तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

तीर्थराज भट्टराई

म पारिवारिक कामले जेठ ३, गते दिक्तेलबाट काठमाडौं गएको थिएँ । काठमाडौं पुगेको एक हप्ता वित्दा – नवित्दै  कोरोना भाइरसको संक्रमणले आफ्नो नियन्त्रणमा लिई सकेको रहेछ । श्रीमती , दुई छोरा सहित म महाराजगन्ज स्थित डेरामा होम आइसोलेसनमा बसेको थिएँ ।

जेठ २५, गते अपरान्ह नेपाली काङ्ग्रेस खोटाङका महाधिवेशन प्रतिनिधि बौद्धिक व्यक्तित्व डाक्टर राजकुमार राईले फोन गर्नुभयो । हाम्रो स्वास्थ्य अवस्था बुझिसकेपछि  नेपाली काङ्ग्रेस खोटाङका पूर्व सभापति तथा वरिष्ठ साहित्यकार विष्णुकुमार राईका पिताजी अस्वस्थ हुनुभएकोले फोन गर्न सुझाउनु भयो ।

खोटाङ  जिल्लामा निष्ठावान र निष्कलंकित नेताको रुपमा पहिचान बनाउनु भएकोछ विष्णुकुमार राईले । विकास निर्माण , पार्टी भित्र बाहिरका हरेक विषयमा नियमित सम्पर्क भई रहन्छ उहाँसँग । पारिवारिक , व्यवहारिक र मनको  दु:ख-सुखको भारि विसाउने ठाउँ भएकोले पनि होला , मैले  मात्र होइन धेरै  साथीहरूले उहाँलाई राजनीतिक तथा पारिवारिक अविभावक मान्ने गर्नु भएको छ । कतिपय सम्बन्ध स्वार्थ र लेनदेनको हुन्छ तर हाम्रो सम्बन्ध निस्वार्थ भावले उत्प्रेरित भएको आस्था, निष्ठा र आदर्शको छ ।

कोरोना संक्रमणले ग्रसित भएर  अत्यधिक टाउको दुखाइले    टेलिफोनको घण्टी आएको आवाज सुन्दा पनि रिस उठ्ने र चिढ्- चिढाहट जस्तो हुुने गरेकोले प्रायःजसो मोबाइल अफ गरेर गुमनाम जस्तो भएको थिएँ एक हप्ता जति । मोबाइल सेटमा आएको समस्याले गर्दा सामाजिक सञ्जालमा जोडिनु भएका साथीहरू सँग समेत डेढ महिनादेखि हराएको छु । 

डाक्टर राजकुमार राईले सुझाउनु भए अनुसार मैले विष्णु दाईलाई फोन गरेर बुवाको स्वास्थ्य अवस्था बुझेँ । गए रातिदेखि थोरै असहजता जस्तो भएको छ तर जिल्ला अस्पताल दिक्तेलका अनुभवी तथा अत्यन्तै सहयोगी  स्वास्थ्यकर्मी भाइ सुनिल दाहालले घरमै आएर औषधी दिएपछि अहिले स्वास्थ अवस्था ठीकै रहेको बताउनुभयो ।

८९, वर्षिय वृद्ध अवस्थाका पिताजीको स्वास्थ्य नाजुक हुँदै गएकोले होला विष्णु दाइको स्वरमा  मलिनता , निराशाजनक र असमन्जस्यता पूर्ण  वाक्यांश रहेको महशुस गरेँ मैले । मैले  उहाँसँग टेलिफोनमा  विदा मागेर लगत्तै त्यही  परिवारका सदस्य वरिष्ठ अधिवक्ता नारायणदास राईसँग सम्पर्क गरेँ । उहाँले काकाको स्वास्थ्य अवस्था क्रमिक सुधार हुँदै गएको बताउनुभयो ।  उहाँको कुराबाट मलाई पनि आश्वस्त भएँ म पनि ।

अग्रज प्रजातन्त्र सेनानी डिल्लीप्रसाद काका सँग २०५८ सालदेखि राम्रो सम्बन्ध थियोे मेरो  । भेटमा पार्टीको चिन्ता गरिरहनुहुन्थ्यो । हामीलाई सधैं अनुशासित र कर्तव्य निष्ठ भएर जिम्मेवारी निर्वाह गर्न प्रोत्साहित गर्नुहुन्थ्यो । वि सं. १९८८ पौष १८, गते बुवा कर्णबहादुर र  आमा कृष्णकुमारी राईको कोखबाट १, छोरी र ४, छोरा मध्ये साइलो छोराको रूपमा डिल्लीप्रसाद राईको जन्म भएको थियो । 

२५, गते  साँझ ७, बजे मेरा अनन्य मित्र नेपाली काङ्ग्रेस खोटाङका सचिव ज्ञानेन्द्र जोशीले हाम्रो पार्टीका अग्रज अविभावक डिल्लीप्रसाद काकाको केही समय अगाडि निधन भएको एसएमएसले मलाई मर्माहत बनायो ।  नेपाली जनताको मुक्तिका लागि २००७ सालको जनक्रान्तिमा सहभागी हुनुभएको अग्रज व्यक्तित्वको निधनले पार्टीलाई  अपुरणीय  क्षति पुग्यो नै सँगैमा उहाँसँग भएको ऐतिहासिक  अनुभव , ज्ञान र सिङ्गो इतिहासको अपार भण्डार समेत विलय भयो ।

वर्तमानमा रहेको खोटाङ  जिल्लाको आधा भूगोल  विगतमा साप्सु खोलाले काटेको जति  पूर्व ४, नं. भोजपुर जिल्ला पर्दथ्यो । ००७ सालको जनक्रान्तिमा डाक्टर भूदेव राई, पूर्व क्षेत्रका कमान्डर  क्याप्टेन रामप्रसाद राई , नारदमणि थुलुङ, सहिद देवानसिं राई , वृषबहादुर राई , संग्राम राई , पर्शुराम राई , गुमानसिं राई,लक्ष्मीप्रसाद रेग्मी , तुलसीप्रसाद रेग्मी , जयबहादुर राई , आफ्नै सहोदर जेठा दाजु अशोकचन्द्र राई लगायतसँग सहकर्मी- सहयोद्धाको रूपमा सहभागी हुनुभएको थियो २००७ सालको क्रान्तिमा । त्यो समयमा भोजपुर मुकाम भएकोले भोजपुरे नेतासँग जनक्रान्तिमा सहभागी भएको नाताले मात्रै होइन पारिवारिक रुपमा पनि आउ जाउ र घनिष्ट मित्रता समेत रहेको काका डिल्लीप्रसादका भानिज जर्ण चाम्लिङ बताउनुहुन्छ ।

हलेसी सामुदायिक रेडियो १०२.४ मेघाहर्जबाट प्रत्येक मंगलबार विहान ७, बजेदेखि ८, बजेसम्म र साँझ ६.३० बजेदेखि ७, बजेसम्म प्रसारित हुने ” इतिहासका जिउँदा पात्रहरु ” भन्ने लोकप्रिय कार्यक्रमका लागि मैले अन्तर्वार्ता लिनु अघि अनौपचारिक रूपमा त्यतिबेलाको सबै  घटनाक्रम सुनाउनु भएको थियो । आधा घण्टाको छोटोे समयको  अन्तर्वार्तामा  ती ताकाका विषयलाई संक्षिप्त  रुपमा बोल्नु भएको उहाँको आवाज हलेसी रेडियोको स्टुडियोमा सुरक्षित छ ।

त्यतिबेला उहाँको पुरै परिवार नै राजनीति  मार्फत जनताको मुक्तिका लागि आन्दोलनमा  सक्रिय थियो । उहाँको  सहोदर जेठादाजु त्यो जमानामा  नेपाली काङ्ग्रेसको ठूलो नेता हुनुहुन्थ्यो । माइलादाजु शुभकुमार पञ्चायतकालमा ४ , पटक प्रधानपञ्च हुनुभएको थियो । तर लोकतन्त्रका पहरेदार निष्ठावान नेता डिल्लीप्रसादले भने पञ्चायती व्यवस्थाका विरुद्ध आजीवन शसक्त ढंगले आवाज उठाउनुभयो । 

स्पष्ट वक्ता , हक्की स्वभाव भएको कारणले अन्याय , अत्याचार र भ्रष्टाचारका विरुद्ध अाजीवन लड्नुभयो भने  माइला दाजु प्रधानपञ्चसँग पनि सैद्धान्तिक रुपमा सधैं असहमति राख्नुभयो ।

त्यो जमानामा जनतले पढ्न पाउने अवस्था थिएन तरपनि घरमै पढेर उहाँले आफुलाई साक्षर मात्र होइन निवेदन, फिरादपत्र , कानुनी प्रतिउत्तर  पत्र लगायत लेख्न सक्ने क्षमता भएको व्यक्तिको रुपमा त्यो भेगमा आफ्नु  पहिचान बनाउनुभएको थियोे । 

कालो भादगाउँले टोपी , कुर्ता पाइजामा , स्टिकोट र कपडाको  जुत्ताको भेषभुषामा देखिनु हुने काका डिल्लीप्रसादसँग हमेशा कालो झोला हुन्थ्यो । झोलामा कापीकलम , एउटा टच लाइट , नङ कटर , सलाई लगायतका सामान्य अावश्क सामग्री हमेशा बोक्नुहुन्थ्यो ।

विहान ४, बजेनै उठ्नु हुन्थ्यो। भने केही न केही काम गरिरहने स्वभावको हुनुहुन्थ्यो ।

२०१४ सालको भद्र अबज्ञा आन्दोलन , ०३६ सालको जनमत संग्रह , २०४२ सालको सत्याग्रह र  काठमाडौं चाक्सिबारीमा भएको पार्टीको सम्मेलनमा सक्रिय सहभागी हुनुभयो । प्रजातन्त्र स्थापनाका लागि लगातार  १८,  वर्ष जेल जीवन विताउनु भएका काका धनवर्ण राई  खोटाङ काङ्ग्रेसको सभापति हुँदा काका डिल्लीप्रसाद जिल्ला सदस्य भएर पार्टीको काममा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।

उहाँ आफुले मात्रै सामाजिक काम गर्नु भएन , आफ्ना भाइ-भतिजा र सन्तानलाई समेत सामाजिक काममा लाग्न उत्प्रेरित गर्नुभयो ।

३, श्रीमती जनककुमारी , देउमाया र जयन्तीबाट ३, छोरा विष्णु कुमार , लक्ष्मीकुमार र हेमन तथा १, छोरी यशोदा राईको जन्म भय‍ो । जेठो छोरा विष्णुकुमार राई जिल्ला विकास समिति तथा नेपाली काङ्ग्रेस खोटाङको पूर्व सभापति भई सक्नुभएको छ । नेपाली काङ्ग्रेसको मात्र  होइन  हाल खोटाङमा क्रियाशील राजनीतिक दलको सर्वस्वीकार्य नेताको रुपमा प्रतिस्थापित हुनुभएको छ । 

साहित्यिक फाँटमा खोटाङमा मात्र होइन राष्ट्रिय स्तरमा नै वरिष्ठ साहित्यकारको नाममा चिरपरिचित नाम हो विष्णु आभुषण। आभुषण जस्तो सरल, शालीन र निष्कलंकित छोरो जन्माएर आफ्नु कुल वंशमा मात्र होइन समाजलाई नै ठूलो गुन लगाउनु भएको छ। प्रजातन्त्र सेनानी डिल्लीप्रसाद राईले।  माइला छोरा लक्ष्मीप्रसाद पनि सक्रिय राजनीतिबाट समाज परिवर्तन गराउन दत्तचित्त हुनुहुन्छ ।

कम्युनिस्ट दर्शनबाट मात्रै समाजलाई आत्मनिर्भर र समुन्नत समाज बनाउन सकिन्छ भन्ने मान्यता बोकेर नेकपा माओवादी केन्द्रको जिल्ला सदस्य भई आफ्नो जिम्मेवारी निर्वाह गरिरहनु भएको छ । कान्छा छोरा हेमन पनि बुबा , बाजे , दाजुभाइ र आफन्तको राजनीतिक संस्कारमा समाहित हुँदै सामाजिक क्षेत्रमा आफुलाई अगाडि बढाई रहनु भएको छ । छोरी यशोदामा पनि राजनीतिक चेतनाको दीयो बलि सकेको हुँदा भविष्यमा पुर्खाको संस्कार भन्दा टाढा बस्नु हुने छैन भन्ने विश्वास लिईएको छ ।

२०६९ सालमा नेपाली काङ्ग्रेसका तत्कालीन पार्टी सभापति आदरणीय सुशीला कोईरालाबाट प्रजातन्त्र सेनानीको रुपमा सम्मानित काका डिल्ली प्रसादले नेपाली काङ्ग्रेस मार्फत समाज परिवर्तनको लागि पु-याउनु भएको योगदानको उच्च सम्मान गर्दै आत्माको चीर शान्तिको कामना गर्दछु साथै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।

आफु भन्दा अग्रजको सम्मान गर्ने संस्कृतिको अन्त्य गर्दै राजनीतिलाई कमाई खाने भाँडो बनाउने वर्तमान संस्कृतिको अन्त्य गर्दै अग्रजको सम्मान, पार्टी प्रतिको निष्ठा , त्याग , समर्पण र कर्तब्य निष्ठ व्यक्ति आफु पनि बन्ने र अरूलाई बनाउने संस्कृतिको निर्माण गर्न सक्यौं भने मात्रै नेपाली काङ्ग्रेसका नेता प्रजातन्त्र सेनानी काका डिल्लीप्रसाद राई प्रति सच्चा श्रद्धाञ्जली हुने र उहाँको आत्माले शान्ति पाउने छ अत: हामी सबैले उहाँको राजनीतिक चिन्तन र दर्शनलाई आत्मा साथ गर्न सक्यौं भने मात्र सच्चा अनुयायी हुनेछौँ ।

जय नेपाल !!

( स्तम्भकार नेपाली काङ्ग्रेस खोटाङ क्षेत्र नं.-२ का क्षेत्रीय सभापति हुन् )

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …