जुम्ला। जुम्लाकी २३ वर्षीया सुनमाया बुढा फ्रान्समा हालै सम्पन्न विश्वकै प्रतिष्ठित अल्ट्रारेस एक सय किमी दौडमा दोस्रो भएपछि स्वदेशी तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा चर्चाको शिखरमा हुनुहुन्छ । गत वर्ष थाइल्याण्डमा भएको अर्को प्रतियोगितामा महिलातर्फ जाजरकोटकी कामना विष्टसँगै उहाँ विजेता बन्नुभएको थियो ।
३५ वर्षअघि एभरेष्ट म्याराथनमा प्रथम भएर विश्व कीर्तिमान कायम गर्न सफल जुम्लाका हरिबहादुर रोकाया अहिले पनि प्रशिक्षकका रुपमा दौडिरहनुभएको छ । उहाँले २०४५ र २०४६ सालमा एथ्लेटिक्समा सर्वोत्कृष्ट राष्ट्रिय खेलाडी बनेर स्वर्ण पदक पाउनुभएको थियो । ३५ वर्षअघिका कीर्तिमानी धावक हरिबहादुर र अहिलेका कामना, सुनमायासँगै थुप्रै खेल प्रतिभाहरू जन्मिएका छन् ।
सुर्खेतकै मैदानमा खेलेर फुटबलतर्फ रोशन रानामगर, सन्दीप गुरुङ, करातेतर्फ प्रकाश खड्का, प्रियङ्का शाही, एलिसा रास्कोटी र दैलेखका हिक्मत रोकाले राष्ट्रिय खेलाडीको पहिचान बनाउनुभएको छ । भारत्तोलनतर्फ सुर्खेतकै श्रुती कार्की र उसुतर्फ दीपक हमालले स्वदेश र विदेशमा भइरहेका विभिन्न प्रतियोगितामा पदमा जित्नुभएको छ ।
कर्णाली प्रदेश खेलकुद विकास परिषद्का अनुसार यसै वर्ष काठमाडौँमा सम्पन्न राष्ट्रपति रनिङ शिल्डमा एथलेटिक्समा मात्रै कर्णालीले १८ पदक जितेको थियो । परिषद्का उपाध्यक्ष प्रमोद हमाल एथलेटिक्समा कालीकोट, जुम्ला र सल्यान तथा उसु, तेक्वान्दो, कराते, भारत्तोलन, ब्याडमिन्टनमा सुर्खेत, दैलेखका खेलाडी आशालाग्दा रहेका बताउनुहुन्छ ।
कर्णालीमा प्रशिक्षक र खेलकुद क्षेत्रमा बजेट निकै कम छ । “बजेट अभावकै कारण खेलकुद गतिविधि सञ्चालन गर्न कठिनाइ छ, जुन विधाका प्रशिक्षक छन्, ती खेलमा मात्र राम्रा खेलाडी उत्पादन भएका छन्”, परिषद् उपाध्यक्ष हमाल भन्नुहुन्छ, “सरकारले माग गरेजति बजेट नदिँदा नियमित खेल प्रतियोगिता यस वर्ष ठप्प हुने अवस्था छ ।”
बजेट अभावका कारण गण्डकी प्रदेशको पोखरामा आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छनोटमा समस्या भइरहेको परिषद् पदाधिकारीको गुनासो छ । खेलाडी छनोटका लागि परिषद्लाई प्रदेश सरकारले ५० लाख र राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले ४९ लाख रुपियाँ उपलब्ध गराएका छन् ।
परिषद् उपाध्यक्ष हमाल यो बजेट निकै कम भएको बताउनुहुन्छ । उहाँका अनुसार परिषद्ले कम्तीमा डेढ करोड रुपियाँ बजेट आवश्यक पर्ने प्रस्ताव सामाजिक विकास मन्त्रालयसमक्ष पेश गरेको थियो । जिल्लास्तरमा खेलाडी छनोट सकिएको छ ।
आजदेखि भदौ २४ गतेसम्म प्रदेशस्तरीय खेलकुद छनोट कार्यक्रम सुरु भएको छ । आज र भोलि सुर्खेत जिल्ला खेलकुद विकास समितिको कभर्डहलमा उसुका खेलाडी छानिदैछन् । पुरुष–महिला भलिबलबाहेक २८ खेलका खेलाडी छनोट सुर्खेतमा हुँदैछन् । भलिबल खेलाडीको छनोट कालीकोटको मान्ममा हुँदैछ । परिषद्ले कर्णालीबाट एथलेटिक्स, उसु, कराते, तेक्वान्दो, भारत्तोलन र ब्याडमिन्टन राम्रो नतिजा ल्याउने अपेक्षा राखेको छ ।
“कर्णालीमा हिमाली–पहाडी जिल्लाबाट खेलाडी ल्याउँदा पठाउँदा यातायात र बाटो खर्चमै ठूलो रकम खर्च हुन्छ, तर हामीकहाँ बजेट निकै कम छ, कसरी खेलाडी छनोट गर्ने भन्ने समस्या भइरहेको छ”, प्रशिक्षक प्रदीपकुमार राई भन्नहुन्छ, “खेलाडीलाई आवास, खाजा खर्च, प्रशिक्षक भत्ता, पोशाकलगायत शीर्षक जोड्दा विनियोजित बजेट निकै कम हो ।” बर्सेनि सञ्चालन हुँदै आएको मुख्यमन्त्री कप यसपटक बजेट कार्यक्रममा समावेश छैन ।
जिल्ला खेलकुद विकास समिति सुर्खेतका अध्यक्ष चन्द्रबहादुर शाही सुर्खेतमा उसु, कराते, तेक्वान्दो र एथलेटिक्सका मात्र प्रशिक्षक रहेको बताउनुहुन्छ । भलिबल र फुटबलका स्वयंसेवक प्रशिक्षक छन् । राखेपले आफू मातहतका प्रशिक्षकलाई प्रदेश परिषद्मा समायोजन गर्ने तयारी गरेको छ ।
“प्रशिक्षक र खेलाडीको जीवनयापनमा समस्या छ, खेलाडीका लागि छात्रावास, आवासगृह, तालिमस्थल छैन, जीवननिर्वाह भत्ताको व्यवस्था हुन जरुरी छ”, शाही भन्नुहुन्छ, “सरकारले कम्तीमा जीवननिर्वाह भत्ता दिन सके खेलाडी पलायनको समस्या रोकिन्छ, युवाहरूको आर्कषण बढ्छ ।”
सधैँ खड्किने पूर्वाधार अभाव
प्रदेशका मुगु, हुम्ला, डोल्पा र जाजरकोट कभर्डहल नभएका जिल्लामा पर्दछन् । बाँकी जिल्लामा पनि नाम मात्रका कर्भडहल छन् । कम्तीमा सबै जिल्लामा सुविधासम्पन्न कर्भडहल भएको खण्डमा ‘इन्डोर गेम’ खेलाउन सकिने प्रशिक्षकहरु बताउँछन् । यस प्रदेशका १० जिल्लामा राखेपको नाममा करिब ५० रोपनी जग्गा छ । रङ्गशाला एउटा पनि छैन । प्रदेश राजधानी सुर्खेतमा एउटा कर्भडहल र सेमिकर्भडहल छ ।
राखेपका इञ्जीनियर पुष्पराज सापकोटाका अनुसार राखेपले चालु आर्थिक वर्षमा सुर्खेतमा खेलमैदान निर्माण गर्न रु एक करोड बजेट छुट्याएको छ भने प्रदेश सरकारको सहयोगमा रुकुमपश्चिमको चौरजहारीमा क्रिकेट रङ्गशाला निर्माणको प्रक्रियामा छ । यसका लागि प्रदेशले रु दुई करोड बजेट विनियोजन गरेको छ । वीरेन्द्रनगरमा बहुउद्देश्यीय रङ्गशाला निर्माण भइरहेको छ ।
कर्णालीको पहिलो प्रदेश गौरवको आयोजनाका २०७८ मङ्सिरमा शिलान्यास भएको यो आयोजनाको काम हाल ३० प्रतिशत पूरा भएको छ । रु एक अर्ब ५९ करोड ४७ लाख लागतमा निर्माण हुने रङ्गशालाका लागि चालु आवमा प्रदेश सरकारले रु ६० करोड विनियोजन गरेको छ । निर्माण सुरु भएको मितिले ३० महिनाभित्र सम्पन्न गर्नुपर्ने कार्यादेश छ ।
दश हजार दर्शक अट्ने क्षमताको रङ्गशालाको संरचना भूकम्प प्रतिरोधी बनाइँदैछ । बहुउद्देश्यीय कभर्डहल, फिफाको मापदण्डअनुसार फुटबल मैदान र स्वीमिङ पुल निर्माणको काम भइरहेको छ । भिआइपी प्यारापिट तथा प्रतिक्षालय, निर्णायक, चेञ्जिङ तथा रिफ्रेस कोठा, मेडिकल, फिजियोथेरापी र मिडियारुम निर्माण हुँदैछन् ।
भूमिगत पार्किङ, टिभी लाइभ ब्रोडकाष्ट प्लेटफर्म, ओलम्पिक टर्च स्ट्याण्ड पनि निर्माण हुनेछन् । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा आयोजना गर्ने गरी वीरेन्द्रनगरमा रङ्गशाला निर्माणले तीव्रता पाएको छ । कर्णालीमा हालसम्म खेलकुदका ठूला प्रतियोगिता आयोजना हुनसकेका छैनन् । प्रदेश सरकारले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा आयोजना गर्ने लक्ष्य लिएको छ । रासस
काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …
काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …