तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

तेन्जु योन्जन

मुलुकको परिवर्तनको खातिर बर्षौ देखि आम जनता लागि परिरहेको छ। परिवर्तनको नाउँमा विभिन्न काल खन्डमा चरण वद्ध तरिकाले विभिन्न खाले आन्दोलन देखि युद्ध सम्म नभएको हैन। जुन आन्दोलनको छुट्टाछुट्टै इतिहास छ। तर आज सम्म नेपाली जनताले चाहेको परिवर्तन हुन नसक्नु हामी नेपालिहरुको दुर्भाग्य नै हो। मुलुकको बिकास निकास र समृद्धि नेपाल बनाउने सपना हरेक पार्टी दल अनि माथिल्लो ओदाहामा रहेको नेतृत्वले केवल चुनावी लहरमा मात्र आम जनताको सामु छताछुल्ल पारेर झुठो आश्वासन बाडेको हुन्छ। तर जब सिंहदरबार छिर्छ । तब आफुले चुनाव जित्न कस्तो भिजन देखाएको थिए भन्ने बिर्सिने नेताहरुको कारण देश पछि परेको कुरा नकार्न सकिन्न। आम जनतामा पनि चेतनामा अझै पुर्ण रुपमा बिकास हुन नसक्दा यस्ता नेताहरुले पटक पटक बिजय उत्सव मनाउने अवसर प्राप्त गरेको छ ।

कैयौं वर्षदेखि राजनीतिक दलहरूको गतिविधिकै कारण जनता आजित छन्। जताततै एउटै गुनासो,एउटै नैराश्यता अनि एउटै आरोप सुनिन्छ– देशको यो हालतको जिम्मेवार यहाँका नेता हुन्, कार्यकर्ता हुन। यिनीहरूले नै देश बिगारे। यस्ता भनाइमा आंशिक सहमत हुन सकिएला तर पूर्ण सहमत हुन पक्कै सकिंदैन। किनभने नेता भनेका कुनै अर्कै ग्रहबाट आएका ‘एलियन’ होइनन् कि जो अचानक प्रकट भएर हामीमाथि शासन गरून् ।

यो भन्नुको तात्पर्य यो होकि यी त हाम्रै समाजका सह–उत्पादन हुन्। तपाईं हाम्रै प्रतिनिधि अनुहार हुन् र तिनीहरूलाई जन्माउने हुर्काउने र मदमस्त हात्ती बनेर मात्तिने आधार प्रकट गर्ने स्वयम् हामी आम जनता नै हौं। कुनै तेस्रो ग्रहको अदृश्य शक्तिले होइन। दोषी म हो, तपाईं हो र हामी सबै हौं। किन कि निर्णय लिदा हामिले सहि निर्णय लिन सकिएन। जुन हाम्रो अमुल्य भोट खेर गयो ।

विभिन्न क्षेत्र तह तप्काबाट राजनीतिक गर्दै पार्टी दलले उत्पादन गरिएको नेता कार्यकर्ता अनि समाजले उत्पादन गरिएको नागरिक जिम्मेवार हुन नसक्नुको कारण नै हो अहिलेको अबस्था शृजना हुने मुख्य तत्व। तसर्थ हामी भन्न सक्छौ हामी आम नेपालीहरुको दुर्भाग्य हामीले नेता त जन्मायौं तर एउटा पनि राजनेता जन्माउन सकेनौं। शासक जन्मायौं तर त्यस भित्र एक पनि कुशल प्रशासक जन्माउन सकेनौं। स्वार्थी नेता मात्रै जन्मायौं। घुम्ने कुर्सीमा जन्मजात तानाशाह भएर कोही जन्मँदैन। तिनीहरूलाई त्यो स्थानमा पुर्याउने हामी हौं,मोहनदासलाई गान्धी बनाउने हामी हौं। आखिर दोष तपाईं हाम्रो पनि छ। त्मा आलोचना र समीक्षा गरौं ।

जुन ब्यक्ति एक्लै संघर्ष गरेर कुनै पनि नेता माथिल्लो स्तरमा पुगेको इतिहास छदैछैन। जुन नेतालाई माथी पुराउने त्यहाको आम जनता नै हुन। हाम्रो मुलुकको इतिहास हेर्ने हो भने जुन जस्तै छर्लङ्ग छ। हिजो दुर्गम झुपडीमा जन्मेर चप्पल लगाएर सिंहदरबार छिरेकाहरु सिंहदरबारकाको घुम्ने कुर्सीमाथि विराजमान गराएर श्री ८ बनाउने पनि हामी नै हौं। गाउँ गाउँमा पार्टी दलका झोले कार्यकर्ता उत्पादन गर्दै टोल टोलमा टोलेराजा जन्माएर पिर्के सलामी दिने पनि हामी नै हौं ।

हिजो चुनावमा गरिएको वाचा पूरा गर्नु त परको कुरा हो चुनाव पछि पाँच बर्ष सम्म मर्यो बाच्यो बेखबर प्रतिनिधिहरुको झोला बोकेर, चाप्लुसी गर्दै एक कप रक्सी एक पिलेट सिकुटिमा अनि दुई लिटर बाईकमा पेट्रोल लगाई दिएको भरमा हरेक गल्तीलाई सही भन्दै अन्धभक्त समर्थक भएर तिनीहरू भित्र सुतेको जंगबहादुर जन्माउने पनि हामी आम जनता नै हौं। हिटलर,मुसोलोनी जन्माउने हामी हौं ।

तसर्थ आउदो चुनावमा आफ्नो अमुल्य भोट पार्टी दल हेरेर भन्दा पनि असल ब्यक्ति हेरे भोट दिउ ताकी सही व्यक्ति,सही स्थान छनोट गर्न नसकेर गलत व्यक्तिलाई सत्तामा पुर्याउने अनि बर्बाद गर्यो, सखाप गर्यो भनेर आँसु बगाउने भनेर पछुतो नहोस्। वास्तवमा भन्ने हो भने दोषी नेताहरू होइनन्, प्रमुख दोषी हामी हौं, जसले लोकतान्त्रिक गणतन्त्र संस्कारमा व्यक्ति चुन्न पाउने अधिकारको सही प्रयोग गर्न जानेनौं र अनुपयुक्त पात्रलाई अनुपयुक्त स्थानमा पुराएर राज्य सत्ताको बागडोर दियौ ।

अब तपाईं हामी सम्पुर्ण नागरिकहरुले गम्भीरता पुर्बक सोच्नै पर्ने भएको छ। कसरी भन्न सक्छौ नेताले बिगार्यो देश भनेर? देश बिगार्ने, भ्रष्टाचार गर्ने, देशको भूगोल बेच्ने दुस्साहस कसरी पैदा भयो नेतामा? अर्को मुसोलिनी कसरी जन्मियो नेताभित्र ? गोयबल्स शैलीका हामीहरूको क्षमताले महात्मा गान्धी कहिल्यै जन्मिन्नन्। हामीले जन्माउने भनेको हिटलर हो र अहिलेसम्म जन्माएका पनि हिटलर नै छौं। कुन नैतिकताले आरोप लगाउँछौं मात्र नेता कार्यकर्तालाई? र, आफू पानीमाथिको ओभानो बनेर बस्छौ? कटहरको बिरुवा रोप्छौं अनि कराउँछौं निभुवा किन फलेन भनेर? सिस्नु रोप्छौं अनि गाली गर्छौं गुलाब किन फुलेन भनेर? रोप्नुभन्दा पहिले सोचेनौ कि तिमी के रोप्दैछौं? तिमीलाई थाहा छैन? जे रोप्यो त्यही फल्छ, यो प्रकृतिको नियम हो। यो कुरासम्म हामीले बुझ्न सकेनौं भने अरुलाई सरापेर हुन्छ? नेतालाई गाली गरेर हुन्छ ?

देश भनेको घर हो। कहिले सोच्यौ घर बनाउने गलत मिस्त्री छनौट गर्दा के हुन्छ? गलत मिस्त्री छनौट गरेर घरको छानोको जिम्मा दिने अनि त्यही छानो भत्केर घाइते हुने हाम्रो नियति हो। र, यो नियति हामी वर्षौदेखि भोगिरहेका छौं। ठोकेरै भन्छु, अझै कैयौं वर्ष भोग्ने पनि छौं, त्यति बेलासम्म जबसम्म हाम्रो चेतनाको दियो बल्दैन। त्यति बेलासम्म जबसम्म हामीभित्र स्वाभिमानी नागरिक जन्मिंदैन ।

कुन इतिहासमा लेखिएको छ, हामीलाई अरुले बनाएर दिन्छ भनेर? जे बनाउनु छ आफैं बनाउनु छ। जे रोप्नु छ आफैं रोप्नु छ र जुन बीउ रोप्यौं, त्यसैको फल काट्नु छ। दोषी कुनै सती होइनन्। न त सतीले सरापेको नेपाल खाल्डो नै हो। दोषी तिमी, दोषी म, दोषी हामी हौं। हाम्रो चरित्र दोषी हो। हाम्रो चेतनास्तर दोषी हो। हाम्रो चाकरीबाज अनि शक्ति। सत्ताको ‘जी–हजुरी’ गर्न बेचिएको नैतिकता दोषी हो। नेताहरूलाई दोष दिनुभन्दा अगाडि किन सोच्दैनौं हामी? एकपटक होइन, बारम्बार गलत छनौट किन? एक पटकको धोकाले नचेतेर बारम्बारको धोका किन ?

थाहा छ फोहोर भइसक्यो, गन्हाइ सक्यो। तैपनि त्यही बासी सडेगलेको अचारमा झिंगाजस्तै भन्किरहने हामी किन? कहिलेसम्म हामी झोले भनेर बस्ने? कहिलेसम्म पार्टीका हनुमान छाप भएर जिन्दगी बिताउने? कहिलेसम्म भ्रष्ट नेताहरूका धूर्त पासाहरूको शकुनी खेल हेरेर रमाउने? हामीले बुझिसक्यौं यी भ्रष्टहरूबाट देश बन्दैन। फेरि किन यिनै धृतराष्ट्रहरूको जिम्मा लगाउँछौं आफ्ना सपना,रहर र सन्तानका भविष्य ?

दोषी कोही एकजना होइन। दोषी हामी सबै हौं। ज–जसले यी भ्रष्टहरूलाई देश बनाउने जिम्मेवारी दियौं,समर्थक बन्यौं। थाहा थियो, यी आफू बन्नेछन् तर देश बन्ने छैन। आफू बाँच्ने छन् तर देश हार्नेछ। आफू जिउने छन् तर हाम्रा सपना मार्ने छन्। आज पनि त्यही देखाए फेरि हाम्रै सपनाहरूको सामूहिक चिहानमा उभिएर फेरि हाम्रै घरदैलोमा आइसकेका छन् भोट माग्न, चुनाव जित्न। धूर्त ओठहरू बाहिर कृत्रिम मुस्कुराहट बोकेर, गुलाफको फूलभित्र छुरा लुकाएर । तैपनि हामी यिनीहरूमाथि नै भरोसा गर्नेछौं। जिम्मेवारी दिनेछौं, आफ्नो रोएको भूतकाल र रुँदै गरेको वर्तमान सजाउन ।

बाजे बराजुको पालादेखि देख्दैछौं कहिल्यै घर बनाएनन् यी आधुनिक नेताले। अनि भित्रभित्र बुझेका पनि छौं, यिनीहरूको हातबाट हाम्रो सुन्दर घर कहिल्यै बन्दैन पनि। तैपनि एक पटक होइन, बारम्बार उनीहरूलाई नै अख्तियारनामा दिएर पठाउँछौं। आखिर किन? फेरि उनीहरुकै सपनाभित्र हाम्रो घर बनाउने, हाम्रो जिन्दगीमा सुख समृद्धि ल्याउने सपना देख्छौं। फूलमाला लगाएर पठाउँछौं। अरु धेरै धेरै नेताहरूको ठूलो हुलमा नयाँबानेश्वरतिर तर ऊ सत्ताको सिंहासनमा हराउँछ। मदहोस भएर श्रीपेच लगाएर बस्छ। चिन्दैन हामीहरूलाई। गन्दैन कसैलाई। आफू हिँडेको आँगन बिर्सिन्छ र आफू अडेको जमीन चिन्दैन । आखिर कहिलेसम्म यी नेताहरूको विश्वासमा आफ्नो भविष्य तहसनहस गर्ने हामी ?

भूतकाल बर्बाद भएको छ। वर्तमानको अत्तोपत्तो छैन। भविष्य अन्धकारमय छ। अव त किन विकल्प नखोज्ने हामी? आजको आवश्यकता भनेको झूटो नारा र उग्र राष्ट्रवाद होइन। खानेपानी हो, गुनस्तरीय विद्यालय हो, बाटोघाटो हो, स्वास्थ्य हो। कसैले अकालमा मर्न नपरोस्। एउटा उचित अस्पताल होस्। हिँड्न लायक सडक र गुड्नलायक आँगन होस्। स्तरीय खानेपानी र शिक्षा होस् ।

मेरो पार्टीको हो, मेरो खानदानी नेता हो। व्यक्ति जस्तो होस्, पार्टीले जिते पुग्छ। धरातलमा केही होस् नहोस् नाराले जिते पुग्छ। हो वास्तवमा हामी सबैको यस्ता मानसिकता बदल्नु पर्छ। यदि अब पनि समय मै तपाईं हामिले आफ्नो कर्तव्य भुल्यौ भने फेरि दुख पाउने छौ। यी गैरजिम्मेवार नेताहरूबाट सुन्दर फूलबारी, यो प्यारो नेपाल लुटाइरहने छौं। भत्काइरहछौ। अनि हामी टुलुटुलु हेरिबस्ने लाचार भएर निरीह भएर। भूपि शेरचनले भने जस्तै हामी आँखा देख्दैनौं। हामी दिमाग भएर पनि दिमाग नभएका मूर्ख हौं। मरुभूमिमा छाडिएका एक हूल भेडा हौं ।

यी भत्किएका सडक अनि च्यातिएका रहरहरू हामीलाई गिज्याइरहेछन्। आखिर कहिलेसम्म? हामी नेपाली जो पर्यौं। धेरै बुद्धिमान छौं र पो बारम्बार दूधको चौकीदारी गर्न बिरालोलाई पठाइरहन्छौं। अनि सपना पनि देखिरहन्छौं, भोलि यो दूध जमेर दही बन्नेछ अनि त्यो दहीबाट मीठा मीठा परिकार बनाएर खानुपर्छ भनेर। भोका कुपोषणले ग्रसित बच्चाहरूलाई पनि खुवाउनुपर्छ भनेर ।

तर दुर्भाग्य त्यो दही कहिल्यै जमेन र लेखेर नै राख्नुहोला यी गैरजिम्मेवार नेताहरूको हातबाट कहिल्यै जम्ने पनि छैन। फेरि एकपटक भन्छु– दुनियाँले सुनोस्, संसारले सुनोस्। यी डाँडाकाडा भीर पखेराले सुनोस्। अहिले नेताहरूको व्यवहारको व्यापक विरोध भएको छ।पछुताएका छन् टोलवासीहरू, धिक्कार्दै छन् आफैंलाई। तर यो पछुतो थोरै हो। यो धिक्काराइको कुनै अर्थ छैन। फेरि चुनाव आएकोछ, सत्ताको माड खाएर झन् बलियोबांगो भएका यी नेताहरू सिंहासनबाट झरेका छन् र फेरि चुनाव लड्न गाउँ टोल छिरिसकेका छन् ।

अहिले जति नै एकअर्काका दुश्मन भए पनि चुनावपछि फेरि यी जुधेका नेताहरूबीच कार्यगत एकता हुनेछ, मोलमोलाइ हुनेछ। बगैंचाहरू भाग लगाइनेछन्। हाम्रा सपनाहरूमाथि बार्गेनिङ चल्नेछ। कुनै योजना छैन उनीहरुसँग। कुनै सपना देखेका छैनन् यिनीहरूले । केही भिजन बनाएका छैनन्। यी त केवल सपना देखाउन आएका हुन्। भावना किन्न आएका हुन्। सम्मान थापेर आफूलाई जंगबहादुरको सन्तान सम्झिंदै मच्चिन आएका हुन्। कलाविहीन कलाकार हुन्, कलाकारिता देखाउन आएका हुन् ।

फेरि जनतालाई आफ्नो प्रतिनिधि चुन्ने अवसर आएको छ। आफ्नो भाग्यविधाता, आफ्नो सुन्दर बगैंचाको चौकीदारको छनौट गर्ने अवसर आएको छ। अब भने केही नयाँ सपना देख्नुपर्छ। केही नयाँ सम्भावनाहरू खोज्नुपर्छ। भावनाले होइन, विवेकले चलाउनुपर्छ आफूलाई। यी जुधेका नेताहरूको विरुद्धमा भिजनको आवाज गुन्जिनुपर्छ। सपनाको मार्गचित्र कोर्नुपर्छ। नयाँ सपना देख्नुपर्छ ।

हाम्रा अँधेरा भीरपाखामा पनि बत्ती बल्छ कि? हाम्रो सुकेको आँखाले पनि सपना देख्छ कि? हाम्रो हाँसो हराएको उजाड ओठमा पनि लाली छाउँछ कि? एउटा विश्वास लिएर फुलाउनुपर्छ, आउने बसन्तमा नयाँ पालुवाहरू, नयाँ सपनाहरू र नयाँ सम्भावनाहरू। अब बुझ्नुपर्छ हामीले उनीहरु पहिलेभन्दा झन हट्टाकट्टा भएर आएका छन्। अब उनीहरुको हिँडाइले जमीन थर्किनेछ। फेरि एकपटक सपना बाँड्नेछन्। आश्वासन बेच्नेछन् र फेरि सपनाहरूको हत्या गर्नेछन् ।

चटक सुरु हुनेछ, कलाकारिता सुरु हुनेछ। फकिनेहरू फकाइनेछन्, बिक्नेहरू किनिनेछन्। पैसाको खोलो बगाइनेछ र स्वाभिमानको आवाज गुन्जाउनेहरूलाई रणनीतिकार षड्यन्त्रकारीको आरोप लगाइनेछ। हामी फेरि पनि यिनै नेताहरूका झूटा सपनामा आफूलाई बेच्नेछौं। किनकि यी नेताहरू त पुराना पो हुन्। यिनीहरू त आफ्नै पो हुन्। मेरा बाजे बराजुले मान्दै आएका, मेरा बाउबाजेको पालादेखि चुनिंदै आएका। हामी आस्थाका राजनीतिप्रति विश्वास लिनेहरू। अहँ, अरु कोही चाहिन्न अब हामीलाई ।

धेरैले भन्छन्, नयाँहरूको के भरोसा? यिनै नेताहरूले बनाउने छन् हाम्रो फूलबारी। सिंगार्ने छन् हाम्रो करेसाबारी। ‘यो नेता, त्यो नेता’ भन्नु केही छैन। हामी परिवर्तन हुन चाहन्नौं र परिवर्तन भएको पनि हेर्न सक्दैनौं आफूलाई। चुनावमा जुन मूर्ख उठे पनि हुन्छ। किनकि हामीले कुनै सेवक जिताउनु छैन, शासक जिताउनु छ। हाइकमान्डबाट जसलाई खटाइएको छ, त्यसैलाई जिताउनु छ। देश बनाउँछु भनेर हिँडेका त्यो हूलमा सम्भावना भएका अनुहार पनि छन्। परिवर्तनका सम्भावना पनि छन् तर हुन्न कदापि हुन्न। हामीले तिनीहरूलाई कदापि छान्नु हुन्न। किनकि ती हाम्रो पार्टीका होइनन्। हाम्रो बाउले जिताएकावाला होइनन्। हाम्रो बाजेले रुचाएका होइनन् ।

जति नै गन्हाएको किन नहोस्, त्यसैलाई चुन्नु छ। जति नै धूर्त किन नहोस्, त्यसैलाई छान्नु छ, किनकि त्यो मेरो हो। मेरो पार्टाीको हो, मेरो खानदानी नेता हो। व्यक्ति जस्तो होस्, पार्टाीले जिते पुग्छ। धरातलमा केही होस् नहोस् नाराले जिते पुग्छ। हो, वास्तवमा हामी सबैको मानसिकता नै यस्तो छ। अनि देश कसरी परिवर्तन हुन्छ ?

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …