तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

छात्रामाथि शिक्षकबाटै यौन हिंसा र दुर्व्यवहारका घटना एकपछि अर्को सार्वजनिक भइरहे पनि सकेसम्म विद्यालयमै मिलाउने, उजुरी परेपछि पनि समयमै अनुसन्धान नगर्ने र आरोपितलाई पक्राउ गर्नर् ढिलाइ गर्ने प्रवृत्तिले पीडितलाई झन् पीडा’

काठमाडौँ ।चैत ४ मा मोरङको लेटाङ– ५ स्थित शिक्षा विकास माध्यमिक विद्यालयका शिक्षक मनोज पौडेलले १२ वर्षीया छात्रामाथि यौन हिंसा गरेको घटना सार्वजनिक भयो । विद्यालयभित्रै शिक्षकबाट हुने यौन हिंसाजस्तो गम्भीर अपराधको तत्काल न्यायिक निरुपणमा विद्यालय चुक्दा यो घटनामा एक महिला प्रहरीले ज्यान गुमाउनुपर्‍यो ।

चैत ५ मा शिक्षक पक्राउ गर्न गएको प्रहरी टोलीमाथि स्थानीयले ढुंगामुढा गर्दा २६ वर्षीया उर्मिला श्रेष्ठको हत्या भएको हो । मृतकको पोस्टमार्टम रिपोर्टमा उनको मृत्यु गोली प्रहारबाट भएको पुष्टि भएको छ ।

दुर्भाग्यपूर्ण घटना भए पनि लेटाङ प्रकरणपछि शृंखलाबद्ध रूपमा सरकारी विद्यालयभित्र शिक्षकबाटै यौन हिंसा र दुर्व्यवहार भएका घटना बाहिर आइरहेका छन् । कान्तिपुरले संकलन गरेको विवरणमा चैत महिनाभर देशभरका ६ सरकारी विद्यालय र एक सरकारी शिक्षालयमा शिक्षकबाटै यौन हिंसा भएका घटना सार्वजनिक भए, जसमा २५ जना छात्राले आफूमाथि शिक्षकबाट यौन हिंसा भएको बताएको देखिन्छ । यौन हिंसाबारे खुल्ने छात्राहरूको उमेर १२ देखि १६ वर्षसम्म देखिन्छ । यो तथ्यांकले छात्राहरू विद्यालयभित्रै सुरक्षित छैनन् भन्ने मात्रै देखाएको छैन, शिक्षकहरूबाट हुने यौन हिंसाका घटना कति धेरै छन् भन्ने पनि खोतलेको छ ।

गत चैत ७ मा चितवनको माडी– १ बरुवास्थित सोमेश्वर उच्च माविका ३७ वर्षीय शिक्षक सुरज लामिछानेलाई प्रहरीले पक्राउ गर्‍यो । कक्षा ९ मा अध्ययनरत १५ वर्षीया बालिकाका अभिभावकले यो घटनाबारे प्रहरीमा उजुरी दिन करिब ४० किलोमिटर छिचोलेर जिल्ला प्रहरी कार्यालय भरतपुर पुग्नुपर्‍यो । यो घटनाबारे सुरुमै थाहा पाए पनि विद्यालय मिलाउन अघि सरेको थियो । कतिसम्म भने कांग्रेसनिकट नेपाल शिक्षक संघको माडी नगर समितिका अध्यक्ष विश्वनाथ घिमिरेले प्रेस विज्ञप्ति नै जारी गरेर घटनाको बचाउ गरे ।

माडी घटना सेलाउन नपाउँदै पश्चिम चितवनको गंगानगरस्थित श्री माध्यमिक विद्यालयमा अध्ययनरत १३ वर्षीया र १२ वर्षीया नाबालिकालाई सोही विद्यालयका शिक्षकले यौन दुर्व्यवहार गरेको घटना बाहिर आयो । पढाउने क्रममा विभिन्न बहाना बनाउँदै संवेदनशील अंगमा सुमसुम्याउनेजस्ता अनुचित क्रियाकलाप गरेको भन्दै दुवै नाबालिकाका अभिभावकले चैत २४ मा प्रहरीमा उजुरी दिएपछि शिक्षकद्वय ५८ वर्षीय फणीन्द्र भट्टराई र ५२ वर्षीय विमलप्रसाद देवकोटा पक्राउ परे ।

लेटाङ र गंगानगरको विद्यालयमा भएको घटनामा एउटा समानता देखिन्छ । त्यो हो, यी दुवै घटनाका आरोपित शिक्षकमाथि यसअघि पनि यौन हिंसाको आरोप लागेको थियो । भलै त्यसउपर कानुनी उपचार खोज्नेभन्दा पनि भित्रभित्रै सामसुम पार्ने प्रवृत्ति दुवै घटनामा देखियो । लेटाङ, माडी र गंगानगरका तीन विद्यालयमा भएका घटनामा देखिने साझा परिदृश्य भनेको पीडितलाई समयमै प्रहरीमा उजुरी गर्नबाट अवरोध गर्ने वा सामान्य माफिनामा वा छलफलबाटै विषयलाई टुंग्याउने प्रयत्न विद्यालयभित्रैबाट हुनु र पीडकलाई आवश्यक संरक्षण र मनोसामाजिक परामर्श दिने व्यवस्था नहुनु हो । चैत १५ मा पाँचथर प्रहरीले हिलिहाङ गाउँपालिकाको सरकारी विद्यालयमा विज्ञान विषयका शिक्षक उपेन्द्र चौधरीलाई पक्राउ गर्‍यो । उक्त घटनाकी पीडित १३ वर्षीया बालिकाले आफू घरमा एक्लै भएको मौका छोपी ललाई–फकाई यौन दुर्व्यवहार गरेको बयान दिएकी छन् । पाँचथर घटनाको तीन दिनपछि चैत १८ मा स्याङ्जाको वालिङ नगरपालिका ९ स्थित पेखु माविमा अध्ययनरत १२ र १३ वर्षीया छात्रामाथि ३८ वर्षीय शिक्षक पर्शुराम रेग्मीले यौन दुर्व्यवहार गरेको घटना प्रकाशमा आयो । फागुन ३० मा छात्रामाथि दुर्व्यवहार भएको घटना सार्वजनिक भएर प्रहरीमा पुगीवरी आरोपित पक्राउ पर्न ठ्याक्कै १८ दिन लाग्यो ।

पाँचथर र स्याङ्जाका सरकारी विद्यालयको घटना बाहिर आएकै बेला मकवानपुरको वाग्मती गाउँपालिका ८ मा रहेको जनता मावि फापरबारीका ९, १० र ११ मा अध्ययनरत १५ भन्दा धेरै छात्रा आफूमाथि यौन हिंसा गर्ने शिक्षकलाई कारबाही गरियोस् भन्दै आन्दोलित थिए । छात्राले चैत १४ मा विद्यालयका शिक्षक रुद्रबहादुर विक, हेमबहादर विक र लोकबहादुर विकले कक्षाकोठाभित्र गलत नियतका साथ संवेदनशील अंग छुने, अपशब्द बोल्ने गरेको आरोप लगाएर निवेदन दिएका थिए । यो निवेदनमाथि कानुनी उपचारको प्रक्रिया चाल्नुको सट्टा विद्यालयले चैत २२ मा छलफल डाक्यो । त्यही दिन विद्यार्थीले प्रदर्शन गरे, तोडफोड गरे । घटना सार्वजनिक भएको ११ दिनपछि अर्थात् चैत २५ मा प्रहरीले हेमबहादुर विकलाई नियन्त्रणमा लिए पनि अन्य दुई शिक्षक फरार छन् ।

स्याङ्जा र मकवानपुरका विद्यालयमा भएका घटनामा देखिएको समानता भनेको समयमै अनुसन्धान प्रक्रिया सुरु नहुनु र आरोपित पक्राउ गर्नर् ढिलाइ गर्नु हो । यस्तो ढिलाइले पीडितलाई ‘होस्टाइल’ गराउने परिस्थिति मात्रै निर्माण गर्दैन, मानसिक रूपमा थप कमजोर बनाउने खतरा पनि रहन्छ । फापरबारी घटना सेलाउन नपाउँदै मंगलबार छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा खोटाङको महरेगढी बहुप्राविधिक शिक्षालयका प्रिन्सिपल इन्द्रप्रसाद आचार्य पक्राउ परे । दुई छात्रामाथि यौनजन्य दुर्व्यवहार गरेको सूचनाका आधारमा प्रहरीले पक्राउ गर्नुअघि नै आरोपितलाई एमालेनिकट अनेरास्ववियु र माओवादीनिकट अनेरास्ववियु क्रान्तिकारीका विद्यार्थीले मंगलबार साँझ मोसो दलेर जुत्ताको माला लगाइसकेका थिए ।

मोरङदेखि चितवनसम्म र स्याङ्जादेखि पाँचथर, मकवानपुर, खोटाङसम्मका विद्यालयमा भएका यौन हिंसाका घटनामा भेटिने एउटै समानता भनेको सकभर विद्यालयमै सामसुम पार्ने प्रयत्न गर्नु र घटना सार्वजनिक भएपछि पनि आरोपित पक्राउ गर्न ढिलाइ गर्नु हो । धेरैजसो घटनामा विद्यालयको इज्जत वा प्रतिष्ठासँग जोडेर शिक्षकहरू नै यस्ता घटना भित्रभित्रै मिलाउन सक्रिय देखिन्छन् ।

बाल अधिकारविज्ञ अनुसन्धानकर्ता मधु दवाडीको बुझाइमा सरकारी विद्यालयमा हुने यौन हिंसाका घटना बाहिर आउनेबित्तिकै पीडितको चरित्रमाथि शंका गर्ने वा पीडितलाई नै एक्ल्याउने परिपाटी विद्यमान छ । यसका बाबजुद जति घटना सार्वजनिक भएका छन्, तिनलाई पनि विद्यालयभित्रै सामसुम पार्न शिक्षक लागिपरेको देखिनु उदेकलाग्दो विषय भएको टिप्पणी गरे । उनले विद्यालयभित्रै हुने यौन हिंसाका घटना एकपछि अर्को गर्दै सार्वजनिक हुनु दुःखलाग्दो भएको बताए । ‘बालबालिकासँग गरिने बानी र व्यवहारले उनीहरूलाई कसरी दीर्घकालीन रूपमा असर पार्छ भन्नेबारे शिक्षकहरूलाई सिकाउन जरुरी देखिन्छ,’ उनले भने ।

विद्यालयभित्रै हुने यौन हिंसा र दुर्व्यवहारका घटना रोक्न सरकारले विभिन्न अभियान र कार्यविधि नबनाएका होइनन् । २०७१ सालमा शिक्षा मन्त्रालयले विद्यालयस्तरमा हुने यौन हिंसा तथा यौन दुर्व्यवहारविरुद्धको राष्ट्रव्यापी अभियान सञ्चालन कार्यविधि जारी गरेको थियो । उक्त कार्यविधिमा विद्यालयमा हुने सबै प्रकारका हिंसा तथा यौन दुर्व्यवहारविरुद्ध खुलेर कुरा गर्न सक्ने वातावरण तयार गर्ने र गुनासो/उजुरीका लागि प्रत्येक माध्यमिक र निम्न माध्यमिक विद्यालयमा गुनासो पेटिका राख्नेदेखि आएका उजुरीउपर सुनवाइ र कारबाहीको संयन्त्र बनाउने कुरासम्म उल्लेख छ । कार्यविधिमा उल्लेख गरिए पनि अधिकांश सरकारी विद्यालयमा यस्तो संयन्त्र देखिन्न ।

त्यसो त बालबालिकासम्बन्धी ऐन २०७५ को दफा ६६ को उपदफा ३ मा बालबालिकामाथि गरिने कस्ता व्यवहार बाल यौन दुर्व्यवहार हुन् भनेर स्पष्ट उल्लेख छ । उक्त उपदफामा अश्लील चित्र, श्रव्यदृश्य वा यस्तै किसिमका अन्य सामग्री देखाउनेदेखि अश्लील तथा यौनजन्य आचरण वा व्यवहार झल्काउने अभिव्यक्ति वा हाउभाउ प्रदर्शन गर्ने कामलाई पनि बाल यौन दुर्व्यवहारको रूपमा परिभाषित गरिएको छ । ऐनमा यौनजन्य मनसायले शरीरको संवेदनशील अंगमा स्पर्श गर्ने, चुम्बन गर्ने, समाउने, अंकमाल गर्ने वा आफ्नो वा अरू कसैको शरीरको संवदेनशील अंग छुन वा समाउन लगाउने वा यौनजन्य मनसायले बेहोस पार्ने वा यौनजन्य अंग प्रदर्शन गर्ने वा गर्न लगाउने कामलाई पनि यौनजन्य दुर्व्यवहार हो भनेको छ । ऐनको दफा ७२ को उपदफा ‘ग’ मा यस्तो कार्य गर्नेमाथि बढीमा ८० हजारसम्मको जरिवाना वा चार वर्षसम्मको कैद सजाय व्यवस्था गरिएको छ ।

शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले आफूहरूले पनि विद्यालयमा शिक्षकबाट भइरहेका यौन हिंसाका सार्वजनिक घटनाबारे चासो राखिरहेको बताए । उनले शिक्षकहरूको तालिममा पनि यी विषय समेटिएको भन्दै यस्ता घटनामा शून्य सहनशीलता अपाउने नीति रहेको बताए । उनले शृखंलाबद्ध रूपमा देखिएका यस्ता घटना मन्त्रालयका लागि चासो र चिन्ताको विषय रहेको बताउँदै भने, ‘यस्ता घटना फौजदारी कसुरको विषय भएकाले सोझै प्रहरीमा अनुसन्धानका लागि पठाउनैपर्छ ।’ शर्माले विद्यालयमा हुने यौन हिंसा र दुर्व्यवहारको विषय स्थानीय तहको शिक्षा समितिको पनि चासोको विषय हुनुपर्ने बताउँदै भने, ‘पूर्ण सुरक्षित र पूर्ण बालमैत्री विद्यालय हुनुपर्छ भन्ने कुरामा हामी स्पष्ट छौं ।’

शिक्षक महासंघकी अध्यक्ष कमलादेवी तुलाधरले विद्यालयभित्र हुने यौन हिंसा र दुर्व्यवहारका घटनामा गम्भीर छानबिन हुन जरुरी रहेकोमा आफूहरू स्पष्ट रहेको बताइन् । उनले यस्ता घटनामा शिक्षकलाई सरुवा गरेर मिलाउने प्रवृत्ति रहेको जनाउँदै सबुत प्रमाणका आधारमा कडा कारबाही हुनुपर्ने बताइन् । उनले भनिन्, ‘यस्ता घटना दोहोरिइराख्नु ठूलो विडम्बना हो ।कान्तिपुर दैनिकमा खबर छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …