• शनिवार, जेठ-७,२०७९ |
  • तपाईंको आगमन
  • हाम्रोबारे
  • हाम्रो समूह
  • सम्पर्क पृष्ठ

तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

अनुसा थापा

काठ्माडौं । उपत्यकामा कोठा लिएर बस्छु, केही सानातिनो काम गरेर खान्छु भन्नेहरुले पछिल्लो समय भोग्नुपरेको एउटा जटिल समस्या भनेको एउटा कोठा नपाउनु हो । सबैतिर फल्याट सिस्टम बनाइएको छ । एउटा सामान्य फल्याटको ठाँउ हेरेर १४–३० हजार रुपैंया भन्छन् । खाली सटर २०–४० लाख रुपैंयासम्म बिक्री हुन्छ । सटरको मासिक भाडा हेर्ने हो भने १० हजारदेखि आठ लाख मासिक तिर्नुपर्ने बाध्यता छ । पुरानो, भत्किन लागेका घरहरुको कोठा नै सातदेखि १० हजार रुपैया लिन्छ । अध्यारो, चिसो र केही सेवासुविधा नै नभएको कोठाको पनि यत्रो मूल्य उठाउछन् । पछिल्लो समय चलेको प्रवृत्तिः बरु घर खाली राख्ने । अर्कोले उसको जिब्रोले भनेजति पैसा तिर्ने सहमति नजनाएसम्म घरधनीले कोठाबहालमा दिदैनन् ।

धरधनीहरुले सरकारको सामु आफु मात्र बस्ने हो, भन्दछन् । तर, कोठा र सटरबहालबाट मासिक लाखौं रुपैंया आम्दानी गरिरहेका छन् । घरधनीहरुले सरकारलाई ढाँटिरहेको पाइन्छ । सरकारले अहिलेसम्म घरहरुको वर्गीकरण गरेको छैन् । अफिसका लागि कस्तो घरहरु दिदाँ राम्रो हुन्छ ? व्यापारलाई कस्तो घरहरु छुट्याउनुपर्छ ? कोठाबहालमा लगाउन कस्ता खाले घरहरु उचित होलान् ? यसको वर्गीकरण गरेको पाइदैन् । कुन घरधनीले कति वटा कोठाबहालमा लगाएको छ ? यसको तथ्याङ सम्बन्धित पक्षसंग छैन् । सटरभाडा नै यत्रो हुनेबित्तिकै मँहगी बढ्नु स्वाभाविकै हो । घरधनीले बहाल बढाएपछि पसलेले सामानको मूल्य बढाउनुमा कुनै नौला कुरा रहेन् ।

अर्कोतिर, कोठाभाडा बढ्नेबित्तिकै आर्थिक कमजोर भएका, विद्यार्थीहरुलाई बिहानबेलुका खान पनि सकस पर्छ । घरधनीले बढाएको भाडा त कसरी तिर्नु ? भनेर सोचमग्न भएका कोठााललाई बजारको मँहगीले अर्को झट्का लाग्छ । तैमाथि पनि विद्यार्थी, आर्थिक कमजोर भएका, बुढाबुढी, एकल महिला र रोगीले हत्तपत्त कोठा पाउदैन् । त्यही भएर घरबेटीको दबाबमा पिल्सिएर बाँच्नुपर्ने बाध्यता उनीहरुलाई छ । कोठा खोज्दा जाँदा जातभातको समेत कुरा आउछ । तल्लो जात भन्नेबित्तिकै कोठा दिन मान्दैनन्  । यता, राम्रो रोजगारी नभएकालाई पनि कोठा दिइदैन् । बल्लतल्ल कोठा र सटर भाडामा दिने सहमति भएपनि तीन महिनाको अग्रिम भाडा तिर्नुपर्ने बाध्यता छ । साथै, महिना मर्नुभन्दा अघि भाडा तिर्नुपर्छ भनेर मान्नुपर्छ ।

त्यति गरेन भने कोठा नपाउने हो कि भन्ने डरले सताउन थालिहाल्छ । जसको फाइदा घरधनीले उठाएका छन् । बरु कोठा नदिने, टुलेट लेखेर ढोका र झ्यालमा टास्ने । कोठा छोडेर जाँदा रंग लगाउने लाउने । धारा, बत्ती, चुकुल सबै हेरेर मात्र कोठा सर्न दिन्छन् । मासिक भाडा लिइसकेपछि मर्मतको काम सबै घरधनी आफैले गर्नुपर्ने होइन्, र ? बहालमा बस्नेले मासिक भाडा तिरेका छन् । आफु कमाउन बहालमा लगाउने तर बहालमा बस्नेलाई नि ठग्ने, राज्यलाई पनि घरबहाल कर नतिर्ने ? सरकारले कोठाबहाल र सटरबहाल निर्धारण नगर्दा यसको सिधा मार हामी जनतालाई परेको छ । घरधनीलाई सरकारले छाडा छोड्दा उनीहरुको ठग्ने मनोबल झनै वृद्धि हुदै गएको छ ।

मगेकोजति पैसा तिरेर बस्दा पनि उनीहरुले बहालवालालाई दासीको व्यवहार गर्छन् । बहालमा बस्नेहरु मान्छे नै होइनन्, उनीहरुलाई जे भनेपनि हुन्छ भन्ने मनशाय घरधनीहरुमा देखिएको छ । बहालमा बस्नेले पैसा तिर्छन् तर बिल पाउदैन् । यता, पानी, बत्ती र लुथा सुकाउने ठाँउको समेत उपभोग गर्न पाउदैन् । फोहोरको पैसासमेत सरकारले  होइन् घरधनीको जिब्रोले निर्धारण गर्दछ । हामीले खाइनखाई कमाएर ल्याएर घरधनीलाई पोस्ने गरेपनि धरधनीले कहिल्यै राम्रो नजरले हेर्दैनन् । घरधनीबाट बहालमा बस्नेहरु पिडित भएका छन् । 

घाम ताप्नुपप्यो भनेपनि छतमा जान पाइदैन् । पानी पनि नदिने र लुगा सुकाउने ठाँउको व्यवस्था पनि गरिदिएको छैन् । बालबच्चा खेल्ने र सवारीसाधन पार्क गर्ने ठाँउको अभाव उस्तै । दीर्घकालिन रोगीलाई कोठा पाउन अति गाह्रो छ । कोठा पाएपनि बिरामी भएको थाहा पाउनेबित्तिकै निकास्न भन्छन् ।

साच्नै, घरधनीहरुमा मानवता हराएकै हो ? घरधनीहरुको अन्याय र अत्याचार अति नै भइसकेको छ । 

यसको विरोधमा गएर वडा, नगर र प्रहरी कार्यालयमा गएर उजुरी दिएपनि सुनुवाई हुदैन् । उल्टै पिडित वर्गलाई नै हप्काएर पठाउने प्रवृत्ति छ । बहालमा बस्नेलाई घरधनीले अंकुशे लगाएको छ । तर, सरकार पनि उनीहरुको अगाडि बोल्दैन् । वडा, महानगर र नगर पनि घरधनीको सामु लम्पसार नै परेको हो ? भन्ने प्रश्न यतिखेर उठेको छ । पुरानालाई निकालेर नयाँलाई मँहगोमा भाडामा लाउने क्रम जारी नै छ । यसको अन्त्य सायदै होलाजस्तो देखिदैन् । सधैं घरधनीको त्रासमा बस्नुपर्ने बाध्यता बहालमा बस्नेहरुको छ । कोठामा कोही पाहुना आइपुगे भने घरधनीहरु चिह्याउन आइपुग्छन् । ढोकाबाहिरका चप्पल गन्न थाल्छन् । तर, मान्छे बसेको ठाँउमा मान्छे आउछन् भनेर उनीहरु बुझदैनन् । कोठामा बस्नेहरु घरधनीहरुसंग आजित भइसकेका छन् । उनीहरुको दादागिरीले सीमा नाघिसकेको छ ।

यता, काम गरेको ठाँउमा महिना नसिद्धिएसम्म तलब दिदैनन् । उता, घरधनीहरु भाडा माग्न आइपुगिसक्छन् । भाडामा बस्नेलाई कत्रो अप्ठ्यारो । अहिले देशको राष्ट्रपति, मन्त्रीलगायत ठूल्ठूला व्यक्तिहरु हिजो कोठाबहालमै बसेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा हिजो भाडामै बसेका व्यक्ति हुन् । त्यसैगरी, केपी ओली, झलनाथ खनाल, माधव नेपाललगायतका नेताहरु भाडामै बसेका थिए । पुष्पकमल दाहाल र बाबुराम भट्टराई अहिले पनि कोठाबहालमै बस्छन् । तर, बहालमा बस्दाको तीतो अनुभव भोगिसकेका नेताहरुले किन अरु जनताको अनुभवको विश्लेषण गर्न चाहदैन् ? के उनीहरुलाई आफु भाडामा बसेको भन्न लाज लाग्छ ? कोठाबहालमा बस्नेहरुको समस्या किन कसैले कोट्याउदैनन् ? राष्ट्रपति भण्डारीलाई त आफ्नो विगत फर्केर हेर्न पनि लाज लाग्छ ।

पदमा पुगेपछि भ्रष्ट्राचार गरेर राजनितिक दलहरुले अपुग सम्पत्ति जोडेका छन् । जग्गा किने घर बनाए तर हिजोको दिन कोठामा बस्दा आफुले भोगेको समस्या बिर्सिए । सभामुख र सांसद्हरु पनि भाडामै बस्छन् । तर, उनीहरुको कोठाभाडा सरकारले तिरिदिन्छ । त्यसैले उनीहरुले पनि यो कुरा उठाउन चाहेनन् । जनताले तिरेको करबाट सरकारले मासिक भाडा तिरिदिएको छ, अनि किन घरधनीको अघि आफु छुच्चो भइरहनु ? यिनीहरुको सोचाइ यही नै हो । बाबुराम भट्टराई र पुष्पकमल दाहाल कोठा बहालमा बसेर पनि मासिक भाडा सरकारले तिरिदिएको छ । उनीहरुलाई केही पिरमर्का नै मरेन् ।

सर्वसाधारणले मासिक भाडा तिरेका छन् तर त्यो मँहगो हो कि सस्तो ? तिर्नेलाई अत्तोपत्तो छैन् । सरकार यसविषयमा अनविज्ञ छ । घरधनीलाई खुसी पार्न र उसको चाकरी गर्न सकेसम्म बस्न पाइन्छ । होइन् भने तत्कालै निस्केर जान आदेश आउछ । बहालमा बस्ने पनि नेपाली नै हुन् । राज्यले उसलाई नेपाली नागरिकता दिएको छ । तर, हामीमाथि यत्रो भेदभाव किन ? सरकार सबैको साझा हो कि घरधनीको मात्र ? प्रष्ट पार्नुपर्ने बेला भएको छ । घरधनीको अघि सरकारी पक्ष सबै मौन, किन ? हामी भने घरधनीले पेचेर पैसा लिएका छन् । तर, सरकारले घरबहाल करसमेत उठाउन सक्दैन् । न त बहालमा बस्नेको पिरलो हेरेर कुनै ऐनकानुन नै बनाउछ । घरमा भएका सबै कोठा बहालमा लगाइएको हुन्छ ।

तर, घरबहाल कर तिर्न नपरोस् भनेर आफन्त बसेको बहाना बनाउछन् । घरधनीलाई ठाँउमा ल्याउने एउटै उपायः घरहरुलाई घरेलु र कम्पनीमा लगेर पञ्जीकरण गर्नुपर्छ । सरकार डराइरहने हो भने हामी ठगिरहनुपर्छ । सरकारको नियमकानुन नमान्ने घरको नामसारी रोकिदिनुपर्छ । सम्पूर्णताको प्रमाणपत्र दिनमा पनि रोक लगाउनुपर्छ । यता, थोत्रा घरहरु कोठाबहालमा लगाइएको छ । बस्न मिल्ने–नमिल्ने घर छुट्याउनुपर्छ । सरकारले आँखा चिम्लेर नक्सा पास गरिदियो । तर, नीति नियम बनाउन राज्य असफल भयो । राजस्व उठाउनदेखि सर्वसाधारणलाई सेवासुविधा र सुरक्षाको प्रत्याभुति दिलाउन सरकारले सकेन् । सरकारले विकसित मुलुकै सिको गर्नुपर्ने बेला आएको छ । घरजग्गाको अधिकार सरकारकै हातमा हुनुपर्छ । 

आफ्नो निजी सम्पत्ति भन्दैमा बहालमा बस्नेलाई ठग्ने र लुट्ने अधिकार कसैलाई पनि छैन् । अर्थमन्त्री जनार्दन शर्माले अबको बजेटमा घरभाडा निर्धारण गरिदिनुपर्छ । घरबहाल कर लिने कामको पनि थालनी गरिनुपर्छ । सरकारी कर्मचारी खटाएर कोठाभाडा उठाउनुपर्छ । कोठाबहाललाई राहत देऊ, सरकार ।

सम्बन्धित पोष्टहरू
लेख रचना/कबिता

गरिबको नाम बेचेर डलर पचाउदै एनजीओ

गरिबको नाम बेचेर डलर पचाउदै एनजीओ
पत्रपत्रिका

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …

प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिन्छ : अध्यक्ष दाहाल

चितवन। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिने बताउनुभएको छ । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको …

प्रेस स्वतन्त्रता सेनानी झा पुरस्कृत

सप्तरी। सप्तरीको राजविराजमा आज आयोजित एक कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झालाई लक्ष्मी–मुक्ति स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ सप्तरीमा आयोजित …