तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

ललितपुर। ललितपुरस्थित कुम्भेश्वर महादेव मन्दिरसँगै रहेका सर्वेश्वर महादेवको मूर्तिलाई आज रातभर बाहिरको पोखरीमा राखिने भएको छ ।

प्रत्येक वर्ष साउन शुक्लपक्ष चतुर्दशीका दिन सर्वेश्वर महादेवको मूर्तिलाई मध्यराति १२ बजेअघि विधिवत्रुपमा बाजागाजासहित मन्दिरबाट बाहिर निकालेर पोखरीमा स्नान गराइ खटभित्र पूजा गरेर रातभरि पोखरीमा राख्ने परम्परा छ ।

सर्वेश्वर महादेवलाई विभिन्नथरिका बाजागाजासहित कुम्भेश्वर महादेव मन्दिरको परिक्रमा गराइ नजिकैको पोखरीमा राखेर उत्तरपश्चिमतर्फको गौरीकुण्डबाट पाटन आएको जलले स्नान गराइ खटभित्र राखेर विधिवत्रुपमा पूजाआजा गरेपछि साउन शुक्ल पूर्णिमा अर्थात् जनैपूर्णिमा वा रक्षाबन्धन आरम्भ हुने बङ्गलामुखी–कुम्भेश्वर मन्दिरका पुजारी माधवश्याम शर्माले बताउनुभयो । उहाँले भन्नुभयो, “महादेव मूर्तिलाई रातभरि पोखरी भित्र खटमा राखेर आइतबार बिहान ६ बजे कुम्भेश्वर मन्दिरभित्र पुनःछिराउने छाँै । चल्दै आएको नियमानुसार भोलि दिनभरि शिवजीलाई बाहिर राखिनुपर्ने थियो तर मुलुकमा बढिरहेको कोरोना महामारीलाई ध्यानमा राखी पूरै दिन नराख्ने भयौँ ।” गत वर्ष पनि यसैगरी विधिमात्र पूरा गरेकाले भोलि पनि सर्वसाधारणलाई मन्दिरमा मेला भर्न प्रवेश नगराउने भएको पुजारी शर्माले जानकारी गराउनुभयो ।

शनिबारदेखि नै मन्दिरको सुरक्षा व्यवस्था कडा पार्नुका साथै आइतबार पनि केही टोलवासी अनि समितिका मानिस र पुजारी मात्रै मन्दिरभित्र छिर्न पाउने कुम्भेश्वर टोल सुधार समितिका अध्यक्ष अरोजकुमार खड्गीले बताउनुभयो । उहाँले भन्नुभयो, “दिनानुदिन बढेको कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई ध्यानमा राखी मन्दिरको मूल ढोका बन्द रहने हुँदा कुम्भेश्वर पोखरीमा भक्तजनलाई मेला भर्न प्रवेशमा रोक लगाउने भएकाले नआउन अनुरोध गर्दछु ।” गोसाइँकुण्डमा साउन महिनाभर मेला लाग्ने भएकाले उता जान नसक्नेले कुम्भेश्वरमा जलाभिषेक वा स्नान गरी शिवको आरधना गर्दा गोसाइँकुण्ड गएको फल प्राप्त हुने मान्यता रहेको अध्यक्ष खड्गीले जानकारी गराउनुभयो ।

गौरीकुण्डको जल कुम्भेश्वर पोखरीमा भर्न बुधबार नै सफा गराएर तयारी अवस्थामा राखिएको समितिका उपाध्यक्ष वसन्त खड्गीले जानकारी गराउनुभयो । अगस्त्य ऋषिले कुम्भ अर्थात् कलशमा महादेवको आह्वान गरेर उत्पत्ति भएकाले कुम्भेश्वर महादेव भनिएको हो । सो महादेव मन्दिरभित्र कुम्भेश्वर र सर्वेश्वर महादेवका दुई मूर्ति छन् । सर्वेश्वरको आरधना गरेको खण्डमा रोगव्याधि निको भई दीर्घायु प्राप्त हुने विश्वास हिन्दू र बौद्ध धर्मावलम्बीमा छ । सर्वेश्वरलाई मृत्युञ्जय महादेव पनि भनिने गरिएको मन्दिर जीर्णाेद्वार समन्वय समितिका सल्लाहकार प्रेमलाल महर्जनले बताउनुभयो ।

स्वस्थानीमा वर्णन भएका ६४ शिवलिङ्गमध्ये सर्वेश्वर महादेव पनि एक हुन् । मार्कण्डे ऋषिले सर्वेश्वर महादेवको आरधना गरी आफ्नो छोटो आयुलाई अष्ट चिरञ्जीवी प्राप्त गरेको कुरा पुराण आदिमा उल्लेख छ । त्रेतायुगमा किराँती राजकुमारी कुष्ठरोग भएर दरबारबाट निकाला भएपछि कुम्भेश्वरको पानीले दैनिक स्नान गरी महादेव अनि देवीलाई पूजाआरधना गर्दै जाँदा दिव्य रुप भएको र राजाले घर जान आग्रह गर्दा अस्वीकार गरेपछि एक तलाको मन्दिर बनाइदिएको कथन छ ।

सनातन हिन्दू र बौद्ध धर्म मान्ने भक्तजनले कुम्भेश्वरलाई बज्रपानी लोकेश्वर भनेर पुज्ने गर्छन् । पाटन राजा जयस्थिति मल्लले १४ आँै शताब्दीमा कुम्भेश्वर महादेव मन्दिर बनाएका थिए । त्यसैगरी सो महादेव मन्दिरको काखमा रहेकी बङ्गलामुखी देवीलाई १० महाविध्यामध्ये एक विध्याको मालिकका साथै शत्रुलाई पराजय गर्ने शक्तिका रुपमा पुजिने गरिएको पुजारी शर्माले बताउनुभयो । रासस

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …