तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

खोटाङ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले अहिलेको युग विकास र समृद्धिको युग भएको बताउनुभएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा स्थापना गरिएको कम्पोष्ट मल उद्योग, बायोग्यास प्लान्ट र कृषि स्रोतको उद्घाटन कार्यक्रममा शनिबार उहाँले प्रदेश नं १ को सबै जिल्लामा सडक, पुल, खानेपानी, विद्युत, कृषि, पर्यटनलगायतको विकासले जनतामा समृद्धि मिलेको बताउनुभयो ।

प्रदेश सरकार बनेपछि सडक, पुल, खानेपानी, विद्युत्, कृषि, पर्यटनलगायतको विकासले जनतामा सुविधा पुगेको छ”, उहाँले भन्नुभयो, “अहिलेको युग विकास र समृद्धिको युग भएकाले जनताको अपेक्षाअनुसार प्रदेश सरकारले समेत क्रियाकलाप अगाडि बढाएपछि जनता पनि खुशी भएका छन् ।

प्रदेश सरकारले अगाडि बढाएको कृषिमा अनुदान, युवालाई रोजगारलगायतका कामले समेत जनता खुशी भएको मुख्यमन्त्री राईले जिकिर गर्नुभयो । पहाडी जिल्ला धनकुटा, भोजपुर र खोटाङको विकासे योजनाको अनुगमनमा आउनुभएका राईले मध्यपहाडी लोकमार्गअन्तर्गतको चखेवा–दिक्तेल सडक, समगरमाथा लोकमार्गअन्तर्गत माहुरे–फोक्सिङटार सडक निर्माणमा ढिलासुस्ती भएकाले त्यसलाई तीव्रता दिन सम्बन्धित निकायलाई निर्देशन दिनुभयो ।

दिक्तेल रुपाकोट मझुवागढी–१४ बुइपास्थित पञ्चदोबाटोको यलम्बर उद्यान, ट्याम्के भ्यूटावर, मुन्धुम ट्रेलको काम धमाधम भइरहेकाले त्यसको विकासले पर्यटन प्रवद्र्धनमा उल्लेख्य भूमिका निर्वाह गर्ने मुख्यमन्त्री राईले बताउनुभयो । प्रदेश सरकारको तर्फबाट संसारको होचो स्थान झापाबाट संसारकै सर्वोच्च शिखर सगरमाथासम्म केबलकार योजना, सुनकोशीको दोलालघाटमा जेटबोटलगायतको योजना अघि बढाइएको मन्त्री राईले बताउनुभएको छ ।

मुख्यमन्त्री राईले प्रदेशको नामाङ्कन गर्न बाँकी रहेकाले नामाङ्कनको काम पनि चाँडै नै गरिने बताउनुभयो । कोभिड–१९ का कारणले विलम्ब भएको उल्लेख गर्नुहुँदै मख्यमन्त्री राईले प्रदेश नं १ लाई छिट्टै नाम दिने बताउनुभयो । यद्यपि राजनीतिक खिचातानी भयो भने प्रदेश नं १ को नामकरणमा समस्या आउने मुख्यमन्त्री राईको भनाइ थियो । “प्रदेशको नामाङ्कन विश्वभर फैलिएको कोभिड–१९ ले गर्दा ढिलो भयो, अब छिट्टै नै टुङ्ग्याउने तयारी गरेका छौँ”, उहाँले भन्नुभयो, “नामकरणमा राजनीतिक खिचातानी भयो भने समस्या हुन्छ ।

मुलुकमा सिर्जना भएको राजनीतिक खिचातानीकै कारण विकासमा सरकारलाई असहज सिर्जना भएको मुख्यमन्त्री राईको भनाइ थियो । “केही नेताहरुले अस्थिरता निम्त्याउने खेल खेलेकाले विकासमा समस्या भयो”, उहाँले भन्नुभयो, “ठूलाठूला षड्यन्त्रले गर्दा मुलुकमा अस्थिरता सिर्जना भयो, त्यसले विकासमा पनि असर गर्यो ।

अर्थमन्त्रालयको विशेष अनुदानवापतको रु तीन करोड ३२ लाखको लागतमा सोल्मास्थित अजम्बरी टोलमा कम्पोष्ट मल उद्योग, बायोग्यास प्लान्ट र कृषि स्रोत केन्द्र स्थापना गरिएको नगरप्रमुख दीपनारायण रिजालले बताउनुभयो । नगर कार्यपालिका सदस्य गङ्गाबहादुर विश्वकर्माले निःशुल्क उपलब्ध गराउनुभएको दुई रोपनी जग्गामा कम्पोष्ट मल उद्योग, बायोग्यास प्लान्ट र कृषि स्रोत केन्द्र स्थापना गरिएको हो ।

उद्योगबाट उत्पादित कम्पोष्ट मल मलिलो र राम्रो हुने नगरपालिकाका कृषि शाखा प्रमुख धर्मेन्द्र कलौनीले बताउनुभयो । प्राविधिकका अनुसार टर्नरमा काटेर थुममा हालेर क्रसर चलाएपछि धुलो बनेको मलको कच्चा पदार्थ स्क्रिनिङ मेसिनमा पुग्दा तयारी भएर बोरामा प्याक भएर मलका रूपमा बाहिर निस्कन्छ ।

कम्पोष्ट मल उद्योगसँगै बनाइएको बायोग्यास प्लान्टमा मानव मलमूत्र तथा गाईभैँसीको गोबर हालेर ग्यास उत्पादन गर्ने तयारी गरिएको छ । तीन हजार ५०० घनमिटर क्षमताको भूमिगत डुम (ट्याङ्की)मा कच्चा पदार्थ हालेर गोबर ग्यास उत्पादन गर्ने र त्यसलाई सिएनजी ग्यासमा परिवर्तन गरेर एलपी ग्यासकै रूपमा सिलिण्डर भरेर उपभोक्तालाई वितरण गर्न मिल्ने जनाइएको छ ।

दिक्तेल बजारका शौचालयको ट्याङ्कीमा रहेका दिसापिसाबलाई सक्सन मेसिनले तानेर बायोग्यास प्लान्टमा लैजाने नगरपालिकाको तयारी छ । आवश्यक गोबर र स्याउलाका लागि कम्पोष्ट मल उद्योग र बायोग्यास प्लान्ट रहेको स्थानभन्दा केहीमाथि सुधारिएको गोठमा भैँसीपालन गरिएको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …