तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

पारिवारिक तथा व्यबहारिक कारणले २०७८ माघ २२ गते, शनिबार अनायास तय गर्नु प-यो काठमाडौं तर्फको यात्रा। २१ गते बेलुकी पख जीवन संगिनी कुमारीजीले फोन गर्नु भएपछि तय भएको थियो यो यात्राको कार्य तालिका। न पुर्व निर्धारित थियो यो यात्रा, न पार्टीको काम विशेषले जानै पर्ने बाध्यता। थियो केवल पारिवारिक काम र कानुनी परिपालनको जटिलता। दोर्पा घरकी ८५ वर्षिय वृद्ध आमा, न भाइबुहारी, न परिवारका अन्य सदस्य वा पार्टी नेतृत्व कसैसँग सल्लाह थिएन काठमाडौ जाने ।

मेरो केही दिन यतै बसेर नेपाली काङ्ग्रेसमा लामो योगदान पु-याउनु भएको काका गजाधर आचार्यको कान्छो छोरा नेविसंघ खोटाङका जिल्ला सदस्य प्रिय भाइ प्रतीक आचार्यको २३ माघमा सम्पन्न हुने विवाहमा जन्ती जानु थियो। यस्तो महत्त्वपूर्ण र विवाह बन्धनमा बाँधिने जोडिका लागि ऐतिहासिक दिनमा मेरो अनुपस्थितले प्रतिकको मनमा उठ्न सक्ने आक्रोशित ज्वालामुखी र उनको म प्रति जीवनभर उठ्ने भरोसामा विश्वस्त पार्न सक्ने कुनै अचुक रामवाण छैन मसँग ।

तथापि ढुङ्गा माथी मुटु राखेर हाँस्नुको छैन विकल्प म सँग। मानिसको सबैभन्दा ठूलो बाध्यता नै रहेछ भन्ने बुझ्नु हुनेछ बेहुलो प्रतीक र कान्छा देवरको विवाहमा आमन्त्रण गर्नुहुने नेपाल कर्मचारी युनियनका केन्द्रीय महाधिवेशन प्रतिनिधि इरन राईले। यहाँहरुले अत्यन्तै महत्त्व र सम्मान पूर्वक गर्नु भएको निम्तो र दोर्पाली गाउँले भएको नाताले मैले उपस्थित भई आमन्त्रित अतिथिलाई सत्कार गरेर मेरो कर्तव्य पूरा गर्न नसकेकोमा आत्मालोचित पनि छु दुबै निम्तालु प्रति। यही आलेख मार्फत हार्दिक बधाई तथा शुभकामना ।

जिल्ला पार्टी सभापति विष्णु दाइसँग कुरा गरेर काउण्टरमा अमिरजीलाई फोन गरें टिकटको लागी। पार्टीका शुभेच्छुक / शुभचिन्तक अन्य कुनै साथीलाई पनि फोन गर्ने अवस्था भएन। कसैसँग विदा नभई आकस्मिक रुपमा हिंड्नु परेकोमा समेत आत्मालोचित छु ।

लामो दूरीको यात्रामा सार्वजनिक यातायातबाट हिँड्दा प्रायः बसको यात्रामा रमाउने गर्छु म। फराकिलो सिट र सुरक्षित यात्राको आत्मा विश्वास छ मलाई । विहान ५.०० बजे दिक्तेल बजार स्थित रत्नपार्क पुगें जहाँबाट दिवा तथा रात्री बसहरु छुट्ने गर्दछन् ।

यो वर्ष माघ महिनामा धेरै ठंडी भयो। रातभरि माघे झरी परेकाले आजको कठ्याङ्ग्रिदो चिसोले मन मुटु नै हलचल बनायो। समिरजीले विहान ५.१० मा बस छुट्ने समय दिनु भएतापनि ५.५० मा मात्रै गाडी अघि बढ्यो। हुन त आज भने अत्याधिक चिसोले यात्रु आउन समय लाग्यो तर समयलाई ध्यान नदिने र ढिला सुस्ती गर्ने पद्धति पुरानै हो यो । घण्टौँ कुर्नुपर्छ यहाँ तर आज भने ४० मिनेट मात्रै कुर्नु परेकाले मैले भाग्यमानी ठानेँ आफुलाई ।

सँगै सिटमा हुनुहुन्थ्यो खार्पा रुभुङ्का पुष्पराज राई । मेरो मावली गाउँ पनि रुभुङ नै हो। उहाँ साइनोले मेरो मामा पेशाले शिक्षक। मामालाई स्पष्ट बक्ता र बौद्धिक व्यक्तित्वको धनी भनेर जिन्छ समाजले। धेरै पछि भेटघाट भएकोले घरायसी र पारिवारिक गन्थन ग-यौँ हामीले। जब गाडी अघि बढ्छ सडक, बारीको टार र घरको छानाभरि सेताम्ये हिउँ।

जति जति गाडी अघि बढ्छ सुस्त सुस्त उज्यालोको किरण भूईं तिर छरिँदै गर्दा टहटह मोती टल्किएको अनुभुती हुन्थ्यो त्यहाँ। हुर्लुङमा थियो काठमाडौ र तराईतर्फ जाने गाडीको ताँती। सिमसिम पानी परिहेको थियो तर मानिसहरु गाडीबाट उत्रिएर हिउँसँग झुलिरहेका- खेलिरहेका देखिन्थे विहानै। हामी पनि के कम हिउँमा खेलेर आनन्दानुभुति लियौँ मामा – भान्जाले। मोबाइलको सदुपयोग गर्दै कैद ग-यौँ तस्बिर पनि। नुनथलामा उत्रिएर कार्यक्षेत्र तर्फ जानूभयो मामा पुष्पराज। डाँडा, पाखा, घरको छाना, रुख विरुवा चारैतिर सेताम्ये देखिन्थ्यो हिउँ ।

विहान झुल्किएको घामका किरण सेताम्ये हिमालमा ठोक्किएको मनमोहक दृष्यको सकिंदै- सकिंदैन वर्णन गर्न । आहा… ! ! क्या आनन्दानुभूति छ स्वर्ग समान। गाडी गति बढेसँगै हामी पुग्यौं त्रिधार्मिक स्थल हलेसीधाम। म एक्लै बसेको थिएँ ढोका नजिकैको सिटमा। माथिल्लो अर्को सिटमा २०/२२ वर्षकी अवला युवती। मस्त जवानीले भरिएकी। निश्चल तथा भद्र स्वभावकी थिइन टक्क हेर्दा। हलेसीबाट एक पट्ठो नौजवान चढ्यो हाम्रो गाडीमा ।

चारैतिर टक्क नजर दौडायो र बस्यो एक्लै बसेकी नौजवान युवती कै सीटमा। लरक्क परेको ठिटोको बाहिरी रुप धेरै खुलेको। लोभलाग्दो जवानी र आकर्षक भएर होला स्वभाव घमण्डी र मैमत्ता हात्ती झैँ चढेको। विहानीपख खालि पेट भएको कारण प्रायः यात्रु गाडीको नसाले मातेर लखतरान परेका देखिन्थे। घुमाउरो पहाडी बाटोमा प्रशस्तै चक्कर र थकान हुन्छ नै। तर के गर्ने अवस्था र परिस्थितिले गन्तव्य तर्फ अघि बढाउँछ नै समयमा ।

सिटमा सँगै बसेकी निश्चल र अवला महिलातर्फ कुदृष्टी लगाउँदै त्यो पट्ठो युवाले संवेदनशील अंगतर्फ हात बढाउन र ती सिधा साधा युवतीलाई दुःख दिन थाल्यो। ती एक्ली महिला पटकपटक प्रतिवाद गरिरहेकी थिईन। तर एक्लै भएको फाइदा उठाउँदै जुन हर्कत देखाई रहेको थियो त्यो एक भोलाभाला महिलाको अस्तित्व र अस्मिता माथि ठाडो हमला। म नजिकबाट नियाली रहेको छु ती एउटी गाउँले सिधा सोझी महिलाको पीडा र अपमानलाई। मेरो मनमा आगोको ज्वाला बलि सक्यो रिस र आक्रोशले। उनले महिला भएर जन्मनु नै अपराध हो ?

वा एक्लै सार्वजनिक यातायातमा यात्रा गर्नु ? कि उनको सुन्दरता र भरिएको जवानी हो अपराध ? हुनत ३ वर्षे वालिकादेखि ७० वर्षिय हजुरआमाको उमेर पुगेका पुज्य नारी माथि भएको बलात्कारका घटना संचार माध्यायमबाट बेलाबेला सुन्ने गरिएको छ। यी कुकृत्यपूर्ण दानवी अपराधका अगाडि यी यस्ता घटना सामान्य लाग्छन् तर सार्वजनिक यातायातमा दिनदहाडै महिला माथि हुने यस्तो अपमान समग्र नारी जाति माथिको आक्रमण हो ।

हाम्रो संस्कार, संस्कृति र धर्मले पनि परस्त्रीलाई आमा समान मानेको छ। अप्ठ्यारो , दुःख र पीडामा परेकालाई सहारा दिनु हामी मानव जातिको कर्तव्य हुन आउँछ। त्यहीँ माथि एउटी अन्याय र अपमान बेहोरि रहेकी महिलालाई सहयोग गर्नु हामी सामाजिक मानिसको अझै बढी दायित्व पनि हो ।

गाडीको गति जति बढ्दै जान्छ उनको हर्कत र चकचकी त्यति नै बढि रहेको देख्छु। ती युवकको वाहिरी आवरण जति सुन्दर र आकर्षक भएपनि भित्री स्वरूप दानवरुपि महिला हिंसक पतित रहेछ। मैले त्यो हर्कत र दुर्व्यबहारलाई सहन गर्न सकि रहेको थिईन । म चाहन्थे ती पीडित महिला चिच्याउन र गाडी रोक्न लगाएर चप्पलै चप्पलले हिर्काउन त्यो अपराधीलाई। म त कुट्थें- कुट्थेँ सँगैमा थियो अपराधीलाई प्रहरीको जिम्मा लगाउँने सोच ।

विचरा उनी भद्र तरिकाले प्रतिबाद गर्दै थिईन तर एक्लै भएको थहा पाएर जबर्जस्ती गरिरहेको थियो अपराधीले उसको हरकत नरोकिने देखेर मैले चालकलाई रोक्न लगाएँ गाडी। गुरुजीले गाडी रोकाउनुको कारण सोद्धन पाउँदा नपाउँदै जुरुक्क उठेर महिला हिंस्रक युवाको गालामा घुमाएर हिर्काएँ थप्पड। गाडी भित्रका सबै यात्रु छक्क परे आक्रोसित मुद्राको मेरो बाघे झप्पु देखेर ।

महिला हिंसा र दुर्व्यवहारमा लिप्त त्यो लम्पट पुरुषले मसँग प्रतिवाद गर्ने नैतिकता थिएन। उनीसँग थियो केवल आत्माग्लानी र लज्जाबोध मात्रै। तथापि उसले पानी माथिको ओभानो हुने दुस्साहस गर्न खोज्यो तर पीडित महिलाले घुमाएर गालामा दिएको थप्पडबाट छताछुल्ल भयो उसको अपराध। मेरो साथ र सहयोगबाट। ती पीडित महिलामा एक प्रकारको साहस र हिम्मत आयो र गरिन् चर्को प्रतिवाद। खोलिन् चप्पल र हानिन् थोपडामा धेरै पटक ।

लाजले पानी पानी भयो कुलंघार केटो। न अपराधीको कुनै रुप रंगबाट पहिचान हुन्छ उसको कर्तुत न उसको बोली बचनबाट। न दस महिनासम्म पेटमा राखेर पीडा भोग्ने आमालाई शान्ति दियो अपराधीले न कर्म दिने बाबुलाई। न दियो नातागोता ,आफन्त र साथीभाइलाई सन्तुष्टि रतिभरक उच्छृङ्खलताले कुलवंशको समेत काटिदियो नाक। चालक, सह चालक र टिकट काउण्टरका साथीहरूलाई के थहा आफैंले सेवा गरिरहेको पवित्र संस्थामा सवार हुने अपराधीको कर्तुत ।

अझ लाखौं लगानी गरेर जनताको सेवा गरिरहेका गाडी
मालिकले अपराधीको सुईंको पाउने कुरै भएन। महिला माथि सार्वजनिक वा अन्य स्थानमा हुने ज्यादतिको स्वयं आफैंले वा देख्ने मानिसले प्रतिवाद गरेर निरपराध , अबोध र सरल सिधा महिलालाई सहायता गर्नु हामी जोकोहीको दायित्व र कर्तव्य हो। मैले यही दायित्व निर्वाह गरें आजको यात्रामा। सबार यात्रुले उक्त अपराधीलाई प्रहरीमा बुझाउन खोज्दा अपराधीको पटकपटकको अनुनय विनयबाट प्रभावित हुँदै कोमल हृदयकी धनी पीडित महिलाले क्षमादान गर्नुभयो ।

क्षमादान आफैँमा ठूलो दान हो तर यस्तो दानले अपराधीको मनोबल बढ्न सक्ने कुरामा सबैको पुग्नै पर्छ ध्यान। जेहोस् अपराधीले गल्ती स्वीकार गरेपछि स्वयं पीडितले नै क्षमादान गर्नुभयो। आजको सडक यात्रा सुरक्षित भएपनि अझै पनि महिला हिंसा नियन्त्रण हुन समय लाग्ने अनुभुति गरायो। विभिन्न प्रकृतिका महिला हिंसा सम्बन्धि समाचार सुनिन्थ्यो / पढिन्थ्यो तर आज प्रत्यक्षदर्शी भैयो। यो मानेमा आजको यात्रा पीडादायी र असफल रह्यो ।

(लेखक तीर्थराज भाट्टराई उपसभापति नेपाली कांग्रेस खोटाङ)

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …