तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

तुलसी प्रभास

युगौँदेखि पूर्खाहरुले अपनाउँदै आएको जीवनशैली परम्परा हो । परम्परा कालान्तरमा गएर संस्कृति बन्ने हो । विश्वास र अन्धविश्वास फरक कुरा हुन् । लोकले मान्दै आएका विश्वासहरु लोकविश्वास हुन् जुन पछि परम्परा बने । सकारात्मक र सुधारिएका परम्परा संस्कृति बने । त्यसैले संस्कृति कहिल्यै खराब हुँदैन । खराब कुरा संस्कृति होइन । संस्कृति शब्दको अर्थले खराब कुरालाई चिनाउँदैन ।

संस्कृतिबारे भनिएको छ– ”संस्कृतिको शब्दार्थ छ – उत्तम या सुध्रेको स्थिति । मनुष्य स्वभावतः प्रगतिशील प्राणी हो । यो बुद्धिका प्रयोगबाट आफ्नो प्राकृतिक परिस्थितिलाई निरन्तर सुधार र उन्नत गर्दै रहन्छ । यस्तो प्रत्येक जीवनपद्धति, रीतिरिवाज, रहनसहन आचारविचार, नवीन अनुसन्धान र आविष्कार, जसबाट मनुष्य, पशुहरू र जंगलीहरूका दर्जाबाट माथि उठ्दछ तथा सभ्य बन्दछ, सभ्यता र संस्कृतिको अंग छ । सभ्यताबाट मनुष्यका भौतिक क्षेत्रको प्रगति सूचित हुन्छ जब कि संस्कृतिबाट मानसिक क्षेत्रको प्रगति सूचित हुन्छ । हाम्रा परम्परासँग गाँसिएका कुराहरु कतिधेरै वैज्ञानिक सत्य थिए भन्ने कुरा अहिले आएर भौतिक विज्ञानले पनि प्रमाणित गरेको छ । आजको विश्वमा ती परम्पराहरु वैज्ञानिक सिद्ध भएका छन् ।

हाम्रो आफ्नै खालको जीवनपद्धति थियो । जीवन जिउने शैली थियो । जीवनको कला थियो । आ–आफ्नो पेशा थियो । अनुशासन थियो, मर्यादा थियो । सबैलाई समेट्ने र सबै बाँच्ने अघोषित आचारसंहिता थियो । गाउँमा एकजना मानिसको मृत्यु हुँदा सारा गाउँलेहरुले काम छोड्थे । जोतिरहेका हल फुकाइन्थ्यो । खन्न, जोत्न हुन्न भन्ने चलन थियो । गाउँमा कोही एक्लो हुँदैनथ्यो । अरुबेला झगडा भएका, बोलचाल बन्द भएकाहरु पनि मर्दा पर्दा एक हुन्थे । एकअर्कालाई सहयोग गर्थे । जिउने एउटा अद्भूत र गौरवपूर्ण जीवनशैली थियो ।

बिरामी पर्दा थिचेर खाने हाम्रा जडीबुटी, लामा धामी, हामी बस्ने गुन्द्री, पिर्का, बिरालोले बाटो काट्दा साइत पर्दैन भन्ने लोकविश्वास, पूजापाठ, हाम्रा ढिकी जाँतो, खरको छानो, हामीले खाने गिठा, तरुल, भ्याकुर, नाचगान, लोकनाटक, लोककथा, गाउँखाने कथाहरु, उखानटुक्का, हाम्रा चाडपर्व, अतिथि सत्कारको शैली लगायत जनजीवनसँग गाँसिएका सबै परम्परामा केही न केही वैज्ञानिक सत्य लुकेको छ ।

हाम्रा पूर्खाले सधैँ क्रियाशील जीवन बिताए । त्यही जीवनशैलीकै कारण उनीहरुले अस्पतालको मुख ताकिरहनु परेन । अहिले झैँ अस्पतालमै जन्मन र अस्पतालमै मर्न पनि परेन । उनीहरुले दीर्घ जीवन पाए । सधैँ स्वस्थ खानपान, स्वच्छ आचार अपनाए । खाँदा धोती फेरेर खान्थे । खाने, काम गर्ने, सुत्ने, पूजाआजा गर्ने बेलाका अलगअलग कपडा हुन्थे । बाहिरबाट आएपछि नुहाएर, बाहिरका कपडा बाहिरै खोलेर, अर्का कपडा लगाएर भित्र जाने, कुनै अशुद्ध स्थानमा गएर आएपछि सुनपानी छर्केर, आगो छोएर मात्र भित्र जाने चलन थियो । खाना खाँदा अग्नीमा चढाएर खाने, घरका कुकुर बिरालोलाई खाना राखिदिने, भान्सामा जो कोही नजाने, हरेक साँझ बिहान लिपपोत गर्ने, घर आँगनमा तुलसी रोप्ने, बाटोघाटोमा कुवा खनाउने, पानीका मुहानको संरक्षण गर्ने, बर,पीपल, समीजस्ता वृक्षको पूजा गर्ने, तिनलाई काटेमा पाप लाग्छ भन्ने । गाई पाल्ने, गाईको गोबर, गहुँत, गोरसलाई हरेक शुभकर्महरुमा प्रयोग गर्ने चलनहरुमा कति धेरै वैज्ञानिक सत्यताहरु छन् भन्ने कुरा आजको भौतिक विज्ञानले पनि प्रमाणित गरिदिएका छन् ।

हितोपदेशमा भनिएको छ –
”अमन्त्रमक्षरं नास्ति नास्तिमूलमनौषधम् ।
अयोग्य पुरुषो नास्ति योजकस्तत्र दुर्लभः ।”

हरेक अक्षर मन्त्र हुन् । अर्थात् मन्त्रहीन अक्षर छैन । औषधी नहुने कुनै वृक्ष छैन । यसैगरी मान्छे कोही पनि अयोग्य हुँदैन केवल योजकको मात्र अभाव हो ।

हामीकहाँ हजारौँ जडीबुटी छन् । यिनैको प्रयोग गरेर हाम्रा पुर्खा सधैँ तन्दुरुस्त भए । कुन जडीबुटी के काममा प्रयोग गर्ने थाह हुन्थ्यो । घाँस काट्दा हात काट्यो भने तत्काल कुन झार थिचेर लगाउने थाह हुन्थ्यो । हड्डी नै भाँचिँदा पनि जडीबुटी प्रयोग गरेर निको हुन्थे । आज औषधी विज्ञानले यिनै जडीबुटीलाई उपयोग गरेर यत्रो विकास गरिसक्दा पनि हाम्रा गाउँ, पाखा पखेराका हजारौँ जडीबुटीहरु खेर गैरहेका छन् । हिजो खेती किसान गर्थे । पाखा पखेरा केही खाली हुन्थेन । घर, करेसाबारी हराभरा हुन्थे । अर्गानिक मल, अर्गानिक बिउबिजनका कारण हरेक फसल अर्गानिक हुन्थ्यो । औषधीका रुपमा गहुँत, खरानीपानी छर्कन्थे । राम्रै फल्थ्यो । मज्जाले खान पुग्थ्यो । टारी खेतमा फलेका पाखे जर्नेलीका खाजा, घरको रतुली गाईको दूधसँग मुछेर कुहिनाबाट चुहिने गरी खाएको याद अहिले पनि ताजा छ ।

हाम्रा आफ्नै लोक विश्वास थिए र छन् पनि । भरि गाग्री, भारी घाँस देखे साइत पर्छ । रित्तो देखे साइत पर्दैन । बिरालोले बाटो काटे साइत पर्दैन । काग करायो भने अशुभ हुन्छ । हिँड्दा कतै कपाल काटेको देखियो भने पनि साइत पर्दैन । सर्पले बाटो काटे साइत पर्दैन आदिआदि । यस्ता कैयौँ लोकविश्वासहरु छन् । लोकले युगौँदेखि मान्दै आएका यस्ता विश्वासमा केही वैज्ञानिक र केही मनोवैज्ञानिक सत्यहरु लुकेका छन् । मानिसको मन अचम्मको छ । यसलाई कतिबेला के हुन्छ र कतिबेला के खेल्छ मनमा भन्ने कुरा कसैलाई थाह हुँदैन । यस्ता विश्वासहरुले मनसँग सम्बन्ध राख्छन् । जुन मनोविज्ञानले अध्ययन गर्दछ ।

हामीले खाने खानपान, हामीले गर्ने मनोरञ्जन, हामीले मनाउने चाडबाड, पूजाआजा, कर्मसंस्कार सबैमा वैज्ञानिक सत्य र अनुशासन कायम छ । धर्म, संस्कारले एउटा अघोषित आचारसंहिता बनाइदिएको छ । यदि पाप र धर्मको बारेमा चर्चा हुँदैनथ्यो भने हाम्रो समाज कस्तो लथालिङ्ग र भताभुङ्ग हुन्थ्यो भन्ने कुरा हामी अहिले अनुमान पनि गर्न सक्तैनौँ । सबै जातजातिले गर्दै आएका जन्मदेखि मृत्युसम्मका संस्कारजन्य क्रियाकलापमा कुनै न कुनै वैज्ञानिक सत्य लुकेका छन् । तिनको खोजी गरेर खराब पक्षको पहिचान गरी असल पक्षलाई जोगाउनु हामी सबैको कर्तव्य हुन जान्छ । हाम्रा संस्कारमा एक किसिमको आत्मीयता, सहयोग र सद्भाव रहेको छ जुन संसारका अन्य मानव जातिमा बिरलै पाइएला । हामीले यस्ता पवित्र संस्कारलाई उपयोग गरेर वर्तमान समयमा धेरै विकासका काम गर्न सकिन्छ ।

सृष्टिमा रहेका हरेक प्रकृतिको पूजा गर्नु, सम्मान गर्नु हाम्रो संस्कृति हो । त्यसैले हामी प्रकृतिपूजक हौँ । आकाश, जल, वायु, भूमि, वनस्पति, प्राणी हरेकको पूजा गर्नु हाम्रो परम्परा हो । हामीले युगौँदेखि पुज्दै आएका यस्ता सम्पदाहरू पछिल्लो समयमा भौतिक विज्ञानले समेत महत्त्वपूर्ण ठान्नु हाम्रा लागि अझै गौरवको कुरा हो । हाम्रा परम्परा अन्धविश्वास हैनन्, विश्वास हुन् । हाम्रा पूर्खाहरू अघोषित वैज्ञानिक हुन् । प्रमाणपत्र नपाएका तर प्रमाणित भएका डाक्टर हुन् । यिनैका प्रमाणका आधारमा आजको विज्ञान सफल भएको हो । तुलसी, पीपल, समी, लाँकुरीजस्ता वनस्पतिलाई हाम्रा पूर्खाले सधैँ पूजा गरे । बाटोघाटोमा चौतारी चिने। बरपीपल सारेर तिनको विवाह समेत गरे । चौतारीको नजिकै कुवा खनाउने र कुवाको माझमा मौलो राखेर त्यसमको पनि पूजा गरे । यसबाट मानिसमात्र हैन सम्पूर्ण प्राणीजगत लाभाविन्त हुन्थे । विडम्बना ! आज विकासका नाममा हामीले ती चौतारी, ती पोखरी सबै विनाश गरेर आफ्नो पौरख देखाइरहेका छौँ । वर, पीपल र तुलसीको महत्व त धेरै भन्न आवश्यक नहोला । धार्मिक, सांस्कृतिक, पर्यावरणीय, औषधीय अनेक दृष्टिकोणले यिनको महत्त्व छ ।

अन्त्यमा, हरेकको एउटा सानो घर होस्, घरको आँगनछेऊमा एउटा सानो तुलसीको मठ होस् । सधैं घरभित्र पस्दा र निस्कँदा तुलसीको सुगन्ध आओस् । बाटोमा चौतारी होस्, चौतारीको छेउमा पोखरी होस्, चौतारीको शीतलमा माटाको घैँटोमा चीसो पानी राखिएको होस् । अझै पानीमा खुदो मिसाइएको होस् । फर्कोस् हाम्रो परम्परा, आओस् हामीमा यस्तै चेतना । सबैको मन पवित्र होओस् । सकारात्मक चिन्तन छाओस् । यस्तो गौरवशाली हाम्रो परम्परालाई सम्मान गरौँ । हाम्रा पूर्खालाई पूजा गरौँ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …