तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

दमौली। बन्दीपुर गाउँपालिका–२ स्थित थानीमाई मन्दिरबाट शुरु भई मुकुन्देश्वरी डाँडासम्म निर्माण गरिएको करीब चार किलोमिटर मिनीग्रेटवालको प्रवद्र्धनमा गाउँपालिका लागिपरेको छ ।

प्राकृतिक दृश्य अवलोकन र सुन्दरताका कारण ‘पहाडकी रानी’ उपनामले प्रसिद्ध कमाएको बन्दीपुरमा निर्माण गरिएको ‘मिनीग्रेटवाल’ को प्रचारप्रसार र प्रवद्र्धनमा गाउँपालिका अग्रसर भएको हो ।

चीनको जस्तै झझल्को दिने गरी निर्माण गरिएको मिनिग्रेटवालको प्रचारप्रसार र प्रवद्र्धनका लागि सोही ठाउँमा गाउँपालिकाको कार्यपालिकाको बैठक नै आयोजना गरेको छ । मिनीग्रेटवालको प्रचारप्रसार र प्रवद्र्धन गर्दै बढीभन्दा बढी पर्यटक भित्र्याउने उद्देश्यले कार्यालयभन्दा बाहिर बैठक बसेको गाउँपालिकाका उपाध्यक्ष करुणा गुरुङले जानकारी दिनुभयो । “यस्ता कार्यले यस ठाउँको प्रचारप्रसारमा सहयोग पुग्ने विश्वास लिएका छौं”, उहाँले भन्नुभयो, “गाउँपालिकाले नयाँ–नयाँ गन्तव्य बनाउने उद्देश्य सहित यसमा लगानी गरेको छ ।”

चालु आर्थिक वर्षको बजेटमा मिनीग्रेटवालका लागि रु डेढ करोड बजेट विनियोजन गरेको छ । गत वर्षदेखि निर्माण शुरु भएको मिनीग्रेटवालको निर्माण नसकिँदै यो पर्यटकको रोजाइमा पर्न थालेको छ । बन्दीपुर घुम्न आएका सबैजसोले उक्त ठाउँको बारेमा चासो लिने गरेका छन् । “बन्दीपुरमा नयाँ–नयाँ पूर्वाधार थप गर्ने उद्देश्य बमोजिम मिनीग्रेटवाल निर्माण थालेका हौं, यसको निर्माणका लागि सङ्घीय सरकारले पनि यो वर्ष सहयोग गरेको छ,” उपाध्यक्ष गुरुङले भन्नुभयो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट बजेट विनियोजन भएपछि कामलाई अगाडी बढाउन सहज भएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बताउनुभयो । उहाँका अनुसार गत वर्ष एक हजार एक सय मिटर पदमार्ग निर्माण सम्पन्न भएको छ भने चालु आर्थिक वर्षमा पनि ३५ मिटर पदमार्ग निर्माण सम्पन्न भइसकेको छ । गाउँपालिकाले मिनीग्रेटवालको थप काम गर्नका लागि रु पाँच करोडको टेण्डर गरिसकेको छ । कूल साढे दुई किलोमिटर दूरी रहने मिनीग्रेटवालसँगै यहाँ थप पूर्वाधार निर्माण गर्ने योजना छ ।

गुरुयोजना अनुसारका पूर्वाधार निर्माणका लागि रु १९ करोड लागत इष्टमेट गरिएको छ । यहाँ थानीमाई मन्दिर, उद्यान, सेल्फी उद्यान, प्याराग्लाइडिङ गर्ने ठाउँ, ९ मिटर अग्लो बन्दीपुर लेखिएको स्तम्भ, घोडा शयर, पुष्पलाल स्मृति पार्क, मुकुन्देश्वरी पार्क लगायतका संरचना निर्माण गर्ने योजना छ ।

विश्वकै प्रसिद्ध ग्रेटवालको झल्को दिने गरी निर्माण गरिएको पदमार्ग पर्खालले यहाँको पर्यटन विकासमा टेवा पुग्ने विश्वास गरिएको छ । मुकुन्देश्वरी डाँडा तत्कालिन राजा मुकुन्द सेनले शासन गरेको ठाउँ हो । उक्त पदमार्गलाई पनि ‘मुकुन्देश्वरी पर्खाल’ को नामाकरण गरिएको छ । पदमार्ग पर्खाल तीन मिटर फराकिलो रहनेछ । बन्दीपुरमा वार्षिक रु एक लाखभन्दा बढी पर्यटक भ्रमणका लागि पुग्ने गरेका छन् ।

गाउँपालिकाले टुँडिखेलमा सिसाको भ्युटावर निर्माणका लागि पनि रु एक करोड ५० लाख बजेट विनियोजन गरेको छ । जमिनको सतहबाट पाँच फिट अग्लो टावर निर्माण गरेर दृश्यावलोकनको केन्द्र निर्माण गर्ने लक्ष्य राखिएको छ । उक्त केन्द्रबाट एकपटकमा १५ जनाले अवलोकन गर्न मिल्नेछ । सिसाको दृश्यावलोकन केन्द्र निर्माणका लागि करिब रु तीन करोडभन्दा बढी रकम आवश्यक पर्ने देखिएको छ । टेण्डर निकाल्नका लागि बजेटको स्रोत सुनिश्चित हुनुपर्ने भएकाले स्रोत जुटाएर मात्रै टेण्डर निकाल्न खोजिएको अध्यक्ष थापाको भनाइ छ । “यो योजनाको बारेमा केही प्राविधिक समस्या थियो, त्यो हल भएको छ, विज्ञ समूह गठन गरेर यसको थालनी गर्ने सोच बनाएका छौ,” उहाँले भन्नुभयो । रासस

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …