तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं । धार्मिक सांस्कृतिक र ऐतिहासिक महत्व बोकेको टोखामा गाईजात्रा पर्व धुमधामका साथ मनाइएको छ । 

नेवार समुदायको झण्डै १० हजार जनसङ्ख्या रहेको टोखामा वर्षभर दिवङ्गत भएका ५८ जनाको सम्झना गरी आज गाईजात्रा मनाइएको हो । टोखा नगरपालिकाको–२ र ३ मा नेवार समुदायका झण्डै दुई हजार घरधुरी रहेका वडा नं २ का वडाध्यक्ष दीपकराज जोशीले जानकारी दिनुभयो । 

टोखामा लिच्छिवीकालदेखि नेवार बस्ती बसेको इतिहास छ । टोखाबाहेक काठमाडौँको असन, इन्द्रचोक, ठमेल, मनमैजु, नैकाप, भक्तपुर र ललितपुरका विभिन्न स्थानमा पनि आज गाईजात्रा पर्व मनाइएको छ । गाईजात्रा पर्वमा दिवङ्गत आफन्तको परिवारको दुःख भुलाउनका साथै मृतकलाई स्वर्गमा जान सहज बनाउने धार्मिक विश्वास रहेको छ । टोखामा गाईजात्रा पर्वकै अवसरमा मृतक परिवारको दुःख भुलाउनका लागि ‘ख्याली’ समेत निकाल्ने गरिन्छ ।   

उक्त पर्वमा मान्छे मरेको घरबाट अनिवार्य रुपमा चार जनाले गाईजात्रा निकाल्नुपर्ने हुन्छ । चार जनामध्ये दुई जना गाई, एक जना गोठालो र अर्को एक जना ब्रतबन्ध नगरेको युवा वा गुफा नपसेकी युवतीलाई सिंगारेर नगरपरिक्रमा गर्ने गरिन्छ । चार जना नभएको परिवारले आफन्तलाई बोलाएर भएपनि चार जना अनिवार्य पु¥याउनुपर्ने हुन्छ । 

गाईजात्रामा धिमेबाजा बजाउने गरिन्छ । दुःखको समयमा बजाइने उक्त बाजा गाईजात्राको दिनमा मात्र सिक्ने, सिकाउने र बजाउने गरिन्छ । टोखाको तलेजु भगवानको मन्दिर मृतक परिवारले घुमेर गाईजात्रा निकाल्ने गरिन्छ । गाईजात्रा मनाएपछि बेलुका स्वयम्भूनाथ र टोखाको गणेश मन्दिरमा बत्ती बाल्ने प्रचलन रहेको टोखा नेवाःगुठीका अध्यक्ष रमेश नापित बताउनुहुन्छ । 

गाईजात्रामा सामेल हुने मृतक परिवारलाई मृतक परिवारकै सदस्यले पुरी, खिर, फलफूल र नगद दान गर्ने प्रचलन रहेको टोखा भवानी गुठीका मूल नाइके हेमराज श्रेष्ठले जानकारी दिनुभयो । उक्त दान बेलुका घरमा लगेर घर परिवार र छरछिमेकलाई बाँडेर खाने प्रचलन रहेको छ । मृतक परिवारले एक वर्षका लागि ३६५ पोका बनाएर दान गर्ने प्रचलन रहेको छ । 

टोखामा सरस्वती धिमे खलः र सपनतीर्थ धिमे खलःले प्रत्येक वर्ष गाईजात्रा निकाल्ने गरेको टोखा नगरपालिका–२ का वडा सदस्य एवं नेपाली कांग्रेस टोखाका नेता हेराकाजी महर्जन बताउनुहुन्छ । गाईजात्राको अवसरमा बजाइने धिमेबाजा बाहेक टोखामा मान्छे मरेको बेलामा बजाइने कसाई बाजा, कृष्ण जन्माष्टमीमा बजाइने धाँ बाजा, ठूलो एकादशीमा बजाइने खीँ बाजा टोखाका प्रमुख बाजा हुन् । 

ऐतिहासिक एवं धार्मिक महत्व बोकेको टोखामा तलेजु भगवान्, कृष्णमन्दिर, गणेश मन्दिर, सपनतीर्थ मन्दिरलगायतका धार्मिक तीर्थस्थल रहेका छन् । रासस                                                               

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …