तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

तिर्थिराज भट्टराई

खोटाङ । अहिले विश्व समुदाय कोरोना भाइरसको महामारीबाट आतंकित भएको छ । शिक्षा–दिक्षा, विकास–निर्माण गर्नुभन्दा पनि महामारीबाट कसरी जोगिने भन्ने तिर सम्पूर्ण साधन–श्रोत र जनशक्ति परिचालित गरिएको छ ।

हामी नेपालीले मात्र होइन विश्वका ठूलाठूला राष्ट्रले समेत हार खाएका छन् कोरोनासँग । नयाँ–नयाँ नाम र रुप लिएर मानव जीवन माथि हमला गरिरहेको छ । डाक्टर, बैज्ञानिक, इन्जिनियर, शोधकर्ताले समेत पूर्ण सफलता हासिल गर्न नसकेर हैरान छन् ।

कोरोना एक तिब्र रुपमा सर्ने सरुवा रोग हो । मानव घना वस्ती, सभा, सम्मेलन, हाट बजार, धार्मिक तथा साँस्कृतिक कार्यक्रम, कार्यालय आदि भीडभाडमा कोरोनाले ज्यादा आक्रमण गर्छ भन्ने विषयमा प्रायः हामी सबै जानकार भइसकेका छौँ । तर पनि मानव जीवनलाई गतिशील बनाउन मानिसले ती ठाउँमा पुग्नै पर्ने बाध्यता छ ।

मेरी श्रीमती कुमारीजी अस्पतालकी कर्मचारी हुन् भने म राजनीतिक क्षेत्रको सक्रिय कार्यकर्ता । सामाजिक क्षेत्रमा काम गर्ने भएकोले म सधैं जसो भिड–भाड र जमघट हुने ठाउँमा पुग्छु । कहिले आवश्यक्ताले त कहिले बाध्यताले । सभा, सम्मेलन, बैठक र छलफलमा पुग्नु नित्य कर्म नै हो ।

हैसियत र परिवेश अनुसार चौकका फुटकर चिया पसलदेखि पाँचतारे होटलमा हुने पार्टीको आन्तरिक छलफल , बहस र गुटगत भेलामा हरेक तहका राजनीतिक नेता– कार्यकर्ताको उपस्थिति रहन्छ नै । चाहे काठमाडौंमा रहँदाको अवस्थामा होस् या अन्यत्र ।

नेपाल सरकारले २०७८ बैसाख १६ गतेदेखि लागू हुनेगरी सार्वजनिक यातायात, उद्योग कलकारखाना, व्यापार–व्यवसाय, कार्यालय बन्द गरि कोरोना संक्रमणको दोश्रो लहरलाई नियन्त्रण गर्ने योजना सार्वजनिक गर्‍यो । अरु जिल्लामाझैं खोटाङ जिल्लामा पनि प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले उच्च सतर्कता अपनाउँदै आफ्नो मातहतका सबै निकायलाई परिचालित गर्नुभयो ।

चिकित्सक, स्वास्थ्यकर्मी, राष्ट्रसेवक कर्मचारी, रेडक्रस लगायतका परोपकारी तथा सामाजिक संघ संस्थामा आवद्ध सरोकारवाला सबैले जिम्मेवारी र भूमिका सकृयताका साथ निर्वाह गरिरहेको देखिन्छ । यो पटक जनसरोकारका विषयमा केही जननिर्वाचित प्रतिनिधिको भूमिका प्रशंसनीय नै रहेको स्थानीयवासीको मूल्यांकन रहेको छ ।

यही बन्दाबन्दीको (लकडाउन) वीचमा हामीलाई नेपाली कांग्रेको चौधौं महाधिवेशनको लागि क्रियाशील सदस्यको नामावली अन्तिम रुप दिएर केन्द्रीय कार्यालयमा पठाउने चटारो थियो । केन्द्रीय कार्यालयले बैसाख २७ गते राति १२ बजेभित्र वेवसाइटमा अपलोड गर्ने समय सीमा तोकेको थियो । दिक्तेल बजार पुरै सन्नाटा थियो ।

दिक्तेल बजार पनि संक्रमणले भुसको आगो झैँ भित्रभित्रै सल्किसकेको सूचना आइरहेको थियो । यस्तै त्रासदीपूर्ण वातावरणमा पनि आफ्नो जिम्मेवारी र कर्तव्य पूरा गर्‍यौँ हामीले ।

यही वीचमा २०७८ जेठ ३ गते नेकपा एमाले खोटाङ काठमाडौं सम्पर्क मञ्च (ओली समूह ) का अध्यक्ष युवा समाजसेवी नवराज रोक्का काम विशेषले काठमाडौंबाट दिक्तेल आउनुभएको रहेछ । उहाँको घर दिप्रुङ चुईचुम्मा गाउँ पालिका–२ डाँडागाउँ हो भने मेरो ससुराली पनि त्यहीँ । हाम्रो बैचारिक पाटो अलग अलग भए पनि पारिवारिक तथा व्यबहारिक हिसाबले नजिकको सम्बन्ध छ ।

नाताले मेरो जेठान हुनुभएकोले अन्तरमनबाटै मायाँ, प्रेम र सद्भाव राख्नुहुन्छ भन्ने आत्म विश्वास छ मलाई । उहाँले म प्रति समय समयमा देखाउनु भएको सद्भाव, व्यबहार र क्रियाकलापले पनि मेरो विश्वासमा थप हौसला मिल्ने गरेको छ ।

काठमाडौं फर्किने तयारी गर्दै जेठ ३ गते विहानै उहाँले फोन गर्नुभयो मलाई । म र सचिव हकहित मञ्च खोटाङका पूर्वअध्यक्ष सीताराम आचार्य काम विशेषले दिरुमनपा–१ दिक्तेलका वडा अध्यक्ष टंक आचार्य दाजुको घरमा थियौँ । एक्लै छु राजनीतिक गफ गर्दै कि जाउँ त ज्वाइँसाब काठमाण्डौं भन्ने प्रस्ताव गर्नुभयो । मेरो काठमाण्डौं जाने कुनै कार्यक्रम र मनस्थिति पनि थिएन ।

कोरोनाको संक्रमणले संक्रमित र मृत्यु हुनेको संख्या उच्च बिन्दुमा पुगेको थियो । श्रीमती कुमारीजी र ७ वर्षिय छोरा अनुसन्धान काठमाडौं भएकोले उहाँको प्रस्तावपछि जाने मनस्थिति बन्यो र आउनुहोस् हामी पनि जान्छौं भनें । नभन्दै १० मिनेटमा हाम्रो घर नजिक गाडी लिएर आउनु भयो र त्यहाँबाट विदा भएर हामी हिँड्यौँ ।

गतवर्षदेखि १३ वर्षको जेठो छोरा अध्ययन समावि दिक्तेलमा ८ कक्षामा पढ्न थालेको थियोे । हामी बाबूछोरा विहान ८.४५ बजे जेठान नवराजको गाडी चढ्यौँ । बाटो पुरै खाली र सन्नाटा । सडक छेउका होटल र पसलहरु सबै बन्द थिए । समसामयिक राजनीति र दुःख–सुखका कुरा गर्दै अघि बढ्यौं । बिना तयारी हिँड्नु परेकाले खानेकुरा पनि थिएन ।

जेठान नवराज रोक्काले भने खाल्ले दिदीको घरबाट टपरीमा सिलबन्दी गरेर चाम्रे भात बोक्नु भएको रहेछ । प्लास्टिकको झोला र टपरीमा बाँडेर खायौं । समय पनि उदेकलाग्दो आयो । हामीसँग पैसा त छ तर बिक्ने ठाउँ पाइएन ।

कहिलेकही त्यो पैसाको पनि कुनै महत्व रहेनछ भन्ने हामी स्वयंमा चरितार्थ भयो । बाटोमा सुरक्षाकर्मीले खासै चेकजाँच गरेनन् । गरेपनि नवराज जेठानसाबले आउने–जाने दुईतर्फी पास लिएर आउनु भएको थियोे ।

बेलुकी ४ बजे काठमाण्डौं कोटेश्वर पुग्यौं । चक्काजाम हुने कोटेश्वर बाबु मरेर झोक्राएको क्रियापुत्री जस्तो दुखित र सुनसान थियोे । एम्बुलेन्स भने चर्काे साइरन बजाउँदै ओहोर–दोहोर गरिरहेका थिए । साइरनको आवाजले मन झसङ्ग बनाई रह्यो र त्यहाँको वातावरण नै अत्यास लाग्दो थियोे । हामीलाई हाम्रो वासस्थान महाराजगन्ज कान्तिमार्गमा छोडेर गाडी गन्तव्य तर्फ फर्कियो । विना सूचना हामी आकस्मिक रूपमा कोठामा पुगेको देखेर कुमारीजी र अनुसन्धान आश्चर्य चकित भए ।

काठमाडौं पुगेको भोलिपल्ट ४ गते विहानै खोटाङ सावाकटहरे स्थायी निवासी हाल काठमाडौ बस्नुहुने युवा समाजसेवी उपेन्द्र पोखरेलले मलाई फोन गरेर लामो समयदेखि नेपाल एयरलाइन्समा महत्वपूर्ण योगदान पुर्‍याउनु भएका हवाई चालक क्याप्टेन सुवास रिजालले खोटाङका कोरोना संक्रमितलाई आफ्नो व्यक्तिगत खर्चमा स्वास्थ्य सामग्री दिन चाहनु भएकोले समन्वय गरिदिन आग्रह गर्नुभयो ।

मैले प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा र स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलसँग टेलिफोनमा कुरा गरेर काठमाडौं, चुच्चेपाटीस्थित रिजाल निवासमा स्वास्थ्य कार्यालय खोटाङका प्रतिनिधि कृष्ण मल्ललाई ५० हजार २०० बराबरको स्वास्थ्य सामग्री जेठ ९ गते हस्तान्तरण गर्ने समन्वय गरेँ र सोही बमोजिम हस्तान्तरणको काम सम्पन्न भयो ।

एउटा व्यक्तिले आफ्नो गाँस कटाएर सहयोग गर्छ भने त्यो समाजको पूज्यनीय व्यक्ति हुन्छ । समग्र खोटाङ्गे जनताकोतर्फबाट म क्याप्टेन सुवास रिजाल र उहाँको परिवारलाई धन्यवाद दिन चाहन्छु खोटाङका संक्रमित दाजुभाइ दिदीबहिनीलाई सम्झिएर सहयोगको हात बढाउनु भएकोमा ।

साग–सव्जी, दूध, खाद्यान्न लगायत सामग्री खरिद गर्नेदेखि सबै काम सकेर कुमारीजीले दिनहुँ कार्यालय जानू पर्ने । अस्पतालको जागिर जोखिमपूर्ण थियो । पहिला–पहिला अस्पतालको कर्मचारी भन्दा सबैले ईज्जत पनि गर्ने । कहिलेकहीँ आफन्तलाई अप्ठ्यारो पर्दा सहयोग पनि गरिन्थ्यो तर अहिले अस्पतालका कर्मचारी देखेपछि मानिसहरु डराउँछन् कुमारीजीको अनुभव छ ।

कोरोनाको न रुप देखिन्छ न स्वरुप । अजङ्गको सिंह वा विषालु सर्प जस्तो भएपनि सुरक्षित बस्ने उपाय खोजिन्थ्यो तर कोरोनाले विना रुप रंग नै सबैलाई आतंकित तुल्याएको छ ।

जेठ १० गते बेलुकीपख अचानक ज्वरो रुघाखोकी, जिउ र टाउको दुख्ने समस्या देखियो कुमारीजीलाई । ११ गते विहान उठ्दा म, अध्ययन र अनुसन्धानलाई समेत रुघाखोकीको स्थिति देखियो । कुमारीजीले कार्यालय गएर स्वाव परिक्षण गर्न दिईन् । हामी चारै जनालाई विस्तारै समस्याले च्याप्न थाल्यो ।

सबैको लक्षण कुमारीजीको लक्षणसँग मिल्दोजुल्दो थियो । कोरोनाको आशंका गरेर हामी सबै कोठामा सुरक्षित बस्यौं । नभन्दै कुमारीजीको रिपोर्ट पोजेटिभ आयो । रिपोर्ट पोजेटिभ आएपछि कुमारीजी थोरै सशंकित जस्तो भइन् ।

उनको शरीर पुरै शिथिल र अनुहार गिरेको अनुभुती गरेँ मैले । मौसम पनि धेरै गर्मी र मनोबैज्ञानिक त्रासले होला पसिनाको धारा बग्न थाल्यो उनको शरीरमा । एउटा मात्रै कोठा छ, तीन परिवारको साझा शौचालय । हामी धर्म संकटमा पर्‍यौँ ।

जाँदा कता जानू, न अस्पताल गएर बस्ने अवस्था छ न हामीसँग अन्य विकल्प । मैले यहीँ कोठामा बसौं भन्दा कुमारीजीको असहमति भयो तर विकल्प दिन पनि सकिनन् उनले । माथिल्लो तलामा बस्ने भाई बुहारी राजन सुवेदी र मिरासँग त्यो तलाको शौचालय हामीले प्रयोग गर्ने र उहाँहरू तल्लो तलामा जाने सल्लाह अनुसार हामीले आफ्नै कोठामा बस्ने निधो गर्‍यौँ ।

केही दिनदेखि अदुवा, बेसार, ज्वानो, तुलसी पत्ता, सयपत्री फूल, लसुन, मरिच आदि लगाएको घरेलु औषधी पानी खाइरहेका थियौँ । हुन त स्वस्थ रहँदा पनि हामी बेलाबेला घरेलु औषधीको प्रयोग गरिरहन्छौँ नै । चट्याङ लागेझैँ हुनेगरी अत्यधिक टाउको दुख्ने भयो मलाई पनि । कुमारीजीलाई हुने सबै लक्षण थियो मलाई र दुबै छोरालाई पनि । मैले पनि स्वाव परिक्षण गर्न दिएँ । नेगेटिभ आउने सम्भावना थिएन । हामीले सोचे अनुसारकै रिपोर्ट आयो पोजेटिभ ।

नाबालक छोरा छन् बुढेसकालमा जन्मिएका । एउटै कोठामा बस्दा छोरालाई अप्ठ्यारो पर्छ कि भन्ने मनमा कुरा खेल्यो । आफन्त, नातागोता कतै कसैकोमा जाने अवस्था छैन । कसैले कसैलाई भेट्न नहुने, सहयोग गर्न नमिल्ने सरुवा रोग । ‘साथ जियेंगे साथ मरेंगे’ भन्ने हिन्दी गाना सम्झिएर एकै ठाउँ बस्यौं ।

मभन्दा कुमारीजीलाई धेरै थकित र च्यापो कोरोनाले । उनलाई गा¥हो हुँदा टाउको थिचिदिएँ, शरीर र गोडामा मालिस गरिदिएँ । कुमारीलाई आत्माबल दर्‍हो बनाउन प्रोत्साहित गरिरहेँ । छोरा चार दिनपछि ठीक भए ।

म पनि कुमारीजी भन्दा कम समस्यामा त थिइँन तर मानिसले कोरोनालाई जित्न सक्छ, छिछि र दुरदुर नगरी आफ्नो पनि आत्मबल बढाउने र अरुलाई पनि हौसला दिँदै उच्च मनोवलका साथ खानपिनमा ध्यान दिनुपर्छ भन्ने मुलमन्त्रबाट म कहिल्यै विचलित भइनँ ।

विरामी भएको नवौं दिन कुमारीजीलाई धेरै गार्‍हो भयो स्वास प्रस्वासमा । करिब ६ घण्टासम्म हर्‍याक हर्‍याक पार्‍यो । जाँच गर्दा ९० सम्म झरेको रहेछ अक्सिजन । कान्तिका चिकित्सक तथा स्वास्थ्यकर्मीसँग नियमित सल्लाह गरेर अक्सिजनको मात्रा बढाउने प्रयत्न गर्‍यौँ । अस्पताल लैजाने अन्तिम तयारी गर्दा नगर्दै विस्तारै अक्सिजनको लेबल यथास्थितिमा आयो । तर, धेरै अप्ठ्यारो अवस्थाबाट विस्तारै विस्तारै सजिलो भएको त्यो पीडादायी समयलाई सम्झँदा मेरो जिउ सिरिँग हुन्छ ।

विवाह गरेको १८ वर्षको दौरानमा यतिधेरै थकित र गलेको कहिल्यै महसुस गरेको थिइनँ कुमारीजीलाई । २०७१ सालमा कान्छो छोरा अनुसन्धान जन्मदा अप्रेसन गर्नु परेको थियो । घाउ पाकेर धेरै दुःख पाइन । असाध्यै असहज भएको थियो घाउको कारण ।

सात दिनको दिन छोराको न्वारन गरेर त्यही दिन रात्री बस चढेर बेल्टार झरेको थिएँ । चिसापानीमा क्षेत्रीय समितिले आयोजना गरेको कार्यक्रममा मैले पुग्नै पर्ने बाध्यता थियो । पार्टी भित्रको आन्तरिक किचलोले र क्षेत्रीय सभापतिको जिम्मेवारीबाट म च्युत हुन सकिन । त्यस्तो अप्ठ्यारो अवस्थामा पनि उत्साहित नै थिएँ ।

मैले आफु अस्वस्थ हुँदाहुँदै पनि नियमित खाना पकाएँ, भाँडा माझेँ, कपडा धोएँ तर जेठो छोरा अध्यन स्वस्थ्य भएपछि स्वतः स्फुर्त रूपमा सबै काममा उनले मद्धत गरे ।

हामी अस्वस्थ भएको थाहा पाएपछि आफन्त, नातागोता, शुभेच्छुक/शुभचिन्तक, पार्टीका केन्द्रीय, जिल्ला, क्षेत्र, पालिका, वडा, विभिन्न राजनीतिक दलका नेता, राष्ट्रसेवक कर्मचारी, शिक्षक, बुद्धिजीवी, पत्रकार, निर्वाचित जनप्रतिनिधिले फोन, मेसेज, सामाजिक सञ्जाल तथा आ–आफ्नो ठाउँमा रहेर मनमा सम्झिएर सद्भाव तथा शुभेच्छा राख्नुहुने तमाम मित्रका कारण हामीले कोरोनालाई जित्न सफल भएका छौँ । यहाँहरुको निरन्तरको शुभेच्छा, सद्भाव, माया, प्रेम र आत्मा विश्वास भरिएको उत्प्रेरणाले नै हामी आज भौतिकरुपमा यहाँहरुको साथमा रहने अवसर पाएका छौँ । सबै–सबै प्रति आभार व्यक्त गर्दछौं ।

१०३ वर्षकी पूज्यनीय हजुरआमा रेणुका पोख्रेल, ८४ वर्षकी आमा पद्मकुमारी पोखरेल र ८० वर्षका जेठा मामा खगेन्द्र पोखरेलले झापाबाट विरामी भएको समयमा फोन गरेर दिनु भएको आशिर्वाद र घरेलु औषधीका टिप्स हाम्रो लागि रामवाण नै सावित भयो ।

हामीलाई पोजेटिभ पुष्टि भएको १४ औँ दिनको दिन हामीले एन्टीजेन्ट विधिबाट स्वाव परिक्षण गर्न दियौं । परिणाम नेगेटिभ आएपछि ठूलै युद्ध नै जितेझैं बधाईको ओइरो आउन थाल्यो । त्यसपछि पो झन् कोरोनाको भाइरससँग डर लागेर आयो । समाजसेवा भन्दा ठूलो सेवा अरु केही हुन सक्दैन, जहाँ स्वार्थ कम र सेवाको भाव बढि होस् ।

स्वार्थ रहितको सेवा चाहीँ विरलै हुन्छ । मैले छातिमा हात राखेर भन्नै पर्छ कि निश्वार्थ सेवा मैले पनि गरेको छैन र गर्न पनि सकिन्न तर समाज र देशलाई अहित हुने काम अहिलेसम्म जानी बुझी भए गरेको छैन म घमण्डकासाथ भन्न सक्छु । भरसक भविष्यमा पनि कसैले दोषारोपण गरेर औँलो उठाउने ठाउँ कहिँ कसैले गर्न नसकोस् भन्नेमा म दृढ छु ।

लेखाजोखाको जिम्मा यहाँहरुलाई नै दिन चाहन्छु । तर म भने स्वयंमा सन्तुष्ट छु । एउटा सामाजिक मान्छेले कमाउने भनेकै तमाम शुभेच्छुक र शुभचिन्तक हो । सबैको शुभेच्छा र प्रेमले समाजसेवामार्फत यहाँहरुको बीचमा सेवा गर्ने अवसर पाएकोमा हर्षित छु ।

हामी अस्वस्थ भएको समयमा प्रत्यक्ष–अप्रत्यक्ष सहयोग गर्नुहुने चिकित्सक, स्वास्थ्यकर्मी, विभिन्न प्रकारको सद्भाव र सहयोग पुर्‍याउनु हुने तमाम महानुभाव प्रति नतमस्तक हुँदै म मेरो परिवारकैतर्फबाट हार्दिक आभार व्यक्त गर्दछु ।

अन्त्यमा, कोरोना भएर जीवन उत्सर्ग गर्नुहुने प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । संक्रमित भई उपचारकाक्रममा रहनु भएका सबैको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु । संक्रमितलाई घृणा होइन प्रेम गरौं, समाजिक तथा भौतिक दूरी कायम गरेर आफु पनि सुरक्षित बनौं र अरुलाई पनि सुरक्षित राख्न मद्धत पुर्‍याउँदै कोरोना संक्रमणलाई परास्त गरौँ । यसैमा हामी सबैको भलाई छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …