तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

रासस

जनकपुरधाम । नेपाल रेल्वे कम्पनीले भारतको जयनगरदेखि धनुषाको कुर्था रेलमार्गमा सञ्चालन हुँदै आएको रेलको ‘वासिङ’ गराउन मात्र वार्षिक पाँच करोड रुपियाँभन्दा बढी रकम खर्च गर्दै आएको छ ।

कम्पनीको आफ्नै वासिङ सेन्टर नहुँदा भारतमा रेलको वासिङ गराउनुपर्ने बाध्यता छ ।  जयनगर–कुर्था रेलमार्गमा गत २०७८ चैत १९ गतेदेखि नियमित रेल सेवा सञ्चालन हुँदै आएको छ ।

“नियमित रेल सेवा सञ्चालन हुँदै आए पनि आफ्नो वासिङ सेन्टर र फ्युल सेन्टर नहुँदा भारतमा रेलको वासिङ गराउनुपर्ने अवस्था छ”, नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जनकुमार झाले भन्नुभयो,‘‘ यसका कारण हामीले वासिङमा मात्र बर्सेनि पाँच करोड रुपियाँ खर्चिदै आएका छौँ ।” भारतमा फ्युल भराउँदा २८ प्रतिशत कर तिर्नुपर्ने अवस्था छ, यसबाट हामी बर्सेनि ठूलो रकम खर्चिन बाध्य छौँ उहाँको भनाइ छ ।

“नेपाल रेल्वे कम्पनीले आफ्नो वासिङ सेन्टर र फ्युल सेन्टर स्थापना गर्न सकिए वार्षिक करिब रु. सात करोडभन्दा बढी रकम बचत हुन सक्छ”, उहाँले भन्नुभयो, “यसका लागि बजेट चाहिन्छ, हामीले सरकारसँग बजेट माग्दै आएका छौं तर अहिलेसम्म बजेट पाउन सकेका छैनौँ ।” बजेटका लागि आश्वसनबाहेक अहिलेसम्म बजेट पाउन नसकेको उहाँको गुनासो छ ।

नेपाली रेल सञ्चालन गर्न नेपाली जनशक्ति नहुँदा अहिले भारतीय जनशक्तिबाट रेल सञ्चालन हुँदै आएको छ । “नेपाल रेल्वे कम्पनीमा २६ जना भारतीय कर्मचारी कार्यरत छन्”, महाप्रबन्धक झाले भन्नुभयो, “भारतीय कर्मचारीको तलब, रेलको मेन्टीनेन्स, सामान खरिदलगायतमा वार्षिक रु. ४८ करोड भारतीय रेल्वे कम्पनीलाई तिर्नुपर्ने अवस्था छ ।”

हामीसँग आफ्नो नेपाली चालक छैन, त्यसैलै भारतीय चालकले नै रेल चलाउँदै आएको छ त्यसबापत उहाँहरुलाई तलबबापत मात्रै मासिक रु. १८ लाख तिर्नुपर्ने स्थिति रहेको उहाँको भनाइ छ । “तत्काल नेपाली दक्ष कर्मचारी उत्पादन  गर्न सम्भव देखिँदैन”, उहाँले भन्नुभयो, “नेपाली जनशक्ति तयार गर्न भारत वा अन्य देशका इन्स्टिच्युटबाट तालिम दिलाउनुपर्छ, त्यसका लागि ठूलो रकम चाहिन्छ ।” 

जयनगरबाट कुर्था र कुर्थाबाट जयनगर दिनमा दुई पटक आउने जाने गर्दै आएको रेलबाट दैनिक रु. दुई लाख पाँच हजार आम्दानी हुँदै आएको नेपाल रेल्वे कम्पनीले जनाएको छ । रेलबाट वार्षिक रु. आठ करोड आम्दानी हुँदा खर्च भने रु ५० करोड जति हुँदै आएको महाप्रबन्धक झाले बताउनुभयो ।  

अहिले नेपाल सरकारले भारतीय रेल्वे कम्पनी कर्पोरेशन (कोङ्कण) लाई वार्षिक रु. ४८ करोड तिर्नुपर्ने सम्झौता भएको महाप्रबन्धक झाको भनाइ छ । रेल सञ्चालन भएदेखि रेल घाटा नगए पनि सम्झौताअनुसार भारतीय रेल्वे कम्पनीलाई रु. ४८ करोड तिर्नुपर्ने भएकाले समस्यामा परेको महाप्रबन्धक झाले बताउनुभयो ।

गत २०७८ चैत १९ गते प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँका भारतीय समकक्षीले हरियो झण्डा देखाएर जयनगर–कुर्था रेल मार्गमा रेल सेवाको शुभारम्भ गर्नुभएको थियो । त्यसयता दैनिक निर्धारित समय तालिकाअनुसार नै नियमित रेल चल्दै आएको कम्पनीका इञ्जिनियर विनोद ओझाले जानकारी दिनुभयो । 

उहाँका अनुसार जयनगरबाट ८ः३० र ३ बजे छुट्ने गर्छ भने कुर्थाबाट १०ः३० र ५ः१५ मा अर्को रेल छुट्ने गरेको छ । रेल चल्न थालेसँगै यहाँको पर्यटन, धार्मिक क्षेत्रको विकास र स्थानीय उत्पादनको निर्यात बढेको जनकपुरधामका व्यापारी रोशन साहको भनाइ छ । रेल रोकेर यात्रु चढाउन र झार्नका लागि सात ठाउँमा स्टेशन÷हल्ट रहेका छन् । तीनमा कुर्था, परवाहा, बैदेही, महिनाथपुर, खजुरी, इनर्वा र जयनगर छन् । 

भारतको सरकारी कम्पनीमार्फत रेल सेट खरिद गरेर करिब तीन वर्षअघि नेपाल आइपुगे पनि विभिन्न समस्याका कारण सञ्चालन हुनसकेको थिएन । कहिले कर्मचारी नहुने त कहिले कानुनको अभावले गर्दा लामो समय रेल सेट उतै थन्किएको थियो । अहिले दुवै सेट रेल सञ्चालनमा छ । 

कुर्थाबाट जयनगर वा जयनगरबाट कुर्था ३५ किमीका लागि सामान्य सिटमा रु. ९० भाडादर तोकिएको छ । 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …