तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ। नेपाली काँग्रेसको १४ औँ महाधिवेशन आगामी भदौँको ७ देखि १० गतेसम्म गर्ने प्रस्ताव गरिएको छ । फागुन पहिलो साता महाधिवेशन गर्ने कार्यतालिका कार्यान्वयन नहुने भएपछि त्यसलाई परिमार्जन गर्दै काँग्रेसले भदौँ पहिलो साता महाधिवेशनको प्रस्ताव गरेको हो ।

बैठकका पार्टीका तर्फबाट महामन्त्री पूर्णबहादुर खड्काले महाधिवेशनको नयाँ मितिको प्रस्ताव बैठकमा गर्नुभएको थियो । यसका साथै पार्टीको महाधिवेशन अन्तरगत बडास्तरको अधिवेशन असार २० गतेबाट प्रारम्भ गर्ने प्रस्ताव बैठकमा गरिएको छ ।

बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले अदालतमा विचाराधिन विषयमा धेरै विवाद गर्न नहुने विचार व्यक्त गर्नुभएको थियो । साथै अदालतको फैसला अनुसरण गर्दै पार्टी अघि बढ्नुपर्ने विचार बैठकमा राख्नुभएको थियो ।

बैठकमा सभापति देउवाभन्दा फरक मत राख्दै नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकमा राजनीतिक रुपमा गम्भीर परिस्थितिमा रहेको उल्लेख गर्दै त्यसको दायित्व नेपाली काँग्रेसले लिनुपर्ने विचार व्यक्त गर्नुभएको थियो ।

केन्द्रीय समितिको बैठक सम्बन्धमा प्रेस विज्ञप्ति

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति शेरबहादुर देउवाको सभापतित्वमा केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा बसेको बैठकमा पार्टीका महामन्त्री पूर्णबहादुर खड्काले निम्न अनुसार प्रस्ताव प्रस्तुत गर्नु भएको थियो ।

प्रस्ताव नं. १

नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ४३ मा पार्टीका सबै तहका पदाधिकारी र सदस्यहरुको पदावधी ४ (चार) वर्षको रहेको र असाधारण स्थितिमा एक वर्ष थप गर्न पाउने व्यवस्था बमोजिम पाँच वर्षको रहेकोमा, नेपालको संविधानको धारा २६९ (४) (ख) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम विशेष परिस्थितिका कारण पाँच वर्षभित्र निर्वाचन हुन नसकेमा ६ (छ) महिना थप गर्न सकिने भएकोले, सो बमोजिम पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यहरुको अवधि ६ (छ) महिनाका लागि थप गर्ने व्यवस्थाका लागि पार्टी विधानको धारा ४३ मा व्यवस्था गर्ने । उक्त निर्णय पार्टीको आगामी चौधौं महाधिवेशनमा राखिनेछ ।

प्रस्ताव नं. २

नेपाली कांग्रेसको विधानका केही व्यवस्थाहरुमा सामान्य संशोधन, परिमार्जन र व्याख्या गर्न आवश्यक देखिएकोले यसै विधानको धारा ४७ र धारा ५० (५) ले दिएको अधिकार प्रयोग गरी देहाय बमोजिम संशोधन, परिमार्जन र व्याख्या गर्ने निर्णय गरिन्छ । यस निर्णयलाई पार्टीको आगामी महाधिवेशनबाट अनुमोदन गरिनेछ ।

१. नेपाली कांग्रेसको विधानको धारा ६ (२) (क), धारा ७ (२) (क) (१), धारा ७ (२) (ख) (१), धारा ७

(२) (ग) (१), धारा ८ (२) (क) (१), धारा ९ (२) (क) (१) (उपमहानगरपालिका र महानगरपालिकाको सभापति वाहेक), धारा १० (३) (क), धारा १० (४) (क) (१), धारा ११ (२) (क), धारा १२ (५) (क) (४), धारा १५ (१) (क) र धारा १५ (१) (ख) मा पार्टीका विभिन्न पदमा उम्मेदवार हुन निरन्तर क्रियाशील सदस्य भएको अवधी तोकिएकोमा उक्त क्रियाशील सदस्यको “अवधी सम्बन्धी व्यवस्था” निलम्वन गर्ने ।

तर, पार्टीको केन्द्रीय सभापति, केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य, प्रदेश सभापति, प्रदेश कार्यसमितिका पदाधिकारी र सदस्य, जिल्ला सभापति, प्रतिनिधि सभा क्षेत्रीय सभापति, महानगरपालिकाको सभापति र उपमहानगरपालिकाको सभापतिको लागि यो व्यवस्था निलम्वन भएको मानिने छैन ।

२. नेपाली कांग्रेसको विधानको धारा ४ (१०) (ग) र (ङ) बमोजिम अन्य पार्टीबाट नेपाली कांग्रेसमा प्रवेश गरेका व्यक्तिको हकमा क्रियाशील सदस्यताको अवधी गणना गर्दा नेपाली कांग्रेसको जुन पदमा हाल समायोजन (पदासिन) भएका छन्, उक्त पदका लागि आवश्यक अवधी पुगेको मानिनेछ । उक्त अवधी आवश्यक पर्ने अन्य पदमा समेत उम्मेदवार हुन योग्य मानिने छन् ।

तर, पार्टीको केन्द्रीय सदस्यमा पदासिन व्यक्ति न्यूनतम १० वर्ष निरन्तर क्रियाशील सदस्य हुनु पर्ने पदमा उम्मेदवार हुन पाउने वाहेक अन्य व्यक्ति जिल्ला सभापति, प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिको सभापति, महानगरपालिका र उपमहानगरपालिकाको सभापतिमा उम्मेदवार हुन पाउने छैन ।

३. कुनै राजनीतिक दल नेपाली कांग्रेससंग एकिकरण वा विलय हुँदा राष्ट्रिय मान्यता प्राप्त दल रहेछ भने त्यस्तो दल एकिकरण वा विलय हुँदा उक्त दलको केन्द्रीय कार्यसमितिको सदस्य रहेको व्यक्ति वा राष्ट्रिय मान्यता प्राप्त दलको केन्द्रीय कार्यसमितिको पदाधिकारी वा सदस्य भएको व्यक्ति नेपाली कांग्रेसमा प्रवेश गरेमा नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्यमा उम्मेदवार हुन पाउनेछ ।

४. पार्टीको विभिन्न तहमा सभापतिको कार्य अवधि गणना गर्दा निम्न बमोजिम गर्ने ः

(क) केन्द्रीय सभापति र जिल्ला सभापति वाहेक अन्य तहका सभापतिको पदावधी तेह्रौ महाधिवेशन देखि गणना हुनेछ ।

(ख) तेह्रौ महाधिवेशनमा सभापतिमा निर्वाचित नभएको, तर समायोजन गर्दा सभापति कायम भएको भए अवधि गणना नहुने ।

(ग) तेह्रौ महाधिवेशनमा समायोजन पूर्व सभापति निर्वाचित भएको र समायोजनमा पनि सभापति कायम भएको भए एक अवधि गणना हुने ।

(घ) तेह्रौ महाधिवेशनमा माथिल्लो तहमा निर्वाचित सभापति समायोजन गर्दा एक तह मातहतको पदको सभापति कायम भएमा एक अवधि गणना हुने ।

(ङ) स्थानीय तहको पुर्नसंरचना हुँदा साविकको वडा वा पालिका (गा.पा., न.पा., उपम.न.पा. र म.न.पा.) को समायोजन, रुपान्तरण वा स्तर परिर्वतन भएको अवस्थामा साविकमा कुनै पनि तहमा सभापति भएको व्यक्ति रुपान्तरण पछि पनि जुनसुकै तहमा सभापति भएमा पदावधी गणना हुने ।

५. प्रदेश अधिवेशन सम्पन्न नभएसम्मका लागि अधिवेशनसँग सम्बन्धित प्रदेश कार्यसमितिले गर्ने भनी विधानमा उल्लेख गरिएका काम केन्द्रीय कार्यसमितिले गर्ने ।

प्रस्ताव नं. ३

विदेशस्थित नेपाली जनसम्पर्क समिति सम्बन्धी ः

१. म्याद समाप्त भएका भारत, अमेरिका, इटाली, जर्मनी, स्पेन, कतार, मलेशिया, न्यूजिल्याण्ड, पोल्याण्ड, चीन, फिनल्याण्ड, आयरलैण्ड, स्वीडेन, स्वीटजरलैण्ड, साउदी अरव, बेल्जियम, जापान र अष्ट्रेलिया, दक्षिण कोरिया, पोर्चुगल, मकाउ, बहराईन, ओमन, फ्रान्स र लग्जम्वर्ग स्थित नेपाली जनसम्पर्क समितिको थप गरिएको ६ महिनाको अवधी समाप्त भएको र नेपाली जनसम्पर्क समिति यू.के. को अवधी पनि समाप्त भएकोले उल्लेखित देशहरु स्थित नेपाली जनसम्पर्क समितिको अवधी समाप्त भएको मितिले ६ महिनाभित्र अधिवेशन सम्पन्न गर्ने गरी थप गर्ने ।

२. नेपाली जनसम्पर्क समिति ओमनबाट पार्टीको विधान र नियमावली बमोजिमको आवश्यक प्रक्रिया पु¥याई क्रियाशील सदस्यताको नयाँ (४१०) र नविकरण (१००) को नामावलीको सूची र सो वापतको सदस्यता शुल्क समेत दाखिला हुन आएकोले उक्त जनसम्पर्क समितिबाट प्राप्त क्रियाशील सदस्यतालाई स्वीकृत गर्ने ।

३. नेपाली कांग्रेसको विधान र नियमावलीको व्यवस्थासंग नबाझिने गरी तयार गरी नेपाली जनसम्पर्क समिति कतारबाट अनुमोदन गरी पठाइएको विधानलाई नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा १४ (३) बमोजिम स्वीकत गर्ने ।

प्रस्ताव नं. ४

समायोजन, क्रियाशील सदस्यता वितरण र अधिवेशनका कार्यतालिका नयाँ प्रस्तावित मिति

(क) समायोजन हुन बाँकी रहेका जिल्लाको पार्टीको अन्तरिम संरचना समायोजन गरी सक्नु पर्ने अन्तिम अवधि– २०७७ फागुन १५ गतेभित्र ।

(ख) विधानले तोकेको कार्यविधि बमोजिम एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लामा जिल्ला कार्यसमितिले क्रियाशील सदस्यताको नयाँ र नवीकरण तथा एक भन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लामा प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले क्रियाशील सदस्यताको नयाँ र जिल्ला कार्यसमितिले नवीकरणको कार्य सम्पन्न गर्ने अवधि— २०७७ फागुन २८ गतेभित्र ।

* वडा कार्यसमितिले पालिका कार्यसमितिलाई बुझाउने ः फागुन १२ गते भित्र ।

* पालिका कार्यसमितिले प्रदेश सभा क्षेत्रीय कार्यसमितिलाई बुझाउने ः फागुन १६ गते भित्र ।

* प्रदेश सभा क्षेत्रीय कार्यसमितिले प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिलाई (एक मात्र निर्वाचन क्षेत्र भएको जिल्लामा जिल्ला कार्यसमितिलाई) बुझाउने ः फागुन २० गते भित्र ।

* प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले नवीकरणको फारम र सूची जिल्ला कार्यसमितिलाई बुझाउने ः फागुन २८ गते भित्र ।

(ग) (१) एक मात्र निर्वाचन क्षेत्र भएको जिल्लामा वितरण भएको नयाँ क्रियाशील सदस्यता र एक वा एक भन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लामा वितरण भएको क्रियाशील सदस्यता नवीकरणको सूची जिल्ला कार्यसमितिले प्रकाशित गरी केन्द्रमा पठाउने अवधि—

(२) एक भन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लामा वितरण भएको नयाँ क्रियाशील सदस्यताको सूची प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले प्रकाशित गरी जिल्ला कार्यसमितिमा र केन्द्रमा पठाउने अवधि— २०७७ चैत्र १० गते भित्र ।

(घ) नयाँ क्रियाशील सदस्यता वितरण सम्बन्धमा जिल्ला स्तरीय क्रियाशील सदस्यता प्रारम्भिक छानविन समितिमा परेका उजुरी उपर छानविन गरी निर्णय गर्ने र निर्णय अनुसारको सूची प्रकाशित गरी केन्द्रमा पठाउनु पर्ने अवधि— २०७७ चैत्र मसान्त भित्र ।

(ङ) नयाँ क्रियाशील सदस्यता प्रारम्भिक छानविन समितिले गरेको निर्णय उपर परेको पुनरावेदन र क्रियाशील सदस्यता केन्द्रीय छानविन समितिमा क्रियाशील सदस्यता नवीकरण सम्बन्धी परेका उजुरी उपर अन्तिम निर्णय गरी क्रियाशील सदस्यताको नयाँ र नवीकरणको अन्तिम सूची तयार गरी केन्द्रीय सभापतिलाई बुझाउने अवधि— २०७८ ज्येष्ठ मसान्त भित्र ।

(च) केन्द्रीय कार्यालयले केन्द्रीय सभापतिबाट प्रमाणित क्रियाशील सदस्यताको नामावलीको अन्तिम सूची केन्द्रीय निर्वाचन समितिलाई बुझाउने अवधि – २०७८ असार ७ गतेभित्र

अधिवेशन ः

(क) गाउँ÷नगर वडा अधिवेशन– २०७८ असार २० गते

(ख) गाउँ÷नगरपालिका अधिवेशन– २०७८ असार २२ गते

(ग) प्रदेश सभा क्षेत्रीय अधिवेशन – २०७८ असार २५ गते

(घ) प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन÷एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन – २०७८ असार २७ गते

(ङ) एक भन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन – २०७८ असार ३० गते

(च) प्रदेश अधिवेशन– २०७८ श्रावण ६ गते

(छ) केन्द्रीय महाधिवेशन ः २०७८ भाद्र ७,८,९ र १० काठमाडौं

प्रस्तुत प्रस्ताव उपर नेता रामचन्द्र पौडेल र केन्द्रीय सदस्य बीरबहादुर बलायरले आफ्नो धारणा राख्नु भएको थियो ।

बैतडी घटना बारे

केन्द्रीय सदस्य रमेश लेखकले बैतडीको दोगडाकेदारमा भागरथी भट्टको बलात्कार पछि निर्मम हत्या भएको जघन्य घटनाका बारेमा स्थलगत अध्ययन गरी केन्द्रीय प्रतिनिधिका रुपमा ल्याउनु भएको प्रतिवेदन पेश गर्नु भएको थियो ।

पारित शीघ्र स्वास्थ्यलाभको प्रस्ताव

नेपाली कांग्रेस जिल्ला कार्यसमिति पर्वतका सभापति खिमप्रसाद भुसाल, मकवानपुरका पूर्व सभापति रघुरमण न्यौपाने, तनहुँका पूर्व सभापति रघुनाथ पौडेल, स्याङ्जाका कार्यवाहक सभापति वुद्धिबहादुर (कुमार) राना र महासमिति सदस्य भूपेन्द्रजंग शाही विगत केही समययता अस्वस्थ हुनु भई विभिन्न अस्पालहरुमा उपचार गराई रहनु भएको छ । कार्यसमितिको यो बैठक उहाँहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।

पारित शोक प्रस्ताव ः

नेपाली कांग्रेस कञ्चनपुरका पूर्व जिल्ला सभापति, राष्ट्रिय सभाका पूर्व सांसद एवं नेपाली कांग्रेस ज्येष्ठ राजनीतिज्ञ सभाका सदस्य गंगादत्त जोशीको माघ २८ गते, नेपाली कांग्रेस जिल्ला कार्यसमिति दैलेखका पूर्व पार्टी सभापति नन्दबहादुर शाहीको फागुन ३ गते, नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका आमन्त्रित सदस्य हसन अन्सारीकी धर्मपत्नी मल्लिका वेगम अन्सारीको फागुन ४ गते, नेपाली कांग्रेस अर्घाखाँचीका पूर्व उपसभापति हरिहर आचार्यको माघ १८ गते, मनाङ जिल्ला विकास समितिका पूर्व सभापति एवं समाजसेवी फुन्जो प्रसाद गुरुङको माघ १९ गते, बाग्लुङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ का नेपाली कांग्रेसका सचिव विकाश पौडेलको पुस २८ गते, नेपाली कांग्रेस पर्साका महाधिवेशन प्रतिनिधि उपेन्द्र सिंहको माघ १४ गते, नेपाली कांग्रेस तेह्रथुमका महाधिवेशन प्रतिनिधि ज्ञानबहादुर खत्रीको माघ २० गते, सिन्धुली जिल्ला दुधौली नगरपालिका वडा नं. २ नेपाली कांग्रेसका तत्कालीन हतपते गाउँ कार्यसमितिका सभापति मुरलीधर सिंहको माघ १३ गते, धनुषा जिल्ला जनकपुर नगरपालिका वडा नं. २३ निवासी हाजी मोहम्मद जम्सेद शेखको फागुन ४ गते, धनकुटा जिल्ला मुर्तिढुंगाका पूर्व गाउँ इकाई सभापति लिलबहादुर मादेनको फागुन २ गते र सिन्धुली जिल्ला कार्यसमितिका सदस्य कर्ण थापाका पिता दिलबहादुर थापाको माघ २७ गते भएको निधनप्रति कार्यसमितिको यो बैठक गहिरो दुःख व्यक्त गर्दै उहाँहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ ।

नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा उहाँहरुले पु¥याउनु भएको सक्रिय योगदानको स्मरण गर्दै उहाँहरुको आत्माको चिर शान्तिको कामनाका साथ सम्पूर्ण शोक सन्तप्त परिवारजनप्रति यो बैठक समवेदना प्रकट गर्दछ ।

कार्यसमितिको अर्को बैठक भोलि फागुन ६ गते बिहीबार दिउँसो ३ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्नेछ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …