तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

डा. राजकुमार राई

नेपाली काँग्रेसको चौधौं महाधिवेशनको कार्यतालिका प्रकाशित भई सोअनुसार कामहरू धमाधम भइरहेका छन् । यसैबीच केन्द्रमा को सभापति हुने भन्ने बारेमा पनि व्यापक चर्चा सुरु भइसकेको छ । पहिला पहिला भएका महाधिवेशनहरूमा संस्थापन पक्ष र संस्थापन इतर पक्ष भनेर प्रायजसो एक-एक जना उम्मेदवारको मात्र चर्चा हुन्थ्यो । 

अहिले संस्थापन पक्ष र संस्थापन इतर दुवै पक्षबाट एक-एक जनाको वारेमा मात्र चर्चा नभएर धेरै जनाको चर्चा भइरहेकोछ । संस्थापन पक्षबाट वर्तमान सभापति शेर बहादुर देउवा आफैं, गोपाल मान श्रेष्ठ, र विमलेन्द्र निधिहरू चर्चामा छन् । त्यस्तै संस्थापन इतरबाट रामचन्द्र पौडेल, डा शशांक कोइराला, प्रकाशमान श्रेष्ठ र डा शेखर कोइरालाहरू चर्चामा छन्।  

त्यो देखि बाहेक अघिल्लो तेह्रौं महाधिवेशनमा तेश्रो धार बनाएर उठेका पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौला फेरि पनि उठ्ने चर्चा चलिरहेको छ।  साथै उहाँकै टिमबाट महामन्त्रीको उम्मेदवार बनेका गगन कुमार थापाले पनि युवा पंक्तिबाट उम्मेद्वारी दिने चर्चा चलेको छ।  

अहिले सम्म चर्चामा आएका व्यक्तिहरूको आ-आफ्नै किसिमका छवि र तर्कहरू छन् । जस्तै : पार्टी सभापति शेर बहादुर देउवा विधानत: अर्को कार्यकालको लागि पनि इच्छुक हुनु स्वाभाविक छ । उहाँ मुलुकको प्रधानमन्त्री ४ पटक भइसक्नु भएको छ । नेपाली काँग्रेस फुटाएर बनेको नेपाली काँग्रेस (प्रजातान्त्रिक) को सभापति हुँदै सिंगो नेपाली काँग्रेसको पनि सभापति बन्नु भएको छ । 

उहाँको तर्क छ कि यो पहिलो कार्यकालमा एकातिर आफ्नै पार्टीका साथीहरूले काम गर्न दिएनन् भने अर्कोतिर राष्ट्रीय निर्वाचनमा समय दिनु पर्यो, जसले गर्दा सोचेअनुसार काम गर्न सकिएन र दोश्रो कार्यकालको लागि सभापति बनेपछि पार्टीलाई अर्को राष्ट्रीय निर्वाचनमा पहिलो पार्टी बनाउने र त्यसपछि राजनीतिबाट विश्राम लिने भन्नु हुन्छ ।  

विमलेन्द्र निधि नेपाली काँग्रेसका संस्थापक नेताहरू मध्ये एक जो गान्धीवादी नेता भनेर चिनिन्छन, महेन्द्र नारायण निधिका पुत्र पनि हुनुहुन्छ। विमलेन्द्र निधि सानो उमेरको विद्यार्थी कालदेखि नै राजनीतिमा संघर्ष गर्दै गर्दा पटक पटक जेल पर्नु भएको थियो। २०३६ सालमा २४ वर्षको उमेरमा वी पी कोइरालाले उनलाई नेविसंघको अध्यक्ष बनाउनु भयो । त्यस्तै पार्टीको केन्द्रीय सदस्य, महामन्त्री हुँदै हाल पार्टीको उपसभापति हुनुहुन्छ । उहाँले सरकारमा पनि उपप्रधानमन्त्री समेतको जिम्मेवारी सम्हालिसक्नु भएको छ।

अहिले उहाँले आफ्नो उम्मेद्वारी घोषणा गर्ने शिलशिलामा पार्टीका सबै सिर्षस्थ नेताहरूसित भेटेर यो चौधौं महाधिवेशनमा सहमतिको सभापति बनाउन सबैलाई सहयोग माग्नु भएको खवर सुन्नमा आएकोछ । त्यस्तै आफूलाई चौधौं महाधिवेशनमा सहयोग गर्ने आस्वासन पाएर शेर बाहादुर देउवालाई तेह्रौं महाधिवेशनमा सहयोग गरेको र त्यो आस्वासन पूरा गर्न सभापतिलाई भेटेर सम्झाएको खबर आएको छ।  

संस्थापन खेमाबाट पार्टी सभापति शेर बहादुर देउवा नउठ्ने हो भने उहाँ पछिको सिनियर म हुँ र संस्थापन पक्षबाट म उम्मेदवार हुनुपर्छ भनेर गोपालमान श्रेष्ठको दावी भएको खवर बाहिर आएको छ । उहाँ नेपाली काँग्रेसबाट फुटेर गएको नेपाली काँग्रेस (प्रजातान्त्रिक) को कार्यबाहक सभापतिको जिम्मेवारी सम्हालिसक्नु भएकोछ।  

रामचन्द्र पौडेल अहिले पार्टीको बरिष्ठ नेता हुनुहुन्छ । उहाँ तेह्रौं महाधिवेशनमा पनि पार्टीको एउटा धारको प्रतिनिधित्व गर्दै पार्टी सभापतिको उम्मेदवार बन्नु भएको थियो।  तर विविध कारणबस परिणाम उहाँको पक्षमा आएन । उहाँले पार्टीको लागि सक्रिय भएर कार्य गर्दै गर्दा लामो समय जेल बस्नु भएको थियो। उहाँले पार्टीको विभिन्न तहको नेतृत्व गर्दै पार्टीको कार्यबाहक सभापतिको जिम्मेवारी पनि सम्हालिसक्नु भएको छ। उहाँलाई पार्टीभित्र लोकतान्त्रिक समाजवादको व्याख्याता र वैचारिक क्षमता भएको नेताको रुपमा पनि चिनिइन्छ ।

प्रकाशमान सिंह, सर्वमान्य नेता गणेशमान सिंहका पुत्र हुनका साथै उहाँले आफ्नै छवि बनाउनु भएको छ । उहाँले काठमान्डू जिल्लाको जिल्ला सभापति हुँदै नेपाली काँग्रेस (प्रजातान्त्रिक) को उपसभापति र नेपाली काँग्रेसको महामन्त्रीको जिम्मेवारी सम्हालिसक्नु भएको छ । त्यस्तै सरकारमा पनि उपप्रधानमन्त्री बनि सक्नु भएको छ।

डा शशांक कोइराला, नेपाली काँग्रेसका संस्थापक नेता वी पी कोइरालाका कान्छा पुत्र हुनुहुन्छ ।  उहाँले आँखा चिकित्सकका रूपमा लामो समय पेसागत कार्य गर्नु भयो । उहाँ नेपाली काँग्रेसको केन्द्रीय सदस्य हुँदै तेह्रौं महाधिवेशनबाट निर्वाचित महामन्त्री हुनुहुन्छ।  उहाँको कम बोल्ने र कसैलाई पनि नबिझाउने सालिन र भद्र स्वाभाव छ ।

 डा शेखर कोइराला पूर्णकालीन राजनीतिमा आउनु अघि आफ्नो डाक्टरी पेसामा हुनु हुन्थ्यो । धरानमा स्थापित वी पी कोइराला चिकित्सा विज्ञान अध्ययन संस्थानको उपकुलपति बनेर सो संस्थाको सफल नेतृत्व सम्हालिसक्नु भएकोछ । तेह्रौं महाधिवेशनमा सबैभन्दा उच्चतम भोट संख्या ल्याएर केन्द्रीय सदस्य बन्नु भयो । तेह्रौं महाधिवेशन लगतै उहाँले जिल्ला भ्रमण सुरु गर्नु भएको थियो।  यो उहाँको सभापति लड्ने तयारि नै थियो भन्ने बुझिन्छ। उहाँको यो सक्रियता र उहाँले राख्नु भएको धारणाले कतिपय कार्यकर्ता तथा शुभचिन्तकहरूविच उहाँको लोकप्रियता बढेको बुझिन्छ।    

पूर्व महामन्त्री कृष्ण सिटौला अघिल्लो तेह्रौं महाधिवेशनमा पनि सभापति पदको प्रत्यासी हुनुहुन्थ्यो। पार्टीको संस्थापन पक्ष र इतर पक्ष भन्दा फरक तेश्रो धार बनाएर निर्वाचनमा भाग लिनु भएको थियो । उहाँले पनि उपप्रधानमन्त्रीसम्मको जिम्मेवारी सम्हाली सक्नु भएको छ । उहाँले माओबादी द्वन्दबाट मुलुक आक्रान्त भएको वेलामा उनीहरूलाई शान्ति प्रक्रियाको तार्किक निष्कर्षमा पुर्याउन नेपाली काँग्रेसका तत्कालिन सभापति तथा प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालालाई प्रभावकारी सहयोगीको भूमिका निभाउनु भएको थियो।

केन्द्रिय सदस्य गगन कुमार थापा पार्टीभित्र र बाहिर लोकप्रिय युवा नेतामा पर्छन। उनी अघिल्लो तेह्रौं महाधिवेशनमा कृष्ण सिटौलाले नेतृत्व गर्नु भएको तेश्रो धारको तर्फबाट महामन्त्री पदको प्रत्यासी थिए। उनी नेविसंघको महामन्त्री हुँदै पार्टीको केन्द्रीय सदस्य छन् ।  त्यस्तै नेपाल सरकारको स्वास्थ्य मन्त्री पनि बनिसकेका छन् । उनी कुनै पनि नेताको छत्र-छाँयाविना आन्दोलनको रापतापबाट आएको जुझारू युवा नेताको रूपमा चिनिइन्छन् 

यसरी धेरै जना मैदानमा उत्रिएको राम्रो हो । उहाँहरू सबैका आ-आफ्नो छवि र तर्कहरू छन् । तर ती तर्कहरूमा चित्त वुझ्दो आधारहरू हुन जरुरी छ।  जस्तै : उहाँहरूले पहिला सम्हालेका पदहरूलाई भजाएर मात्र दाबी गर्न मिल्दैन । उहाँहरूले यो भन्नु पर्छ कि मैले यो यो पदमा हुँदा यी यी कामहरू गरें र अव पार्टी सभापति भएपछि मेरो चार वर्षे कार्यकालमा यो यो काम गरेर पार्टीलाई यो उचाईमा पुर्याउँछु भनेर आफ्नो रोड म्याप कार्यकर्ता सामु ल्याउनु पर्दछ ।

सभापतिका केही आकांक्षीहरूले वर्तमान सभापतिको क्षमता माथिको सवाललाई प्रमुख मुद्दा बनाएको देखिन्छ । तर उहाँहरूले फलाना असक्षम भन्दै गर्दा म ऊ भन्दा कसरी सक्षम छु वा हुनेछु भनेर ठोस उदाहरण र तर्कसहित विस्तृत योजना दिन जरूरी छ । भारसिलो योजना र नेतृत्वको फरक चरित्रको सुनिस्चितता बिना वर्तमान नेतृत्वको क्षमता माथि प्रश्न मात्र गर्नु भनेको नेताहरू आफैं हलुका हुनु हो । उनीहरूका यो किसिमको तर्कलाई कार्यकर्ताहरूले हावादारी गफको रूपमा लिन सक्छन ।

 त्यस्तै माथि उल्लेख गरिएका केही नेताहरूको बलियो पारिवारिक लिगेसी (विरासत) छ। तर कतिपय मानिसहरू लिगेसी भनेको सामन्ती प्रथाको निरन्तरता हो भन्छन् ।  त्यसकारण लिगेसी भएका सम्बन्धित नेतागणहरूले लिगेसी प्रति भर नपरी आफ्नो छुट्टै पहिचानको आधारमा अघि बढ्दा राम्रो देखिन्छ।  

निर्वाचनको घडीमा क-कसले उम्मेद्वारी दिन्छन् र दिएका मध्ये कसले बाजी मार्ला ? भनेर अहिले नै भन्न सकिने अवस्था छैन । अहिले वहसको बेला भएकोले उनीहरूको आफ्नो धारणा के हो ? किन उनीहरूलाई मतदाताहरूले मत दिनु पर्ने हो ? मतदाता तथा कार्यकर्ताहरू सामु त्यो वारेमा विस्तृत रुपमा प्रष्ट पार्न जरूरी छ । यसो गरेको खण्डमा महाधिवेशनद्वारा हुने नेतृत्व चयन प्रक्रियामा अर्थपूर्ण प्रतिस्पर्धा हुन्छ र निर्वाचनमा जितेर आउने व्यक्तिलाई पनि काम गर्न सजिलो हुन्छ।  

नेतृत्वको लागि व्यक्ति परिवर्तन मात्र ठुलो कुरो होइन, चरित्रमा परिवर्तन आउनु पर्छ । पार्टीलाई नीतिसहितको नेतृत्व आवश्यक छ । यो लेखमा नेपाली काँग्रेसको चौधौं महाधिवेशनमा सम्भावित सभापतिका उम्मेदवारहरूको समग्र सतही विवेचना गर्ने प्रयास गरिएको छ । आगामी दिनमा हरेक उम्मेदवारको विस्तृत योजना सहितको सृंखलावद्ध लेखहरू प्रकाशन गर्ने योजना बनाएको छु ।  जय नेपाल !  

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …