तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नयाँ नक्साले संबैधानिक मान्यता  प्राप्त गरेको छ। भारतको सहमतिविना एकतर्फी रूपमा जारी गरिएको भएतापनि उक्त कार्यले आम नेपाली  जनताको समर्थन पाएको छ। ओलि सरकारको उक्त कदमलाई प्रमुख प्रतिपक्षी दल लगायत चन्द्रमा दागमात्र खोज्ने सरकारका कटु आलोचनाकारहरुले समेत मुक्त कण्ठले प्रशंसा गरेका छन् ।

नक्सा जारी भएतापनि कालापानीबाट भारतीय सेनालाई हटाई नक्सा बमोजिमको जमिन नेपालमा समेट्ने विषय भने सरकारका निम्ति फलामका च्युरा जस्तै बनेको छ। चुच्चे नक्साले एक्कासी बढाएको हाइहाइले निरन्तरता पाउला वा सांसद सरिता गिरीको नक्साबिरोधि एक्लो गर्जनले मूर्तरुप लेला ? सर्वसाधारणको चासोको जवाफ खोज्न केहि समय पर्खनु पर्ने देखिन्छ ।

भोलिको परिणाम जेजस्तो आउने भएतापनि नयाँ नक्साको विषय नेपाल सरकारका निम्ति भालुको कनपट समाउनु जस्तै समस्या बन्न सक्ने कुरा पनि  यथार्थ हो। नक्सा बमोजिम जमिन कायम गराउने कार्यलाई अगाडि नबढाउँदा  नेपाल भित्र बिरोधको सामना गर्नुपर्ने र अगाडि बढाउँदा नुन देखि सुनसम्मका निम्ति  निर्भर रह्नु परेको कथित  मित्र राष्ट्र भारत चिढिने खतरा।

भारत सरकारले एकतर्फी रूपमा जारी गरेको नक्सालाई मान्यता नदिने स्पष्ट संकेत दिइसकेको छ।अघोषित रूपमा नाकाबन्दीका प्रयासहरु सुरु भैसकेको छ। बंगलादेश निर्यातका लागि सामग्री बोकेका गाडीहरू सीमामा रोकिएका खबर आइसकेको छ । कोरोना महामारी र लकडाउनका कारण देशको अर्थतन्त्र तहसनहस भएको अवस्थामा रोग र भोकको संक्रमणबाट  ग्रसित जनताको सास कसरी बचाउने भन्ने चिन्ता परेको मौका छोप्दै नेपालको भूमि प्रयोग गरेर चीन जोड्ने सडक उद्घाटन गरी स्वाभिमानी नेपाली जनताको शीरमा बन्चरो हानेको जवाफ त दियो नक्साले तर यो चहराइरहेको चोटमा मलम  बन्ने हो या घाउ बल्झाउने रसायन  बन्ने हो हेर्न बाँकी छ।

कुटनीतिक तवरले समस्या समाधानका लागि भारत सरकार तयार भएन भने अन्तर्राष्ट्रिय कानुनका आधारमा न्यायको यात्रा तय गर्ने कुरा पनि नेपालका  लागि सहज  नहुन सक्छ । नक्शाले अन्तर्राष्ट्रिय मान्यता ग्रहण गरेतापनि भारतसंगको शत्रुता चिरकाल पर्यन्त नेपालको हित विपरीत हुनसक्छ ।

यतिबेला पृथ्वीनारायण शाहको दिब्योपदेशको याद गर्नुपर्ने समय आएको छ।”यो राज्य दुई ढुंगाको तरुल रहेछ ,चीनको बादशाह्संग ठूलो घाहा राख्नु दक्षिणको समुद्रका बादशाहसंग घाहा त राख्नु तर त्यो महाचतुर छ।

हिन्दुस्थाना जाग्यो भने कठिन पर्ला जाइकटक नगर्नु झिकीकटक गर्नु।अत:चौतर्फी बिपत्तिले घेरेको नेपालको वर्तमान परिस्थितिमा सरकारले देशको स्वतन्त्र  अस्मिता  सार्वभौमिकता  र भौगोलिक अक्षुण्णताको रक्षार्थ बुद्धिमत्तापूर्वक फुकीफुकी पाइला चाल्न  सक्नुपर्छ ।

त्यसो त भारत पनि अहिले चौतर्फी घेरामा परेको छ। चीनिया सेनाबाट लद्दाखको विवादित क्षेत्रमा २० जना सेना मारिइसकेका छन् ।हिमाली क्षेत्रमा चीनीया सेनासंग भिड्न गोर्खाली सेना  खटाउने  निधो गरेको छ ।बिदामा बसेका नेपाली सेनालाई तत्काल हाजिर हुन आदेश जारी गरेको छ ।पाकिस्तानले पनि आक्रमणको संकेत दिएको छ।  

नेपाल , पाकिस्तान र चीनसंग एकैसाथ विवादमा तानिनु र कोरोना महामारीको संक्रमण नियन्त्रणमा नआउँनु भारतका निम्ति निकै सकसपूर्ण  समस्या बनेको छ । नेपाल सरकार र विश्व नै  कोरोनाको संकटमा फसेको मौकामा सडक उद्घाटनको चौका हान्ने भारतको चलाखी उसैका निम्ति जहर निल्ने रहर जस्तो निल्नु न ओकेल्नुको अवस्थामा पुग्न सक्छ । 

संक्रामक रोगको प्रकोपले मानव अस्तित्व नै खतरामा परेको वर्तमान स्थितिमा उग्रराष्ट्र्वादी सोँच सबैका निम्ति घातक हुने निश्चित छ। 

नेपाल ,भारत ,चीन र पाकिस्तान समेतले कुटनैतिक तवरले समस्या समाधानका उपायहरू खोज्नु जरुरी छ। भारतले नेपालको स्वतन्त्रता र सार्वभौमिकताको सम्मान गर्दै  बरा भन्दै जरा खन्दैको नीतिलाई परिमार्जन  गर्ने र नेपालले पनि आफ्नो भूराजनीतिक बाध्यतालाई आत्मसात गरी कुटनैतिक तवरले समस्या समाधानका दीर्घकालीन  उपायहरूको खोज गर्नु नै सर्वोत्तम विकल्प  हुने देखिन्छ ।

लेखक  भुपराज अर्याल
बालसिद्ध क्याम्पस, स्याङ्जाका शिक्षक हुन

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …