तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

संविधानको धारा १२ मा आमाको नामबाट नागरिकता लिन पाउने स्पष्ट व्यवस्था छ । संविधान जारी भएको छ वर्ष पुग्न लाग्दासमेत गोकर्णेश्वर नगरपालिका–५ निवासी यवेश अधिकारीले पटकपटक प्रयास गर्दा पनि अहिलेसम्म आमाको नामबाट नागरिकताको प्रमाणपत्र पाउनुभएको छैन ।

महिला, कानून र विकास मञ्चले आज जुम प्रविधिबाट आयोजना गरेको सञ्चारकर्मीसँगको अन्तक्र्रिया कार्यक्रममा उहाँले यस्तो गुनासो गर्नुभएको हो । आमाको नामबाट नागरिकता नपाउने यवेश एक्ला भने हुनुहुन्न । सर्लाहीकी अञ्जली साहलाई छ महिना नपुग्दै बाबुले छोडेकाले अहिले आमाको नामबाट नागरिकता लिन पटकपटक प्रयास गर्दापनि असफल हुँदै आएको उहाँले बताउनुभयो ।

नागरिकता नभएकै कारण साहले विदेश गएर पढ्ने अवसरसमेत गुमाउनुभयो । नागरिकताकै कारण रुचि नभएको विषय पढ्नु परेको र काम गर्नसमेत नपाएको उहाँको गुनासो थियो । आमाको वंशजको नागरिकता भए पनि बागलुङ निवासी अञ्जलीलाई भनै नागरिकताकै लागि भौँतारिरहनुपरेको छ ।

भरतपुर महानगरपालिका–१ निवासी विकास नेपालीले पनि आमाका नामबाट नागरिकता लिन सक्नुभएन । अहिले आमा बितेपछि दलालले आमाको नामको जग्गासमेत हडपेका छन् ।  “विद्यालय र क्याम्पसमा अध्ययनका क्रममा प्रथम भएको थिएँ, दोस्रो हुने साथीले बैंकमा प्रबन्धकको जागीर खाएका छन्, म नागरिकता नभएकैले अलपत्र छु, आमाले जोडेको सम्पतिमा समेत अरुले अधिकार जमाउन खोजेका छन्”–उहाँले भन्नुभयो ।
काठमाडौँ महानगरपालिका निवासी सरिता (नाम परिवर्तन) आमाको दोस्रो विवाह भएपछि नागरिकताका कारण आपूmले पहिचानसमेत गुमाउनुपरेको गुनासो गर्नुभयो । विद्यालयमा बुबाको नाम भनी काकाको नाम लेखिएको थियो । शैक्षिक प्रमाणपत्रमा काकाको नाम नै बाबुको महलमा लेखिएको छ ।

पहिचान नै सङ्कटमा परेकाले उहाँको उच्च शिक्षासमेत पूरा हुनसकेको छैन ।  मञ्चका कार्यकारी निर्देशक सविन श्रेष्ठले संविधानसभाबाट पारित संविधान कार्यान्वयनमा आएपनि नागरिकताको विषय भने अपूरो भएको बताउनुभयो । संविधानको धारा १२ र ३८ मा उल्लेखित नागरिकतासम्बन्धी नयाँ व्यवस्थाबमोजिम नागरिकता ऐनमा संशोधन नभएकाले यो विषयलाई कार्यान्वयनमा ल्याउन कठिन भएको उहाँको भनाइ थियो ।

धनुषास्थित गणेशमान सारनाथ नगरपालिका–३का इन्द्रजीत साफीले साहूसँग रु पाँच लाख ऋण लिएर इञ्जिनीयरिङ विषय अध्ययन गर्नुभयो । अध्ययन पूरा गरेपछि निजीस्तरबाट सञ्चालित जलविद्युत् आयोजनामा काम गर्न शुरु गरेको केही दिनमै उहाँको नागरिकताका प्रतिलिपि मागियो ।

प्रतिलिपि उपलब्ध गराउन नसकेपछि आफूले रोजगारीबाट हात धुनुप¥यो । अध्ययन गर्न लिएको ऋणको ब्याज बढ्दै गएकाले अहिले आफू र आफ्नो परिवार नै चिन्तामा डुबेको छ । “साहुको ऋण बढेर रु १५ लाख भएको छ, रातदिन पैसा माग्न आउँछन्, नागरिकता नभएकै कारण मैले पाएको निजीस्तरको जागीरसमेत गुमाउनुप¥यो, अब मैले कसरी ऋण तिर्ने?, साहूको सधैँको किचकिचले आत्महत्या गरौँ कि जस्तो लाग्न थालेको छ” उहाँले भन्नुभयो ।
आफ्ना चार भाइले १२ कक्षासम्मको अध्ययन गरेका छन् भने बहिनीले पनि स्नातक अध्ययन गरेकी छिन् तर नागरिकता नभएकैले कसैले पनि सामान्य रोजगारीसमेत पाउन नसकेका कारण मानसिक तनावमा रहेको साफीको भनाइ थियो ।
धनुषाकै चन्दन मुखर्जीले पनि नागरिकता नभएकै कारण यस्तै समस्या भोग्नुपरेको छ भने महोत्तरीका अर्जुन साहले पनि नागरिकता नभएकैले पढ्न पनि छोडेको गुनासो गर्नुभयोे । नागरिकतामा पटकपटक राजनीति हुँदै आएकोले पीडित झन झन दुःखी छन् । वि.सं २०७४ जेठ ३ गते सर्वोच्च अदालतले नागरिकता दिलाउन आदेश जारी गरेपछि योगेश अधिकारीले आमाको नाममा नागरिकता लिएको मञ्चका कार्यकारी निर्देशक श्रेष्ठले जानकारी दिनुभयोे ।
तर यो आदेश अन्यका हकमा कार्यान्वयन हुन नसकेकाले नागरिकता पीडित चालू अधिवेशनमै नागरिकता विधेयक पारित गराउनका लागि दबाब दिन लागिपरेका छन् । साउनको तेस्रो साता संसद भवनअगाडि धर्ना दिने तयारी भएको पीडित साफीले बताउनुभयो । विधेयक पारित नभएसम्म धर्ना जारी राख्ने नागरिकता पीडितहरुको तयारी छ ।

पचासभन्दा बढी नागरिक संस्थाका तर्फबाट नागरिकतासम्बन्धी समस्या छिटो समाधान गर्न संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रमुख सचेतकलाई ज्ञापन पत्र बुझाइएको थियो । मञ्चमा ५००भन्दा बढी नागरिकताविहीनको अभिलेख छ । राज्य व्यवस्था तथा सुशासन समितिले संसदमा प्रस्तुत गरेको विधेयक यसपटक पारित गराएर मात्र घर फर्कने भन्दै एक हजार नागरिकता पीडित राजधानीमा जम्मा हुने तयारीमा छन् ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …