तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

पर्वत । पर्वत अस्पतालले पत्रकारको उपचारमा ४० प्रतिशत छुट दिनेभएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा ढुण्डिराज पौडेलका अनुसार नेपाल पत्रकार महासङ्घ पर्वत शाखाले पत्रकारको उपचारमा सघाउनका लागि अनुरोध गरेपछि महासङ्घ र अस्पतालबीच सम्झौता गर्ने गरी प्रक्रिया अगाडि बढाइएको हो । यसका लागि गत भदौमा नै अस्पतालको पुरानो समितिले निर्णय गरेको थियो ।

“महासङ्घ र अस्पतालबीच यसबारेमा सहमति भइसकेको छ । प्रक्रिया अगाडि बढेर पनि सम्झौता भने भएको छैन । सम्झौता भएपछि यसलाई कार्यान्वयनमा लैजान्छौँ”, उहाँले भन्नुभयो, “के के कुरामा छुट दिने भन्ने पनि निर्णय भएको छैन । अस्पताललाई पनि मार नपर्ने र पत्रकारलाई पनि राहत हुने गरी सम्भव भएका सेवामा छुट दिन सकिन्छ ।” 

औषधि महँगो हुने तथा कतिपय परीक्षणको शुल्क बढी लाग्ने भएकाले अस्पतालले खर्च धान्न नसक्ने अवस्था आउने हुँदा औषधिमा छुट दिन नसकिने बताउँदै डा पौडेलले अहिलेसम्मको तयारीमा मुटुको जाँच, भिडियो एक्स रे, एक्स रे, रगत परीक्षण, दिसा तथा पिसाब परीक्षण, सामान्य जाँचलगायतमा छुट दिन सकिनेबारेमा छलफल भइरहेको बताउनुभयो । 

थाइराइड, सुगरलगायतका परीक्षण महँगो हुँदा अस्पतालको बजेटले नै धान्न नसक्ने भएकाले ती परीक्षणमा भने छुट नहुने उहाँको भनाइ छ । अरूको लागि समाचार लेख्दै हिँड्ने पत्रकारसमेत आर्थिक समस्यामा रहने र अरूका लागि काम गर्नेलाई अस्पतालले पनि केही गर्न पाउनु खुसीको कुरा भएको डा पौडेलले बताउनुभयो ।

अस्पताल व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष गोविन्द पहाडीले अघिल्लो सरकारले पत्रकारको उपचारमा ५० प्रतिशत छुट दिने गरी नीति तथा कार्यक्रममा घोषणा गरेको भए पनि त्यसबारे कुनै कार्यविधि नआएका कारण अस्पताल आफैँले खर्च बेहोर्ने गरी गत भदौमा यो निर्णय गरेको बताउनुभयो । सङ्घीय तथा प्रदेश सरकारले यस सम्बन्धमा कार्यविधि नबनाएकाले अस्पतालको आन्तरिक आम्दानीबाट बेहोरेर उपचारमा सघाउने निर्णय भएको उहाँको भनाइ छ ।

“नेपाल पत्रकार महासङ्घको सदस्यता प्राप्त गरेका पर्वतका क्रियाशील पत्रकारका लागि यो सुविधा उपलब्ध गराउन लागिएको हो । तीनै तहका सरकारले यो काम नगरे पनि अस्पताल आफैँले भए पनि गरेमा राम्रो हुने ठानेर यो निर्णय गरिएको हो”, पहाडीले भन्नुभयो, “समाजलाई सत्यतथ्य सूचना दिएर सचेतना जागृत गर्ने तथा सूचना प्रदान गर्ने पत्रकारलाई प्रोत्साहन गर्नका लागि यो निर्णयले काम गर्छ ।”

महासङ्घ र अस्पतालबीच सम्झौता भएपछि कार्यान्वयनमा आउने यो कार्यक्रममा पर्वतमा क्रियाशील भई पत्रकार महासङ्घ पर्वतको सदस्य बनेका पत्रकार मात्र समावेश हुने अस्पताल प्रशासन बताउँछ । पत्रकारलाई दिएको छुट सुविधा लिनकै लागि बाह्य जिल्लाका महासङ्घ सदस्य पत्रकार आएमा अस्पतालले खर्च धान्न नसक्ने भएकाले पर्वत महासङ्घमा आबद्ध भएकाको लागि मात्र छुट सुविधा दिन लागिएको हो ।

पत्रकार महासङ्घ पर्वतका अध्यक्ष सन्तोष थापाले सङ्घीय सरकारले बजेटमा घोषणा गरे पनि कार्यान्वयनमा नल्याएको अवस्थामा पर्वत अस्पताल आफैँले भए पनि यो कार्यक्रम लागू गरोस् भन्ने हेतुले महासङ्घको तर्फबाट राखिएको प्रस्ताव अस्पतालले स्वीकार गर्नु खुसीको कुरा भएको बताउनुभयो । 

कोभिड–१९ को सङ्क्रमणका कारण उत्पन्न परिस्थितिले पत्रकार र सञ्चारगृहलाई ठूलो असर गरेको बेलामा यही छुटले पनि श्रमजीवी पत्रकारको उपचारमा धेरै राहत हुने उहाँको भनाइ छ । पत्रकार महासङ्घ पर्वत शाखामा सदस्य रहेका पत्रकारको सङ्ख्या ५४ रहेको छ । रासस

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …