तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

नवराज रेग्मी

भोलि हुन्छ । निशा निदाएर क्षितिज व्युँझिएपछि पनि उराठिलो मन उठ्ने जाँगर गर्दैन । यात्रा यात्रारत छ भन्ने बोधले जसोतसो जाँगरलाई टेको लगाउँछु र उभ्याउँछु । मेघाच्छन्न गगनमा गगनदीपले एक हात गगनपथ तय गरेहोला भन्ने अनुमान सँगाल्छु र सम्हालिन्छु यात्रामा । एक्लेै छु अनि विकट उकालो छ । बाँच्नु र बँचाउनुको बाध्यताले बोझिल जिन्दगीमा एक बोतल जवानीको जोश भर्छु र उकालिन्छु आकाशे–पथ । अहिले म जुन गन्तव्यका लागि छु, त्यो मेरो मन–गन्तव्य थिएन, सोच–गन्तव्य थिएन । मनले बाँच्ने जिन्दगी र बाँच्नुले बाँच्ने जिन्दगीमा कत्रो अन्तर ? स्याहार नपाएर आफ्नै आँखामा मरेका सयौँ सपनाका लाशहरु अब व्युँझन्नन् सोचको सुन्दर बिहानीसँगै भन्ने सत्य बोध छ मलाई र म उक्लिरहेछु; बुढी फूलमायाको जवानीजस्तै ओइलाएका हजारौँ रहरका फूलहरु अब फक्रन्नन् फगत् स्वर्गीय फाँटमा भन्ने चित्र चित्रिएको छ भोगाइमा र म उक्लिरहेछु ।

मरेका सपनाहरुले अब मलामी बोलाउँदैनन् भन्ने थाहा छ अनि आँखामा मेराहरुका सपनाहरुलाई सापटीमा फुलाएर गन्तव्य नापिरहेछु । आफ्ना मृत सपनाहरुको दुर्गन्धलाई पन्छाएर आफ्नाहरुका स्वप्न–कलीहरुलाई पुष्पित गर्नुपर्ने र सुगन्धित पार्नुपर्ने जिन्दगीको अर्को मोड–लाग्छ, यही उकालो हो । मनमा महान् तारादेवीको गीत झंकृत भइरहन्छ– सोचेजस्तो हुन्न जीवन, सम्झेजस्तो हुन्न जीवन… ।

बिहान चिप्लिएर मध्यान्हको सीमामा आइपुगेको छ । घाम झन–झन घामिँदै गएको महसूस गर्छु । उकालो झन ठाडै उक्लिएर मलाई स्याँ–स्याँ थकाउँछ अनि म पनि उकालोलाई थकाउनै स्याँ–स्याँ उक्लिरहन्छु । गालाबाट गु्ड्दै एउटा स्वेद–कण लाटो जिभ्रोमा मीठो नुनिलो साटिन्छ । अनुभवले भन्न थालेको छ– जीवन भनेकै उकालो हो र उकालो भनेकै जीवन । जीवनको ओह्रालो भनेको त झन कठिन उकालो पो हुँदोरहेछ ।

समय सुटुक्क चिप्लिएर बिहान दिनमा साटिन्छ । लगातार चार घण्टाको बाटो नापेपछि यात्रापथको वरिपरि कुइनेटोमा सेता मनका केही काला झुपडीहरु देखिन्छन् । दन्तविहीन मुजे गालाहरुमा फिस्स हाँसो फिँजारेर एक वयोवृद्धा स्वपुत्रे माया पस्किन्छिन् र सोध्छिन्– मही खानुहुन्छ बाबु ? म आँशुले टिलिल्ल भरिन्छु । कुनै षोडसाका सु्कुमार सपनाहरुजस्तै लाग्ने सहरी श्वेत महलभित्रका काला मनहरुलाई एकछिन स्मृतिमा टाँग्छु–धिक्कार लाग्छ,– मन साँघुरिएका फराकिला सहरहरु । पूर्नेका जूनजस्ता उज्याला मनहरु त गाउँमा पो भेटिँदारहेछन् ।

उठ्नु छ र फेरि हिँड्नु छ । कवि रोबर्ट फ्रस्टको एउटा महान् कविताको कवितांश दिलमा कोरिएको छ– सुत्नुभन्दा पहिले मैले धेरै हिँड्नु छ । उठेर आफ्नो यात्रा–पथ समात्नै लाग्दा दूरश्रवणयन्त्रबाट न्याय मरेको एउटा समाचार जोडले कानमा ठोकिन्छ । म एकछिन त थिल्थिलिन्छु । दृष्टि गुमेजस्तै कालै देख्छु संसार । मभित्रको म भने क्रुद्ध हुन्छ– न्यायको मलामी गएर नथाक्ने गणतन्त्रे कालका यी पाखण्डी शासकहरुसँग । फेरि सोच्छु – चारखुट्टेको बुद्धि भएका विवेकपरस्त दुईखुट्टे मुर्कट्टाहरु सत्ताशीन रहेर म नै राज्य हुँ को अहम् प्रदर्शन गरिरहेको सतीश्रापित मुलुकको यो गाईजात्रे व्यवस्थामा योभन्दा बढी प्राप्ति नै के हुन सक्छ र आश्चर्य मान्नू ? स्मृतिमा जाति–वीरताको छाप लागेको तर ह्वास्स रगत गनाउने इतिहास व्युँझन्छ – महान् राष्ट्रभक्त काजी भीम मल्लको आत्मा अझै न्यायको गुहार गरिरहेछ, भीमसेन र बहादुर शाहका आत्माहरु तड्पिरहेछन्, शासकका सती चढेका हजारौँ कलिला युवतीहरुका आत्माहरु भड्किरहेछन ।

महान् भूपिको मेरो चोक का सबै व्यवस्था देशव्याप्त भइरहेको यो मुलुकमा एउटा जंगबहादुर अनेकौँ व्यवस्था र नाममा साटिएर अनन्त शासन गरिरहन्छ । र फेरि न्यायको आशा गर्नु ? मन सम्हाल्छु अनि आफ्नै परिचय स्थापित हुन्छ– गोरु मारेर गाई नार्ने विचित्र मुलुकको वासिन्दा हुँ नि म त । न्याय भनेको सत्य हो र सत्य भनेकै न्याय हो । सत्य स्थापित गर्नलाई सत्य–मन चाहिन्छ, न्याय स्थापित गर्नलाई न्यायिक मन चाहिन्छ अनि यी सबै गर्नलाई महान् योग्यता चाहिन्छ । औँठाछापे शासकका जुत्ताको तलुवा चाटेर र लाजढाके भित्री वस्त्र पखालिदिएर इनाममा पाएको पदको गरिमा जोगाउन सक्छन् र यी मुर्कट्टाहरु तैँले न्यायको आशा गर्छस् ? मन झोकिन्छ विवेकसँग अनि फेरि फलाक्दै जान्छ– हत्याराले हत्यारालाई जोगाउँछ र अपराधीले अपराधीलाई ।

उग्र सुरापानले मुटु फाटेर आफ्नो पुत्रको नरकारोहण हुँदा चेत गुमाएका आमाहरु अर्की आमाले आफ्नो निर्दोष पुत्रको हत्यामा न्यायको याचिका गर्दा मौन बस्ने देशमा न्यायको आशा गर्छस् ? सबैभन्दा खराब मानिसहरु सबैभन्दा अघिल्लो सिटमा बसेर बलात्कृत छोरीहरुको हत्याको नाटक हेर्ने मुलुक हो यो अनि न्यायको आशा गर्छस् ? आफ्नो विवेक आफैतिर फर्केर फेरि प्रश्न गर्छ – रातिमा आफै बत्ती निभाएर अँध्यारोलाई सराप्ने तँ पनि होइनस् र साला अनि न्यायको आशा गर्छस् ?

एउटा यात्रा–पथमा म आफैसँग नाजवाफ हुन्छु । मन गह्रुङ्गो भएर थाक्छ र निद्राको मुन्टेसोमा थकाई विश्राम चाहन्छ । पारि–पारि डाँडाबाट पृथ्वीमा ओर्लन सन्ध्याले पयर उचालेको देख्छु तर गन्तव्यको दूरताले भने मलाई अझै गिज्याइरहेकै हुन्छ ।

नवीन आहात
(लेखक अधिवक्तासमेत हुन् । )

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …