तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ। नयाँ राजनीतिक परिस्थितिमा पार्टीको नीति र विधि तय गर्न ऐतिहासिक मानिएको नेकपा (एमाले) को प्रथम विधान महाधिवेशन आजदेखि तीन दिनसम्म ललितपुरको गोदावरीमा आयोजना हुँदैछ ।

अन्तरविरोध र अस्थिरताका कारण सरकारको नेतृत्वबाट बाहिरिएर प्रमुख प्रतिपक्षी भएको संसद्को ठूलो दल एमालेले करिब छ हजार प्रतिनिधिलाई सहभागी गराएर गोदावरीस्थित नवनिर्मित सनराइन सम्मेलन केन्द्रमा विधान महाधिवेशन गर्न लागेको हो । आगामी मङ्सिरको दोस्रो साताका लागि नेतृत्व चयनका लागि पार्टीको दसौँ राष्ट्रिय महाधिवेशन तय गरेको एमालेको विधान महाधिवेशनलाई समसामयिक राजनीतिक दलहरुमध्ये मौलिक विशेषताको भेला मानिएको छ । एमालेको गत २०७१ असारमा नवौँ महाधिवेशन भएको थियो ।

महाधिवेशनको उद्घाटन असोज १५ गते पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको विधान महाधिवेशन मूल व्यवस्थापन समितिले आज आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

उद्घाटन सत्रलाई पार्टी अध्यक्ष ओलीलगायतका नेताहरुले सम्बोधन गर्नु हुनेछ । उद्घाटन सत्रपछि महाधिवेशनको बन्दसत्रमा केन्द्रीय कमिटीको तर्फबाट अध्यक्ष ओलीबाट राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलबाट सङ्गठनात्मक प्रस्ताव र उपमहासचिव एवं सङ्गठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलबाट विधान संशोधन प्रस्ताव प्रस्तुत गरिनेछ ।

महाधिवेशनको दोस्रो दिन यही असोज १६ गते समूह छलफल र समूह नेताबाट सुझावको प्रस्तुति गरिनेछ । तेस्रो दिन असोज १७ गते दस्तावेज प्रस्तोताबाट समूह छलफलबाट आएका सुझाव एवं उठेका विषयलाई स्पष्ट पार्दै सारसंक्षेपीकरण गरिनेछ ।

महाधिवेशनको व्यवस्थापनलाई चुस्तदुरुस्त गर्न पार्टी केन्द्रीय कमिटीको बैठकबाट स्थायी कमिटी सदस्य रामबहादुर थापा संयोजक, शेरबहादुर तामाङ सचिव र केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठ, खिमलाल भट्टराई, महेश बस्नेत, विनोद श्रेष्ठ, सुजिता शाक्य, सुशीला नेपाल र पासाङ शेर्पा सदस्य रहेको मूल व्यवस्थापन समिति गठन गरिएको थियो ।

विधान महाधिवेशनमा पार्टीका केन्द्रीय कमिटीका पदाधिकारी एवं सदस्य, केन्द्रीय निकायका पदाधिकारी एवं सदस्य, केन्द्रीय विभागबाट चुनिएका प्रतिनिधि, प्रदेश कमिटीका सबै, जिल्ला कमिटीबाट चुनिएका सबै प्रतिनिधि, पार्टी सदस्य रहेका सङ्घ र प्रदेशका सांसद, पार्टीका तर्फबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख, पार्टी सदस्य रहेका स्थानीय पालिकाका प्रमुख र उपप्रमुख, जनसङ्गठन र पेशागत सङ्गठनबाट चुनिएका प्रतिनिधि, भारतलगायत प्रवासका सङ्घ सङ्गठनबाट चुनिएका प्रतिनिधि र पार्टी केन्द्रबाट विधानबमोजिम मनोनीत सदस्य प्रतिनिधि रहनेछन् ।

महाधिवेशन सम्पन्न गर्न पार्टी निकट अनेरास्ववियु, युवासङ्घ नेपाल, जिफन्ट र खेलकूद महासङ्घबाट २०० को सङ्ख्यामा स्वयंसेवकको व्यवस्था गरिएको छ । कोरोना महामारीकै अवस्था भएकाले त्यसप्रति संवेदनशील हुँदै मास्क, सेनिटाइजरको प्रयोग र थर्मलगनबाट शरीरको तापमान लिने व्यवस्था मिलाइएको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …