन्छ । जो संग खुला र ठूलो मन हुन्छ उसैले मात्र दान गर्न सक्छ र यो दानले उसको तथा अरूको भलो हुने हुदा पनि दातालाइ पुण्य हुने विश्वास गरिन्छ र उनीहरूलाइ दाताका रूपमा सम्मानित हिसावले हेरिन्छ । कन्या दिने वावु, जग्गा दिने वाला र मत दिनेहरूलाइ इस्वरको समान मानिन्छ यसैले त जनतालार्इ जनार्दन वा भगवान भन्ने गरिन्छ ।

कन्या दिने वुवा आमाले अघिल्लो दिन देखि सुद्द भई उचित लग्न समयमा विवाह गरि दिए जस्तै मत दाताले पनि भोली भोट हाल्न जाने हो भने पछि आज देखि नै भोलीका कामहरू छोट्याएर ,भोली पल्ट मतदास्थल सम्म हिडेर गइ,उभिएर पालो पाएपछि मात्र आफ्नो  मतपत्रमा छापलगाएर खसाइन्छ । मतदाताको त्यस दिनको काम प्रभावित हुनछ । एउटा वावुले जस्तो पवित्र भाव राखेर आफ्नी प्यारी छोरी वरका हातमा वुझाउँछ, त्यसैगरि एक मतदाताले आफुलाई सुखदुःखमा हेर्छ, न्याय अन्यायमा खुलेर निर्णय  दिन्छ  आफ्नो गाउँठाउँका वाटोघाटा, पानि पंधेरो,अस्पताल स्कुल वनाइदिन्छ, आफ्ना  छोराछोरीलाई  रोजगारी,उध्योग व्यवसायमा लगाउन सघाउँछन र देश र गाउँका लागि छुट्टिएका धुकुडी न्याय पुर्वक वितरण गरि जतन संग खर्चन गर्नेछन भनेर शुभ भावना सहित आफ्नो  आत देखि भावुक भएर मनपरेको उम्मेदवार र चिन्हमा  ड्याम्म स्वस्तिक छाप लगाउँछन र वाकसमा खसाइ दिन्छन ।

अधिल्लो पटक मत दिएको दल वा उम्मेदवार संगको अपेक्षा पुरा नभएको भए र आफ्नो मतको दुरूपयोग भएको थाहा पाएका रहेछन भने त्यसका लागि सजायस्वरूप उसको प्रतिद्वन्दीलाइ मत दिएर चित्त वुझाउने गर्दछन्। त्यसै भएर ख्याल गर्नु भएको होला, मत खसाली सकेपछि हरेक मतदाताले त्यो वाकसलाइ एकछिन टोलाएर पनि हेर्ने गर्दछन र मनमनै यो वाकसको रक्षा होस भन्ने कामना गर्दछन । ती वाकसमा भएका मतको परिणाम नआउन्जेल मनले खोज्ने वुझ्ने गरिरहेका हुन्छन । त्यसरी सदासय पुर्वक नेतालाई दिइएका मतको कदर गर्न नसकिएर नै होला आज देशभरि राजनीतिका प्रति यति धेरै वितृष्णा देखिएको छ तैपनि समस्याको समाधान मतदानबाट नै हुनसक्ने झिनो आसा अहिले पनि जनतामा रहेको छ र न मानिसहरू मतदानमा सहभागि भएको छन् । 

पुराना दलबाट आफ्न मतको इज्जत नगरिएको हुँदा विकल्पको रूपमा नयाँ दल र यसका उम्मेदवारहरू चुनावी मैदानमा अनुमोदित भए यो पटक । यो परिणाबाट पाठ सिक्नु  पर्नेमा दलमा अन्तर्घातको आरोप लगाएर आफ्नो योग्यता र छवि त ठीक थियो भनेर पुष्ट्याइ गर्न अझै तम्सिएको देखिन्छ, योत झन मुर्ख कुरा हो । दल र उम्मेदवारहरूले आफ्ना   कमजोरीलाइ स्वीकार गर्न सके पो सुधार हुनेथियो, जव अरूको गल्ती देखाइरहेर चोखो देखिन खोज्छ तव फेरी पनि कहिल्यै त्यो दल र उम्मेदवार उँभो लाग्न सक्दैन । अहिलेको मत परिणाम पछि यस्तै आरोप प्रत्यारेापको श्रृखला सवै दलमा देखिदैछ यो शुभ संकेत होइन । यसै गरि यो चुनावमा कसैको एकल वहुमत पुग्न सक्ने अवस्था नभएकोले खास अहिलेको मतदाताको अपेक्षा र राष्ट्रिय मुद्दा निक्यौल गरि त्यस आधारमा दलहरू मिलेर सरकार निर्माण गर्ने छलफलको सट्टा जसरिपनि सत्तामा मात्र पुग्ने उदेश्यले अस्वाभाविक चलखेल सुरू हुन थालिसकेको देख्दा फेरी मतदाताको मनमा चसक्क हुन थालिसकेको छ ।

खवरदार , विजयी प्रतिनिधि सभाका सदस्य तथा प्रदेश सभाका साँसद ज्युहरू तपाइले पाउनु भएको पद तपाको पेवा होइन यो त जनताले दिएको नाशो हो । तपाइ वस्ने कुर्ची तपाइले किनेको होइन, जनताको काम गर्न राज्यले तपाइलाइ दिएको हो । तपाइलाइ त्यसै कज्याउने पनि होइन जनताको काम गरेवापत मान इज्जतका साथमा सवै सुविधा र खर्च पनि दिएको छ । त्यो भन्दा पनि वढी त तपाइलाइ सवै भन्दा योग्य र सक्षम पात्र ठानेर, तपाइले लोभ नगरि, पक्षपात नगरि सवैको भलो गर्न सक्नुहुन्छ भन्ठानेर घरको काम छाडी हार्दिक शुभकामना सहित भोट दिनु भएको छ । यदि तपाइले यो सवै कुरा विर्सेर आफ्नो स्वार्थमा, आफ्नो मात्र वन्दोवस्तिमा, भेदभाव गरेर र लोभ गरेको सुन्नु पर्यो भने मतदाता मर्माहत हुने छन् । मनमनै पश्चाताप गर्दछन,निरास भएर तपाइलाइ गाली दिने गर्दछन, पाप लाग्ने छ । 

यसर्थ माननीय साँसद ज्यू हरू ! हरेक दिनको सुरूवातमा तपाइका दाताहरू जसले तपाइलाइ पवित्र मत दिएर यो ठाउँमा पुर्यायो उनीहरूका आकाँक्षाहरू उनीहरूका अनुहारलार्इ संझने गर्नु होस । कुर्ची देख्ने वित्तिकै यो कुर्ची जनताको नासो हो भन्ने होस जतिवेला पनि सम्झिइरहनु होस, उनीहरूकै लागि दत्त चित्त रहनुहोस र दाताहरूको सम्मान गर्नुहोस, यसैमा यहाँको परिवारको, आम मतदाताको र देशको उन्नति संभव छ यसैमा सवैको कल्याण छ र तपाइलाइ पनि पुण्य मिल्ने छ,त्यसैले यहाँ पनि मारे पाप, पाले पुण्य भन्ने उक्ति सान्दर्भिक रहेको छ । सवै प्रतिनिधीहरूमा पुण्य गर्ने इच्छा वनिरहोस हार्दिक शुभकामना । 

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …

प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिन्छ : अध्यक्ष दाहाल

चितवन। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिने बताउनुभएको छ । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको …

प्रेस स्वतन्त्रता सेनानी झा पुरस्कृत

सप्तरी। सप्तरीको राजविराजमा आज आयोजित एक कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झालाई लक्ष्मी–मुक्ति स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ सप्तरीमा आयोजित …