तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

प्रधानमन्त्री केपी ओलीले १३औँ दक्षिण एशियाली फुटबल प्रतियोगिता ९साफ० नेपालमा आयोजना हुने बताएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार युवा तथा खेलकूद मन्त्रालयद्वारा आयोजित ‘थ्री नेसन्स कप’ को उपाधि विजेता राष्ट्रिय फुटबल टोलीका खेलाडी तथा प्रशिक्षकलाई पुरस्कार तथा सम्मानपत्र वितरण कार्यक्रममा उनले साफ फुटबल नेपालमा आयोजना गरिने बताएका हुन् ।

नेपाली टोलीलाई जित्ने उद्देश्यका साथ अभ्यास गर्न सुझाव दिए । प्रधानमन्त्री ओलीले साफ फुटबलको तयारी थाल्न अखिल नेपाल फुटबल सङ्घ (एन्फा) र राष्ट्रिय खेलकूद परिषद् (राखेप) लाई निर्देशन दिए ।

आयोजक राष्ट्र बङ्गलादेशले प्रतियोगिताबाट हात झिकेपछि नेपालमा साफ आयोजना गर्न एन्फाले प्रस्ताव अघि बढाएका सन्दर्भमा प्रधानमन्त्री ओलीले उपाधि जित्नका लागि कडा मेहनत आवश्यक भएकाले नेपाली टोलीलाई जित्ने लक्ष्य लिएर मैदानमा उत्रिन आग्रह गरे ।

‘हामी साफ आयोजना गर्न सक्छौँ, मनोबल उच्च बनाउनुस्’, उनले भने । गत वर्ष चैतमा सम्पन्न ‘थ्री नेसन्स कप’ को फाइनल खेलको दशरथ रङ्गशालामा प्रत्यक्षरुपमा अवलोकन गरेको सम्झना गर्दै प्रधानमन्त्री ओलीले कद होचो भए पनि मनोबल उच्च भएकाले नेपाली टोलीले बङ्गलादेशसितको फाइनल खेल जित्नेमा आफू त्यतिबेलै आशावादी भएको बताए ।

नेपाली टोलीले अनुशासितरुपमा फाइनल खेल खेलेको जनाउँदै उनले खेलमा अनुशासन अत्यावश्यक भएको बताए। सो अवसरमा प्रधानमन्त्री ओलीले नेपाली टोलीका खेलाडी र प्रशिक्षकलाई नगदसहित खादा ओढाई सम्मानपत्र प्रदान गरे ।

कार्यक्रमका प्रारम्भमा युवा मन्त्रालयका सचिव केदार न्यौपानेले मन्त्रालयले गरिरहेका विभिन्न गतिविधिबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराउँदै उपाधि विजेता फुटबल टोलीका लागि रु एक करोड निकासा गरिएको बताए ।

सम्मानितका तर्फबाट नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार लिम्बू चेम्जोङले सरकारले सम्मान गरेपछि आफूहरु थप उत्साहित भएको बताउँदै आगामी दिनमा पनि सम्मान र पुरस्कृत हुने उद्देश्यका साथ खेल प्रदर्शन गर्ने वाचा गरे।

चेम्जोङले सरकारले नेपालमै १३औँ साफ फुटबल आयोजना गर्न पहल गरे सम्भव हुने तथा नपाली टोली उपाधि उचाल्ने गरी मैदानमा उत्रिने बताए । टोलीका खेलाडीलाई सरकारले जनही चार लाख तथा प्रशिक्षकलाई जनही दुई लाख प्रदान गरेको छ । सो अवसरमा एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले प्रधानमन्त्री ओलीलाई मायाको चिनो प्रदान गर्नुभएको थियो ।

नेपाल, बङ्गलादेश र किर्गिस्तानबीचको ‘थ्री नेसन्स कप’ गत वर्ष चैत १० देखि १६ गतेसम्म नेपालमा सञ्चालन भएको थियो । प्रतियोगिताको फाइनलमा नेपालले बङ्गलादेशलाई २–१ गोलअन्तरले हराउँदै उपाधि जितेको थियो । नेपालका लागि संजोक राई र विशाल राईले एकएक गोल गरेका थिए।्

नेपालले ३७ वर्षपछि घरेलु मैदानमा ठूलो प्रतियोगिताको पहिलो पटक उपाधि जितेको थियो । पुरस्कृत हुनेमा चेम्जोङ, सञ्जोग, विशाल, रञ्जित धिमाल, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, त्रिदेव गुरुङ, रविशङ्कर पाशवान, तेज तामाङ, अञ्जन विष्ट, अभिषेक रिजाल, विकेश कुथु, निशान खड्का, अजित भण्डारी, विराज महर्जन, छिरिङ गुरुङ, सुजल श्रेष्ठ, एरिक विष्ट, सुनिल बल, दर्शन गुरुङ, भरत खवास र दीप कार्की तथा मुख्य प्रशिक्षक बालगोपाल महर्जन, सहायक प्रशिक्षक किरण श्रेष्ठ र गोलकिपर प्रशिक्षक विकास मल्ल रहेका छन् ।

पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा युवामन्त्री कृष्णगोपाल श्रेष्ठ, राष्ट्रिय खेलकूद परिषद् (राखेप)का सदस्य सचिव रमेशकुमार सिलवाललगायतको उपस्थिति थियो ।

यसअघि साफ यस वर्ष बङ्गलादेशमा आयोजना हुने तय थियो । प्रतियोगिता सेप्टेम्बर १४ देखि २५ तारिखसम्म गर्ने तय भए पनि बङ्गलादेशले अन्तिम समयमा कोरोना भाइरस महामारीलगायत कारण आयोजना गर्न नसक्ने जनाएको थियो । बङ्गलादेशले प्रतियोगिताको आयोजनाबाट हात झिकेपछि नेपाल र श्रीलङ्काले साफ फुटबल आयोजना गर्न दावी गरेका छन् । रासस

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …