तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ ।नेपाली कांग्रेसका नेता शेखर कोइरालाले भ्रातृ संस्थाको तदर्थ समिति गठनका विषयमा आफूनिकट भ्रातृ संस्थाका नेताहरूसँग छलफल गरेका छन् । पार्टीले समयमा महाधिवेशन गर्न नसकेको भन्दै भंग गरेका १० भ्रातृ संस्थामा तदर्थ समिति गठन गर्ने विषयमा सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले परामर्श नगरेकोमा कोइराला समूह असन्तुष्ट छ ।

नेता कोइरालाले बुधबार आफूनिकट पार्टीका पदाधिकारी र केन्द्रीय सदस्यहरूसँग भ्रातृ संस्थाको तदर्थ समिति गठनबारे छलफल गरेका थिए । त्यसअघि कोइरालाले सभापति देउवालाई फोन गरेर पार्टीभित्र छलफल गरेर मात्रै तदर्थ समिति गठन गर्न सुझाव दिएका थिए ।

तर, सभापति देउवाले बुधबारै नेपाल विद्यार्थी संघमा दुजाङ शेर्पा र नेपाल तरुण दलमा विद्वान् गुरुङलाई मनोनीत गरेपछि कोइराला समूह असन्तुष्ट बनेको हो । नेता कोइरालाले बिहीबार नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलका पूर्वअध्यक्ष, पदाधिकारी र सदस्यहरूलाई बोलाएर छलफल गरेका थिए । सो क्रममा वक्ताहरूले सभापति देउवा पक्षले धेरै पेलेको अवस्थामा आवश्यक परे समानान्तर समिति गठन गरेर भए पनि अघि बढ्नुपर्ने सुझाव दिएका हुन् ।

कार्यक्रममा नेता चन्द्र भण्डारी, केन्द्रीय सदस्यहरू प्रतिमा गौतम र गोविन्द पोखरेल, नेविसंघका पुर्वअध्यक्षहरू गुरुराज घिमिरे र केशव सिंह, पूर्वमहामन्त्री मनोजमणि आचार्य, नेतृहरू रिना खनाल, कमला थापा, रिना उप्रेती लगायत थिए । ‘पार्टी र भ्रातृ संस्थामा देखिएको लापरबाहीबारे धेरै लामो छलफल भयो, साभपतिजीले चुनावको मुखमा पार्टीलाई एकढिक्का बनाएर लैजानुपर्ने थियो तर सबैलाई मिलाउने भन्दा पनि विपक्षीलाई पेल्ने रणनीति उहाँले अवलम्बन गर्नुभएको छ,’ कोइराला पक्षकी केन्द्रीय सदस्य प्रतिमा गौतमले ईकान्तिपुरसँग भनिन्, ‘पार्टीभित्रको ४० प्रतिशत अस्तित्वलाई स्वीकार नगरे सधैँ सहेर बस्ने कुरा हुँदैन ।’

उनले अधिकांश वक्ताहरूले वार्ता र संवादबाट नसुल्झिए कडारुपमा प्रतिरोध गर्नुपर्ने सुझाव दिएको जानकारी दिइन् । नेविसंघ र तरुण दलमा नियुक्त भएका दुवै अध्यक्ष सभापति देउवानिकट हुन् भने अब प्रजातन्त्र सेनानी संघ, किसान संघ, आदिवासी जनजाति संघ, लोकतान्त्रिक अपाङ्ग संघ, तामाङ संघ, ठाकुर समाज, महिला संघ र भूतपूर्व सैनिक संघमा तदर्थ समिति गठन गर्नुपर्नेछ । बुधबार बसेको कोइराला समूहको बैठकले सभापति देउवाले भेटेर भ्रातृ संस्थामा भाग भागबण्डाको प्रस्ताव गर्ने निर्णय गरेको थियो ।

तर, सभापति देउवाले कुनै सल्लाह नै नगरी तदर्थ समिति गठन गरेपछि विवाद बढेको हो । एक नेताका अनुसार सभापति देउवाले भ्रातृ संस्थाहरू सबैको प्रमुख पदमा आफूनिकटलाई नियुक्त गर्ने र अन्य पदाधिकारी र सदस्यहरूमा मात्रै पार्टीभित्र सबै पक्षलाई समेट्ने योजनामा छन् । कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक शुक्रबार बस्दैछ । काेइराला समूहले बैठकमा पार्टीभित्रका बेथितिको विरोध गर्ने जनाएको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …