तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

बाढी पहिरोको कारण जाजरकोट बारेकोट गाउँपालिकामा ३ सय घरपरिवार विस्थापित भएका छन् । तीन दिनयताको भारी वर्षाका कारण गाउँबस्तीमा पहिरो खसेपछि स्थानीय विस्थापित भएका हुन् ।

पहिरोले बारेकोट-४ मैनाका ६० घरपरिवार, सार्की गाउँका १०, तोलखानका ९०, कालाखोलीका ३६, पाखाका ४०, भैलोखानाका ३०, धौलाकोटका ३२ र रोकाय गाउँका १२ घरपरिवार विस्थापित भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्दबहादुर सिंहले वताए ।

पहिरोले विस्थापित भएपछि स्थानीय बासिन्दालाई विद्यालय, जंगलको खाली चौर, गाई/भैंसी राख्‍ने गोठ लगायत स्थानमा बस्‍न बाध्य भएको सिंहले बताए । भारी वर्षाका कारण बारेकोट गाउँपालिकाको अधिकांश गाउँबस्तीमा बाढी पहिरो जाने क्रम नरोकिएको उनले बताए । ठाउँ ठाउँमा बाढी र पहिरो आएपछि एक घरबाट अर्को घरसम्म आउजाउ गर्न समेत बन्द भएको उनले बताए । बारेकोट गाउँपालिकाको जिरी, मैना, भैलोखाना, तोलखान, करुका, कार्कीजिउला, घर्तीगाउ, सुवाकोट लगायत डेढ दर्जन गाउँका बासिन्दा पहिरोको उच्च जोखिममा रहेको सिंहले बताए । ‘शनिबारसम्म पानी पर्न नरोकिएकाले अन्य गाउँका घर पनि जोखिममा छन्,’ उनले भने ।

जाजरकोटमा तीन दिनयता बाढी पहिरोको कारण ९ को मृत्यु भएको छ भने ६ जना बेपत्ता भएका छन् । त्यस्तै, बाढीपहिरोमा परेर २ जना गम्भीर घाइते भएका छन् । बिहीबार राति आएको पहिरोले बारेकोट ४, सार्की गाउँका दुई घर बगाउँदा ९ जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता भएको जाजरकोटका प्रहरी प्रमुख किशोरकुमार श्रेष्ठले बताए ।

पहिरोमा परेर सार्की गाउँका ५२ वर्षीय गोपाल सार्की, ११ वर्षीय अर्जुन सार्की, १४ वर्षीय तिर्खा सार्की, ६ वर्षीय सुभास सार्की, २० वर्षीय डिल्ली सार्की, १४ वर्षीय गौरी सार्की, १६ वर्षीय कविता सार्की, १८ वर्षीय वीरेन्द्र सार्की र ३६ वर्षीय कलु सार्कीको मृत्यु भएको हो । पहिरोमा परेका पुष्पा सार्की, लक्ष्मी सार्की र कमला सार्की बेपत्ता छन् । खहरे खोलामा आएको बाढीले बगाएर बारेकोट ६, धुमाका २० वर्षीय शान्तबहादुर चलाउने र १० वर्षीय प्रचण्ड चलाउने पनि बेपत्ता रहेको श्रेष्ठले बताए ।

सानाखोलाले बगाएर जुनीचाँदे गाउँपालिका ११, कोर्ताङ्गका डिल्लीबहादुर चदारा पनि बेपत्ता भएको उनले बताए । जाजरकोटमा बाढी पहिरोमा परेर बेपत्ता हुनेको संख्या ६ रहेको श्रेष्ठ बताउँछन् । पहिरोले घर भत्किदा घाइते भएका बारेकोट ४, दहका लालबहादुर नेपाली र खोलाले बगाउँदा घाइते भएका वडा नम्बर ६ धुमका रामचन्द्र महतारालाई नेपाली सेनाको हेलिकप्टरद्वारा उपचारका लागि नेपालगन्‍जतर्फ लिएको प्रहरी नायबल उपरीक्षक श्रेष्ठले बताए ।

बाढी र पहिरोमा परी बेपत्ता भएकाको खोजी कार्य जारी रहेको उनले बताए । शनिबार बिहानैदेखि सुरक्षाकर्मी र स्थानीयवासी लगायतले घटनास्थल पुगेर पहिरोमा पुरिएकाको खोजी गरिरहेको उनले बताए ।

सार्की गाउँको पहिरोस्थलको भूगोल भिरालो तथा अप्ठेरो हुँदा, पहिरो खस्ने क्रम जारी हुँदा र खराब मौसमका कारण बेपत्ताको खोजी तथा उद्धारमा कठिनाइ भएको उनको भनाई छ । बारेकोट गाउँपालिका र स्थानीय प्रशासनले पहिरोको जोखिम रहेका गाउँका बासिन्दालाई सुरक्षित स्थानमा गएर बस्‍न आग्रह गरेको श्रेष्ठले बताए ।

समयमा सर्तकता नअपनाए बाढी पहिरोले बारेकोटमा ठूलो धनजनको क्षति हुने उनले बताए । सार्की गाउँको घटनास्थल सदरमुकाम खलंगादेखि ९० किलोमिटर उत्तरमा पर्छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …