तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ ।सत्तारुढ दल नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा पार्टीका केन्द्रीय पदाधिकारीमा युवा नेताहरू पुग्दै गर्दा कांग्रेसजनको अपेक्षा थियो– अब पार्टी विधिले चल्छ, कार्यशैलीमा रुपान्तरण आउँछ । तर, महाधिवेशनपछि छ महिना बित्दासम्म कांग्रेसजनको त्यो आशा निराशामा परिणत भइरहेको छ ।

७६ वर्षीय सभापति शेरबहादुर देउवाको टिममा उपसभापति र महामन्त्री बनेका दोस्रो पुस्ताका धनराज गुरुङ, गगन थापा र विश्वप्रकाश शर्माहरूप्रति पार्टीभित्र र बाहिरबाट प्रश्नहरू तेर्सिन थालेका छन् ।

स्थानीय तह निर्वाचनको समीक्षा गर्न सोमबारदेखि जारी कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा पनि केन्द्रीय सदस्यहरूले स्थानीय चुनावको समीक्षाभन्दा धेरै पार्टीको छ महिने कार्यकाल र महामन्त्रीहरूको भूमिकामाथि नै प्रश्न उठाए, आलोचना गरे ।

बैठकमा सभापति देउवा र सभापतिमा देउवासँग पराजित नेता शेखर कोइरालानिकट नेताहरूबीच गुटगतरुपमा विभाजित भएरै वैचारिक बहस भयो, आरोप–प्रत्यारोपको लहरै चल्यो । पदाधिकारीको चर्को बोलीले बैठकमा गर्मी थपियो । संस्थापन पक्षका नेताले महामन्त्रीहरूले सभापतिलाई असहयोग गरेको भन्दै आलोचना गरे, अनि कोइराला पक्षले सभापति देउवाले एकलौटी गरेको आरोप लगाए । 

पाँचौँ दिन शनिबारको बैठकमा भने सभापति देउवालाई उपसभापति, महामन्त्री र सहमहामन्त्रीहरूका अघिल्तिर टिकिरहन समस्या परेको छ । देउवा र पदाधिकारीहरूबीच व्यक्तिगत तहमै चर्काचर्की परेको छ भने एकअर्काको पोल खोलाखोल गरेका छन् ।

केन्द्रीय समिति बैठकमा संस्थापन पक्षका केन्द्रीय सदस्यहरूले उपसभापति र महामन्त्रीले सभापतिलाई असहयोग गरेको भन्दै आलोचना गरेका थिए । तर, उपसभापति गुरुङ र महामन्त्रीद्वय थापा र शर्मा केन्द्रीय सदस्यहरूले लगाएको आरोपमा प्रतिरक्षा गर्दा सभापति देउवाको असक्षमता छरपष्ट भएको छ ।

सभापतिका पक्षमा रक्षात्मक बन्दा महामन्त्रीविरुद्ध बोलेका नेताहरूलाई महामन्त्रीद्वय थापा र शर्माले सभापति खुसी पार्दा पार्टी बलियो नहुने र त्यसले देउवालाई समेत कुनै लाभ नहुने भन्दै अमिलो जवाफ फर्काएका छन् । शनिबारको बैठकमा सभापति देउवासँग उपसभापति गुरुङ र महामन्त्री थापाको रोचक सवाल जवाफ चलेको छ ।

उपसभापति गुरुङले आफूहरूले सभापतिलाई कमजोर पार्न खोजेको भन्ने आरोपको खण्डन गर्दै सभापतिलाई बलियो बनाउने नाममा कचौरामा तेल बोकेर जान नसक्ने बताए । ‘पार्टी बैठकमा वादी प्रतिवादी झैं भएर आउनु भएको छ । यसरी कस्तो पार्टी बन्छ ? हामी पनि पार्टीको जिम्मेवार मान्छे हौँ, पार्टीलाई बलियो बनाउन भनेरै लागेका छौँ,’ बैठकमा गुरुङले भने, ‘त्यो भनेर फेरि हामी सभापतिको हात बलियो बनाउन तेलको कचौरा लिएर पाखुरामा लगाउन जानचाहिँ सक्दैनौँ ।’

बोल्नेक्रममा त्यसपछि उपसभापति गुरुङले राजाको नाकमा झिँगा बस्दाको उखान झिके । र अघि प्रश्न गरे, ‘हामी पार्टीलाई कसरी बलियो बनाउने भनेर लागेका छौं । तपाईंहरू वैचारिकरूपमा बलियो बनाउन हिँडेका गगनलाई बहिष्कार गर्छु भनिरहनुभएको छ । गगनले लिड नगरेको भए एमसीसी पास गर्ने हिम्मत कसको थियो ? अहिले साथीहरू सभापतिको नाकमा झिँगा बसेको छ भनेर तरबार बोकेर हिँडिरहनुभएको छ । सभापतिजी तरबारले हान्दा झिँगा मर्छ कि नाक काटिन्छ ? विचार गर्नुहोला ।’

गुरुङको बोलीमा देउवाले जवाफ फर्काइहाले, ‘मेरो नाकमा झिँगा बसेको छैन ।’ त्यसपछि धनराजले फेरि भने, ‘सभापतिजी निदाएको बेला थाहा हुँदैन ।’

बैठकमा महामन्त्री गगन थापाले सभापति देउवाको असक्षमता छरपष्ट पारिदिए । महामन्त्रीमा गगनहरू आएर के गरे ? भन्ने प्रश्न गर्नेहरूलाई गगनको जवाफ थियो, ‘सभापतिले काम नगर्दा त्यसको अपजस हामीमाथि आउन थालेको छ । विधानले सभापतिले नै गर्ने भनेर तोकिएका १३ काम छन्, ती काम महामन्त्रीले गर्ने भनेर अख्तियारी दिनुस्, यो बैठक सकिएको सात दिनभित्र टुंग्याएर देखाउँछौं ।’

बैठकमा थापामाथि उठेको अर्को चुनौती थियो, ‘पार्टीभन्दा गुटको बैठकमा ध्यान दिएको ।’ थापाले सभापतिले पार्टी चलाउन नसक्दा गुटहरू सक्रिय बनेको आरोप लगाए । ‘हिजो बुढानिलकण्ठमा गुटको बैठक बसेर यहाँ आइपुगेकाले अहिले पार्टी प्यालेसमा बैठक बसेको भनेर चिच्याउनुको अर्थ छैन, घर हुनेले घरमा बस्छ, नहुने पार्टी प्यालेसमै बस्छ,’ थापाले अघि भने, ‘सभापतिज्यू, आफूलाई मत नहाल्नेले पनि जिम्मेवारी पाउँछ भन्ने देखाउनुस् । अहिलेका गुट आफैँ बन्द हुन्छन् ।’

महामन्त्री थापा त्यतिमै रोकिएनन्, उनले केन्द्रीय सदस्यहरूले सभापतिको चाकरी गर्न खोजेको भन्दै आलोचना गरे । ‘पार्टी संचालनमा विधि नपुगेको ठाउँमा पार्टी सभापतिलाई झकझकाउने हाम्रो प्रयासमा हैसे गर्नुपर्नेमा उल्टो सभापतिको चाकडी गर्ने र सभापतिलाई उकास्ने काम नगर्नुस्,’ थापाले भनेका थिए ।

उनले पार्टीमा सभापति देउवाले आफूलाई मत नहाल्ने ४० प्रतिशतलाई पनि समेटेर जानुपर्छ भन्नुपर्नेमा उल्टो पेलेर जान उकासेको भन्दै आक्रोश व्यक्त गरे । ‘हिजो सुशील कोइराला सभापति हुँदा कसै गरी पेलेर जानुपर्छ भन्नेहरू आज शेरबहादुरसँग उभिएर कोइरालालाई पेल्न उकासिरहेको देखिरहेको छु,’ थापाले भनेका थिए ।

महामन्त्री थापाले सभापति देउवाले अहिलेसम्म पार्टी सञ्चालनमा बेवास्ता गरेको भन्दै अब पनि त्यस्तै गरे चुप लागेर नबस्ने चेतावनी दिए । ‘महाधिवेशनले तपाईंलाई सभापति चुनेको हो, हामीलाई पनि महाधिवेशनले निर्वाचित गरेको हो,’ थापाले भनेका थिए, ‘अझै पनि भित्तामा पुर्‍याउने, घेराबन्दी गर्ने भन्ने नियत हो भने हामी पनि निर्वाचित महामन्त्री हौँ, चुप लागेर बस्दैनौँ ।’ महामन्त्री थापाले भ्रातृ संस्थाका अध्यक्षहरू नियुक्त भइसकेपछि मात्रै जानकारी पाएको भन्दै आश्चर्य प्रकट गरे ।

अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि सभापतिलाई खुसी पार्ने नाउँमा आरोप प्रत्यारोपमा उत्रिएको भन्दै देउवापक्षीय केन्द्रीय सदस्यहरूको आलोचना गरे । ‘पार्टीलाई विधानसम्मत् ढंगले सञ्चालन गरौँ भन्ने हाम्रो चाह हो । नराम्रो गर्ने नियत छैन,’ उनले भने, ‘सभापतिलाई भेटेर विभाग बनाऔँ, भ्रातृ संस्थाको पूर्णता दिऔँ भन्दा के बेठीक भयो ? यहाँ सभापतिलाई खुसी पार्ने नाउँमा गालीगलौज नगरौं, त्यो राम्रो होइन ।’

बैठकमा महामन्त्री शर्माले सरकारको आलोचना गरे । उनले सरकारले सुशासनको क्षेत्रमा उल्लेख्य काम गर्न नसकेको आरोप लगाए । ‘पूर्वप्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री मातहतमा शक्ति केन्द्रीत गरेर गल्ती गर्नुभयो भनेर हामीले विरोध गर्‍यौँ, तर, हाम्रै पार्टीको नेतृत्वमा सरकार बनेको एक वर्षमा पनि प्रधानमन्त्री कार्यालयमा भएको त्यो गल्ती सच्चिएको छैन,’ महामन्त्री शर्माले भने, ‘सरकार सुशासनमा खरो उत्रिन सकेको छैन ।’ उनले संघ र प्रदेश सरकारकाबीच पर्याप्त समन्वय हुन नसकिरहेको बताए ।

सहमहामन्त्री जीवन परियारले स्थानीय तह निर्वाचनमा टिकट बितरणमा भएको गल्ती संघ र प्रदेशको चुनावमा नहोर्‍याउन आग्रह गरे । ‘पार्टीमा सभापतिज्यूले प्रतिस्पर्धीहरूलाई हेर्ने नजर गलत छ । दलभित्रको आन्तरिक एकता मजबुद नभए अरु शक्तिसँग गरेको गठबन्धनको अर्थ हुँदैन,’ उनले भने, ‘त्यसकारण सबै तहमा पार्टीका प्रतिस्पर्धीहरूको सम्मान हुनुपर्छ, तबमात्रै दलभित्रको आन्तरिक एकता मजबुद हुन्छ । संघ र प्रदेशको निर्वाचनमा स्थानीय तहको जस्तो टिकट बितरणमा भएको गल्ती नहोरियोस् ।’

अर्का सहमहामन्त्री बद्री पाण्डेले गठबन्धन भए पनि सबै मत आदान प्रदान हुन नसकेको भन्दै औचित्यमाथि प्रश्न उठाए । ‘हामी गठबन्धनमा जोड दिइरहेका छौँ, तर पार्टीभित्रको आन्तरिक एकतामा सभापतिज्यूको चासो देखिएन,’ उनले भनेका थिए ।

अर्का सहमहामन्त्री महेन्द्र यादवले भने पार्टीभित्र गुटगत प्रतिस्पर्धाको कुराले राम्रो नगर्ने दाबी गरे । ‘धेरै गुटगत भागबन्डाको कुरा नगरौं । भाग दिँदा धेरैलाई दिनुपर्छ, त्यो सम्भव छैन,’ उनको भनाइ थियो ।

देउवाको जवाफ, ‘शेखरजीलाई साथै लिएर अघि बढ्छु’

बैठकमा महामन्त्रीहरूको चर्को आलोचनाको प्रतिरक्षामा उत्रिएका देउवाले महामन्त्रीहरूले फोन नउठाएको पोल खोले । ‘भनेको बेला कोही उपलब्ध हुदैन, कोही कुन जिल्ला, को कता ?,’ देउवाले अघि भने, ‘महामन्त्रीजीहरूले फोन उठाउने गर्नुपर्‍यो ।’

सभापति देउवाले आफूलाई धेरै नखेद्न आग्रह गरे । ‘मैले तरुण दल र नेविसंघ गठन गर्दा सबैलाई सोधेको हो । त्यसपछि तपाईहरूको फोन उठेन, फोन उठाउने गर्नुस्,’ देउवाले भनेका थिए, ‘एउटा कालखण्डमा म पनि कांग्रेसको क्रियाशील सदस्य नै खोसिएको मान्छे हुँ । अहिले त्यस्तो छैन । मेरो चाहना अहिले कांग्रेसलाई पहिलो पार्टी बनाउने हो, म फेरि सभापति हुने पनि होइन । अब पार्टी चलाउने तपाईहरूले नै हो, मैले शेखरजीलाई पनि साथै लिएर जाने हो ।’

पदाधिकारीहरूले बोल्नेक्रम सकिँदा पनि सभापति देउवाले अहिले गठबन्धन गरेरै अघि बढ्नुपर्ने परिस्थिति रहेको दाबी गरे । ‘माधवजी मलाई प्रधानमन्त्री बनाउन एमाले छोडेर आउनुभयो, प्रचण्डलाई गिरिजाबाबुले शान्ति प्रक्रियामा ल्याउने बेलादेखि नै साथै लिएर हिड्नुभएकै हो । अहिलेको परिस्थिति नै त्यस्तै छ, हामी एक्लै जित्दैनौँ, त्यसकारण पनि अहिले गठबन्धन गर्नु आवश्यक छ,’ देउवाले भनेका थिए, ‘गठबन्धन भइहाल्यो । अब अहिले नै माधव नेपाल र प्रचण्डहरूको साथ छोड्ने बेला भएको छैन ।’

को–को बोले ?

शनिबार पदाधिकारीहरूले बैठकमा उठेका सवालहरूको सम्बोधन गरेका छन् । तर, बैठक भने सकिएको छैन । शनिबारको बैठकमा उपसभापति पूर्णबहादुर खड्का, सहमहामन्त्रीहरु— फरमूल्लाह मंसुर, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्देम्बे, किशोरसिंह राठौरले बोलेका थिए । त्यस्तै, प्रवक्ता प्रकाशशरण महत, बालकृष्ण खाँण, दिलेन्द्रप्रसाद बडू, कृष्णचन्द्र नेपाली पोखरेल, सीता गुरुङ र आमन्त्रित गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले धारणा राखेका थिए ।

अर्को बैठकमा आगामी सोमबार दिउँसो ३ बजे बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।कान्तिपुर दैनिकमा खबर छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …