तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

सुरज पाण्डेय

प्रकृतिमा विभिन्न काल खण्डमा विभिन्न खालको प्राकृतिक बिपत आईरहन्छन् , त्यस मध्येको एक प्राकृतिक बिपत कोरना भाइरस बनेर आएको छ । यस बिपत्तिमा अतालिएर कोहि मान्छेले आत्महत्या गरे , कोहि यसैको शिकार बन्न पुगे । कहालीलाग्दो त्यो कोरोनाको कहर पछि बिस्तारै अबस्था सामान्य बन्दै गइरहेको थियो । हामी भने यसबाट सिर्जित मानसिक त्रास कम गर्ने उद्देश्यले प्रकृतिले जन्माएको यस बिपत्तिमा प्रकृतिकै काखमा हराउने सोच्यौ जुन काखमा गए पछि कोरोनाबाट टाढा तर आफूसँग नजिक हुन पाइयोस् । त्यसको लागि हामी एक लामो पैदलयात्रामा जाने निचोडमा पुग्यौ । मानसिक ताजगी पनि हुने , साथीहर सँगै भएपछी झन रमाइलो हुने , हामीहरु सम्झेरै उत्साहित हुन थाल्यौं । पैदल यात्रा त जाने तर कहाँ ?

करिब दुई दिनको सोधखोज र छलफल पछि यस्तो रमणीय ठाउँ फेला पर्यो, जस्को नाममा नै एक स्वर्गीय आनन्द महसुस हुने, त्यो मनै छुने नाम थियो “तिलिचो ताल ” । यो नाम सुन्नेबित्तिकै हामी सबैको दिमाखमा एउटै ख्याल आउँछ, त्यो हो विश्वको सबैभन्दा उचाईमा रहेको ताल जसको उचाई समुन्द्र सतहबाट ४ ,९१९ मिटर रहेको छ । हो, हामी तिलिचो ताललाई हाम्रो पैदलयात्राको गन्तव्य बनाउने निधो गर्यो । त्यो विश्वभर महामारी बनेर फैलिएको कोरोना सम्झिंदा यतिकैमा सिमित रहन मन लागेन अनि बुझ्दै जाँदा तिलिचो कै रुटमा पर्ने अर्को साहसिक गन्तव्य हाम्रो योजनामा थपियो , त्यो हो “थोरङ ला पास “। 

मनाङ्ग र मुस्ताङ जिल्लाको सिमानामा अवस्थित यो “थोराङ ला पास ” एउटा यस्तो उत्कृष्ट पैदल गन्तव्य हो जुन ठाउँको बारेमा हामी थोरैलाई मात्र थाहा छ । यसको उचाई समुन्द्र सतहबाट ५,४१६ मिटर रहेको छ र यो विश्वको सबैभन्दा अग्लो उचाईमा रहेको पास हो । तिलिचो ताल पुगेर फर्कने क्रममा तिलिचो बेस क्याम्प देखि करिब तीन घण्टा फर्किसकेपछि पुगिने श्रीखर्क भन्ने ठाउँमा एउटा दोबाटो आइपुग्छ जसबाट एउटा बाटो लमजुङ बेसीसहर आइपुग्छ भने अर्कोबाट चाँहि थोराङ ला पास पुगिन्छ । त्यहाँबाट सामान्यतः तेस्रो दिनमा पुगिने यो पास कटिसकेपछि हामी मुस्ताङ जिल्लामा अवस्थित हिन्दु धर्मावलम्वीहरुको महत्वपुर्ण धाम मुक्तिनाथ धामको शिरमा पुग्छौ । यो रुट प्राय: नेपालीहरु भन्दापनि विदेशी पर्यटकहरूमाझ विशेष प्रचलित छ । त्यहाँका स्थानीयले यो रुटमा प्राय: नेपालीहरु तिलिचो मात्र पुगेर फर्कने अनुभव सुनाउँछन् ।

पैदलयात्रा त जाने निधो गरियो, अब हामी सबैले पैदल यात्राका लागि आवश्यक सामग्रीहरुको जोहो गर्न थाल्यौं । त्यसैक्रममा हामीले सामान्य औषधि , नक्सा, तातोपानी राख्ने थर्मस, न्यानो – लुगा, बाक्लो ट्रेकिङ जुत्ता लगायत हिउँको यात्रामा नभई नहुँने कालो चश्मा झोलामा राख्यौं… अनि साच्चै आफ्नो देशको झन्डा, त्यो त कहाँ बिर्सनु नि !

पहिलो दिन 

योजना बमोजिम हामी २०७७-११-२७ गते महाशिवरात्रीको दिन लमजुङ बेसिशहरका लागि बिहान नौ जनाको टोली कलंकी पुगेर माइक्रो चड्यौ । बिहान करिब सात बजे सुरू भएको हाम्रो यात्रा मलेखुमा दश बजेतिर खाना खाएर एक बजेतिर लमजुङको बेसीशहर पुग्यौं । बेसीशहरभन्दा अगाडि राम्रो बजार नभएको र पाइने सामानहरू पनि अत्याधिक महंगो पर्ने हुँदा हामीलाई यात्राको क्रममा चाहिने पानी, लेक लाग्दा तत्काल सजीलो बनाउने कोल्ड्र ड्रिंक्स, ट्रेकिङ्ग स्टिक, खाजा, विभिन्न चकलेट साथै अन्य ससाना सामानहरू त्यही बेसीशहरमा किन्यौँ । त्यहाँदेखि अगाडि सार्वजनिक गाडी नचल्ने हुँदा बोलेरोमा चालकसँग भाडादरमा सहमति गरेर मनाङ्गको सदरमुकाम चामेसम्मको यात्रा थाल्यौँ । केहीबेर मात्र यात्रा गरिसकेपछि हामी नेपालकै पहिलो सुरुङ्ग मार्ग अवलोकन गर्ने अवसर पायौं । एकातिर एउटा जिप पनि मुस्किलले अट्ने बाटो , अर्कोतिर प्रकृतिको अनुपम भण्डार हेर्दै हाम्रो यात्रा अगाडि बढिरहेको थियो । लमजुङको ड्यादीमा प्रत्यक्ष झरनाको अवलोकन गर्दै खाजा खाएर हामी करिब आठ बजेतिर चामेमा पुगेर बास बस्यौ । कतिपय पर्यटकहरू एकै दिनमा खाङसार पुगेर बस्नुहुने रहेछ त्यसो गर्दा लेक लाग्ने प्रबल सम्भावना हुन्छ ।

दोस्रो दिन 

अघिल्लो दिन दिनभरको यात्राले केही थकित थियौं । बिहान करिब सात बजेतिर उठेर त्यहाँको विशेष खाजा तिब्बतीयन ब्रेड खाएर हामी चामे बजार घुम्न निस्क्यौं । त्यहाँ रहेको प्रहरी बिटमा पुगेर प्रहरी दाजुभाईहरुसँगको एकछिन भलाकुसारी सकेर कलकल बग्दै आइरहेको मस्याङ्दी नदीमाथि बनेको झोलुङ्गे पुल तरेर नजीकै रहेको तातोपानी कुण्डमा पुग्यौ । आश्चर्य लाग्ने ठाउँ जहाँ छेवैमा हिमाल टल्किरहेका थिएँ , त्यसकै काखैमा भकभक उम्लिरहेको तातो पानी आइरहेको थियो । हामी केहीबेर त्यहाँ घुमेर होटल पुग्यौं अनि खाना खाएर हिजो कै जिपमा खाङसार सम्मको यात्राका लागी छूट्यौ । बाटोमा देखिने ति सेताम्मे भिर पाखा, हिमाली भागमा मात्र पाइने याक-चौरी, तिलिचो तालबाट कलकल अविरल बग्दै आएको मस्याँदी खोला, सेताम्मे फुलेका हिमाल हेर्दै हामी त्यति कठिन कच्ची बाटोमा यात्रा गर्दै छौ भन्ने भय नै बिर्साइदिएका थिए । खाङसार पुग्न करिब एक घण्टा अगाडि बाटो मर्मत कार्य चलिरहेको हुनाले हाम्रो जिप त्यहाँ भन्दा अगाडि जान नसक्ने भएकाले हाम्रो वास्तविक पैदलयात्रा त्यहींनेर रहेको झलुङ्गे पुलबाट सुरू भयो । खाङ्सार पुग्नै लाग्दा ५० दिनपछि परेको हिउँले हामीलाई स्वागत गर्यो । हाम्रो यात्रामा नसोचेका कुराहरू भइरहेको हुँदा सोचेको भन्दा निकै रमाइलो भइरहेको थियो । त्यो थाकेको शरीर भएपनि निकैबेर फुरफुर पर्दै गरेको हिउँमा खेल्दै त्यो दिन हामी खाङसारमा बास बस्यौ ।

तेस्रो दिन 

बिहान जस्तामा जमेर बसेको हिउँको डल्ला पग्लेर भुइँमा खसेको आवाजले हामीलाई बिउँझायो , यसो उठेर हेर्दा चारैतिर हिउँले ढाकेको थियो । त्यतिकै मात्रामा हिउँ परेमा हाम्रो यात्रा गन्तव्यमा पुग्न मुश्किल थियो । घामले बिस्तारै बाटोमा परेको हिउँ पगालेर बाटो चिप्लो बनाउदै थियो । अन्योलका माझ हाम्रो यात्रा अगाडि बढ्यो । करिब २ घण्टा हिँडिसकेपछि हामी श्री खर्क ( ४,०६० मिटर ) पुग्यौँ । त्यहाँ हाम्रो दुईटा गन्तव्यको दोबाटो पर्ने भएकाले हामीलाई भारी भएको सामान त्यहीं होटलमा राखेर झोला सजीलो बनाउंदै बेस क्याम्पका लागि हिँड्यौ । हिउँ पर्ने क्रम रोकिएको थिएन । करिब तीन घण्टाको हिडाईपछी हामी तिलिचो बेस क्याम्प (४,१५० मिटर ) पुग्यौँ र त्यहाँ आऊने पहिलो होटलमा हामी बास बस्ने निर्णय गयौँ । त्यहाँ पुग्दा झमक्क साँझ परिसकेको थियो । त्यो ठाउँमा बिजुली पुगेको रहेनछ, दुईदिनदेखि परेको हिउँले गर्दा सोलारले पनि काम गर्न छोडिसकेको थियो । हिउँले निश्रुक्क भिजेका कपडा अगेनामा सुकाउँदै हामी अगेनाको वरिपरि गफ गर्दै निकै अबेरसम्म बस्यौं ।

 

चौथो दिन 

आज हाम्रो पहिलो गन्तव्यमा पाईला टेक्ने दिन , एकाबिहानै लागेको पारिलो घामले हामीलाई उत्साहित बनाइरहेको थियो । सबैजना उठेर खाजा खाएर केहीबेर फोटो खिच्ने काम सकेर हामी तिलिचो तालतर्फ अगाडि बढ्यौं । हामी करिब बेसक्याम्पदेखि एक किलोमिटर उचाईमा रहेको तालको दृश्य अवलोकनका लागि अगाडि लम्किरहेका थियौं । केहीबेरको सजिलो बाटो सकिएपछि निक्कै नै ठाडो उकालो बाटो चढ्नुपर्ने रहेछ । प्रसस्त मात्रामा पानी , कोक नबोक्नाले हाम्रो यात्रा निकै कष्टकर बन्दै थियो । केहि साथीहरूलाई हिँड्न समस्या भइरहेको थियो तर त्यसबेला साथीहरुले देखाएको साथित्व भावले जस्ता कठिन समस्याहरूसँग पनि जुध्न हामी तयार भयौँ र हामी अगाडि बढ्यौं ।पानीको तिर्खा बिस्तारै बढ्दै थियो, बाटोमा भेटिएका हिउँका डल्ला मुखमा चपाउँदै केहीबेरको प्यास बुझाउँदै भएपनि हामी हिँड्यौ तर रोकिएनौं । त्यो बाईस घुम्तीको ठाडो उकालो सम्झंदा अहिले पनि सास फुलेर आउँछ । निकैबेर हिँडिसकेपछि देखिने ३५ मिनेट लेखेको बोर्ड देख्दा ल अब त आएछ भन्ने लाग्यो तर त्यो पछी पनि करिब एक घण्टाको हिडाई पछि १२ बज्नै लाग्दा बल्ल हामी सबैजना तिलिचो ताल पुग्यौँ । त्यतिबेला एउटा कुरा महसुस भयो , चुचुरोमा आफु पुग्नुको खुशि भन्दा समूहको सबैजना पुग्नुको खुशी निकै उत्कृष्ट हुने रहेछ । त्यस अर्थमा पनि हाम्रो यात्रा सफल रह्यो।

अन्तिम उकालो उक्लिसकेपछि देखिने वरिपरि सेताम्मे हिउँको बिचमा गमक्क पर्दै बसेको त्यो निलो पानीको दृश्य भने हामीले हेर्न पाएनौँ, ताल सबै सेतो हिउँले छोपिएको थियो । मनाङ्ग जिल्लाको खाङसार गाउँपालिकामा अवस्थित यो ताल , समुन्द्र सतहबाट ४,९१९ मिटरको उचाइमा अवस्थित छ भने यसको भ्यु पोइन्ट ५,२०० मिटरको उचाइबाट हामी ताललाई नियालिरहेका थियौँ । यो ताल ४.८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । भ्यु पोइन्टमा राखिएका शिव र बुद्धको मूर्ति यस ठाँउको चिनारी बनेर रहेका छन् । हामीहरु पहिलो गन्तब्य त्यत्ति सानदार रूपमा समूहका सबैजनाले चुम्न सफल भएको खुसी कैद गर्दै करीब एक घण्टा समय त्यहाँ बितायौं । त्यसरी करिब १ घण्टा समय त्यहाँ बिताइसकेपछि हामीहरू बेस क्याम्पका लागि फर्कियौं । बाटोमा फर्कदा ठूलो वेगले हावा चल्दै थियो , माथि भिरमा कुदिरहेका मृगले झारेको ढुङ्गा झरेर लाग्छ भनेर हामीहरू विशेष चनाखो हुँदै हिँड्यौ । हिउँ टल्केर नाङ्गो आँखाले हेर्न नसकिने हुनाले अनिवार्य रूपमा कालो चश्मा लगाउनु पर्ने रहेछ । करीब दुई घण्टाको पैदल यात्रा पछी हामी बेस क्याम्प आइपुग्यौं । कतिपय पर्यटकहरू भने त्यसैदिन श्रीखर्क फर्किनुहुने रहेछ तर हामी भने निकै थाकेको हुनाले त्यसदिन त्यही बेसक्याम्पमा बसेर अर्को दिन मात्र त्यहाँबाट अघि बढ्ने निर्णय गर्यो ।

 

पाँचौं दिन 

अघिल्लो दिनको त्यो निकै कष्टकर यात्रा सम्झंदा हाम्रो मनोबल केहि खस्किएको थियो त्यसैबीच हामी श्रीखर्कका लागि निस्कियौं । करीब तीन घण्टाको हिडाई पछि हामी श्रीखर्क पुग्यौँ । त्यहाँ खाना खायौँ । हामी थोराङ ला पास गर्ने मनोबल बलियो बनाउँदै लेदरका लागि हिड्यौं । अघिल्लो दिनको दुःखले हामीलाई धेरै कुरा सिकाएको थियो । त्यसै अनुरूप कोल्ड ड्रिंक्स अनि पानी प्रशस्त मात्रामा बोक्यौं । त्यो बाटोमा निकै वेगले हावा चल्दै थियो । श्रीखर्क देखि याकखर्क हुँदै हामीहरु त्यस दिन हामी त्यो हिउँको बाटोमा उकालो ओरालो गर्दै करीब २३ किलोमीटर हिँडेर हामी लेदर पुग्यौं । त्यहाँ झलुङ्गे पुल तरेपछि आउने पहिलो होटलमा हामीहरु बास बस्यौँ ।

छैटौं दिन 

हाम्रो यात्राको दोस्रो गन्तब्यमा पुग्नुभन्दा अघिल्लो दिनको यात्रा मनाङ्गको लेदरबाट सुरु भयो । हाम्रो आजको लक्ष्य थोराङ ला हाईक्याम्पसम्म पुग्नु थियो । त्यसै अनुरूप हामी करिब सात बजेतिर यात्रा सुरू गर्यो । बाटो अघिल्लो दिनको तुलनामा केहि सहज थियो । बाटोमा एक दुई ठाँउमा पहिरो गएर बाटो नै लगेको रहेछ , ती सामान्य अफ्ट्याराहरु बाहेक करिब चार घण्टा हिँडेर हामी थोराङ ला फेदीमा ( ४,५४० मिटर ) पुग्यौ र त्यहाँ बाट हाई क्याम्प पुग्न डेढ घन्टाजति ठाडो उकालो चड्नुपर्ने रहेछ । हामीले फेदीमा खाना खायौँ र केहीबेर विश्राम लिइसकेपछि हाम्रो यात्रा के सबैभन्दा कठिन मानिएको ठाडो उकालो चढ्न थाल्यौँ । थोराङ ला फेदी देखि हाई क्याम्प सम्मको करिब ४०० मिटर ठाडो उचाई हामीले केवल १ घण्टा २० मिनेटमा पार गर्न सफल भयौँ । जब माथि उक्लेर हाई क्याम्पको होटल देख्दा जो कोही पनि प्रफुल्लित हुन्छ । हामी त्यसदिन सोचे भन्दा थोरै समयमा त्यहाँ पुग्न सकेकोमा सबैजना खुशि हुँदै भोलीको गन्तव्य थोराङ ला पास ( ५,४१६ मिटर ) का लागी उत्तिकै उत्साहित थियौँ ।

 

सातौं दिन 

आज हाम्रो ट्रेकिङको अन्तिम तथा संसारको सबैभन्दा अग्लो स्थानमा रहेको पास पार गर्ने दिन थियो । एकाबिहानै ५ बजे उठेर सबैजना तयार भयौं र आवश्यक तयारी गरेर हाम्रो सबैभन्दा चुनौतीपूर्ण यात्राका लागि निस्क्यौं । चारैतिर अन्धकार थियो , केहि साथीहरू अघिअघि हातमा बत्ती लिएर अगाडि हिड्दै थिए । हिड्ने बाटोमा निकै बाक्लो हिउँ जमेको थियो । सानो गल्तिले पनि ठूलो दुर्घटना हुन सक्ने कुरामा हामी सबैजना सचेत थियौं । हातमा दुईटा पन्जाले पनि जाडो थेग्न नसकेर हात जम्न थालेको आभास हुँदै थियो । त्यो पहिलो एक घण्टा निकै नै सकसपूर्ण रह्यो । विस्तारै घामको उज्यालो देखिन थाल्यो । घाम लाग्न थालेपछि यात्रा केही सहज भयो तर जति जति यात्रा अघि बढ्दै थियो उतिनै हावामा अक्सिजनको मात्रा कम कम हुँदै थियो । गारो भएर कोक खान बिर्को खोल्दा बोतलमै कोक जम्थ्यो । केही साथीहरूलाई बान्ता भयो , केहीलाई भने अक्सिजनको कमिले टाउको दुख्दै थियो । ती सम्पूर्ण कठिनाइहरुलाई जितेर हामी करिब ९ बजेतिर ५,४१६ मिटरको उचाईमा रहेको थोराङ ला पासको चुचुरो चुम्न सफल भयौं । तिलिचो तालमा जस्तै यहाँ पनि सम्पूर्ण नौ जनाले नै आरोहण सफलताका साथ सम्पन्न गयौँ । सम्सिँदा आफैलाई विश्वास नलाग्ने यात्रामा हामीहरु सफल भएका थियो । चारैतिर देखिने हिमालको चुचुरोको उचाईमा हामी थियौं । त्यतिबेला हामीले हामी बाहेक संसारको सबैकुरा बिर्सेका थियौं । करिब १ घण्टा त्यो ५,४१६ मिटरको उचाईमा बिताएर हामी ओरालो झर्न थाल्यौँ , करिब पाँच घण्टाको त्यो ठाडो ओरालो हिँडिसकेपछि हामीहरु ३,८०० मिटरको उचाइमा रहेको मुक्तिनाथ मन्दिरमा पुग्यौँ । सामान्यतः मनाङ्ग जिल्लामा उकालो चढ्ने भाग पर्दछ भनें मुस्ताङ जिल्लामा ओरालो पर्दछ । हामीले सोचेको जस्तो १,६१६ मिटरको ओरालो झर्न त्यति सजिलो भने पक्कै थिएन । खुट्टा निक्कै गलेका थिए । फेदीमा नपुग्दा सम्म बाटोमा खाजा पाउने पसल समेत नभएको हुनाले यात्रा झन कष्टकर हुँदै थियो । करीब ५ घण्टा ओरालो हिँडेपछि हामी मुस्ताङ तर्फको थोराङ ला फेदीमा पुग्न सफल भयौँ । त्यहाँ खानाको राम्रो प्रबन्ध थियो , त्यसो त बाटोमा बसेको हरेक ठाँउमा खाना र बस्नको लागि राम्रो सुविधा पायौं । त्यसरि हामी चार बज्नै लाग्दा मुक्तिनाथको शिरमा उभिएका थियौँ । सधैं उकालोमा देखिने मुक्तिनाथ मन्दिर यसपाली हामीले ओरालोमा हेर्दै थियौँ ।

 

त्यसरी हामी दाहिने तर्फबाट मुक्तिनाथ मन्दिरलाई पर्खाल बाहिरैबाट नियालेर हामीहरु होटलमा पुग्यौं । होटल पुग्दा सबैजनाको अनुहार फुटेर चिन्न नसकिने भएको थियो तर पनि हामी सबैजना प्रफुल्ल थियौं । त्यो बेला हामीले एक हप्ताको लागि सबथोक बिर्सेका थियौं । जसरी यात्राको सुरूमा सोंचेको थियौँ त्यसभन्दा दोब्बर खुशी हुँदै यात्राको रमाइलो पलहरु सम्झंदै त्यो दिन बितायौं । भोलीपल्ट बिहानै मुक्तिनाथ मन्दिरको दर्शन गरेर मुक्तिनाथबाटै काठमाडौं पुग्ने बसमा काठमाण्डौसम्मको यात्रा तय गर्यो । हामीले पैदलयात्राको क्रममा निकै कुराहरू सिक्न पायौं । विशेषत : लगाउने लुगा , जुत्ता , कोल्ड ड्रिंक्स , त्यहाँको हावापानी अनि मौसम पूर्वानुमान बुझेर मात्र योजना बनाउनुपर्ने रहेछ । हामीले योजना बनाउँदा जस्तो अनुकूल समय अहिले छैन , कोरोनाको दोश्रो लहरले जनजीवन अस्तव्यस्त बनाएको छ । यहाँहरू सम्पुर्णलाई कोरोना जित्ने सामर्थ्य मिलोस् र संसार बाटै कोरोना छिटै अन्त्य होस् । यसैगरी स्वदेशी तथा बिदेशी पर्यटकहरू निर्धक्क भएर घुम्ने वातावरण छिटै बनोस् भन्दै यात्राको क्रममा सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी मनहरुलाई विशेष धन्यवाद दिँदै मेरो लेख यही टुङ्ग्याउछु । धन्यवाद ।।

-सुरज पाण्डेय

पाटन संयुक्त क्याम्पस, Msc. Physics (आगमन खबर समाचार संयोजक)

यसै सम्बन्धी भिडियो ब्लग तलको युट्युब लिंकमा गएर हेर्न सक्नुहुन्छ।

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …