तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

छापाबाट

काठमाडौँ । उपत्यकामा पछिल्लो समय दुई पाङ्ग्रे सवारीसाधनअन्तर्गत मोटरसाइकल तथा स्कुटरको चोरी बढेको छ । मोटरसाइकल चोर्ने गिरोह नै सक्रिय रहेको प्रहरीको भनाइ छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकल तथा स्कुटरको चोरी बढेसँगै खोजी कार्यलाई समेत तीव्रता दिएको छ । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईले विभिन्न समयमा हराएर फेला परेका दुुई हजार ३१५ मोटरसाइकल र आठ स्कुटर आइतबार सम्बन्धित धनीलाई जिम्मा लगाइएको बताउनुुभयो । 

मोटरसाइकल तथा स्कुटरको चोरी बढेसँगै महाशाखाले ‘पीडित सहायता एकाइ’ स्थापना गरी सादा पोसाकका ट्राफिकमार्फत खोजी कार्यलाई तीव्रता दिएको छ । ट्राफिक प्रहरी निरीक्षक जितेश दहालको नेतृत्वमा १६ जना सादा पोसाकमा रहेका प्रहरीले शङ्कास्पद स्थान तथा व्यक्तिमाथिको निगरानी तथा खोजतलास बढाएको छ ।

चोरीमा गिरोह नै सक्रिय 

मोटरसाइकल तथा स्कुटरको चोरीमा व्यावसायिक गिरोह नै सक्रिय रहेको खुलेको छ । आर्थिक अवस्था कमजोर भएका युवा तथा कतिपय किशोरसमेत यस्तो गिरोहमा संलग्न रहेको पाइएको छ । 

पीडित सहायता एकाइ प्रमुख प्रहरी निरीक्षक दहालले हराएका सवारीसाधनको खोजी कार्य तीव्र पारिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “उपत्यकामा मोटरसाइकल तथा स्कुटर चोरीमा फरक समूूहका विभिन्न गिरोह नै सक्रिय रहेको पाइएको छ, त्यस्ता व्यक्ति र समूूहमाथि निगरानी बढाएका छौँ ।” दहालका अनुसार पूर्वी तराई, काभ्रे–सिन्धुपालचोक तथा धादिङ–चितवनबाट परिचालित गिरोहको पहिचानसमेत भइसकेको छ ।

दहाल नेतृत्वको उक्त टोलीले चोरी नियन्त्रणका लागि शङ्कास्पद स्थान तथा त्यस्ता समूह र व्यक्तिमाथि समेत निगरानी बढाउँदै हराएका सवारीसाधनको खोजी तथा गोप्य सूूचना सङ्कलन गरिरहेको छ । हराएकामध्ये अधिकांश सवारीसाधन एकान्त तथा बेवारिसे स्थानमा पार्किङ पाइएको छ । 

सार्वजनिक तथा बेवारिसे स्थानमा पार्किङ गरेका मोटरसाइकल तथा स्कुटर बढी चोरी भएका छन्”, दहालले भन्नुभयो । उहाँका अनुसार पछिल्लो चार महिनामा मात्र विभिन्न गिरोहमा रही चोरी गर्ने २१ जनालाई नियन्त्रणमा लिई मुद्दा चलाइएको छ ।

अधिकांश फेला नै पर्दैनन् 

उपत्यकाबाट दुई पाङ्ग्रे सवारीसाधनको चोरी बढे पनि कम मात्र फेला गर्ने गरेको महाशाखाले जनाएको छ । चोरी भएका सवारीसाधन उपत्यकालगायत ग्रामीण क्षेत्रमा प्रयोग गर्ने र कतिपय सवारीसाधनका पार्टपुर्जा खोलेर बिक्री हुने गरेकाले सवारीसाधन कम मात्र फेला परेको महाशाखाको निष्कर्ष छ । 

सवारीसाधनको चोरी नियन्त्रणका लागि पछिल्लो समय उपत्यका आसपासका ग्रामीण क्षेत्रमा सादा पोसाकका ट्राफिकसमेत परिचालन गरिएको छ । चोरी भएका मोटरसाइकल तथा स्कुटरको पार्टपुर्जासमेत बिक्री गरेको हुन सक्ने आशङ्कामा महाशाखाले विभिन्न मर्मत केन्द्र (ग्यारेज)माथि निगरानीसमेत बढाएको छ । 

आर्थिक वर्ष २०७६/७७ एक हजार ३७९ दुई पाङ्ग्रे सवारीसाधन हराएकामध्ये २९७ मात्र फेला परेका छन् । त्यस्तै २०७७÷७८ मा ३३० र यो आर्थिक वर्षमा ५०५ हराएकोमा १७६ सवारीसाधन फेला पारी सम्बन्धित धनीलाई बुझाइएको महाशाखाले जनाएको छ ।

सावधानी आवश्यक 

महाशाखाले सवारी चालक तथा धनीको सामान्य असावधानीका कारण चोरी बढ्ने गरेको जनाएको छ । पछिल्लो समय स्कुटर चालकले आफ्नो सवारी चालक अनुमतिपत्र तथा सवारी पुर्जा (बिलबुक) हेलमेटसमेत स्कुटरमै छाडेर जाने गरेकाले चोरी बढेको छ । कागजपत्रसहित हराएका सवारीसाधन खोजी कार्य जटिल हुने दहालले बताउनुभयो । स्कुटरबाहेक पल्सर मोटरसाइकल बढी हराउने गरेको खुलेको छ ।

पहाडी तथा ग्रामीण बस्तीमा यस्ता सवारीसाधनको प्रयोग उपयुक्त हुने भएकाले बढी चोरी हुने गरेका छन् । जथाभावी पार्किङ नगर्ने, सवारीसाधनबाहेक छुट्टै चाबी लगाउने र सवारीसाधनमा ध्वनि (साइरन) जडान गरे अधिकांश नियन्त्रण हुने महाशाखाले जनाएको छ । 

महाशाखाले हराएका सवारीसाधनको उजुरीका लागि ‘लस्ट भेहिकल एप्लिकेसन’ तथा ट्राफिक प्रहरीको हटलाइन १०३ मार्फत समेत निवेदन दिन सकिने जनाएको छ । चोरी नियन्त्रण तथा आफ्नो सवारीको सुरक्षाका लागि सम्बन्धित सवारीधनीले अतिरिक्त लकसँगै अलार्मको प्रयोग गर्नसमेत महाशाखाले आग्रह गरेको छ ।गोरखापत्र दैनिकमा खबर छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …