तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

नारायणदत्त बस्ताकाेटी

माधव वियोगी, एक महाकाव्यकार साथै कविता विधामा छन्दको अनिवार्यता अनुभूत गराउने “ छन्द बचाऊँ अभियान २०५३” का अभियन्ताको रूपमा आज देशविदेशकाे नेपाली साहित्य जगतमा सुपरिचित जाज्ज्वल्यमान नक्षत्रहरु मध्ये एक हुनुहुन्छ ।

कवि वियोगीजी मेरा अनन्य मित्र, बालसखा एवं कुनै समयका सहकर्मी पनि हुनुहुन्छ । हामी साविक अर्घौ पञ्चायत, वडा नम्बर ७ अन्तर्गत पर्ने पैते बिर्ता, जरुवा टोलको छिमेकी परिवारमा हुर्कँदै विभिन्न प्रकारका बालसुलभ क्रियाकलापहरूमा अत्यन्त उत्सुकताका साथ सहभागी हुन्थ्यौं । साथै किशोरावस्थामा आइपुग्दा छिमेकका दाजुभाई दिदीबहिनीहरूसँग अत्यन्त उरेन्ठउला गतिविधिहरू देखि टाेलछिमेकमा विकासात्मक गतिविधिमा समेत सहभागी हुँदै हाम्रा दिनहरू बितेका हुन् । मूलत: वियाेगीजी जब कविता लेखन कार्यमा जाग्रित हुनुभयाे तब उहाँसितकाे उठबस अझै ऊर्जावान र थप रमाइलाे पनि भयाे । उहाँकाे पहिलाे कविता “आषाढ” शीर्षककाे थियाे ।

उहाँले हामी साथीहरूलाई उक्त कविता पटकपटक खरानेकाे फाँटमा गाईभैसी चराउने क्रममा सुनाउनु भएकाे मलाई अद्यापि स्मरण छ। उमेरले म भन्दा उहाँ केही जेठाे भएकाले पनि उहाँका कविता सुन्न हामी लालायित हुन्थ्याैं । मनोविनाेदात्मक एवम् संवेदनात्मक दुबै गतिविधिमा हाम्राे सहभागिता रहन्थाे ।

ती दिनहरूका कतिपय त्यस्ता क्रियाकलापहरूको स्मरण गर्दा, हामीले नै गरेका थियौं र ? जस्तो लाग्छ ! खेलकुद र उरेन्ठउला कृयाकलाप मात्र नभई हामी हाम्रा कृषक अभिभावकहरूलाई कृषिकर्ममा पनि उत्तिकै हातेमालो गर्दै घाँस, दाउरा, बस्तुभाउ चराउनु खेतीपातीका अन्य कार्य गर्ने जस्तै मकै गोड्ने धानबालीहरूमा सिँचाइ गर्ने आदिमा सहयोग पनि हामी सक्रिय रूपमा सहभागी हुन्थ्याैं । यी क्रियाकलापका दाैडानमा पनि उहाँका छन्द कविता अगाडि तेर्सिन्थे, हामी श्रवण गर्थ्याैं । हामीले हाम्रो बालापन साथै किशोरावस्था बडो रमाइलो पाराले व्यतित गरेका थियौं । ती दिन ! त्यो बेला! त्यो वातावरण, त्यो चञ्चलता ! ती आनन्द ! ती अन्य बालसखाहरू! ती सबै सबै मानसपटलमा आज पनि कुनै रोमाञ्चक चलचित्रका दृश्यहरू समान अभिलेखित छन् ।

विविध कारणबस होला,उहाँको विद्यालय शिक्षा झण्डै किशोरावस्थाबाट शुरू भएकाे थियाे तर आफ्ना पिता र साथीभाइका संगतले पढ्नलेख्न भने घरमै सिक्नु भएकाे थियाे । हाम्रो औपचारिक शिक्षाको शुरूवात पनि सँगसँगै जस्तो भएको थियो, तर माधवजीको विद्यालय शिक्षा लक्ष्मी प्रावि अर्घौं, लक्ष्मी आदर्श मावि शिशुवा, संस्कृत मावि भीमकालिपाटन हुँदै अमरसिंह मावि पोखराबाट पुर्ण भएको हो । पृथ्वीनारायण क्याम्पसमा प्रमाणपत्र तहको अध्ययनको क्रममा पनि हामी एउटै डेरामा बस्ने गर्थ्यौं । पृथ्वीनारायण क्याम्पसमा पनि उहाँले विविध कार्यक्रममा छन्दकविता वाचन गरी चर्चा बटुल्नु भएकाे थियाे ।

तत्पश्चात अध्यापन गर्ने अवसर पनि हामीलाई लक्ष्मी प्रस्तावित निम्न माध्यमिक विद्यालय अर्घौंमा प्राप्त भयो,वहाँ वास्तवमा कानुनको विद्यार्थी हुनुहुन्थ्यो,तर विद्यालयमा सो विषय नहुने भएकाले उहाँलाई नेपाली विषयको अध्यापन गराउने जिम्मेवारी प्राप्त भयो, मेरो विषय भने विज्ञान थियो।

माधवजीको साहित्य यात्राको शुरूवात , मेरो सम्झनामा भएर अनुसार ,यही लक्ष्मी निमावि को नेपाली विषयको अध्यापन को जिम्मेवारी संगसंगै भएको हुनुपर्छ। वहाँ अध्ययनशील , नरम र हँसिलो मिजासको व्यक्ति हुनुहुन्छ र अध्यापन गराउने कार्य बडो रमाइलो अभिनयात्मक शैलीमा गराउनु हुन्थ्यो।कक्षामा छन्दका कविता सुनाउने र छन्दबारे ज्ञान भर्ने काम उहाँबाट निकै हुन्थे । फुर्सदको समयमा प्राय वहाँ आफ्नै कोठामाअध्ययन र लेखनमामा नै व्यस्त रहनु हुन्थ्यो । माधवजी, रेडियो नेपालका विभिन्न कार्यक्रममा आफ्ना लेख, रचना पठाउनुहुन्थ्याे । प्रसारण पनि हुन्थे । यसैबाट उत्साहित हुँदै स-साना फुटकर कविता लेख्दै , खण्डकाव्य र पछिल्लो समयमा आएर उहाँ महाकाव्यकारका रूपमा नेपाली साहित्यमा पदार्पण गर्नुभएको छ । उहाँले २०३८ साल तर्फ लेख्नुभएकाे “ताेरी लाहुरे”नामक लोककाव्य र अाफ्नाे विवाह (२०४१साल) काे लगत्तै भाउजु माइत बस्न जानुभएको अत्यास मेटाउन लेख्नुभएकाे लयात्मक “तिमी माइत गएपछि” शीर्षककाे खण्डकाव्यका हरफहरू म र अन्य साथीहरूले वहाँलाई जिस्क्याउँदै पढेकाे स्मरणमा ताजै छ ।

यही सिलसिलामा उहाँले कानुनको साथसाथै नेपाली साहित्यमा पनि उच्च अध्ययन गर्नुभयो । कलेजतिर नेपाली भाषासाहित्यका गुरुका रूपमा प्राध्यापन गर्दै अनेकानेक ठाउँमा पुगी छन्द अभियानकाे प्रचारप्रसार र छन्दप्रशिक्षणमा सङ्लग्न हुनुभयाे । तथा २०५३ मा उहाँले लेखनाथ पाैडेलकाे सम्मान र छन्दका प्रशिक्षणलगायतका गतिविधि गर्ने हेतुले अर्घौंमा कविशिराेमणि साहित्य परिषदकाे स्थापना गरी अाफ्नाे क्षेत्रमा छन्द साहित्यिक हलचल ल्याउनु भएथ्याे, छन्दप्रशिक्षणका कक्षा चलाउनु भएथ्याे र लेखनाथ जयन्तीमा कार्यक्रम राख्नुभएथ्याे । यसरी बाल्यकालदेखि नै उहाँ छन्दप्रति अति माेह गर्ने र जिज्ञासा राखिरहने कवि हुनुहुन्थ्याे । साथै उहाँले लक्ष्मी स्कुल छाडे पछि प्रकाशित गर्नुभएकाे “भावनाकाे लडाइँ ” नामक कवितासङ्ग्रहमा मलाई पनि कविता लेख्न प्रेरणा दिने व्यक्तिका रूपमा लिनुभएकाेमा म यस सन्दर्भमा उहाँप्रति आभार व्यक्त गर्दछु ।

साहित्यिक क्षेत्रको यात्राको दौरानमा कविता विधामा छन्दको प्रयोगमा आएको ह्रासले सायद उहाँलाई घच्घच्च्यायो होला, त्येसैले गर्दा वि.सं. २०५३ मा उहाँ “छन्द बचाऊँ अभियान २०५३” नामक साहित्यिक आन्दोलनमा होमिनु भयो । अभियानकाे घाेषणापत्रमा तय गरिएका काव्यसंस्कृतिकाे रक्षा गर्ने, छन्दलाई जीवन शैलीका रूपमा समेत विकास गर्ने, गद्यलाई कविता मान्ने प्रचलनकाे अन्त्य गर्ने र बालक तथा युवालाई छन्दप्रति आकर्षित गर्ने जस्ता मूल उद्देश्यलाई टेवा दिने किसिमले संचालन गरिएकाले नै अभियानले सफलता प्राप्त गर्दै गएकाे हाे भन्न सकिन्छ । यस कार्यको फलस्वरूप अभियान शुरू गरेको दिन वैशाख ८ गतेलाई नेपाल पन्चाङ्ग निर्णायक समितिले हरेक वर्ष छन्ददिवसको रूपमा मनाउन सहमती पनि दिएको छ ।

यो कार्य पक्कै पनि उहाँको एक साहसिक र त्यस क्षेत्रका लागि अति आवश्यक विषय हो । उहाँले एकल रूपमा सन्चालन गर्नुभएकाे विद्राेहात्मक आन्दाेलन आरम्भकाे दिनलाई छन्ददिवसकाे मान्यता दिनुले उहाँले कति उपयाेगी अान्दाेलन गर्नु भएकाे रहेछ भन्ने स्वत: प्रष्ट हुन्छ । कुनै पनि विधा कुनैपनि कार्यहरूका निश्चित विधि विधान नियम र अनुशासन हुन्छन् जसले गर्दा सो कार्यहरूको निश्चित पहिचान गुण र ती विधाहरूमा मिठास हुन्छ यस्ता नियमहरूको परिपालना गरिएन भने ती कृतिहरूको आफ्नो पहिचान तथा मौलिकता नै गुम्ने जाने र भविष्यमा लोप हुने खतरा पनि हुनसक्दछ । हुन त ,नेपाली साहित्यिक क्षेत्रको नियमन गर्ने निकाय नेपाल प्रज्ञाप्रतिष्ठान हो र उसले यस कार्यमा आवश्यक नियमन तथा रचनात्मक वातावरणको भूमिका निर्वाह गरेकै होला , तापनि नियमनको प्रभावकारिता कमी भएर हो वा बुझाइमा फरक परेर हो कविता विधामा छन्दको प्रयोगमा आएको कमीले कविता विधालाई नै हलुङ्गो, कमजोर र स्वाद विहीन तुल्याएको कविवर माधवजीले अनुभुत गर्नु भयो अनि छन्द आन्दाेलनकाे मैदानमा उत्रनुभयाे ।

छन्द बचाऊँ अभियान-२०५३ कै कारण फलत: छन्ददिवसकाे प्राप्तिका साथै छन्दकाे पुनर्जागरण र विस्तार समेत भयाे । अहिले छन्दको प्रयोगले कविता लेखन र वाचन दुबैमा विशिष्टता आएकाे सर्वत्र अनुभूत हुने गरेको पाइएको छ ।
तसर्थ “छन्द “कविता साहित्यको एक निश्चित अनुशासन ,नियम ,पहिचान अझ भनौं यसको मेरुदण्ड नै मानिएकोले यसको संरक्षण , सम्बर्धन र प्रयोगमा अनवरत रूपमा विगत २५ वर्षदेखि कार्यरत “छन्द बचाऊँ अभियान -२०५३” का अभियन्ता मेरा अनन्य मित्र महाकाव्यकार श्री माधव वियोगीजीलाई अत्यन्त प्रसन्नताका साथ साधुवाद दिँदै यस अभियानको पूर्ण सफलताका साथै वहाँको छन्द साहित्यिक यात्राको थप उज्ज्वल भविष्यको कामना गर्दछु । उहाँकाे छन्दकर्म सफल भएकाे छ ।

अन्तमा, हाम्रा ज्ञान चक्षु उघार्ने हाम्रो प्रथम विद्यालय श्री लक्ष्मी मावि अर्घौंले उहाँलाई छन्दका कविता वाचन गर्न र छन्दबारे विद्यार्थीलाई बाेध गराउन मन्च प्रदान गराएकै हाे । विद्यालयले वहाँलाई छन्द लगायत साहित्यिक क्षेत्रमा अप्रत्यक्ष रूपमा भएपनि उन्मुख गराएको हेक्का राख्दै कविमित्र माधव वियाेगीजीले विद्यालयप्रति सद्भाव राखी रहनु हुनेछ भन्ने विश्वास मैले लिएको छु । अस्तु.
(उपप्राध्यापक, पृथ्वीनारायण क्याम्पस,पाेखरा)

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …