तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं । सत्ता गठबन्धन आबद्ध दलहरू स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गर्ने विषयमा घनीभूत छलफलमा जुटेका छन् । निर्वाचन मिति नजिकिँदै गर्दा गठबन्धन आबद्ध दलले स्थानीय प्रभाव हेरेर चुनावी तालमेल गर्ने विषयमा छलफल अघि बढाउँदै मोडालिटी तय गर्न अघि बढेका हुन् ।

महानगर र उपमहानगर प्राथमिकतामा

सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी नेपालका शीर्ष तहका नेताबीच मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा चुनावी तालमेल छलफल भएको थियो । सो छलफलमा तालमेलको मोडालिटीका विषयमा पनि छलफल भएको छ । त्यस्तो मोडालिटी तयार गर्न संयन्त्र बनाउने विषयमा गठबन्धन आबद्ध शीर्ष नेता सहमत छन् ।

बैठकमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल सहभागी थिए । जसपा अध्यक्ष उपेन्द्र यादव भने काठमाडौंबाहिर भएकाले बैठकमा सहभागी भएनन् ।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष नेपालले ६ महानगरपालिका र ११ उपमहानगरपालिका तथा नगरपालिकाहरूमा गठबन्धनले तालमेलको निर्णय गर्न ढिला गर्न नहुनेमा जोड दिएका थिए ।

प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवाले भने पार्टीमा छलफल गरेर तालमेल निर्णय लिने भनेका थिए । उनले महानगर, उपमहानगर र नगरपालिकामा केन्द्रमा छलफल गर्ने तीबाहेकका स्थानीय तहमा दलहरूको अवस्था हेरेर तालमेलमा अघि बढ्न सकिने बताएका थिए ।

सोमबार राति कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको निवासमासमेत कांग्रेसका शीर्ष नेताहरू स्थानीय तह निर्वाचनमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भएको थियो । सो छलफलमा आगामी सबै तहका निर्वाचनमा गठबन्धन आबद्ध दलहरूबीच तालमेल गरेर जाने विषयमा छलफल भएको कांग्रेसका एक पदाधिकारीले जानकारी दिए ।

कांग्रेसले चुनावी तालमेलमा ठोस निर्णय भने ११ चैतमा बस्ने केन्द्रीय समिति बैठकमार्फत गर्ने बताइएको छ ।

जसपा अध्यक्ष उपेन्द्र यादवले स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धन आबद्ध दलहरूबीच चुनावी तालमेलको मोडालिटी छलफल अघि बढेको बताए । उनले आवश्यकता हेरेर गठबन्धनका बीचमा स्थानीय तह निर्वाचनमा तालमेल हुने जानकारी दिए ।

‘सत्ता गठबन्धन आबद्ध दलहरूबीचमा स्थानीय तह निर्वाचनमा तालमेलको सम्भावना बढ्यो, कहाँ कसरी तालमेल गर्ने भन्ने विषयमा आवश्यकता हेरेर निर्णय हुन्छ, त्यसको मोडालिटी छलफल हुँदै छ’ जसपा अध्यक्ष यादवले राजधानीसँग भने ।

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतलेसमेत स्थानीय तह निर्वाचनमा स्थानीय आवश्यकताका आधारमा चुनावी तालमेल हुने जानकारी दिए । उनले कसरी र कुन मोडलमा गठबन्धन आबद्ध दलबीच चुनावी तालमेल हुने भन्ने विषयमा खाका बन्दै गरेको बताएका हुन् ।

‘स्थानीय आवश्यकताका आधारमा चुनावी तालमेल हुन्छ, कसरी र कुन मोडलमा गर्ने भन्ने विषयमा गठबन्धनले पनि खाका बनाउँछ, कांग्रेसले पनि केन्द्रीय समितिमा छलफल गर्छ,’ कांग्रेस प्रवक्ता महतले भने ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले ११ चैतका लागि कांग्रेस केन्द्रीय समिति बैठक बोलाइएको र बैठकका लागि तीन एजेन्डा तय गरिएको जानकारी दिए ।

उनका अनुसार बैठकमा स्थानीय तह निर्वाचनको तयारी तथा स्थानीय तह निर्वाचनको एकमहिने अभियानको प्रारम्भिक समीक्षा, निर्वाचनका लागि उम्मेदवार छान्न संसदीय समिति गठन र तालमेलसहितका विविध एजेन्डा तय गरिएको हो । राजधानी दैनिकमा खबर छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …