तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

रुषा थापा

हामी नेपालीहरुको महान् चाड दशैँ नजिकिदैँ छ  । दशैँमा मानिसहरुले आआफ्नो आवश्यकता अनुसार नै किनबेच गर्ने गर्छन् । तर पछिल्लो समय बजारमा पहिलो वर्षको भन्दा दोब्बर महंगी बढेको पाइन्छ । महंगीका नाममा अहिले व्यापारीहरुले मनपरी भाउ राखेर सामान बेचिरहेका छन् । साथै अहिले बजारमा हजार लिएर गएमा एक झोला तरकारी पनि आउन गाह्रो भइसकेको छ । यता त्यस्तै खसीको मासु एककिलो किनेर खानुपरेमा १४ सय तिर्नुपर्छ भने कुकुरको मासुको ४ सय पर्ने गर्छ ।

दशैँमा हामी जनतालाई आवश्यक पर्ने सामग्रीमा व्यापारीहरुले मनपरी भाउ राखेर हामीलाई ठग्छन् । पछिल्लो समय महंगी, बेरोजगरी र गरिबीका कारण हामी सर्वसाधारणहरु चाडवाड पनि मनाउन नसक्ने अवस्थामा पुगिरहेका छौँ । अबदेखि सरकारी कर्मचारी, व्यापारी र घरधनीहरुले मात्र चाडवाड मनाउन पाउने छन् । हामी सर्वसाधारणलाई बिहान बेलुकाको त टाक टार्न गाह्रो भइसकेको छ भने हामी कसरी चाडवाड मनाउने ।

महिनाभरिको धौँधौँ गरेर ८देखि १० हजार कमाउने मानिसले त्यो पैसाबाट घर खर्च चलाउने कि चाडपर्व मनाउने । पछिल्लो समय महंगीका कारण आर्थिक कमजोर भएका र बेरोजगारी मानिसहरुले हामी नेपालीको महान् चाड दशैँ नै मनाउन नपाउने दिन आइसकेको छ । बजारमा व्यापारीहरुले बेच्न राखेका सामग्रीहरु सबै कमसल वा मिसावट रहेको पाइन्छ । चाहे त्यो बोरामा प्याक गरेर राखेको चामल नै होस् या बजारमा पाइने हरियो तरकारी नै होस् । यिनीहरुमा व्यापारीहरुले तौल घटबढ, मिसावट र म्यात सकिएको बेच्ने गर्छन् तर पैसा भने महंगो लिएर जनता ठग्छन् ।

अहिलेपनि निजी क्षेत्रमा काम गर्ने, मजदुरी गर्ने मानिसहरुको ज्याला बढेको छैन तर महंगी हप्तैपिछे व्यापारीहरुले बढाएका छन् । सरकारले सरकारी कर्मचारीलाई तलब बढाउँछन् तर निजी क्षेत्रमा काम गर्ने मानिसलाई न तलब बढ्छ न त महंगी नै घट्छ । चाडपर्व सबैका लागि सम्मान् भएपनि पछिल्लो समय धनीहरुलाई मात्र चाडपर्व आएको पाइन्छ । धनीहरुलाई त दिनहुँ जस्तो नै चाडपर्व आएको हुन्छ तर हामी गरिब जनतालाई वर्षको एक पटक महान् पर्व दशैँ आउँदा पनि हामीहरु नयाँ कपडा र मिठो खानेकुराहरु खान पाउँदैनौँ ।

सरकारले पनि बजार अनुगमन गरेर मूल्य अभिवृद्धि गर्ने व्यापारीहरुलाई कारबाही गर्दैन । सरकार व्यापारीको अगाडि लम्पसार पर्छ र सरकारी कर्मचारी र नेताहरु भने व्यापारीसँग आर्थिक लेनदेन गर्छन् । व्यापारीहरु राजनितिक दललाई अगामी चुनावका लागि चन्दा दिन्छन् र त्यहीँ पैसा सामानमा जोडेर जनतालाई लुटछन् । बजारमा व्यापारीहरुले खानयोग्य नभएको , म्यात सकिएको, मिसावाट गरिएको , कम तौल राखेर जनता ठग्दा पनि सरकार चुपचाप छ ।

व्यापारीको अगाडि न सरकारले के गर्न सक्छ न जनता नै यिनीहरुको विरोधमा सडकमा उत्र्रिन सक्छन् । व्यापारीहरुले आफू धनी बन्नका लागि आफैँले सामानको मूल्य राखेर जनता ठग्दा पनि सरकार किन सामानको मूल्य निर्धारण गर्दैन । कति व्यापारीहरुले त अशिक्षित, आर्थिक कमजोर भएको वा गरिब मानिसहरुलाई खानयोग्य नभएको सामानहरु पनि महंगो रेटमा बेचेर ठगिरहेका छन् ।

तर पैसा त त्यो गरिब मानिसको पनि त हो नि , सरकार । किन हामी सर्वसाधारण गरिब जनतामाथि नै यस्तो अत्याचार । हामी नेपालीहरु चाडपर्वलाई हाम्रो गर्वका रुपमा पहिलेदेखि नै मनाउँदै आएका छौँ तर यहीँ चाडपर्वको नाममा व्यापारीहरुले बजारमा सामानको मूल्य बढाएर हामीलाई ठग्ने गर्छन् । हामीलाई चाडवाड रमाइलो गर्न आउने गर्छ भने व्यापारीहरुलाई जनता ठग्न आउने गर्छ । चाडपर्वमा मानिसहरुले प्रायजसो खाने खानेकुराहरु ः फलफूल, माछामासु, मिठाइ, मदिरा, दुध, दही आदि हो । यी खानेकुराहरुको अघिपछि त मूल्य धेरै हुने गर्छ भने चाडपर्वको समयमा त व्यापारीहरुले दोब्बर मूल्य लिएर जनता ठग्ने गर्छन् 

अहिले त सरकारले बजार अनुगमन गरेको छैन भने चाडपर्वको बेलामा त सरकारी कर्मचारीहरुले व्यापारीहरुसँग कमिशन खाएर खुला छोड्दिन्छन् । यता जनताको नाम लिएर उपभोक्ता संस्था खोलेका संस्थाका अध्यक्षहरु व्यापारीहरुसँग पैसा पाएन भने मात्र मूल्य अभिवृद्धिमा विरोध गर्छन् र पैसा पाएपछि जतिसुकै मूल्य अभिवृद्धि भएपनि मौन बस्छन् । साथै उपभोक्तासंस्थाका अध्यक्ष प्रेम महर्जन र उपभोक्ताकर्मी माधव तिल्मसिना, जोति बाँनिया र अन्य संस्थाहरुले पनि उपभोक्ता संस्था खोलेर व्यापारीसँग पैसा खाएर बसिरहेका छन् । यदि शुद्धिकरण विभागले यिनीहरुको सम्पत्ति छानबिन गर्ने हो भने यिनीहरुले व्यापारीसँग मिलेर खाएको सबै पैसा बाहिर आउने छ ।

यिनीहरु जनताको आवाज भनेर संस्था खोल्छन् र कुनै पैशामा पनि आवद्ध रहदैँनन् । यदि काम गर्दैनन् भने यिनीहरुले कसरी घर खर्च चलाउँछन्, बालबच्चको पालनपोषण गर्छन् , ठुल्लठुल्ला घर बनाउँछन् र चिल्लो गाडीमा चढ्छन् । यिनीहरु जनताको आवाज नभइ व्यापारीका दलालहरु छुन् । सरकार पनि व्यापारीहरुले कर तिरेको छ भन्दै व्यापारीले जनतालाई जति ठगे पनि चुप लागेर बसिरहेको छ । सरकारलाई कर भए हुन्छ भने व्यापारीलाई जनता ठग्नु छ 

सरकार खानेकुराहरुमा कति मिसावट छ र गुणस्तर छ वा छैन भनेर बजार अनुगमन गर्दैन । पेय पदार्थ, बियर, दही, दुध , माछामासु आदि विभिन्न खानेकुरा हामी जनता चाडपर्वमा बढी प्रयोग गर्छन् । तर यि सामानहरुमा कति मिसावट छ वा छैन भनेर सरकारले अनुगमन नगर्दा आज धेरै मानिसहरु यस्ता खानेकुराबाट रोगी भएका छन् । साथै कति मानिसहरुले मदिरा खाएर समाज तथा घरमा कुटपिट गर्छन् र मृत्युको मुखमा समेत पुग्छन् । त्यसकारण अब चाडवाडको समयमा मदिरा बेचबिखनमा रोक लगाउने भनेर सरकारले नीति तथा नियम बनाउनुपर्छ ।

बजारमा व्यापारीहरुले कुहिएका , सडिएका र खानयोग्य नभएका सामग्रीहरु बेच्दा पनि सरकारले बजार अनुगमन गर्दैन । व्यापारीहरु पनि जनताप्रति जिम्मेवारी नरहँदा आज जनताहरु ती खानेकुराहरु खाएर मृत्युको मुखमा समेत पुगेका छन् । व्यापारीहरुलाई आफू धनी बन्नप्रति मात्र चासो रहेको पाइन्छ । हामी नेपालीहरु वर्षभरि दुःख गरेर कमाएको पैसा दशैँमा खर्च गछौँ भने कसैले ऋण लिएर दशैँ मनाउने गर्छन् ।

साथै यता कुनै पनि आम्दानीको स्रोत नभएका मानिसहरुलाई न व्यापारीले उधारोमा सामान नै दिन्छ न मानिसले नै ऋण दिने गर्छ । जसले गर्दा उसलाई कुनै पनि चाडवाड आउँदा केहि चासो हुदैँन । अब हामी नेपालीहरु आफूले दशैँमा खर्च गर्ने पैसा कटौती गरेर ती आर्थिक कमजोर भएका मानिसहरुलाई पनि दशैँ मनाउने मौका दिने हौ कि ।तर हामी त्यस्तो छैनौँ ,हामी नेपालीहरु बरु खाइ नसकेर बाटामा लगेर फाल्छन् तर गरिब र दुःखीलाई सहयोग गर्दैनौँ ।

हामी सबै मानिसहरु यो धर्तीमा जन्मिएपछि कुनै न कुनै दिन मर्छौ । हामीले बाच्नुँन्जेल केही राम्रो काम गरेर मरेपछि पनि हामीलाई मानिसले सम्झँन्छन् तर मानिस जतिसुकै धनी भएपनि उसले समय हुनु जेलसम्म केही राम्रो काम गरेको छैन भने ऊ जति धनी भएपनि उसलाई मरेपछि कसैले सम्झिदैँन । पहिलापहिलाको समाज तथा मानिसहरु आफू भोको बसेर पनि अरुलाई खान दिन्थे , दुःखी गरिबलाई सहयोग गर्ने गर्थे तर अहिलेको समाज तथा मानिसहरु आफू खाइनसकेर खानेकुराहरु फाल्छन् तर दुःखी गरिबलाई एक छाक खान दिदैँनन् । अहिलेका मानिसहरु एउटै काममा सिमित छन् । आफू धनी बन्ने, चिल्लो गाडीमा चढ्ने । उनीहरुसँग अरुलाई सहयोग गर्ने भावना नै रहेको छैन ।

पछिल्लो समय भर्खरै जन्मिएको बच्चालाई पनि उसको आमाबुबाले उसले नबोले पनि उसलाई आवश्यक पर्ने सम्पूर्ण सामानहरु दिन्छ तर समाजमा कसरी घुलमिल हुने भनेर सिकाउँदैन । अहिले बच्चाहरुलाई अभिभावकहरुले राम्रो ज्ञान तथा संस्कार नदिएकाले उनीहरुलाई गरिबप्रति माया, ठुलोलाई सम्मान् सानोलाई माया, देशलाई माया गर्ने जस्ता भावनाहरु रहेको पाइदैँन । अहिले बच्चाहरु गरिबलाई हेरा गर्छन् भने राष्ट्रलाई घृणा गर्छन् उनीहरु आफ्नो अभिभावकले दिएको अपुरो ज्ञानका कारण स्वार्थी हुदैँ गएका छन् ।

अब महंगीका कारण हामी जनताको चुलोमा बिहान बेलुका आगो बल्न छोडिसक्यो वा एक छाक मात्र खान पाउने दिन आइसक्यो । सबै सामानहरु व्यापारीको मनपरी भाउमा बिक्री हुन थालिसकेको छ तर सरकार भने लाचार भएर बसिरहेको छ । व्यापारीहरु राजनितिक पार्टीको झोला बोकेर, संगठन खोलेर जनता ठग्न तुलिएका छन्  ।तर सरकार र उघोग तथा वाणिज्य मन्त्री दिलेन्द्रपसाद बडु उघोग व्यासायीहरुसँग पैसा खाएर बसिरहेका छन् । अहिले उघोग मन्त्रालय मन्त्रीले चलाउनुको सट्टा उघोग व्यवसायीहरुले चलाएका छन् ।

उघोग मन्त्रीले व्यापारीसँग आफ्नो फाइदाका लागि लाभ लिँदा यसको मार आज जनताले भोगिरहेका छन् । जनताको लागि मन्त्री बनेका बडुले आज जनताको लागि नसोचि आफ्नो लागि सोच्दा अहिले महंगीले सिमा नाघिसकेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले न उघोग मन्त्रीलाई हटाउन सक्छन् न महंगीलाई नियन्त्रण गर्न सक्छन् । प्रधानमन्त्री देउवालाई अहिले पनि बजारमा महंगीका लागि जनता भोकै बसेको कुरा थाहा नै छैन ।

विपक्ष पार्टी एमालेका केपी शर्मा ओलीलाई महंगीका कारण जनता भोकै बस्नुपप्यो र यसलाई नियन्त्रण गर्नुपप्यो भनेर बोल्न फुर्सद नै छैन । उनी जनताप्रति जिम्मेवार नै रहेका छैनन् । ओली कहिले पनि जनताको नेता बन्न सकेन उनी एउटा ग्रुपको नेतामा नै सिमित रहे । अहिले जनताहरु बजारमा भन्छन् , एमाले पार्टी त पार्टी होइन त्यो त ओलीको एउटा निजी ग्रुप हो । जसले निजी कम्पनी खोल्छ उसले व्यापार गरेर नाफा मात्र खोज्छ उसलाई जनता र राष्ट्रको केही चासो हुदैँन । अहिले ओलीको पनि त्यहीँ काम निरन्तरताका साथ अघि बढेको हामी जनताहरु देख्छौँ 

विपक्ष पार्टी एमालले न महंगीका विरोधमा सदनमा आवाज उठाउँछ न सडकमा नै उत्र्रिन्छ । अहिले जनताहरु विपक्ष पार्टी एमाले पनि छ र भनेर भन्छन् । अहिले बजारमा कुन सामानको मूल्य कति छ भनेर न ओलीलाई नै थाहा छ न देउवालाई नै थाहा छ । उनीहरु तजनताले तिरेको करमा मोजमस्ती गरेर बसिरहेका छन् । देउवा भन्छन्, म जनताको लागि प्रधानमन्त्री बनेको हो तर उनलाई गरिब र दुःखी जनताहरु महंगीका कारण भोकभोकै मरेका भन्ने विषयमा बोल्ने फुर्सद भने छैन ।

व्यापारीसँग पर्दाभित्र बसेर मिलोमत्तो गरेर बजारमा महंगी बढाउने पनि यिनै जनताका सेवक देउवा र ओली नै हुन् । 

महंगीको विरोधमा पुष्पकलम दाहाल, माधव नेपाल , झलनाथ खनाल, बाबुराम भट्ट वा अन्य पार्टी पनि बोल्दैँन । यिनीहरु त पर्दा भित्र बसेर व्यापारीसँग मिलोमत्तो गरेर आफैँ महंगी बढाएर जनता लुटिरहेका छन् । झन् रवि लामिछाने त सफा पानीलाई धमिलो बनाएर, नेताहरुलाई हिलो छयाप्न व्यापारीहरुसँग मिल्न आएका नेता हुन् । उनले त झन् महंगीका विरोधमा कसरी आवाज उठाउँछन् । अब चुनाव नजिकिदैँ छ व्यापारीहरुले जे भन्यो राजनितिक दलका नेताहरुले त्यहीँ मान्छन् । यदि व्यापारीहरुले चन्दा नदिएमा राजनितिक दलहरु चुनाव समेत लड्न सक्दैनन् ।

नेपालमा व्यापारीले जे भन्यो त्यहीँ हुन्छ , उनीहरुले आफ्नो फाइदाका लागि जति महंगी बढाए पनि यो देशमा राजनितिक दलहरुका नेताहरु सहमति गर्छन् । यता व्यापारी सामानको मूल्य बढाएर जनता ठग्छ भने उता त्यहीँ पैसा राजनितिक दललाई चन्दा दिन्छ । फेरि यता राजनितिक दलहरु हामी जनता कै हितमा काम गछौँ भन्छन् । अब हामी सर्वसाधारणहरुले महंगीका कारण एक छाक पनि खान गाह्रो हुने दिन आइसकेको छ । अब हामीले एक दिनका लागि नपुग्ने खानेकुरा बाँच्नका लागि तीन दिनसम्म खानुपर्ने दिन आएको छ । अब सरकारले समयमै बजार अनुगमन गरेर नियन्त्रण नगरेमा दशैँमा जनताको घरको चुलोमा आगो बल्ने छैन ।

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …