तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

गलेश्वर।  नेपालीको महान् चाड दशैँको पहिलो दिन घटस्थापनादेखि नै  टेलिभिजन र रेडियोमा मालश्री धुन बजेपनि म्याग्दीका गाउँघर र शहर बजारमा गन्धर्वहरुले मालश्री धुन बजाएको खासै सुनिएन । बिहानै घर, कोत वा शक्तिपीठहरुमा दुर्गा जगाउँदै मालश्री गाउँदा दशैँ आएको सङ्केत हुने गरे पनि म्याग्दीमा भने केही समययता मालश्रीका स्वर सुनिन छोडेका छन् ।

पहिले प्रत्येक घरघरमा नवरात्रमा मालश्री गाए पनि हाल यो देख्न र सुन्न नपाएको बेनीबजारका श्याम हुमेनले बताउनुभयो । “घटस्थापनादेखि पूर्णिमासम्म दुर्गा भवानीको भजन गाउँदै निकाल्ने एउटा धुन नै मालश्री हो”, हुमेनले भन्नुभयो । आजभोलिजस्तो सङ्गीत सुन्ने सुविधा नभएको त्यो समयमा घरघरमा र टोलटोलमा सुनिने मालश्रीको धुनमा गाइने भजनले नै दशैँको महत्व बढाउने गर्दथ्यो । तर, आजकल रेकर्ड भएर रेडियो टिभी र मोबाइलमा मात्रै मालश्री सुन्न पाइने उहाँको भनाइ छ ।

सूचना र सञ्चारको विकाससँगै युवाहरु आधुनिक पाश्चात्य संस्कृतितर्फ आकर्षित भएका कारण धुन बजाउन जान्ने मान्छेको कमी, गाउने मान्छेको अभाव र परम्परागत लोक संस्कृतिमाथि आजका युवाको चासो नभएकाले नै  मालश्री धुन सुनिन छाडेको बगरफाँटका ८६ वर्षिय वेदप्रसाद उपाध्यायले बताउनुभयो । पछिल्लो समयमा मालश्री भाका र धुन रेडियो टिभीमा मात्र सुन्न पाइने गरेको गाउँघरमा सुनिन छोडेको उहाँको भनाइ छ । 

केही बूढापाका वा दक्खल भएका व्यक्तिले मात्र मालश्री धुन बजाउन र भजन कीर्तन गर्नसक्ने भएका कारण समय क्रमसँगै मालश्री लोप हुँदै गएको जानकारहरु बताउँछन् । नेपाली संस्कृतिभन्दा पश्चिमा संस्कृतिमा रमाउन थालेपछि यसको लोप हुँदै गएको खड्गभवानी कोत पूजा तथा गुठी व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण घिमिरे बताउनुहुन्छ । किंवदन्तीअनुसार देवीको गुनगानका लागि यो धुन बजाइने हो । पुरानो मान्यताअनुसार देवीका लागि आवश्यक पर्ने राग मालश्रीको उत्पत्ति भएको हो । मालश्री धुनलाई शास्त्रीय धुन भनिन्छ ।

त्यसैगरी दशैँमा चङ्गा उडाएर रमाइलो गर्ने पुरानो चलन पनि अहिले लोप भएको छ । मनोरञ्जन, प्रतिस्पर्धा र धार्मिक विश्वासको रूपमा दशैंमा उडाउने गरिएको चङ्गा पछिल्लो समय खुला आकाशमा रङ्गमय चङ्गा उडेको कतै नदेखिएको मालिकाका शिद्ध पुनले बताउनुभयो । अहिलेका युवा पुस्ता मोवाइल, ट्याबलेट, ल्यापटपजस्ता सूचना प्रविधिका साधनहरुमार्फत  मनोरञ्जन प्राप्त गर्ने होडबाजीमा लागेका कारण चङगा उडाउने चलन लोप भएको जानकारहरु बताउछन् । अग्ला अग्ला भवन ठडिएका कारणले पनि चंगा संस्कृति लोप हुँदै गएको उनीहरुको भनाइरहेको छ । 

दशैँलाई मासुका परिकार खाने, साथी संगातीहरु भेट हुने,रमाइलो गर्ने, नयाँ कपडा लगाउने र चङ्गा उडाउने पर्वका रूपमा मानिन्छ । केही वर्षअघिसम्म तिजको लगत्तै आकाशमा रङ्गीबिरङ्गी चङ्गा उडेको दृश्य देखिन्थ्यो तर योपटकको दशैँमा एउटै चङ्गा उडेको आफूले नदेखेको बेनीका युवा किशोर श्रेष्ठले बताउनुभयो ।  

मनोरञ्जनका सामग्रीको तीव्र विकाससँगै अहिलेका पुस्ता चङ्गा उडाउनेभन्दा पनि त्यही मनोरञ्जनका सामग्रीमै रमाउनु र चङ्गा उडाउन खुला ठाउँ अभाव हुँदा घरको छतबाट चङ्गा उडाउँदा दुर्घटना हुन थालेपछि अहिले यसप्रतिको आकर्षण घटेको खबराका राजाराम शर्माले बताउनुभयो । अचेल लट्टाई त ठूला बजार या काठको सामान बनाउने स्थानमा अर्डर नै गर्नुपर्छ ।रासस

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …