तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

दुई वर्षमा विश्वविद्यालय खुल्ने दिनमध्येको करिब आधा समय ताला लाग्दा शैक्षिक, भौतिक सुधार र अन्य कार्यक्रम लथालिंग

काठमाडौँ । उच्च शिक्षाका ८० प्रतिशतभन्दा बढी विद्यार्थी अध्ययन गर्ने त्रिभुवन विश्वविद्यालयमा पछिल्लो दुई वर्षयता करिब दुई सय दिन तालाबन्दी भएको छ ।

विद्यार्थी र प्राध्यापकका विभिन्न संगठनले गरेको तालाबन्दीका कारण दैनिक कामकाज मात्र ठप्प नभएर विश्वविद्यालयको दीर्घकालीन लक्ष्य र योजना नै अलपत्र बन्न पुगेको छ ।

वर्षभरिमा करिब साढे दुई सय दिन विश्वविद्यालयको प्रशासनिक कामकाज सञ्चालन हुने गर्छ तर २०७६ कात्तिकयता करिब दुई सय दिन विभिन्न कारण तालाबन्दी भएको छ । यस हिसाबले दुई वर्षमा विश्वविद्यालय खुल्ने दिनमध्येको करिब आधा समय तालाबन्दी भएको छ ।

सबैभन्दा बढी तालाबन्दी गर्नेमा सत्तारूढ कांग्रेसनिकट नेपाल विद्यार्थी संघका कार्यकर्ता, आंशिक र करार प्राध्यापक छन् । तालाबन्दीमा सहभागीलाई सत्तारूढ कांग्रेसकै समर्थन र संरक्षण छ । आंशिक प्राध्यापकलाई करार गर्न र करारलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्न विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले दबाब दिँदै आएका छन् ।

पछिल्लो पटक नेविसंघ त्रिवि इकाईले माघ ७ मा उपकुलपति, रजिस्ट्रार, रेक्टरलगायतको कार्यालयमा तालाबन्दी गरेको छ । त्यस्तै आंशिक प्राध्यापकले त्रिवि सेवा आयोगलगायत निकायमा तालाबन्दी गर्दा झन्डै एक महिनादेखि त्रिविका कार्यालय ठप्प छन् । नाजायज र असान्दर्भिक माग राखेर भइरहेको तालाबन्दीको त्रिविकै प्राध्यापक र कर्मचारीले विरोध गर्दै आएका छन् । नेविसंघले अनौठो माग अघि सारेर तालाबन्दी गरेको हो ।

जनकपुरस्थित युथ क्याम्पसले ‘घूस नदिँदा’ त्रिविले बीसीए कार्यक्रमको सम्बन्धन खारेज गरेको आरोप लगाएको छ । नेविसंघका इकाई सभापति हरि आचार्यले ‘घूस उठाउने’ उपकुलपति, रजिस्ट्रार, रेक्टरलगायत पदाधिकारीलाई बर्खास्त गर्नुपर्ने माग राख्दै अनिश्चितकालीन तालाबन्दी गरेका हुन् । उपप्राध्यापक प्रेमबहादुर चलाउनेमाथि गत वर्ष आक्रमण गरेको आरोपमा आचार्य, नेविसंघका त्रिवि इकाई सचिव योगेन्द्र रावललगायत कार्यकर्तामाथि ज्यान मार्ने उद्योगको मुद्दा अदालतमा विचाराधीन छ ।

तालाबन्दीका कारण सम्बन्धनका लागि घूस मागेको विषयको छानबिन पनि ओझेलमा परेको त्रिविका पदाधिकारीले बताए । त्रिविले उक्त विषयमा छानबिन गर्न कानुन संकायका पूर्वडिन ताराप्रकाश सापकोटाको संयोजकत्वमा समिति बनाएको छ । उपकुलपति, रजिस्ट्रार र रेक्टरका कार्यालयमा तालाबन्दी भएका कारण आवश्यक कागजात थुनिएकाले छानबिन अघि बढ्न नसकेको हो । नेविसंघ तालाबन्दी खुलाउन त्रिविले गठन गरेको वार्ता समितिको सम्पर्कमा समेत छैन । त्रिविले विद्यार्थी कल्याण निर्देशनालयका प्रमुख पशुपति अधिकारीको संयोजकत्वमा वार्ता कमिटी गठन गरेको छ ।

सरकारले सुरक्षाको प्रबन्ध मिलाएर शैक्षिक वातारण बनाउन सहयोग नगरेकामा त्रिविका पदाधिकारीले असन्तुष्टि प्रकट गर्दै आएका छन् । उपकुलपति धर्मकान्त बाँस्कोटाले गत माघमा सहकुलपति तथा शिक्षामन्त्री देवेन्द्र पौडेलसँगको भेटघाटमा त्रिविको मुख्य समस्यामध्ये तालाबन्दी एक रहेको औंल्याएका थिए । आफू नियुक्ति भएको दुई वर्षमा उपकुलपति कार्यालयमा मात्र डेढ सयभन्दा बढी दिन तालाबन्दी भइसकेकाले उक्त समस्या समाधान गर्न उनले सरकारसँग आग्रह गरेका थिए । त्यसपछि महिना दिनदेखि तालाबन्दी जारी छ । डिन कार्यालय र विभागमा भएका तालाबन्दीको त्रिविसँगै रकर्ड नै छैन । नेविसंघभन्दा अगाडि करारलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी नगर्न माग गर्दै अनेरास्ववियुलगायत विद्यार्थी संगठनले झन्डै महिना दिन तालाबन्दी गरेका थिए । प्रजातान्त्रिक, समाजवादी प्रध्यापक संगठन, करार र आंशिक प्रध्यापकले पनि आफ्ना माग पूरा गराउन ‘तालाबन्दीको हतियार’ प्रयोग गर्दै आएका छन् । निरन्तरको तालाबन्दीको विषयमा कुलपति तथा प्रधानमन्त्री देउवा र शिक्षामन्त्री पौडेललाई जानकारी गराउँदा पनि सरकारबाट शान्ति सुरक्षा व्यवस्था गर्न सहयोग नपाएको पदाधिकारी गुनासो छ ।

उपकुलपति, रजिस्ट्रार, रेक्टरलगायत पदाधिकारीले इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक, परीक्षा नियन्त्रण कार्यालय बल्खुलगायत स्थानमा बसेर जरुरी र दैनिक कामकाज गर्दै आएको त्रिविले जनाएको छ । कर्मचारीहरू विभिन्न विभाग र कार्यालयमा हाजिर भएर काम गर्छन् । त्रिविले प्राध्यापक र कर्मचारीलाई नियमित तलबसमेत उपलब्ध गराउन सकेको छैन । नियमित कार्यालय सञ्चालन नहुँदा विश्वविद्यालयको शैक्षिक, भौतिक सुधार र अन्य कार्यक्रम लथालिंग बनेको छ । ‘तालाबन्दीले म आजित भइसकें, काम गर्नै नसक्ने अवस्था आयो,’ उपकुलपति बाँस्कोटाले भने, ‘कोभिडले गाँजेको विश्वविद्यालयले तालाबन्दीले झनै धराशायी बन्दै गएको छ ।’

उनले वार्ता, छलफलबाटै समस्या समाधान गर्न पनि अपिल गरे । विश्वविद्यालयमा शैक्षिक वातारण बनाउन सबैको सहयोग जरुरी भएको उनले जनाए । आन्दोलन गर्ने पक्षले तोडफोड, प्रदर्शन र आक्रमण गर्ने भयले ताला फुटाएर पनि शैक्षिक गतिविधि अघि बढाउन असम्भव छ । विभागमा लगाएको ताला फुटाउनुपर्ने अडान लिने उपप्राध्यापक चलाउनेमाथि गत वर्ष आक्रमण भएकाले पनि भरपर्दो सुरक्षा व्यवस्था नभएसम्म ताला फुटाएर विश्वविद्यालयका गतिविधि अघि बढाउन नसकिने पदाधिकारीहरूको निष्कर्ष छ ।कान्तिपुर दैनिकमा खबर छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …