तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

स्याङ्गजा। पहाडको बीच भागबाट कडा चट्टानलाई छिचोल्दै पानीको झरना छङ्छङ् झरिरहेको छ । छङ्छङ् आवाज निरन्तर सुनिने सोही झरनाका कारण यस ठाउँको नाम पनि छाङ्छाङ्दी रहन गएको स्थानीयवासीको भनाइ छ ।

ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं पर्यटकीय महत्व बोकेको स्याङ्जा जिल्लाको भिरकोट नगरपालिका–४ स्थित छाङ्छाङ्दी क्षेत्र यतिखेर धार्मिक पर्यटकको आकर्षण गन्तव्यका रुपमा विकास हुँदै आएको छ । आफ्नै पिता दक्ष प्रजापतिले लगाएको यज्ञकुण्डमा छोरी सतीदेवीले हामफाली देहत्याग गरेपछि सतीदेवीको मायाले ओतप्रोत भगवान् महादेवले सतीदेवीको शरीरलाई काँधमा बोकी पृथ्वी भ्रमणका क्रममा निस्किनुभएको थियो । यसरी हिँडेका महादेवले सतीदेवीको शरीर कुहिएर अङ्ग अङ्ग नै झरेको पनि थाहा नपाएको र त्यसै क्रममा यही छाङ्छाङ्दी क्षेत्रमा पुगेपछि सतीदेवीको शरीरका बाँकी रहेका सम्पूर्ण अङ्गहरु पतन भएको कुरा श्रीस्वस्थानी व्रतकथामा उल्लेख छ ।

यसरी पीडा, थकाइ र तिर्खाले व्याकुल बनेका महादेवले त्यसै ठाउँको चट्टाने पहाडमा त्रिशूल प्रहार गरेर जल उत्पन्न गराई आफ्नो तिर्खा मेटाएको र त्यही स्थानमा गौमुखे पनि निस्किएको अनि सोही गौमुखेको पानीबाट यो छाङ्छाङ्दी झरना बनेको किंवदन्ती पनि पाइन्छ । सिद्धार्थ राजमार्गको मुख्य प्रवेशद्वार रहेको यस धार्मिक क्षेत्रको महत्वलाई कायम राख्दै एक पटक पुग्नै पर्ने गन्तव्यका रुपमा विकास गर्ने दीर्घकालीन लक्ष्य लिइएको श्री छायाँक्षेत्र शिव मन्दिर सेवा समितिको रहेको छ।

शिव मन्दिरको पछिल्तिर लगभग २० मिटरको उचाइबाट गाईको मुखजस्तै आकारबाट झरेको छाङ्छाङ्दी झरना ८० मिटर लम्वाइको भूमिगत ढल निर्माण गरेर उक्त पानीलाई आँधीखोलामा समाहित गरेको छ। आँधीखोलालाई दृष्टिविहीन बुबा र आमाप्रति छोरा श्रवण कुमारले देखाएको श्रद्धा र योगदानको प्रतीकका रुपमा पनि लिने गरिन्छ ।

सो शक्तिपीठमा भक्तजनले आफ्नो मनोकाङ्क्षासहित कार्य गर्दाको अघिल्लो दिन बेलुका आवश्यक सामग्रीको सङ्कल्प गर्दा भोलिपल्ट सम्पूर्ण सामान आफै तयार हुने गरेको थप किंवदन्ती पनि रहेको छ । यसरी उत्पत्ति हुने सामग्री एकपटक एकजना भक्तजनले चोरेर लगेका र त्यसपछि भने सङ्कल्प गरेका सामान प्राप्त हुन छोडेको पनि स्थानीय बासिन्दाको जनजिब्रोमा अझै रहिआएको छ ।

मन्दिर परिसरमा गौमुखे धारा, यज्ञशाला, शिवलिङ्ग, सन्तोषी माता, नवग्रहका मूर्ति, शिवजीको विशाल मूर्ति, राधाकृष्ण र गणेशको मन्दिर निर्माण गरिएको छ। धार्मिक क्षेत्रका शिलालाई गहिरिएर अध्ययन गर्दा गौथुनहरू, गणेशका मूर्ति, नाग, शिवका विभिन्न स्वरुप देख्न सकिनेछ।

मन्दिरमा पहिले पहिले गाईका बाच्छाबाच्छी चढाउने चलन भए पनि हाल भक्तजनले गरेको भाकल अनुसार परेवा चढाउने गरिन्छ । मन्दिरमा कुनै पनि किसीमको बली चढाउने प्रचलन भने छैन ।

विभिन्न धार्मिक पर्वसँगै दैनिक जस्तै आउने पर्यटक एवं भक्तजनले गर्ने दान तथा भेटीबाट वार्षिक रु २० लाख भन्दाबढी आम्दानी हुने गरेको छ। साउन महिनाको प्रत्येक सोमवारसहित अन्य दिनमा गरी सन्ध्या आरतीले धार्मिक क्षेत्रको महत्व बढाएको छ ।

सो धार्मिक क्षेत्रमा विशेषगरी नयाँ वर्ष, साउने संक्रान्ति सहित सोही महिनाको प्रत्येक सोमवार १०८ पिपलका जलधारा, जीज भेला, कृष्ण जन्माष्टमी मेला, महाशिवरात्री, मातातीर्थ औँसी लगायतका विभिन्न पर्वमा भक्तजनको भीड लाग्ने गर्छ। यहाँ विवाह, ब्रतवन्ध लगायतका शुभकार्य समेत हुने गर्दछ।

पोखरादेखि भौरहवा सिद्धार्थ राजमार्ग खण्डको सुगम स्थानमा अवस्थित सो क्षेत्रमा गाडी रोकेर यात्रुहरू उक्त शक्तिपीठको दर्शन गर्ने र चिया खाजा खाने एक किसीमको विसौनीजस्तो स्थानको रुपमा पनि पछिल्लो समयमा विकसित भएको छ । यसरी यो स्थान धार्मिक एवं मनोरम दृष्यावलोकन गर्ने स्थलका रुपमा विकास हुनुको साथै स्थानीय व्यापारीहरुलाई आयआर्जनका रुपमा पनि सहयोग पुग्ने गरेको स्थानीयको सामूहिक धारणा छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …