तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

बागलुङ। गलकोटमा इलाका प्रशासन, मालपोत र नापी कार्यालय स्थापनाको माग लिएर दुई वर्षअघि जनप्रतिनिधिसहितको सर्वदलीय टोली सङ्घीय राजधानी काठमाडौँ पुग्यो ।

टोलीका सदस्यले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्याललाई भेटेर मागपत्र बुझाए । गलकोट नगरपालिका र ताराखोला गाउँपालिकालाई कार्यक्षेत्र तोकेर कार्यालय खोल्न सक्दो पहल लिने प्रतिबद्धता प्रधानमन्त्री, मन्त्रीबाट पाए ।

प्रधानमन्त्रीलगायतको आश्वासन बोकेर सर्वदलीय प्रतिनिधिमण्डल जिल्ला फर्कियो । नागरिकता बनाउन घण्टौँ लगाएर सदरमुकाम धाउनुपर्ने बाध्यताबाट आजित जनसाधारणमा पनि आशाको सञ्चार भयो । सबैले सरकारको निर्णय पर्खे । तर, अफसोच यतिका समय बित्यो । न त मागको सुनुवाइ नै भयो, न कुनै खोजीनीति ।

प्रशासनीक सेवा सहजरुपमा पाउनुपर्ने भन्दै बुझाइएको गलकोट र ताराखोलावासीको मागपत्र मन्त्रालयका कुनै तखतामा थन्किएको हुनुपर्छ । हुन त यसबीचमा गलकोटका अगुवा, जनप्रतिनिधि, दलका नेता कसैले पनि त्यसमा थप पहल लिएनन् । यही बेला कोभिड–१९ को मारमा मुलुक प¥यो ।

नगरप्रमुख भरत शर्मा गैरेले गलकोट सरकारको प्राथमिकतमा नपरेका कारण निर्णय हुन नसकेको बताउनुभयो । “त्यतिबेला प्रधानमन्त्री, मन्त्रीहरुसँग भेट्दा सकारात्मक कुराकानी भएको हो, पछि यसलाई चासोको विषय बनाइएन”, उहाँले भन्नुभयो, “अहिले नयाँ सरकार बनेको छ, हाम्रो माग फेरि राख्छौँ ।”

नगरप्रमुख गैरेले आज प्रधानमन्त्री शेरबहादुर देउवा र मङ्गलबार गृहमन्त्री बालकृष्ण खाँणसँगको भेटमा पहिले बुझाइएको मागपत्रबारे स्मरण गराएको उल्लेख गर्नुभयो । “नगरप्रमुखका हैँसियतमा मैले प्रधानमन्त्री र गृहमन्त्रीसँग त्यो विषय उठाएको छु, दुवै जना सकारात्मक हुनुहुन्छ”, उहाँले भन्नुभयो ।

इलाका प्रशासन कार्यालय खोल्ने निर्णय मन्त्रिपरिषद्ले गर्नुपर्छ । तत्कालीन गृहमन्त्री थापाले मागपत्र बुझेपछि अन्य ठाउँबाट पनि माग आएकाले अर्थलगायत सरोकार भएका मन्त्रालयसँग समन्वय गरेर निर्णय लिइने बताउनुभएको थियो । त्यसबेला उहाँले आफ्नो ठाउँबाट सक्दो पहल लिने बताएको ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले बताउनुभयो ।

गलकोटबाटै नागरिकता र राहदानी सेवा दिनका लागि इलाका प्रशासन कार्यालयको माग गरिएको अध्यक्ष घर्तीको भनाइ छ । गलकोटमा कार्यालय खुल्दा छिमेकी ताराखोलावासीले पनि त्यहीँबाट सहजरुपमा सेवा लिन पाउँछन् ।

यस्तै जग्गासम्बन्धी कामका लागि सदरमुकाम आउनुपर्ने बाध्यताको अन्त्य गर्दै गलकोटमै मालपोत र नापी कार्यालय स्थापना गर्नुपर्ने माग स्थानीयवासीको छ । सर्वदलीय समितिका संयोजक फमलाल न्यूरेले मन्त्रालय तहबाट पाइएको आश्वासन पूरा नभएकामा दुःखेसो व्यक्त गर्नुभयो ।

उहाँले फेरि पनि आफूहरुको तर्फबाट इलाका प्रशासन कार्यालय स्थापनाका लागि प्रयत्न जारी राखिने बताउनुभयो । धेरै ठाउँबाट माग आएकाले पनि गृह मन्त्रालयले गलकोटको प्रस्ताव अघि बढाउन नसकेको हुनसक्ने संयोजक न्यूरेको बुझाइ छ । जिल्लाको भौगोलिक अवस्थितिका कारण गलकोटमा इलाका प्रशासन कार्यालय अपरिहार्य बनेको उहाँको भनाइ छ । स्थानीय सरकारका रुपमा स्थानीय तह बने पनि तिनमा नागरिकता, राहदानी, मालपोत र नापीसम्बन्धी सेवा उपलब्ध छैन ।

सदरमुकाम जिल्लाको छेउमा भएका कारण टाढाको भूगोलका बासिन्दालाई सरकारी कामकाजमा असुविधा छ । इलाका प्रशासन कार्यालय स्थापना भए सदरमुकामदेखि ६० किमिको दूरीमा रहेको गलकोट, ताराखोलासहित आसपासका जनसाधारण लाभान्वित हुने देखिन्छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …