तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

विद्युतीय प्रणालीमा सही तथ्यांक राख्न २०७७ मै निर्णय भए पनि विवरण ढड्डामै

रेकर्ड आधारमा प्रमाणीकरण गर्नुपर्ने ‘क्यूआर कोड’ समेत फोटो, नागरिकताको फोटोकपी, खोपको ब्याच र मितिका भरमा

काठमाडौँ ।रुकुमकी सावित्री र मोहन केसी दम्पतीले वीरेन्द्र सैनिक अस्पताल छाउनीमा २०७८ वैशाख १२ र असार १७ मा कोभिसिल्डको दुवै डोज लगाए । महत्त्वपूर्ण कामका लागि खोप कार्ड चाहिने भयो तर कार्ड कतै फेला परेन । प्रतिलिपि बनाउन छाउनी पुगे । त्यहाँबाट स्वास्थ्य कार्यालय काठमाडौं पठाइयो । तर, टेकुस्थित कार्यालयको ढड्डामा रेकर्ड भेटिएन । सावित्रीलाई अतिरिक्त खोप लगाउन र सिलाइसम्बन्धी तालिमको परीक्षामा सहभागी हुन तथा मोहनलाई दुबई जानका लागि कार्ड चाहिएको थियो ।

बर्दियाका राजु चौधरीले वीर अस्पतालमा २०७७ चैत ३१ मा भेरोसेलको पहिलो र २०७८ जेठ ७ गते शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दोस्रो डोज लगाए । कोठा सर्ने क्रममा उनको पनि कार्ड हरायो । स्वास्थ्य कार्यालय काठमाडौंमा दुई दिन लगाएर खोजे तर रेकर्डमा नभेटिएपछि निराश भएर फर्किए ।

गोंगबुका हरि प्याकुरेलले पहिलो डोज स्थानीय विद्यालय र दोस्रो चाबहिलको ओम अस्पतालमा लगाए । बुस्टर लगाउने बेला उनले कार्ड फेला पार्न सकेनन् र स्वास्थ्य कार्यालय काठमाडौं पुगे । फाइल व्यवस्थित नराखेका कारण खोज्न निकै सास्ती भोग्नुपरेको उनले सुनाए ।

सरकारी अव्यवस्थाका कारण सर्वसाधारणले कसरी सास्ती भोगिरहेका छन् भन्ने यी प्रतिनिधि उदाहरण हुन् । त्यसो त खोप लगाएपछि प्रमाणका लागि प्राप्त हुने कार्ड जतन गरेर राख्न नसक्नु सर्वसाधारणको पनि कमजोरी हो । तर, हराइसकेको कार्डको प्रतिलिपि बनाउने क्रममा रेकर्ड खोज्नकै लागि ढड्डा पल्टाउनुपर्दा धेरैले दुःख पाएका छन् । रेकर्ड नै दुरुस्त नहुँदा खोप खपतदेखि वितरण र कोभिड–१९ सम्बन्धित सही तथ्यांकमै समस्या देखिएको छ । स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार कार्ड हराएको विषयलाई लिएर दैनिक २०/२५ जना आउने गर्छन् । खोजिदिनुपर्‍यो भनेर फोनसमेत आउने गरेको छ । कार्यालय प्रमुख शम्भु काफ्ले भन्छन्, ‘तर, हामीसँग भएको रजिस्टरमा धेरैको नामै भेटिएको छैन ।’

सर्वसाधारणले लगाएको खोपको विवरण अहिले न जिल्लास्थित स्वास्थ्य कार्यालयले व्यवस्थित राखेका छन्, न त सम्बन्धित अस्पताल र स्थानीय तहले नै । स्वास्थ्य मन्त्रालयले २०७७ माघ ८ मै खोप लगाउनेहरूको सूची विद्युतीय प्रणालीमा तयार गर्नेबारे सूचना जारी गरेको थियो । सुरुमा खोप केन्द्रले कम्प्युटरमा नाम दर्ता पनि गराए । त्यतिबेला अत्यधिक भीडभाड र तीव्र गतिमा खोप लगाउनुपर्ने भएकाले विद्युतीय प्रणालीमा जान नसकेको मन्त्रालयकै उच्च अधिकारीको भनाइ छ । अहिले चाप कम भएका बेला पनि रेकर्ड विद्युतीय प्रणालीमा राख्न चासो देखाइएको छैन ।

सही तथ्यांक नहुँदा राज्यलाई तत्कालभन्दा पनि दीर्घकालीन असर पर्ने स्वास्थ्यविद् तथा तथ्यांकविद्हरू बताउँछन् । खोप लगाएको व्यक्तिगत विवरण नहुँदा क्षतिपूर्ति दाबी गर्न, कोभिडबाट मृत्यु भएकाको परिवारलाई राज्यले दिने सेवासुविधा, विदेश यात्रामा समस्या पर्ने देखिएको छ । यसले खोप कार्डको व्यापार मौलाउने, बुस्टरजस्तै अन्य चौथो/पाँचौं डोज लगाउन चलखेल हुने जस्ता समस्या देखिएको छ । अहिले रेकर्ड व्यवस्थित नहुँदा क्यूआर कोड प्रमाणीकरणमा पनि समस्या देखिसकेको छ ।

पालिकाहरूले खोप लगाएको विवरणका आधारमा प्रमाणीकरण गर्नुपर्ने क्यूआर कोड फोटो, नागरिकताको फोटोकपी, खोपको ब्याच, मितिको भरमा गरिरहेका छन् ।

जसका कारण खोप नलगाएका वा विदेश जान तत्काल क्यूआर बनाउनुपर्नेले सहजै नक्कल बनाउन सक्ने देखिन्छ । यसले बिचौलियाहरू मौलाउने अर्को खतरा देखिएको विज्ञ बताउँछन् । ‘मेडिकल साइन्समा तथ्यांकको छुट्टै महत्त्व हुन्छ । कुन खोप लगाएकामा कस्तो असर पर्‍यो, खोप लगाएकामध्ये कतिको मृत्यु भयो भनेर अध्ययन गर्न तथ्यांक आवश्यक पर्छ,’ स्वास्थ्य विज्ञ ढुण्डीराज पौडेल भन्छन्, ‘तथ्यांक राख्न नसक्दा भविष्यमा मेडिकल फिल्डमा पछुतो मान्नुपर्ने अवस्था आउँछ ।’

भविष्यमा कोभिडका कारण उत्पन्न हुन सक्ने रोगको उपचार गर्न पनि खोपको यकिन विवरण आवश्यक पर्न सक्ने भएकाले तत्काल व्यवस्थित गर्न उनले आग्रह गरे । तथ्यांकविद् योगेन्द्र गुरुङले तथ्यांक भएमा भविष्यमा कोभिडको रोकथाम र सही समयमा प्रभावकारी बजेट, नीति तथा कार्यक्रम तर्जुमा गर्न मद्दत पुग्ने बताए । ‘संघीयता अनुकूल ऐन–कानुन बनाउन पनि सहयोग पुग्छ,’ उनले भने । जिल्लास्थित स्वास्थ्य कार्यालय र स्थानीय तह भने जनशक्ति अभावका कारण रेकर्ड विद्युतीय प्रणालीमा राख्न नसकेको दाबी गर्छन् । काठमाडौं प्रमुख काफ्लले सम्पूर्ण तथ्यांक कम्प्युटरमा राख्न जनशक्ति मात्र नभई उपकरण, इन्टरनेटको सुविधा हुनुपर्ने बताए । ललितपुर प्रमुख सतिश विष्ट भने ललितपुरको दक्षिणी दुर्गम पहाडी भेगमा तत्कालका लागि यो सम्भव नभएको बताउँछन् । ‘सहरी क्षेत्रमै पनि गाह्रो छ,’ उनले भने ।

ललितपुर महानगरपालिका स्वास्थ्य शाखा प्रमुख सरिता महर्जनका अनुसार खोप लगाएकाहरूको विवरण २९ वटा वडामै राखिएको छ । ‘रेकर्डमा हेरेर क्यूआर कोड प्रमाणीकरण गर्न भने अहिले सम्भव छैन,’ उनले भनिन् । सरकारले माघ ७ देखि सार्वजनिक सेवाका लागि खोप कार्ड अनिवार्य गरेको छ । कार्ड नभएर हवाई यात्रामा समेत रोक लगाएका कारण कतिपयको टिकट रद्द भएको गुनासो आउने गरेको काठमाडौं प्रमुख काफ्ले बताउँछन् । ‘मिसप्लेस’ भएका कारण कार्डको रेकर्ड नभेटिएको हुन सक्ने कार्यालय प्रमुखहरूको भनाइ छ ।

मन्त्रालयकी प्रवक्ता डा. संगीता कौशल मिश्राले रेकर्ड नभेटिएको विषयमा सम्बन्धित निकायका प्रमुखसँग बुझ्ने बताइन् । सरकारले बुस्टर डोज लगाउन अनलाइन फाराम अनिवार्य भर्नुपर्ने व्यवस्था गरेको छ । मन्त्रालयका अनुसार शुक्रबारसम्म पहिलो डोज एक करोड ८१ लाख १९ हजार ८ सय ६१, दोस्रो एक करोड ६१ लाख ५९ हजार ५ सय ७८ र अतिरिक्त खोप ६ लाख ९१ हजार ४ सय २७ जनाले लगाइसकेका छन् । हालसम्म ४ करोड ६५ लाख ७० हजार ७ सय २० डोज खोप प्राप्त भइसकेको छ ।

यस्तै, सरकारले रेकर्डमा नरहेको २४ लाख डोज खोप खोजी गर्न छानबिन समितिसमेत बनाएको थियो । दुई साता बित्न लागे पनि प्रतिवेदन सार्वजनिक भएको छैन । मन्त्रालयले खोप हराएको विषयमा माघ १६ मा प्रमुख विशेषज्ञ डा. गुणराज लोहनीको संयोजकत्वमा ५ सदस्यीय समिति बनाएको थियो ।कान्तिपुर दैनिकमा खबर छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …