तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

मनाङ। महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाइँदैछ । शिवालय क्षेत्र आज भरिभराउ छन् । विगतमा कोभिड–१९ को कहरका कारण खुलारूपमा मठमन्दिरमा पूजाअर्चना गर्न सकिएको थिएन तर यस वर्ष कोभिड सङ्क्रमण केही न्यूनीकरण भएकाले शिवालयमा पुगेर पूजाआराधना गर्ने वातावरण बनेको छ ।

पशुपतिनाथ मन्दिरपछिको ठूलो मानिने लमजुङको मध्यनेपाल नगरपालिका–करापुटारस्थित ऐतिहासिक एवं पुरातात्विक महत्व इशानेश्वर महादेव मन्दिरमा दर्शनार्थीको घुँइचो लागेको छ । मन्दिरमा हिन्दू धर्मावलम्बीको पूजाआराधनाका लागि भीड लागेको छ । आज बिहान ४ बजेदेखि फूलमाला, बेलपत्र, धतुरो, मिठाई तथा फलफूसहित रङ्गीचङ्गी लुगा लगाई महिला, पुरुष, बालबालिका, ज्येष्ठ नागरिक शिव मन्दिरमा पूजाआराधनाका लागि लामबद्ध रहेको इशानेश्वर महादेव मन्दिर क्षेत्र विकास समितिका अध्यक्ष निर्मल सोतीले जानकारी दिनुभयो । उहाँका अनुसार रात्रिकालमा ठाडो बत्ती बाल्ने पनि उत्तिकै रहेका छन् ।

श्रीमान्श्रीमतीसँगै बसेर ठाडो बत्ती बालेमा सन्तान नहुनेलाई सन्तान प्राप्त हुने धार्मिक विश्वास रहेकोले ठाडो बत्ती बाल्न पुग्ने गरेका छन् । शिवरात्रिमा तोलादान, सामूहिक व्रतबन्ध, पूजाआराधना तथा भजनकीर्तन, बालननाच, धुनीलगायतका विभिन्न कार्य हुने गर्दछ । कृषि औजार, प्राङ्गारिक कृषिउपज बिक्री वितरण हुने गर्दछ । पूजापाठका लागि लमजुङलगायत तनहुँ, कास्की, गोर्खा तथा प्रदेशका धेरै जिल्लासहित ग्रामीण क्षेत्रका धर्मावलम्बी एवं देशविदेशबाट सो मन्दिरमा पूजाआराधानाका लागि दर्शनार्थी आउने गर्दछन् ।

त्यस्तै इशानेश्वर महादेव मन्दिरमा हजारौँको सङ्ख्यामा भक्तजन लाइनमा बसेर पूजाआराधना गरिरहेका छन् । यहाँ पूजाआराधना गरे मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहेको स्थानीयवासी बताउँछन् । वैदिक सनातन हिन्दू धर्मावलम्बी आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा रहेको शिव पुराणलगायत ग्रन्थमा उल्लेखित छ ।

प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन यो पर्व मनाइने गरिन्छ । परब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरूप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय वचन रहेको विश्वास छ ।

फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ । आज भक्तजनले शुद्ध भई शिवमन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् ।

यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ हुने धार्मिक विश्वास छ । लमजुङका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखको टोली सुरक्षा व्यवस्थापनका लागि खटिएको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …