तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

रौतहट। रौतहटको बौधीमाई नगरपालिका–८ सरमुजवास्थित शङ्कर माध्यमिक विद्यालयका लेखापाल श्रीभगवान् साहलाई लेखाका अतिरिक्त नियमितरूपमा माध्यमिक तहको नेपाली विषयको कक्षा पनि लिनुपर्ने जिम्मेवारी छ ।

    विद्यालयमा लामो समयदेखि पर्याप्त शिक्षक नहुँदा लेखापाल, राहत दरबन्दी र निजी स्रोतका शिक्षकबाट विद्यार्थीको पढाइ सञ्चालन भइरहेको छ । शिक्षक अभाव भए पनि विद्यालयमा विद्यार्थीको चाप भने घटेको छैन । कूल एक हजार ३०० विद्यार्थी रहेको सो विद्यालयमा मावि तहमा दुई जना स्थायी शिक्षकको दरबन्दी छ भने तल्ला तहमा स्थायी दरबन्दीका शिक्षक छैनन् । निमावि तहमा चार र प्राविमा एक राहत दरबन्दी तथा प्रारम्भिक बाल विकास (इसिडी) सहजकर्ता एक जना छन् । विद्यालयका प्रधानाध्यापक सञ्जय जैसवाल स्वयंले नियमित माध्यमिक तहको अङ्ग्रेजी विषयको कक्षा लिनुहुन्छ । प्रशासनिकरूपमा व्यस्ता हुँदा वा जिल्ला सदरमुकाम जानुपर्दा उहाँको कक्षा खाली हुने गर्छ । 

प्रअ जैसवालले अङ्ग्रेजी र नेपाली विषयका गरी दुई शिक्षक तथा निमाविमा एक र प्राविमा चार शिक्षक दरबन्दी व्यवस्थाका लागि स्थानीय तह र माथिल्लो सरकारसँग पटक पटक आग्रह गरिएको बताउनुभयो । विद्यालयमा विश्व शिक्षा संस्थाले ई–पुस्तकालय स्थापना गरेको भए पनि त्यसलाई सञ्चालनका लागि विद्यालयसँग जनशक्ति छैन । विद्यालयमा प्रदेश नं २ सरकारको ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत कक्षा ८ भन्दा माथिका ९० छात्रालाई साइकल वितरण गरेपछि छात्राहरुको नियमित उपस्थिति हुने गरेको छ । दोस्रो लहरको कोभिड–१९ का बीचमा पनि विद्यालयले नियमितरूपमा प्रत्यक्ष कक्षा सञ्चालन गर्दै आएको छ ।

शिक्षक अभावबीच सो विद्यालयले विसं २०७६ को माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी १०७ विद्यार्थीमध्ये शतप्रतिशतलाई माथिल्लो कक्षामा भर्ना हुन योग्य ग्रेडमा उत्तीर्ण गराउन सफल भएको थियो । सरमजुवाकै दलित प्राविमा भने पर्याप्त शिक्षक छन् । कूल २०९ विद्यार्थीलाई पढाउन पाँच शिक्षक छन् । यस विद्यालयमा स्थायी एक, राहत एक र अन्य निजी स्रोतका शिक्षक कार्यरत रहेकाले शिक्षक अभाव नरहेको विद्यालयका प्रधानाध्यापक दिनेशप्रसाद बैठाले बताउनुभयो ।

सो पालिकामा प्रमुखका लागि नेपाली कांग्रेसका प्रत्यासी राजनबाबु जैसवालले विद्यालय शिक्षामा गुणस्तरको चुनौती रहेको र शिक्षक दरबन्दी व्यवस्थापनका लागि स्थानीय तहको नेतृत्वले गम्भीरता नदेखाएको गुनासो गर्नुभयो । सोही पालिका निवासी समाजसेवी सुनीलप्रसाद जैसवाल विद्यालयको भौतिक पूर्वाधार राम्रो भए पनि प्रावि तहमा शिक्षकको लापरबाहीका कारण खस्किएको जनाउनुभयो । बौधीमाई–९ का वडाध्यक्ष मुक्तिनारायण मिश्रले विद्यालयमा शिक्षक दरबन्दी व्यवस्थापनका लागि आफूहरुले पहल गरिरहेको जनाउनुभयो ।

नगरपालिकाका प्रमुख राजीवरञ्जन यादवले विसं २०७२ देखि शिक्षक दरबन्दी मिलान नहुँदा समस्या आएको र पालिकामा ११८ थप शिक्षक दरबन्दीका लागि माग गरिएकाले त्यसका लागि आर्थिक स्रोत जुट्नुपर्ने बताउनुभयो । यस पालिकामा १५ सामुदायिक, चार निजी विद्यालय र तीन वटा विद्यालय रहेका छन् । जिल्लास्थित शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख रामविनय सिंहले जिल्लामा सामुदायिक ४०० र निजी विद्यालय ४८ छन् भने कूल करिब एक हजार १०० शिक्षक दरबन्दी अपुग रहेको छ । उहाँका अनुसार कक्षा ११ र १२ का लागि १७६ शिक्षक बराबरको अनुदान रकम निकासा हुन्छ भने माध्यमिक तहमा १९० स्थायी र ४८ जना शिक्षक राहत दरबन्दीमा छन् । निमावि तहमा १७४ स्थायी  ८४ राहत, प्रावि तहमा एक हजार ५१ स्थायी र ५४१ राहत दरबन्दीका शिक्षक कार्यरत छन् ।

 सङ्घीय सरकारले तीन वर्ष अघि पूर्वसचिव महाश्रम शर्माको संयोजकत्वमा शिक्षक दरबन्दी व्यवस्थापन कार्यदल गठन गरी सोको सुझाव बमोजिम दरबन्दी मिलानका लागि स्थानीय तहमा पत्राचार गरेको थियो ।रासस

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …