तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

 श्याम प्रसाद रेग्मी

पौराणिक युगदेखि नै अस्तित्वमा रहेको नेपाल राज्यको इतिहास राजा मानदेव प्रथमको पालामा आएर मात्र प्रामाणिक युगमा प्रवेश गरेको पाइन्छ । नेपाल राज्यको इतिहासका धेरै कालखण्डहरूमध्ये बाईसी-चौबीसी राज्य कालखण्डलाई पनि निकै महत्वपूर्ण कालखण्डका रूपमा लिने गरिएको छ । नेपालको इतिहासमा बडा महाराजधिराज तथा राष्ट्र-निर्माता भनेर सम्मानित राजा श्री ५ पृथ्वीनारायण शाहले नेपालको एकीकरण अभियानको जग बसाल्नुभन्दा पहिलेको युग नेपालको इतिहासमा बाईसे-चौबीसे राज्य युगका रूपमा चर्चित छ ।

पृथ्वीनारायण शाहको उदयअघि कर्णाली पारिका बाईस राज्यहरू र वारिका चौबीसे राज्यहरूलाई आधार मानेर नै सो युगलाई बाईसे-चौबीसे राज्य युग भनेर नामकरण गरिएको देखिन्छ । तत्कालीन नेपालमाअस्तित्वमा रहेका बाईसे-चौबीसे राज्यहरूमध्ये चौबीसे राज्यका रूपमा भीरकोट राज्य पनि एक प्रभावशाली राज्यका रूपमा रहेको व्यहोरा इतिहाससिद्ध छ । यही ऐतिहासिक राज्यको नामको ऐतिहासिक विरासतलाई नै ग्रहण गरेर नगरपालिकाको न्वारान पनि भीरकोट भनेर गरिएको पाइन्छ ।

खान वंशका (पछि खाण रत्यसपछि शाह) खान्चा खान यस राज्यका संस्थापक राजा मानिन्छन् भने आन्तिम शासक तारकबहादुर शाह (वि.सं १९६०- २०५८) मानिन्छन् । राज्य संचालनार्थ यहाँका शासकहरूले समय-समयमा विभिन्न दरबारहरू निर्माण गरेको कुरा इतिहासमा उल्लेख गरिएको पाइन्छ तर आज कतिपय दरबारहरू अवशेष विहीन भइसकेका छन्।भने राजा तारकबहादुर शाहले निर्माण गरेको एउटा दरबार, जसलाई अहिले भीरकोट दबार भनेर चिन्ने गरिन्छ र जसको नामबाट नै नगरपालिकाको नामकरण भीरकोट भनेर गरिएको छ ।सबैले बिर्सिएको अवस्थामा चिनारी र पुननिर्माणको प्रतीक्षामा जीर्ण अवस्थामा घरको न घाटको भएर उभिएको छ । यस लेखमा सोही दरबारको सामान्य चिनारी दिने काम गरिएको छ ।

भीरकोटे राजाहरूले विभिन्न उद्देश्यले स्थापना गरेका प्रमुख चार दरबारहरु खिलुङ दरबार, कुडार दरबार, सारूथोक दरबार र जगतपुर दरबारमध्ये यही भिरकोट दरबार नै वास्तवमा भीरकोट दरबार हो भन्ने गरिन्छ। तत्कालीन र अहिले पनि जगतपुर भन्ने ठाउँमा रहेको दरबार नै भीरकोट दरबार हो भन्ने गरिएको छ । यस दरबार क्षेत्रलाई सुरुसुरुमा खानीडॉंडा भन्ने गरिए पनि राजा प्रेमवर (वि.सं १८७०- १९४२ का पालामा शिकार खेल्ने उद्देश्यले यहाँ आएर केही समय बसी यहीँकी एक खत्री परिवारकी क्षेत्रीय कन्यासँग विवाहसमेत गरेका भनिएका प्रथम राणा प्रधानमन्त्री जंगवहादुर राणाले यसको नामकरण जगतपुर भनी गरिदिएका थिए भन्ने इतिहास-अपुष्ट भनाइसमेत रहेको पाइन्छ र सोही नामकरण पछि त्यहाँको दरबार पनि जगतपुर दरबारका रूपमा चिनिन थालेको हाल भीरकोट न.पा.को वार्ड नं १ दरबारटोल क्षेत्रमा सुविधायुक्त र मनोरमआँधीखोलाको दृश्य देख्न सकिने केही अग्लो स्थानमा जगतपुर दरबार रहेको थियो भन्ने गरिएको छ l

राजा प्रेमवरका पालामा सारूथोक दरबारबाट शासन सन्चालन गर्न असहज भएकाले तथा शासन संचालनका लागि सारूथोक दरबार केही विकट भएकाले रहनसहनको सहजता र शासन संचालन तथा आवागमनको सुविधाका लागि तत्कालीन राजाहरूले जगतपुर दरबार निर्माण गरेको र सारूथोकमा जस्तै कालिका मन्दिर बनाइ पूजाआजा समेत थालिएको कुरा यहाँका स्थानीय समाजसेवी श्री ढालविक्रम खाँण बताउनुहुन्छ । खर र माटोबाट निर्मित तर निकै कलात्मक उक्त तीन तले दरबारमा कैदी थुन्ने, परेवा थुन्ने, पूजा गर्ने, पाहुनाहरू राख्ने, कचहरी गर्ने, रजवती महिलाहरूलाई राख्ने भिन्दा-भिन्दै कोठाहरूको निर्माण गरिएको थियो भन्ने पाइन्छ ।

यस आलेखमा चर्चा गर्न थालिएको र अहिले जीर्णोद्वारको प्रतीक्षामा रहेको दरबार भने राजा तारकबहादुर शाहले वि.स. १९९० को महाभूकम्पपछि निर्माण गरेको दरबार हो । इंटा, काठ र टिन प्रयोग गरी बनाइएको यो दरबार तीन तले १५कोठासहितको रहेको छ। हल आकारका ठूला-ठूला कोठाहरूसहितको यो दरबारमा प्रयोग गरिएका झ्याल-ढोकाहरूको संख्या ५२ रहेको पाइन्छ । सायद यसैले होला अहिले पनि सो स्थानमा तीन तले बाउन्ने ढोका, भीरकोटे राजैको दरिबार भन्ने रोइला सुन्न पाइन्छ ।

स्थानीय खानी खोलाको किनार र भर्लाकुनाका खेतहरूमा तयार गरिएका इंटा र स्थानीय काठहरूकै प्रयोगबाट बनाइएको यो दरबार मूलतः मगर मिस्त्रीहरूबाट बनाइएका थियो भन्ने गरिन्छ । पूर्व र पश्चिम दुवैतर्फ कलात्मक ढोकाहरू हालेर बनाइएको यस दरबारको निर्माण गर्दा यसका गाराहरूमा इंटा पिसेर तयार गरिएको धूलों (जसलाई सुर्की भनिन्थ्यो) को प्रयोग गरिएको थियो भन्ने कुरा स्थानीयवासीहरूबाट थाहा पाउन सकिन्छ । यस दरबारको छादन भने नौतुनाबाट मानिसहरू लगाएर बोकाई ल्याइएको कुरासमेत यहाँका मानिसहरू सगर्व बताउने गर्दछन् । यस दरबारका निर्माता तारकबहादुर शाह पछि काठमाडौं बस्न थालेपछि भने यस दरबारको महत्त्व कम हुँदै जान थालेको देखिन्छ l

अहिले उनकै परिवारका मानिसहरूबाट बसोबासको लागि प्रयोगमा ल्याइएको उक्त दरबार सबैबाट बिर्सिएको अवस्थामा छ ।ऐतिहासिक सम्पदाहरू देशको इतिहास बुझाउने, बचाउने र भावी पुस्तालाई मार्गदर्शन गर्ने अमूल्य सम्पदाहरू हुन् भन्नेमा कुनै शंका छैन । माथि सामान्य चर्चा गरिएको तर हाल व्यक्तिको स्वामीत्वमा रहेको भीरकोट दरबारको पनि गहन अनुसन्धान हुन सकेमा र यसका सत्य-तथ्यहरूलाई प्रकाशमा ल्याउन सकेमा तत्कालीन नेपालको इतिहास बुझ्न यसले निकै ठूलो सहयोग पुग्थ्यो भन्नेमा द्विविधा छैन भन्न हिचकिचाउनु पर्दैन । अतः यस्ता बिर्सिएका ऐतिहासिक दरबारहरूको जीर्णोद्धार गर्दै इतिहास बचाउने ऐतिहासिक दायित्वबोध हामी सबैले गर्नुपर्ने आवश्यकता टड्कारो बन्दै गएको देखिन्छ ।

(लेखक भीरकोट पोखरा सामीप्य सदनका अध्यक्ष हुनुहुन्छ ।)

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …