तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

तनहुँ ।नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशले के दियोभन्दा पनि देशलाई के दिन सक्छौँ भन्ने भावना सबैमा जागृत हुुनुपर्ने बताउनुभएको छ । 

तनहुँको व्यास नगरपालिकाको ३० औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले देशको हितलाई केन्द्रबिन्दुमा राखेर काम गर्न आग्रह गर्नुभयो ।  जनप्रतिनिधि सुविधाभोगी हुन नहुने भन्दै वरिष्ठ नेता पौडेलले भन्नुभयो, “मैले कति सुविधा पाउँछु, मेरो कति उन्नति हुन्छ भन्ने सोच त्याग्नुपर्छ, देशको हितलाई मात्रै ध्यानमा राख्नुपर्छ ।” उहाँले आफ्ना लागि मात्र सोच्न थालियो भने व्यवस्था बर्बादीमा जाने जिकिर गर्नुभयो । 

उच्चस्तरीय राजनीति संयन्त्रका संयोजक समेत रहनुभएका नेता पौडेलले राष्ट्रको स्वतन्त्रता र लोकतन्त्र बचाउने अहिलेको मुख्य आवश्यकता औँल्याउनुभयो । 

सुन्दर सहर, सुखी जनता बनाउने अभियानका साथ चिन्तन गर्नुपर्ने जनाउँदै उहाँले विगतमा के गरियो भन्दा पनि अब के गर्ने हो त्यसतर्फ केन्द्रित हुनुपर्ने सुझाव दिनुभयो । राजनीति र विकासलाई सँगै अगाडि बढाउनुपर्ने जनाउँदैे गाउँमै जनतालाई बसुँ बसुँ बनाउनुपर्ने उल्लेख गर्नुभयो । 

कार्यक्रममा गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री डोबाटे विश्वकर्माले तनहुँको विकासमा वरिष्ठ नेता पौडेलको भूमिकालाई बिर्सन नमिल्ने बताउनुभयो । उहाँले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो । 

प्रदेशसभा सदस्य सरिता गुरुङले स्थानीय तहमा भएका विकास निर्माणका कामलाई जनताले मूल्याङ्कन गर्ने बेला आएको उल्लेख गर्नुभयो । जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले विकासमा व्यासले थुप्रै काम गरेको बताउँदै अहिलेको जनप्रतिनिधिको कामलाई आगामी जनप्रतिनिधिले पनि निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । 

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा जगदिशचन्द्र पोख्रेलले स्रोत बढाउनेतर्फ ध्यान दिन आग्रह गर्नुभयो । कार्यक्रममा भानु नगरपालिकाका प्रमुख उदयराज गौली, नेपाली कांग्रेसका उपसभापति देवकुमार श्रेष्ठ, नेकपा माओवादी केन्द्रका प्रदेश सहसचिव अतिन्द्रकेशरी न्यौपाने, प्रथम नगर प्रमुख ताराप्रसाद श्रेष्ठ, पूर्वजनप्रतिनिधि रामचन्द्र बस्नेतलगायतले जनप्रतिनिधि उत्तरदायी हुनुपर्नेमा जोड दिनुभयो । व्यास नगर प्रमुख वैकुण्ठ न्यौपानेले पाँच वर्षको अवधिमा जनताको माग र आवश्यकतालाई ध्यानमा राखी काम गरिएको बताउनुभयो । 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …