तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आगामी नेतृत्व चयनका लागि आज शनिबार मतदान हुँदै छ । राप्रपाको नेतृत्वका लागि कमल थापा र राजेन्द्र लिङ्देन प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् ।

राप्रपाले यसअघिका महाधिवेशनमा अध्यक्ष चुन्न मात्रै मतदान गर्ने गरेकोमा यसपटक अध्यक्षसहित तीन उपाध्यक्ष र तीन जना महामन्त्रीसहित १ सय ४९ जना चुन्नका लागि निर्वाचन गर्न लागेको हो । १ सय ९९ सदस्यीय कार्यसमितिमा बाँकी भने मनोनीत हुन्छन् । राप्रपाले जारी महाधिवेशनबाटै ७५ प्रतिशत पदाधिकारी निर्वाचनबाट चुनिने गरी संशोधित विधान अनुमोदन गरेको हो ।

थापा र लिङ्देन प्यानलसहित मैदानमा

राप्रपाको जारी महाधिवेशनबाट भइरहेको नेतृत्व चयनको प्रक्रियालाई राजनीतिक वृत्तबाट चासोका साथ हेरिएको छ । बुधबार सुरु राप्रपाको महाधिवेशनमा सहमतिबाट नेतृत्व चुन्न शीर्ष तहबाट गरिएको प्रयास असफल भएपछि मतदान प्रक्रियाबाटै नेतृत्व चयन गर्नेगरी प्रक्रिया अघि बढेको हो ।

थापा समूहबाट वरिष्ठ उपाध्यक्षमा विक्रम पाण्डे, बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान उम्मेदवार छन् । तर थापाले उपाध्यक्ष राखेका विक्रम पाण्डे भने लिङ्देनतर्फ खुलेका छन् । उनी लिङ्देनसँगै चुनावी प्रचारमा उभिएका छन् । थापाले महिला उपाध्यक्षमा रोशन कार्कीलाई उम्मेदवार बनाएका छन् । यस्तै, तीन सदस्यीय महामन्त्रीमा भुवन पाठक, भास्कर भद्रा र कुन्ती शाही उम्मेदवार छन् ।

यसैगरी, लिङ्देनले पनि उपाध्यक्षमा पाण्डेलाई राखेका छन् । उनी लिङ्देनतर्फ खुलेपछि थापालाई त्यसको असर पर्ने देखिन्छ । लिङ्देनतर्फबाट उपाध्यक्षमा दिलविकास राजभण्डारी, रामचन्द्र राय र लीला श्रेष्ठ मैदानमा छन् । यसैगरी, लिङ्देनको प्यानलबाट महामन्त्रीमा धवलशमशेर राणा, श्याम तिमिल्सिना र रेखा थापा उम्मेदवार बनेका छन् ।

राप्रपा नेता मोहन श्रेष्ठका अनुसार यसअघि अध्यक्ष चुन्न मात्रै मतदान हुने गरेकोमा यसपटकबाट भने अध्यक्षसहित तीन उपाध्यक्ष र तीन जना महामन्त्रीसहित १ सय ४९ जना चुन्नका लागि निर्वाचन हुन लागेको हो ।

राप्रपा विधानमा केन्द्रीय समितिमा अध्यक्ष, ६ जना उपाध्यक्ष, ६ महामन्त्री, एक जना कोषाध्यक्ष, प्रवक्ताहरू, सात जना सहमहामन्त्री, सात जना सहायक महामन्त्री र एक जना सहायक कोषाध्यक्षसहित १ सय ९९ सदस्यीय कार्यसमिति हुने उल्लेख छ । निर्वाचनबाट चयन हुने केन्द्रीय सदस्यमध्ये ३३ प्रतिशत अर्थात् ४९ जना भने महिला रहनेछन् । बाँकी सय जना भने पुरुष हुनेछन् ।

राप्रपाले जाति र क्षेत्रका आधारमा पनि केन्द्रीय समितिमा आरक्षण दिएको छ । निर्वाचनबाट चयन हुने केन्द्रीय सदस्यमध्ये खुलातर्फ ५८ जना, आदिवासी जनजाति १४ जना (८ पुरुष र ६ महिला), मधेसी ११ जना (६ पुरुष, ५ महिला), उत्पीडित तीन जना (दुई पुरुष एक महिला), कर्णाली तथा पिछडिएको क्षेत्र दुई जना (एक महिला एक पुरुष) मुस्लिम तीन जना (दुई पुरुष एक महिला), थारु दुई जना (एक पुरुष एक महिला) र प्रवासबाट दुई जना निर्वाचित हुनेछन् ।

मोहन श्रेष्ठले थापालाई छाडे

लामो समय कमल थापासँगै रहेर काम गर्दै आएका नेता मोहन श्रेष्ठले पनि उनको साथ छाडेका छन् । उनी जारी महाधिवेशनमा लिङ्देन समूहबाटै खुला केन्द्रीय सदस्यका उम्मेदवार बनेका छन् । थापाको नेतृत्वमा रहेको राप्रपा नेपालदेखि नै उनी प्रचार विभाग प्रमुखका रूपमा काम गर्दै आएका थिए भने हाल पनि उनी सो जिम्मेवारीमा छन् ।

लोहनीको समर्थन लिङ्देनलाई

राप्रपाको नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्षमध्येका एक अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले राजेन्द्र लिङ्देनलाई समर्थन गरेका छन् ।

लोहनीले नयाँ नेतृत्वलाई काम गर्ने मौका दिन अध्यक्ष कमल थापा र पशुपतिशमशेर जबरालाई यसअघि नै पत्रकारसम्मेलनमार्फत नै आग्रह गरेका थिए । उनले लिङ्देनलाई सघाउन गरेको आग्रह थापाले नटेरेपछि राप्रपा चुनावी प्रक्रियामा अघि बढेको हो ।

‘अब नयाँ नेतृत्वलाई काम गर्न मौका दिऊँ, म अध्यक्षद्वय कमल थापा र पशुपतिशमशेर जबरालाई नयाँ नेतृत्वलाई काम गर्ने मौका दिन पनि आग्रह गर्छु,’ लोहनीले भनेका छन् ।

लोहनीनिकट नेता जनकराज पाठकले लोहनीसमूहमा रहेका सबै नेताहरू लिङ्देनको पक्षमा स्पष्ट रूपमा मैदानमा रहेको जानकारी दिए । उनीसमेत लिङ्देनकै समूहबाट खुलातर्फ केन्द्रीय सदस्यको उम्मेदवार छन् ।

जबरा मौन, निकटहरू लिङ्देनतिरै

राप्रपाका तीन अध्यक्षमध्येका एक अध्यक्ष पशुपतिशमशेर जबरा भने जारी नेतृत्व चयनको प्रक्रियामा कसलाई सघाउने भन्नेमा स्पष्ट खुलेका छैनन् । तर, उनीनिकट रहेर काम गरेका राप्रपाका नेताहरू भने लिङ्देनका पक्षमा खुलेका मात्रै छैनन् सो समूहबाट उम्मेदवार नै बनेका छन् ।

जबरानिकट रहेका नेता विक्रम पाण्डे नै लिङ्देनको समूहबाट उपाध्यक्षको उम्मेदवार बनेर उनीसँग मत माग्दै प्रचारमा हिँडेका छन् ।

‘जबरा अध्यक्षज्यू अहिलेसम्म स्पष्ट खुल्नुभएको छैन, उहाँको मनको कुरा हामीले जान्ने अवस्था पनि छैन तर हामी लिङ्देनतिरै खुलेका छौं,’ जबरानिकट एक नेताले राजधानीसँग भने ।

जबरासँगै रहेर काम गरेका नेता राजेन्द्र गुरुङसमेत लिङ्देनतर्फ नै खुलेका छन् । उनले जबराले नेतृत्व गरेको तत्कालीन दल राप्रपा प्रजातान्त्रिकमा प्रवक्ताको भूमिका निर्वाह गरेका थिए । उनी अहिले केन्द्रीय सदस्य पदमा उठ्दै छन् ।

अध्यक्षका लागि कागजमै मतदान, अरूलाई विद्युतीय

राप्रपाको जारी महाधिवेशनमा अध्यक्ष चुन्नका लागि कागजी मतपत्र नै प्रयोग गरिने भएको छ । अध्यक्षबाहेकका अन्य पदमा भने राप्रपाले विद्युतीय मतदान गर्ने गरी व्यवस्था मिलाएको छ ।

राप्रपा नेता राजेन्द्र गुरुङका अनुसार अध्यक्षबाहेकका पदाधिकारी र सदस्य चुन्नका लागि भने ९२ वटा विद्युतीय मेसिनको प्रयोग गरिने भएको हो ।

निर्वाचन समितिका सदस्य झनक प्याकुरेलका अनुसार अध्यक्ष पदका लागि परम्परागत प्रणाली (कागजी मत) प्रयोग हुनेछ । दुईभन्दा बढी पद निर्वाचन भने इभिएम (इलेक्ट्रिक मेसिन) प्रयोग गरिने उनले बताएका हुन् ।

राप्रपा निर्वाचन समितिले शुक्रबार नै विद्युतीय मतदान मेसिनबाट मतदान गर्ने तरिका’ मतदातालाई प्रशिक्षणसमेत गराएको थियो ।राजधानी दैनिकमा खबर छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …