तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

चितवन। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिने बताउनुभएको छ । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले लोकतन्त्रको सुदृढीकरणका निम्ति प्रेस स्वतन्त्रता आवश्यक रहेको बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “विगतको सरकारले जे–जस्ता ऐन बनाएर कहीँ न कहीँ प्रेस जगत्लाई अङ्कुश लगाउने काम गरेको थियो तिनलाई खारेज गरिने छ, यो हुन दिइने छैन ।” यस विषयमा पाँच दलीय गठबन्धनमा छलफल सुरु भइसकेको जनाउँदै उहाँले प्रधानमन्त्रीसँग पनि कुरा भइरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “त्यसो हुन दिइने छैन, जति प्रेस बलियो हुन्छ, जति पत्रकार जिम्मेवार र सङ्गठित हुन्छन् त्यति लोकतन्त्र सुदृढ र समाजवादको आधार तयार हुन्छ ।” स्वतन्त्र प्रेससँगै समाजवादको दिशातर्फ अघि बढ्ने कामको सुनिश्चितता हुने उहाँको भनाइ थियो ।

उहाँले अहिले पनि प्रतिक्रान्तिकारी र प्रतिगमनकारी सलबलाइराखेका बताउनुभयो । उहाँले भन्नुभयो, “कहीँ न कहीँ गठबन्धनलाई कमजोर पार्न सकिन्छ कि, प्रेसलाई कमजोर पार्न सकिन्छ कि, प्रेसमार्फत भ्रम छर्न सकिन्छ कि भनेर त्यो षड्यन्त्र अझै पनि जारी छ ।”

राजनीतिकरूपमा चितवन परिचित बन्दै गएको जनाउँदै उहाँले भन्नुभयो, “प्रचण्डलाई मन पर्नेले पनि चितवन रोज्ने भए, नपर्नेले पनि चितवन रोज्ने भए, मन परेर आउनेलाई पनि धन्यवाद मन नपरेर आउनेलाई पनि धन्यवाद ।” देशका सबै कम्युनिष्टबीचको एकता अझै पनि आवश्यक रहेको दाहालको भनाइ थियो । सच्चा र इमान्दार कम्युनिष्ट एकताबद्ध हुनुपर्ने उहाँले बताउनुभयो ।

सो अवसरमा अध्यक्ष दाहालले प्रधानन्यायाधीशविरुद्ध महाअभियोग लगाउने विषय गठबन्धन र राजनीतिक दलहरूबीच सहमतिका आधारमा मात्र हुने प्रष्ट पार्नुभयो । महाअभियोग र एमसिसी प्रकरणले सत्ता गठबन्धन भत्किने आशङ्का भइरहेको भन्दै उहाँले गठबन्धनको भविष्यबारे ढुक्क हुन आह्वानसमेत गर्नुभयो । उहाँले छलफलबाट मात्र टुङ्गोमा पुगिने बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष बिपुल पोखरेलले सरकार परिवर्तन भए पनि प्रेस स्वतन्त्रता विरोधी ऐन, कानुन बन्ने प्रक्रिया नरोकिएकाले नयाँ सरकारको अनुभूति प्रेसले पाउन नसकेको बताउनुभयो । कार्यक्रममा अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीका केन्द्रीय अध्यक्ष अमृता थापा, अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष पञ्चा सिंह, नेकपा ९माओवादी केन्द्र०का प्रवास अध्यक्ष ओम शर्मा, समाजवादी प्रेस सङ्गठन नेपालका अध्यक्ष शम्भु श्रेष्ठ, प्रेस सेन्टरका केन्द्रीय अध्यक्ष महेश्वर दाहाललगायतले बोल्नुभएको थियो ।

महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै आइतबार सम्पन्न हुँदै छ । महाधिवेशनमा देशभरबाट ८०० हाराहारी प्रतिनिधि सहभागी भएको केन्द्रीय कोषाध्यक्ष सुरेशचन्द्र अधिकारीले बताउनुभयो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …