तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ — राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले क्रिकेटको निर्णय आफैं गर्न कुनै गाह्रो नभएको जनाएका छन् । नेपाली क्रिकेटका सर्वाधिक सफल खेलाडी एवं कप्तान पारसले अघिल्लो दिन सामाजिक सञ्जालबाट अन्तर्राष्ट्रिय क्रिकेट टुंग्याएका थिए ।

नेपाललाई विश्व क्रिकेट लिग डिभिजन ५ बाट एकदिवसीय अन्तर्राष्ट्रिय मान्यतासम्म पुर्‍याउन नेतृत्वदायी भूमिका खेलेका पारसले अलिक अगाडि नै संन्यास लिएको मान्नेहरू धेरै छन् । एउटा निर्णय लिनुअघि आफूले धेरै सोचविचार गर्ने गरेको र क्रिकेटलाई नजिकबाट बुझेकाले यस्तो निर्णय आफैं गर्ने गरेकाले संन्यास पनि त्यही प्रक्रियाबाट आएको उनले बुधबार पत्रकार सम्मेलन गर्दै बताए ।

‘परिवार, साथीभाइ, क्रिकेट टिमको समर्थनबिना त म यहाँसम्म आइपुग्ने थिइनँ । क्रिकेटलाई जहिले पनि मैले आफ्नो निर्णय भनेर छुट्याएको छु । सबै कुरा परिवार, साथीभाइले भनेको मानौंला तर व्यक्तिगत क्रिकेटलाई कसरी अगाडि बढाउन सकिन्छ भनेर मैले निर्णय लिएको हुँ,’ पारसले भने, ‘नजिकको १–२ जना साथीभाइ, मेरो क्रिकेटको यात्रामा साथ दिने मेरी पत्नी, घरपरिवारका सबैले उत्तिकै समर्थन गर्नुभएको छ । मैले उहाँहरू सबैलाई म संन्यास लिँदै छु भनेर जानकारीमात्र गराएको हो, खेलौं कि नखेलौं भनेर सोधिनँ ।’ अघिल्लो दिन संन्यास लिनु एउटा संयोगमात्र भएको जनाए पनि त्यसलाई उनले एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालको पहिलो जितसँग जोडे । ‘खेल्दाखेरि मेरो मुख्य लक्ष्य नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाओस् भन्ने थियो । त्यसैले पनि हिजोको दिन संयास लिन जुर्‍यो होला,’ सन् २०१८ को अगस्ट ३ मा नेपालले एमस्ट्रडममा घरेलु टोली नेदरल्यान्ड्सलाई १ विकेटले पराजित गरी एकदिवसीय अन्तर्राष्ट्रियमा पहिलो जित हात पारेको दिनलाई उनले संस्मरण गरे ।

मलेसियाविरुद्ध २००४ मा तीनदिवसीय खेलबाट ‘डेब्यु’ गरेका उनी २००९ मा नेपालका कप्तान बने । १० वर्षसम्म नेतृत्वमा बसेपछि दुई वर्षअघि उनले सामाजिक सञ्जालबाटै कप्तानी पद त्यागेको घोषणा गरेका थिए । त्यतिखेर क्यानलाई कुनै जानकारी नदिइ आफ्नो निर्णय गरेका पारसले यसपटक क्यानलाई इमेल गरेर निर्णय सुनाएका थिए । त्यसमा क्यान अध्यक्ष चतुरबहादुर चन्दले अलिक चाँडो संन्यास घोषणा गरेकाले त्यसमा पुनर्विचार गर्न आग्रह गरेको पारसले बताए ।

‘मलाई चाँडो संन्यास लिएजस्तो लाग्दैन । मेरो उमेर ३३ हो तर नेपाली क्रिकेटमा म जसरी समावेश भएको छु, त्यो हिसाबमा मानसिक रूपमा म ५० वर्ष लागिसकें । किनभने धेरै कडा परिश्रम, सोच, दृढताको मिश्रितताले मैले नेपाल क्रिकेटबाट खेलाडी, कप्तानको रूपमा धेरै कुरा पाएँ,’ पारसले संन्यासको कारण दिँदै भने, ‘एउटा क्रिकेटर हुँदा पनि म जहिले चुनौती लिन चाहन्थे । सुरुआतमै २ विकेट जाँदा रन हान्न झन् मज्जा आउँथ्यो । त्यसको मतलब विकेट सुरुमै जानुपर्छ भन्न खोजेको होइन । यो सबै चुनौती स्विकार गरेर यहाँसम्म आइपुगेको हो । अब म थाकिसकें ।’

पारसकै कप्तानीमा नेपालले ट्वान्टी–२० विश्वकप खेले पनि नेपाल अझै ५० ओभरको विश्वकपमा पुग्न सकेको छैन । टेस्ट मान्यता पनि नेपालका लागि टाढाको विषय बनेको छ । विश्व क्रिकेटमै टेस्ट खेल्न नपाउने दुर्भाग्यशाली खेलाडीमा पारसको नाम अगाडि लिने गरिन्छ । ‘हामीले २००५ तिर एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाउँथ्यौं भने मैले टेस्ट क्रिकेट खेल्न पाउँथे होला । मेरो पनि सपना हो नेपालले टेस्ट मान्यता पाओस् भन्ने हो,’ उनले भने, ‘मेरो सपनाले मात्र हुँदैन, टिमको मिहिनेतले मात्र त्यो पूरा हुँदैन । यसका लागि धेरै मिहिनेत चाहिन्छ । मैदानभित्रको प्रदर्शन आफ्नो ठाउँमा छ, मैदानबाहिरको संरचना हामीले सम्हाल्न एकदमै जरुरी छ ।’

उनले अबको बाटो क्यान व्यवस्थापनमा रहेको जनाइसकेका थिए । खेलाडीको नेतृत्व लिएपछि नै यस निर्णयमा पुगेको जनाउँदै पारसले भने, ‘कप्तान भएको १–२ वर्षपछि नै मैले त्यो भूमिकाबाट के के गर्न सकिन्छ भनेर विचार भयो । त्यसैले गर्दा क्रिकेट संघमा कुनै–कुनै भूमिकामा आउन सकिन्छ जस्तो लागेको हो । राम्रो खेलाडी राम्रो व्यवस्थापक हुन्छ भन्ने छैन, काम गर्दै गए केही प्रतिफल आउँछ भन्ने विश्वास छ ।’ कान्तिपुर दैनिकमा खबर छ।

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …