तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ ।शिक्षा मन्त्रालयको निर्णय पालिकाहरूले अवज्ञा गरेपछि कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (डीसीएमसी) को निर्देशनमा माघ मसान्तसम्म विद्यालय बन्द गरिने भएको छ । सीसीएमसीको सिफारिसअनुसार यसअघि शिक्षा मन्त्रालयले गरेको निर्णय पूर्ण रूपमा कार्यान्वयन नभएपछि प्रमुख जिल्ला अधिकारी नेतृत्वको डीसीएमसीलाई अधिकार दिन लागिएको हो । 

शिक्षा मन्त्रालयले यसअघि माघ १५ सम्म विद्यालय बन्द गर्ने निर्णय गरेको थियो । तर आफ्नो पालिकामा कोभिड महामारीको जोखिम न्यून रहेको भन्दै केही स्थानीय तहले भौतिक उपस्थितिमा नै पठनपाठनलाई निरन्तरता दिएका छन् । पछिल्लो पटक सीसीएमसीले माघ मसान्तसम्म विद्यालय बन्द गर्नुपर्ने राय दिएको छ । उक्त रायसहित विद्यालय बन्दका लागि गृह मन्त्रालय र शिक्षा मन्त्रालयमा सिफारिस गरिएको सीसीएमसीका सचिव रामप्रसाद थपलियाले जानकारी दिए । ‘यसमा डीसीएमसीलाई नै बढी भूमिका दिने भनिएको छ, हामीले लेखेर पठाइसकेका छौं,’ उनले भने ।

काठमाडौं, ललितपुर, भक्तपुर, कास्कीलगायत जिल्लाका डीसीएमसीले माघ मसान्तसम्म विद्यालय बन्द गर्ने निर्णय गरिसकेका छन् । १५ गतेसम्मका लागि बन्द गरिएका विद्यालय अहिले विद्यार्थीलाई खोप लगाउन खुलेका छन् । २० गतेसम्म विद्यालयमा खोप कार्यक्रम सञ्चालन हुने शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले जनाए । ‘सीसीएमसीले माघ मसान्तसम्मै विद्यालय बन्द गर्नुपर्ने राय दिएको छ, १/२ दिनमै निर्णय आउँछ,’ उनले भने । जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालय, विश्वविद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक कार्यक्रम माघ मसान्तसम्म भौतिक उपस्थितिमा सञ्चालन नगर्न परिपत्र गरेको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले कक्षा सञ्चालन भुर्चअल विधि वा वैकल्पिक माध्यमबाट मात्रै गर्नुपर्ने जनाए । शिक्षा मन्त्रालयले यसअघि माघ दोस्रो सातासम्म विद्यालय बन्द गर्ने निर्णय गरे पनि काठमाडौं महानगरपालिकाकै कतिपय विद्यालयले भौतिक उपस्थितिमा कक्षा सञ्चालन गरेको अभिभावकको गुनासो छ । काठमाडौं प्रशासनले जनशक्ति भर्ना, वैदेशिक रोजगार, भाषा र चिकित्सा शिक्षाका परीक्षा जनस्वास्थ्यको मापदण्ड पूरा गरी भौतिक उपस्थितिमा नै सञ्चालन गर्न सकिने जनाएको छ । ललितपुर, भक्तपुर र कास्की प्रशासनले पनि भौतिक उपस्थितिमा शैक्षिक क्रियाकलाप सञ्चालन गर्न नपाइने आदेश जारी गरेको छ ।

निजी विद्यालय सञ्चालकहरूले भने शिक्षामन्त्री देवेन्द्र पौडेललाई भेटेर आलोपालो भौतिक उपस्थितिमा नै कक्षा सञ्चालन गर्नुपर्ने सुझाव दिएका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) का पदाधिकारीले खोप लगाइसकेका विद्यार्थीलाई आलोपालो विद्यालय डाकेर पठनपाठन गर्न सकिने बताएका हुन् । माघ २३ देखि कक्षा सञ्चालन गर्न दिन प्याब्सन र एनप्याब्सनले माग गरेका छन् । प्याब्सन अध्यक्ष टीकाराम पुरीले अति जोखिमका क्षेत्रमा मात्र विद्यालय बन्द गर्न उपर्युक्त हुने

सुझाव दिए । शिक्षा विकास तथा मानवस्रोत केन्द्रले भने आइतबारदेखि विभिन्न टेलिभिजन च्यानल र रेडियोबाट कक्षा १ देखि १० सम्मको पाठ प्रसारण गर्न थालेको छ । केन्द्रले वैकल्पिक सिकाइ निर्देशिका २०७७ अनुसार सिकाइ क्रियाकलाप सञ्चालन गर्न आग्रह गरेको छ । रेडियो नेपालसहित देशभरका २ सय १० एफएम रेडियोबाट कक्षा ९ र १० को पाठ प्रसारण गरिनेछ । त्यस्तै केन्द्रको युट्युब च्यानल, वेबसाइट र मोबाइल एपबाट नमुना प्रश्नपत्रसहित पाठ लिन सकिने व्यवस्था गरिएको छ ।

घट्दै छन् संक्रमित

कोरोना संक्रमितको संख्या घट्न थालेको छ । आइतबार गरिएको १३ हजार १ सय ४५ नमुनाको परीक्षणमा ३ हजार ५ सय ४० जना नयाँ संक्रमित थपिएका छन् । पीसीआर परीक्षणमा ३ हजार ४९ र एन्टिजेनमा ४ सय ९१ जनामा संक्रमण पुष्टि भएको हो । यसअघि परीक्षण गराउनेमध्ये आधाभन्दा बढी संक्रमण पुष्टि भइरहेको थियो । ६ हजार ३ सय ५९ जना निको भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार मृत्यु हुने कोरोना संक्रमितको संख्या ३२ जना छ । मृत्यु भएका १२ जना रेकर्ड वीरेन्द्र अस्पतालबाट ढिला प्राप्त भएकाले आइतबारको तथ्यांकमा जोडिएको मन्त्रालयले जनाएको छ ।कान्तिपुर दैनिकमा खबर  छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …