तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ। नेपालमा पेटको सिटिस्क्यान सुविधा नभएका कारण क्यान्सरका बिरामी विदेश गएर महँगोमा पेट स्क्यान गराउन बाध्य हुने गरेका छन् । न्युक्लियर मेडिसिनअन्तर्गत पेट सिटिस्क्यान मेसिनबाट क्यान्सर रोगको पहिचान गर्न सकिन्छ । क्यान्सर निको भइसकेका व्यक्तिले पनि फलोअपका क्रममा पेट सिटिस्क्यान गर्नुपर्ने हुन्छ ।

नेपालमा सरकारी तथा नीति क्षेत्रमा उक्त सुविधा नहुँदा अचेल बिरामी भारत, थाइल्यान्डलगायतका मुलुकमा गएर पेट सिटिस्क्यान गर्न बाध्य हुने गरेका छन् । चार वर्षअघि क्यान्सर भएपछि मकवानपुर पालुङका जगन्नाथ ढकाल क्यान्सरको उपचार गराउन दिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पताल जानुभयो । 

भारतमा ५० लाख रुपियाँ खर्चेर क्यान्सर उपचार गराउनुभएका ढकालले नियमित फलोअपका लागि पेट सिटिस्क्यान गर्नुपर्ने भयो । लकडाउनले गर्दा ढिलाइ भइरहेकोमा एक महिनाअघि नेपालमा पेट स्क्यानको सुविधा नभएपछि भारत गएर पेट स्क्यान गर्दा थप लाखौँ रुपियाँ खर्च गर्नुभयो । 

यदि नेपालमा पेट स्क्यान भएको भए सस्तोमा पेट स्क्यान गर्न सकिने उहाँको भनाइ छ । उहाँले राजीव गान्धी क्यान्सर अस्पतालमा क्यान्सरको उपचार गराउने ७० प्रतिशत नेपाली भएको बताउनुभयो । ढकालमात्र होइन, पेटको सिटिस्क्यानका लागि विदेश जाने हजारौँ नेपाली रहेको उहाँको भनाइ छ ।

वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. सुदीप श्रेष्ठले नेपालमा केही समयका लागि पेट स्क्यान सेवा भएपछि त्यसले निरन्तरता पाउन नसकेको बताउनुभयो । उहाँले पहिले जेड एयरवेजबाट पेट सिटिस्क्यानका लागि आवश्यक औषधि ल्याइने गरेकोमा उक्त एयरवेज बन्द भएपछि नेपालमा पेट स्क्यान हुन नसकेको बताउनुभयो । पछि कोरोना भाइरसका कारण सम्र्पूण एयरलाइन्स बन्द हुँदा नेपालमा पेट सिटिस्क्यान हुन सकेको छैन ।

सरकारले पटक–पटक पेट स्क्यान खरिदका लागि बजेट छुट्याए पनि हालसम्म खरिद गर्न सकेको छैन । २०७० असारमा पेटमा कालो दाग देखिएपछि पूर्वराष्ट्रपति डा. रामवरण यादवलाई क्यान्सरको शङ्कामा थप उपचारका लागि जापान लगिएको थियो । उहाँको टोकियो विश्वविद्यालय शिक्षण अस्पतालमा पेट स्क्यान गरेपछि क्यान्सर नभएको पुष्टि भएको थियो । 

डा. यादव जापानबाट फर्केलगत्तै उहाँको पहलमा पेट स्क्यान खरिद गर्न सरकारले पटक–पटक बजेट छुट्याएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले सरकारले पटक–पटक पेट स्क्यान खरिदका लागि बजेट छुट्याएको भए पनि हालसम्म सरकारी स्तरबाट पेट स्क्यान मेसिन खरिद हुन नसकेको बताउनुभयो । 

वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. वीरेन्द्रकुमार यादवका अनुसार पेट सिटीले क्यान्सर कहाँँसम्म फैलिएको हो भन्नेबारे जानकारी दिने हुँदा उपचार गर्न सहज हुने बताउनुभयो ।गोरखापत्र दैनिकमा खबर छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …