तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ । नवजात शिशुका लागि आमाको दूधमा हुने पोषक तत्त्वको तुलना अरू खानेकुरासँग हुँदैन । तर सबै मातृ–शिशुका लागि अवस्था सहज हुन्छ भन्ने छैन । कसैका शिशुले आमाको दूध नखाने, कसैको दूध नआउने र कतिपय आमाले खुवाउनै नसक्ने समस्या छन् । अब त्यसको निदानका लागि ‘मिल्क बैंक’ सञ्चालनमा आउने भएको छ ।

आमाहरूले दान गर्ने दूध सुरक्षित रूपमा राखेर शिशुलाई खुवाउन मिल्ने गरी थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा ‘ह्युमन मिल्क बैंक’ स्थापना गर्न लागिएको हो । अस्पतालकी निर्देशक डा. संगीता मिश्रका अनुसार तीन महिनाभित्र उक्त बैंक सञ्चालनमा आउनेछ । ‘मुलुकमा अझैसम्म ह्युमन मिल्क बैंक नहुनु धेरै दुःखद स्थिति हो । हामी अस्पतालमा स्थापना गर्दैछौं,’ उनले भनिन्, ‘मिल्क बैंकले आकस्मिक स्थितिमा शिशुहरूलाई आमाको दूध सुनिश्चित गर्नेछ ।’

विभिन्न मुलुकमा यस्ता बैंक नवजात शिशुलाई पोषण पुर्‍याउन र रोक्न सकिने खालको मृत्युलाई कम गर्न धेरै प्रभावकारी देखिएको छ । जन्मेदेखि ६ महिनाको हुन्जेलसम्म स्तनपान गराउँदा शिशु मृत्युदरलाई धेरै हदसम्म घटाउन सकिन्छ । बिरामी शिशुलाई समयमै आमाको दूध दिँदा ज्यान जोगिने सम्भावना ६ गुणाले बढ्ने हुँदा मिल्क बैंकले समग्र स्वास्थ्य क्षेत्रमा सकारात्मक योगदान गर्ने डा. मिश्रले बताइन् । अस्पतालले बैंक सञ्चालनका लागि तयारी सुरु गरिसकेको छ । डा. मिश्रले भनिन्, ‘ठाउँको छनोटलगायत काम भइसकेको छ । आगामी तीन महिनाभित्र मिल्क बैंक सञ्चालनमा आउने छ ।’ ६ महिनापछि सातै प्रदेशमा मिल्क बैंक स्थापनाका लागि पहल गर्नेसमेत उनले बताइन् ।

प्रसूति गृहमा स्थापना हुन लागेको मिल्क बैंकले दूध दान गर्ने आमाहरूको सबैभन्दा पहिला एचआईभी/एचबीएसजी/डब्लूबीआरएललगायत परीक्षण गर्नेछ । परीक्षणमा कुनै समस्या नदेखिए ब्रेस्ट मिल्क पम्पको माध्यमले आमाको दूध संकलन गरिन्छ । उक्त दूधको गुणस्तर ‘मिल्क एनलाइजर’ को माध्यमले सुनिश्चित गरिन्छ । त्यसरी संकलन गरिएको दूधमा कुनै रोगव्याधि नरहेको परीक्षणबाट सुनिश्चिततापछि पास्चराइजेसन गरेर एक सय मिलिलिटरको बोतलमा राखिन्छ । त्यसपछि माइनस २० डिग्री सेल्सियस तापक्रमको डिप फ्रिजरमा राखिने उक्त बोतल आमाको दूध नपाएका शिशुलाई उपलब्ध गराइनेछ ।

मिल्क बैंकमा दुई प्रकारका आमाले आफ्नो दूध दान गर्न सक्नेछन् । एकथरी स्वेच्छाले दान गर्न सक्नेछन् भने अर्काथरी ती आमा जसले आफ्नो बच्चालाई दूध चुसाउन सक्दैनन् वा जसको दूध शिशुले खाँदैनन् । यसबाट उनीहरूमा दूध खुवाउन नपाउँदा देखिने स्वास्थ्य समस्या पनि हट्ने डा. मिश्र बताउँछिन् ।

‘मिल्क बैंकले बच्चाहरूलाई स्तनपान गराउन आमालाई परामर्श सेवा पनि दिनेछ,’ उनले भनिन् । बैंकले सुरुमा अस्पतालको नवजात शिशु सघन कक्षमा भर्ना हुने र अस्पतालमा भर्ना भएका स्तनपान गराउन नसक्ने आमाका शिशुहरूलाई दूध उपलब्ध गराउने छ । पछि पर्याप्त हुँदै गए कुनै कारणवश आमाको दूध नपाएका ६ महिनासम्मका बालबालिकालाई समेत उपलब्ध गराउने योजना रहेको उनले सुनाइन् ।

‘वर्षौंदेखि हामीले मिल्क बैंकका लागि आवाज उठाउँदै आएका थियौं । जे होस् धेरै ढिलो भए पनि स्थापना लागेको छ,’ कान्ति बाल अस्पतालका निर्देशक एवं वरिष्ठ बालरोग विशेषज्ञ प्रा.डा. आरपी बिच्छाले भने, ‘नवजात शिशुका लागि आमाको दूधको कुनै विकल्प छैन । आफ्ना शिशुलाई स्तनपान गराउन नसकेका आमाहरूका लागि मिल्क बैंकले ठूलो गुन लगाउँछ ।’

नेपालका लागि मिल्क बैंक नौलो अवधारणा भए पनि छिमेकी मुलुक भारतमा करिब ५० वटा सञ्चालनमा छन् । विश्वभर करिब ६ सयभन्दा बढी मिल्क बैंक छन् । पहिलो पटक सन् १९०९ मा अस्ट्रियामा ह्युमन मिल्क बैंक खोलिएको थियो । कान्तिपुरदैनिकमा खबर छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …