तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

खुमकान्त अर्याल

अहिले कोरोना भाइरस रोगको विश्वव्यापी चर्चा चलेजस्तै २०५५।५६ सालतिर एचआइ भि एड्स रोगको बारेमा हामी कहांँ पनि ठूलो हल्ला चल्यो ।फरक के हो भने उतिवेला लकडाउन गरिएको थिएन र जनजनको हातमा मोवाइल फेसवुक थिएन । उक्त समयमा एड्स रोगको महामारीबाट दक्षिण अफ्रिकाका धेरै देशका जनताहरुको मृत्यु भएको थियो। कति गाउँहरुमा त एउटै युवा पनि बाँकी रहेनन् भनिन्छ । यो रोग अफ्रिका, युरोप अमेरिका हुंँदै नेपालमा पनि पहिलो पटक सन १९८८ सालमा विदेशवाट आएका एक नेपाली र एक पर्यटकमा देखिएको थियो ।

पछि भारतको बम्वै र अन्य केही देशमा कामका लागि जानेहरूबाट तथा यौनव्यवसायी तथा ड्रग इन्जेक्शन प्रयोग गर्नेहरूबाट एड्स संक्रमणको गतिक्रम बढ्दै गयो र समुदाय स्तरमा पनि देखियेा । एचआइ भी एड्स, संक्रमित भएको मानिससंगको असुरक्षित यौन सम्पर्क, त्यस्ता व्यक्तिले प्रयोग गरेको सुई अर्को व्यक्तिमा प्रयोग गरिंँदा मिसिने रगत र संक्रमित आमाबाट जन्मलिएको नयाँ सन्तानमा मात्र सर्ने यो रोगको नाम सुनेर नै मानिसहरु डराउन थाले ।

कुनै गाँउ टोलमा एचआइभी एड्स रोग लागेको व्यक्ति भएको वा उसको मृत्यु भएको थाहा हुन आएमा त्यस परिवारका सबै सदस्यसंग मानिस टाढा रहने र सकेसम्म त्यो गाउँतिर फर्केर हेर्न समेत डराउने गर्दथे छिमेकीहरु । संक्रमितले खाना, सुसार, माया पाउनुको सट्टा घृणा अपमान हुन थाल्यो, मरेमा मलामी पाउन समेत समस्या भयाे। यो साँच्चै दयनीय अवस्था थियो उनीहरुको । यो एउटा नयाँ सामाजिक तथा मानवीय समस्या भएकोले यसको न्यूनीकरण गर्न र संक्रमण बढ्न नदिन सामुदायिक रुपमा सचेतनाका कार्यक्रमहरु संचालन गरिए राज्यबाट । एड्स भएको मानिससंग हात मिलाउँदा, संगै बस्दाखाँदा, बोल्दा, एउटै सौचालय प्रयोग गर्दा, चुम्वन गर्दा नसर्ने भएकोले उनीहरुलाई तिरस्कार भन्दा मानवीय व्यवहार गरी मनोवल उच्च पारेर नियमित औषधिको व्यवस्था तथा परामर्शबाट सकेसम्म धेरै बाँच्न सकिने र भरोसा दिलाउने काम गरियो जस्को कारणले रोगीहरुको वाँच्ने समय बढीरहेको देखिन्छ र थप संक्रमण रोकिएको छ ।

अहिले कोभिड १९बाट सवै सखाप हुनलागेको जसरी हल्ला भएको छ त्यस्तै गरी त्यतिबेलाको एचआइभीको हल्ला हेर्दा खै अब मानिस सखापै हुने भए भनिएको हाे तर अहिले एड्सको सामान्य स्थिति देखिएको छ ।

विज्ञहरुको राय अनुसार कोरोना भाइरस संक्रमित मानिसले हाच्छ्यूंँ गर्दाको छिटा अर्को मानिसमा पर्न गएमा, एकै ठाउँमा छोइएर बस्दा ,हिड्दा, सुत्दा रोगीले प्रयोग गरेका लुगाफाटो, सरसामान प्रयोग गर्दा ३ फिट भन्दा नजिकै आम्ने साम्ने भएर सास फेर्दा, हातले आँखा कान नाक मुखमा छोइरहंँदा सर्ने भनिएको छ । संक्रमित व्यक्तिसंग नछोइने, मास्क लगाउने, हात खुट्टा सावुनपानीले धोइरहने, हात नमिलाउने, संक्रमितले प्रयोग गरेका सरसामान प्रयोग नगर्ने, नछुने र उसलाई अलग्गै राखेर उपचार गरिंँदा धेरै विरामीहरु सन्चो भएको तथ्याङ्क देखाएको छ , तैपनि मानिसहरु यत्रतत्र सबै भयभित देखिन्छन् ।

उही “वनको बाघले खान्छ कि खांँदैन, मनको बाघले खान्छ” भने जस्तै हामी कहिले सम्म डराई रहने ? यही डरको कारणले हामी दुःख पाइरहेका छौं र हाम्रो सामाजिक दायित्व, परोपकार गर्ने सहयोगी परम्परा समेत भुलेर निष्ठुरी हुदै गएको त छैन ? संक्रमित मानिसको मृत्यु पछि लास जलाउने ठाँउ नदिने, गाडीले विरामीलाई अस्पताल सम्म लैजान नमान्ने, अस्पतालले उपचारको लागि भर्ना गर्न नमान्ने, विदेशवाट आएर सीमानामा अलपत्र नागरिकलाई ल्याउन गाह्रो मान्ने, क्वारेन्टाइन बनाउन लागिएकोे ठाउँमा विरोध गर्ने, कोही परोपकारी मानिसले आँफू सुरक्षित भएर अलपत्र परेकाहरुको सेवा गरेर घर फर्कदा गाँउलेले वहिस्कार गर्ने सम्मका अमानवीय व्यवहार देखिइनु पक्कै पनि मानवता हामी बीचवाट हराउंँदै जान लागेको भान हुन लागेको छ । कति मानिसहरु यो व्यवहारवाट निरास भएर आत्महत्या गर्न तैयार भएकाछन् ।

विदेशमा बसेर फर्कनेहरु परिवार पाल्नको लागि गएका हुन।उनीहरुले कमाएर ल्याएको पैसाले अर्थतन्त्र धानिएको थियो । आँफै विरामी भएर फर्कने रहर पनि त थिएन । उनीहरुलाई रोग लिएर आएको भन्ने कठोर वचन कसैले प्रयोग गरिनु सरासर पाप हो । हाम्रा भाइ छोराहरु अहिलेपनि विभिन्न देशहरुमा छन् । उनीहरुलाई सकेसम्म मानवीय व्यवहार गरेरै राखेका छन् मित्र देशहरुले, सायद हाम्रो देशले भन्दा वढीनै सुविधा दिएर तर हाम्रै व्यवहार हाम्रै माथि किन कठोर ?

मानिसलाई परेको कष्टको उद्दार मान्छे बाहेक अरु कुनै जीव जनावरले गर्न सक्दैन, मानौं हामी कुनै खाडलमा खस्यौँ भने के हामीलाई हात्ती , घोडा, कुकुरले झिक्छ ? मान्छेले नैे झिकेर उद्दार गर्नुपर्ने हुन्छ।त्यही भएर मानिस समाजमा बस्नुपरेको हो, नत्र जंगलतिर बसे पनि हुने थियो होला ।

हाम्रो देश नेपाल, बुद्ध जन्मेको तथा ऋषि महर्षिले तप गरेको भूमि हो भनेर गर्व गर्दछौ । भगवान बुद्धको शरणमा घाउचोट लागेका मान्छे मात्र होइन हरिण स्याल बाघ पंक्षी समेत आउँथे र भगवान आँफैले उनीहरुको सेवा गरी निको गराएर पठाउने गर्नुहुन्थ्यो । बुद्धलाई सवैले त्यो बाटोबाट अगाडि नजानुहोस् ब्याधा अङ्गुलीमालले हजुरलाई मार्नेछ भन्दा पनि उहांँ नडराई अङ्गुलीमाल भएको ठाउँमा पुग्नु भयो । भगवानको मृदुल वाँणीवाट प्रभावित भएर अंगुलीमालले संधैको लागि हिंसा त्याग गर्यो, यसरी बुद्धले धेरै मानव जातिको रक्षा गर्नुभयो । देवता र समस्त मानव जातिको हित र रक्षाको लागि वृत्तासुरलाई मार्ने “वज्र” नामक हतियार बनाउनको लागि ऋषि दधीचिले इन्द्रलाई आफ्नो शरीरवाट मेरुदण्डको हड्डी निकाल्न दिएको कथा हामीले धेरै पटक श्रवण गरेकै छौं । राक्षसको आहारा हुन जानको लागि तोकिएका एक व्राम्हणको सट्टा भीमसेन आँफै राक्षसका आहार वन्नको लागि गएर व्राम्हणलाई जीवनदान गरेको महाभारतको कथा पनि हामीले सुनेकै छौं ।

पूर्वजहरुले ज्ञान आर्जनका लागि, पुण्यलाभका लागि गर्ने विभिन्न धार्मिक कार्यक्रम सप्ताह पुराण लगाएर सुन्ने गर्दा यसैका प्रेरणाले पनि यज्ञ दान परोपकार गर्थे । यही प्रेरणाले धर्मका खातिर बनाएका कतिधेरै पाटीपोैवा चौतारी सत्तलहरु पाठशाला मन्दिर पोखरी गुठी अहिले हामीले प्रयोग गर्न पाएका छौं, ती वरदान भएका छन हामीलाई । यिनै विशिष्ट गुणहरु नेपालीको राष्ट्रिय चरित्र बनेको थियो त्यसैले हिमालयको काखमा रहेको देश नेपालको गौरव र इज्जत थियो । हामीले अहिले गर्ने परोपकारका कर्महरुलाई हाम्रा सन्तानले देख्नेछन र भोलि उनीहरुले पनि यो परम्परालाई निरन्तरता दिनेछन जसरी हामीमा पुर्वजहरुको केही अंश वाँकी छ ।

अहिले पनि हाम्रोमा उपकारी महान आत्माहरु धेरै नै हुनुहुन्छ जसले यही कोभिड १९ संकटका वेला तन,मन,धन सीप इलम क्षमता अनुसारको सहयोग गर्नु भएको छ, सलाम छ वहाँहरुलाई । कोभिड १९ संक्रमण नियन्त्रणको कार्यान्वयनका शिलशिलामा जनस्तरबाट आएका अलोचनाहरुलाई सरकारले सच्याओस् । रोगवाट बच्नका लागि निर्धारण भएका उपाय र आचार संहिताको हामीले पालना गरौं ।अरुको कल्याणका लागि सहयोगी पनि बन्दै जीवन संचालन गर्ने हिम्मत गरौं, भाइरस माथि अवश्य विजय प्राप्त गर्नेछौंँ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …