तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

छापाबाट

प्राकृतिक स्रोतमाथि दोहन बढ्दा ट्युबवेल र इनार सुके भूमिगत स्रोत नभेटिएपछि खानेपानीकै अभाव बोरिङबाट समेत पानी नआएपछि सिँचाइ ठप्प

खानेपानीका लागि तराईमा सजिलो साधन हो चापाकल (ट्युबवेल) । ठाउँ छनोट गर्‍यो, मिस्त्री बोलायो । पाइप ल्याएपछि जडानको काम झन्झटिलो छैन । त्यसैले तराईका जिल्लामा धाराको साटो ट्युबवेल देखिन्छ ।

दशक पनि भएको छैन, जनकपुरमा ७५–८० फिटमै पाइप गाड्दा ट्युबवेलमा पर्याप्त पानी आउँथ्यो । पोखरी नै पोखरीको यो सहरमा खानेपानीको चरम अभाव होला भन्ने कसैले सोचेका पनि थिएनन् । यहाँको संस्कार नै छ, पाहुना आए चापाकलबाट खिचेर एक लोटा चिसो पानी खुवाउने ।

खानेपानीको मामिलामा अब भने जनकपुर ‘कन्जुस’ हुन थालेको छ । घरघरमा खानेपानीको धारा राख्न थालिएका छन्, जारको पानी प्रयोग बढेको छ । धारामा पानी नआएका दिन र जारवालाले पानी नपुर्‍याए जनकपुरवासी हैरान हुन्छन् । यो सहर चुरे क्षेत्रभन्दा करिब ३० किलोमिटर दक्षिणमा छ । चुरे दोहन जतिजति बढ्यो, जनकपुरमा खानेपानीको जमिनमुनिको सतह अझ तल गयो । ‘हिजोआज ठाउँ हेरेर चार सय फिट मुनिसम्म पाइप गाड्दा पनि चापाकलमा पानी आउँछ भन्ने ग्यारेन्टी रहेन,’ जनकपुर–९ का विमलेश सिंहले भने, ‘पाइप गाडेर मात्र हुन्न, मोटर लगाएर नतानेसम्म चापाकल पेलेर पानी आउँदैन ।’ चार सय फिटभन्दा गहिरो पाइप गाडेर चापाकल जडान गर्न डेढदेखि दुई लाख रुपैयाँ खर्च पर्छ । पानीको मुहान मुनिमुनि झर्दै गएपछि जनकपुरधाम उपमहानगरपालिकाले गत वर्षदेखि सार्वजनिक स्थलमा चापाकल गाड्ने अभियान नै थालेको छ । यस क्रममा जनकपुर–१० मा गत वर्ष मात्रै ११ सार्वजनिक स्थानमा चापाकल गाडिएको वडाध्यक्ष मिथिलेश कर्णले बताए ।

भूमिगत स्रोतबाट खानेपानीको समस्या बढेपछि नेपाल खानेपानी संस्थानले दुई वटा ओभरहेड ट्यांकीमार्फत दिनको तीन पटक जनकपुरमा पानी आपूर्ति गरिरहेको छ । संस्थानका जनकपुर प्रमुख श्रीश राजभण्डारीका अनुसार खानेपानीको माग जनकपुरमा उच्च छ । जानकी चोक र रामानन्द चोकमा संस्थानको नौ लाख लिटर क्षमताको दुई वटा ओभरहेड ट्यांकी छन् । ‘हाम्रो सर्भिस एरिया थोरै भए पनि खानेपानीको माग उच्च छ,’ उनले भने, ‘बिहान, दिउँसो र साँझ गरी तीन टाइम पानी सप्लाई गरिरहेका छौं ।’

चुरेमा दोहन र माथिल्लो क्षेत्रमा बस्ती विस्तार भएसँगै जनकपुरमा भूमिगत पानीको सतह मुनिमुनि गएको प्राविधिकहरू बताउँछन् । एक दशकयता धनुषामा सतहमुनिको सञ्चित जलभण्डार १० देखि ५० मिटर तल झरेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय जनकपुरको तथ्यांकले देखाउँछ । उत्तरी धनुषाको जमुनीवासमा सात वर्षभित्र पानीको सतह ५० मिटर तल झरेको छ । ‘सतहमुनिको जलभण्डार उकास्न चुरे संरक्षणलाई नै प्राथमिकता दिनुपर्छ, यसको विकल्प छैन,’ सिँचाइविज्ञ इन्जिनियर रत्नेश्वरलाल कर्ण भन्छन् । चुरेको वन क्षेत्र कटान रोक्नुपर्ने, वृक्षरोपण गर्नुपर्ने, नदीमा बाँध बाँधेर पानी संरक्षणका काम गर्नुका साथै जथाभावी ढुंगागिट्टी र बालुवा झिक्ने काम बन्द गरिनुपर्ने उनको सुझाव छ ।

प्रदेश २ का आठवटै जिल्ला चुरेको तल्लो भेगमा पर्छ । चुरेमा भइरहेको अतिक्रमणको मूल्य तराईका बासिन्दाले चुकाउनु परिरहेको छ । आँगनमा पाइप गाड्दा सजिलै पानी पाइने गाउँहरूमा परम्परागत इनार त सुकेकै छन्, चापाकलमा पनि पानी सजिलै आउन छाडेको छ । खानेपानीको समस्या चुरेको फेदकै बस्ती र टाढाको भित्री मधेसमा पनि बढ्दो छ । स्यालो ट्युबवेल र इनारबाट मनग्यै पानी आउने धनुषाको उत्तरपूर्वी बस्ती रातमाटे, तिनतले, वीरेन्द्रबजारलगायत चुरे किनारको बस्तीमा पनि ३ देखि ४ सय फिट गहिरो बोरिङ खन्दा बल्ल पानी आउँछ ।

चुरे पर्वत शृंखलाको फेदमा पूर्व–पश्चिम राजमार्गभन्दा उत्तरको बस्ती बटेश्वर, ढल्केबर, जमुनीवास, वेंगाडावर, तुलसी, लालगढ, भरतपुरलगायतमा खानेपानीको अभाव चुलिएको छ । १ सय ५० देखि २ सय फिटमा अटोमेटिक बोरिङ (पानी आफैं निस्कने) हुने तथा ५० देखि ६० फिटमुनिबाट सजिलै पानी निस्किने धनुषाको ललिया, हंसपुर, बघचौडा, निकाल, कुम्हराटोललगायत गाउँमा पनि गर्मीको मौसममा चापाकलबाट पानी झर्दैन । त्यहाँ पनि चापाकलको पानीका लागि २ सय ५० देखि ४ सय फिट गहिराइमा पाइप जडान नगरी नहुने भइसकेको छ । ‘पहिले ५० हात (करिब ७५–८० फिट) गहिरो इनार खनेपछि मनग्यै पानी आउँथ्यो । अहिले ३ देखि ४ सय फिट तलबाट मात्र पानी आउँछ,’ धनुषा गणेशमान–चारनाथ नगरपालिकाका सूर्यकुमार यादवले भने । ‘केही वर्षअघिसम्म चुरे फेदका बस्ती तीनतले र रातमाटेबाट निस्किने चारनाथ नदीमा पानी पर्याप्त हुन्थ्यो । अचेल पानीको बहाव नै छैन,’ उनले भने ।

धनुषाकै बटेश्वर गाउँपालिका–४ मा जडान गरिएका झन्डै २ सय चापाकल र इनारमध्ये अधिकांशबाट पानी आउँदैन । स्थानीयका अनुसार गाउँनजिकबाट बग्ने औरही र बिगही खोला सुक्खा भएपछि गाउँका चापाकल र इनार सुकेको हो । बटेश्वरको शान्तिपुरका ६२ वर्षीय बेचन कापरले भने, ‘अचेल न खोलामा पानी छ न चापाकलमा आउँछ ।’

चुरे दोहनको प्रभाव सिरहाका अधिकांश गाउँमा पनि उस्तै छ । खानेपानी सहज छैन । चुरे वन क्षेत्रभित्रैका मूल र खोलाहरू सुकेका छन् । सिरहाको उत्तरवर्ती लहान–१६ आरिदमार, बरदमार क्षेत्रमा अहिले पानीको हाहाकार छ । ‘खोल्सीमा कुवा खनेर त्यसको पानी खानुपरेको छ,’ आरिदमारका गोपाल थापामगरले भने । चुरे फेदीको बडहरामालदेखि सप्तरीको फत्तेपुरसम्मको सयौं इनार र ट्युबवेल सुकेका छन् भने राजमार्ग दक्षिणका गाउँहरूमा पनि पानी सहजै पाइँदैन ।

चुरे र समथर भूभागमा पानीको पुनर्भरण नहुँदा तराईमा मुहान सुक्दै गएको प्राविधिभन्दा बढी किसानले नै प्रस्ट भन्न सक्छन् । ‘चुरेमा जतिजति अतिक्रमण बढ्यो, तल्लो क्षेत्रमा बिस्तारै पानीको समस्या भएको हो,’ गोलबजार–१० चन्द्रोदयपुरका शुक्रबहादुर मगर भन्छन्, ‘वर्षामा खोला बौलाउँछन्, सुक्खायाममा चापाकलमा पानी आउँदैन ।’ घुर्मी खोला बस्तीतर्फ हान्निदा चन्द्रोदयपुर टोलका ७० घरधुरी जोखिममा रहेको उनले बताए । यो खोलामा हिउँदमा पानी हुँदैन, वर्षामा खेतबारी कटान गर्छ ।

स्थानीय पदमबहादुर सुनुवारले भने, ‘स्थानीय सरकार आएपछि हाम्रो पीडामा मलम लगाइदिन्छ भनेको त उल्टो पो भयो ।’ स्थानीय सरकार आएपछि प्राकृतिक स्रोतको दोहन झन् बढ्नुको असर नजानिँदो पाराले बढेको उनको भनाइ छ । ‘डेढ/दुई सय फिट पाइप गाड्दा आउने खानेपानी लिन अब चार सय फिट पाइप गाड्नुपर्छ,’ उनले भने । खानेपानी संकटको यस्तै अवस्था धनगढीमाई–८ महुलिया बस्तीमा पनि छ । ‘गाउँको इनारमा पानी नै सुक्यो, छिमेकी कसहाबाट मोटर जोडेर पानी ल्याएका छौं,’ महुलियाका अवधेशकुमार यादवले भने ।

बरदमार, गोविन्दपुरलगायत उत्तरवर्ती क्षेत्रका तीन दर्जन गाउँ खानेपानीका लागि संकटग्रस्त क्षेत्र हुन् । ‘पिउने पानी नै नभएपछि कसरी बाँच्नु ?’ महुलियाकी शर्मिला यादवले भनिन्, ‘पानीको साह्रै दुःख भोग्नुपरेको छ ।’ पानीको संकट टार्न धनगढीमाई नगरपालिकाको १३ नम्बर वडा कार्यालयले बस्तीका ठाउँठाउँमा बोरिङ गरेर व्यवस्थापन सुरु गरेको छ । अधिकांश स्थानीय तहले खानेपानी संकट रहेको क्षेत्रमा बोरिङ गरेर भूमिगत पानी वितरण सहज बनाउने योजनामा काम गर्न थाले पनि भूमिगत सतह तलतल सर्दै गएपछि थोरै बजेटले काम हुने अवस्था छैन ।

लहानस्थित जिल्ला भू–संरक्षण कार्यालयका अनुसार चुरे दोहनले १० वर्षयता सिरहाका खोलानालाहरूमा प्रतिवर्ष १५ सेन्टिमिटरका दरले सतह वृद्धि भइरहेको छ । यसले गर्दा वर्षायाममा जिल्लाका दक्षिणी गाउँहरू बाढी र वर्षाका कारण जमिन कटान र डुबानको चपेटा पर्छन्, हिउँदमा खानेपानीको हाहाकार हुन्छ ।

सर्लाहीमा राजमार्ग उत्तर चुरे क्षेत्रमा देखिएको संकट दक्षिणतर्फ सर्न थालेको छ । दक्षिणी क्षेत्रका बासिन्दाले खानेपानीको संकट व्यहोर्न थालेका छन् । माओवादीको सशस्त्र द्वन्द्व र २०६२/६३ को राजनीतिक परिवर्तनका क्रममा सर्लाहीको चुरेमा रहेको वन विनाशको क्रम बढ्यो । त्यसपछि राजनीतिक अस्थिरताका कारण चुरेमा उत्खननले तीव्रता पायो । सरकारले यस पटक बजेटबाट नै ढुंगागिट्टीको निकासी खुला गरेर चुरे दोहनलाई वैधानिकताको बाटो खोलिदिए पनि उत्खनन रोकिएकै थिएन ।

स्थानीय तह गठनपछि यस क्षेत्रको पालिकाहरूको ध्यान नागरिकलाई पानी पुर्‍याउनु नै रह्यो । अधिकांश स्थानमा पालिकाले डिप बोरिङसहितको खानेपानी ट्यांकी स्थापना गरेको छ । यसले केही हदसम्म पानीको संकट कम भएको छ तर घट्दै गएको भूमिगत स्रोतले कहिलेसम्म धान्छ भन्नेमा प्राविधिक शंका गर्छन् ।

‘चापाकल गाड्दा मैले ३० फिटको पाइप राखेको थिएँ । केही दिनअघि त्यो कल सुक्यो,’ लघुवाका उमेश साहले भने, ‘मिस्त्रीले सतह तल गएर पानी नआएको भन्यो । पछि मैले दुई सय फिटको पाइप गाड्न लगाएँ, त्यसमा पनि दिनमा दुई/चार पटक पानी सुक्छ ।’ राजनीतिक अस्थिरतामा मौलाएको चुरे दोहन अहिले पनि नरोकिएको नागरिक अगुवा रजनीकान्त झाले बताए । ‘जमिनमा पानीको पुनर्भरणको वैज्ञानिक कुरा सर्वसाधारणलाई थाहा हुँदैन । सरकारले यसको व्यवस्थापन गर्नुको साटो ढुंगागिट्टी बालुवाको निकासी खोलिदिँदा संकट झन् चुलिने चिन्ता बढेको छ,’ उनले भने, ‘पहिले जिविसले ढुंगागिट्टी, बालुवा ठेक्का लगाउँथ्यो । अहिले स्थानीय तहले यसलाई राजस्वको प्रमुख स्रोत मानेको छ । यसबाट बढ्ने संकटका विषयमा बुझेकाहरू नै चुप लाग्दा संकट अझ बढ्ने देखियो ।

लुम्बिनी प्रदेशका तराईका जिल्लाहरूको स्थिति पनि उस्तै छ । बाली लगाउने बेला कुलो सफा गर्न गाउँबस्ती जुटेर खोला र मूलको पानी ल्याउने चलन परम्परादेखिकै हो । रूपन्देहीको तिलोत्तमा–२ का ६८ वर्षीय रेश्मीराज पाण्डे २०२६ सालदेखि सिँचाइका लागि कुलोमा निर्भर छन् । २०२३ सालदेखि यी कुलाई मुखिया अहिले चिन्तित छन् । कुलोमा पानी बग्न छाडेपछि सुक्खाले सताउन थालेको छ । कुलोमा पानी बग्न वर्षा लाग्नुपर्ने उनले बताए ।

‘मूल सुके, अब त आकाशे पानीको मात्रै भर छ,’ उनले भने । नजिकै चुरे क्षेत्रमा रूखबिरुवा मासिँदै जाँदा पानीका मूल सुक्दै गएका हुन् । ‘चुरे भत्काएर सडक बनाउन थालेपछि भएका मूल पुरिएर सुके,’ उनले भने, ‘छहरा, खोला सुकेर विनाश हुन थाल्यो ।’ धेरै वर्ष आफ्नो परिवारले कुवाको पानी खाएर गुजारेको उनले सुनाए । अहिले डेढ सय फुट पाइप धसाउँदासमेत जमिनमुनिबाट पानी नआउने उनले बताए । बुटवल–भैरहवा खण्डको योगीकुटीदेखि मंगलापुरसम्म सडक किनारमा रहेका झन्डै २ सय वरपीपलका रूख काटिएपछि सुक्खा झन् बढेको उनले बताए । ‘उद्योगबाट निस्किएको फोहर नहरमा मिसाइन्छ,’ उनले भने, ‘पुराना मूल सुके । अलि अलि बगेको पानी उद्योगको फोहोरले दूषित भएको छ ।’

चुरेमा हरियाली घटेसँगै पानीका मूल सुक्नुका साथै तराईमा जमिनमुनिबाट पानी आउन छाडेको तिलोत्तमा–६ का अर्जुन उपाध्यायले बताए । ‘चुरेमा कटान र ढलानले स्रोत सुकेपछि पानी रिचार्ज हुन पाएन,’ उनले भने, ‘तराई मरुभूमितर्फ धकेलिएको छ ।’ पहिले ३० फुट पाइप गाडेपछि आउने पानीका लागि हिजोआज कम्तीमा ७० फुटसम्म गाड्नु परिरहेको उनले बताए । शुद्धोधन गाउँपालिका–२ का उमाकान्त चापागार्इं प्राकृतिक स्रोतमाथिको दोहनले पानीको भूमिगत स्रोत तलतल सरेको बताउँछन् । ‘पहिले तिनाउको पानी आउँथ्यो, अहिले ट्युबवेलबाट सिँचाइ गर्ने गरेका छौं,’ उनले भने, ‘चुरेको जंगललाई जोगाउन नसके भित्री तराई–मधेस मरुभूमिमा परिणत हुन्छ । हामीले गाईभैंसी पाल्न छोडेर ऊँट पाल्नुपर्ने हुन्छ ।’

कपिलवस्तु नगरपालिका–६, बर्मेलीटोलका श्याम विहारी सरकारको ढुंगा, गिट्टी र बालुवा निकासी गर्ने नीति सुनेर चिन्तित छन् । ‘अब खेतपाती गर्ने सकिँदैन,’ उनले भने, ‘खोलाको दोहन अत्यधिक भयो । गर्मीका बेला ह्यान्डपम्प सुकेर पानी पिउन पाइँदैन । मोटर, पम्पसेट चल्दैनन् । सिँचाइ नहुँदा तरकारी र अन्नबाली कसरी फस्टाउँछ ?’ कपिलवस्तु–६ स्थित बर्मेलीटोल, खुकुन्डी, सगरहवा र शिपुरा गाउँका बासिन्दालाई पिउने पानीकै अभाव छ । वाणगंगा नदीबाट पाँच सय मिटरको दूरीमा गाउँ छ । नदीको तट भए पनि चापाकलबाट पानी आउँदैन । अहिले पनि नदीका सगरहवा, बर्मेली, रुधौला र तिलौरीबाट गिट्टी, बालुवा उत्खनन भइरहेको छ । बुद्धभूमि–१० का देवपुरा, लौहरौला, झलवा र सकुम्बासी बस्तीका ह्यान्ड पम्पमा पानी आउँदैन । वाणगंगाको रामघाटबाट जथाभावी नदीजन्य पदार्थ उत्खनन हुँदा त्यहाँ पनि बर्सेनि समस्या हुँदै आएको छ । चुरेमा दोहन बढ्दा पानीका मूल सुकेपछि कपिलवस्तुका बासिन्दा जमिनमुनिको पानीमा निर्भर छन् । सुक्खा बढ्दा भूमिगत स्रोतको पनि सतह घटेको छ । ‘तरकारीलाई बढी पानी चाहिन्छ,’ स्थानीय बहरैची केवटले भने, ‘अब कसरी संकट टार्ने भनेर सबै कृषक टाउको समातेर बसेका छन् ।’

चुरेको जलाधार कपिलवस्तुका लागि पानीको मुख्य स्रोत हो । पानी सतह घट्दै गई सिमसार, मूल र धारा सुक्न थालेका छन् । ‘चुरेको पानी सोस्ने शक्ति घट्दै गयो,’ कपिलवस्तुस्थित डिभिजन कृषि इन्जिनियर रामकृष्ण घोरासैनीले भने, ‘इकोसिस्टम खलबलिँदा जनजीविकामा गाह्रो परिरहेको हो । चुरे, भावर क्षेत्र मधेसका लागि पानी जम्मा गर्ने प्राकृतिक भाँडो हो । सघन वृक्षरोपण, चुरे संरक्षण, वर्षायामको पानी सञ्चितीकरण गर्न ताल, पोखरी निर्माण गर्नुपर्छ ।’ पानीको उचित सदुपयोग र चुरे संरक्षण गरे मात्र भूमिगत जलस्रोत जोगिने उनले बताए ।

बढ्दो बस्ती र पक्की सडकले पानीको सतह पहिलेभन्दा डेढ मिटर तल झरेको रूपन्देहीको शंकरनगर खानेपानी उपभोक्ता संस्थाका इन्जिनियर दीपक पाण्डेले बताए । ‘पानीको लेभल घट्दै गयो । थप पाइप प्रयोग गरी पानी तान्दैछौं,’ उनले भने, ‘हरेक वर्षजस्तो पाइप अझ तलसम्म गाडेर पानी संकलन भइरहेको छ ।’

पश्चिम नवलपरासीको तुरिया, धनेवा र झरही खोलामा पानीको बहाव बर्सेनि घट्दो छ । केही वर्षअगाडिसम्म सुक्खायाममा पनि प्रशस्त पानी हुने यस खोलामा अहिले सामान्य कुलोमा बग्नेभन्दा पनि कम बहाव छ । तर, वर्षामा भने पहिरो र कटानसहितको बाढीको सामना गर्नु परिरहेको छ । यी खोलाबाट सिँचाइ सुविधासमेत थियो । तर, अहिले यी खोलामा पानी खोज्न वर्षा पर्खनुपर्ने अवस्था छ । वर्षामा बाढी आउने र सुक्खायाममा पानीको सतह सुक्ने समस्याले तटीय क्षेत्रका किसानलाई समस्या परेको छ । यी खोलाको उपल्लो तटीय क्षेत्र र तल्लो तटीय क्षेत्रमा बर्सेनि खस्ने पहिरो, नदीजन्य पदार्थको उत्खनन, जंगल फँडानी, अव्यवस्थित सडक निर्माणले समस्या ल्याएको हो ।

एक दशकअघिसम्म पश्चिम नवलपरासीको रामग्राम, सरावल, पाल्हीनन्दन, प्रतापपुर, सुस्ता क्षेत्रमा १० मिटर गहिराइमा नै ट्युबवेल र बोरिङमा प्रशस्त पानी आउँथ्यो । अहिले ५० देखि २ सय मिटर तलसम्म बोरिङ गर्दा पनि पानीको स्रोत भेट्न हम्मे पर्छ । यसले भूमिगत सिँचाइमार्फत तराईका फाँटमा पानी पुर्‍याउन योजनाहरू लागत नपुगेर अधुरो हुन थालेका छन् । ‘पाँच वर्षअगाडिसम्म धारामा सजिलै पानी आउँथ्यो, बोरिङको आवश्यकता थिएन । किसानले कुलो र मूलको पानीले नै सिँचाइ गर्थे,’ प्रतापपुर गाउँपालिका–२ का मोतीसरा चौधरीले भनिन्, ‘अहिले खेतवरपरका मूल पनि सुके । बोरिङमा पनि पानी सजिलै आउँदैन । अब कसरी खेतीकिसानी गर्नु ? ट्युबवेलमा पनि पहिले जस्तो पानी आउन छाड्यो ।’

भूमिगत जल संरक्षणका लागि माथिल्लो क्षेत्रको वन तथा पानीको स्रोत जोगाउन अत्यन्त आवश्यक रहेको भूगर्भशास्त्रका अध्ययनकर्ता नेत्रनारायण भण्डारीले बताए । ‘प्राकृतिक स्रोत र साधनको वैज्ञानिक प्रयोगमा हामीले ध्यान दिन सकेमात्र भूमिगत जलस्रोतको संरक्षण गर्न सकिन्छ,’ उनले भने । पश्चिम नवलपरासीमा १९ हजार ४ सय हेक्टर क्षेत्रफल चुरेअन्तर्गत छ ।

बर्दियामा पनि जमिनमुनिको पानीका स्रोत सुकेपछि समस्या भएको छ । ३० वर्षअघि ठाकुरबाबा नगरपालिका हँॅदै बग्ने ओराही खोलामा बाह्रै महिना पानी बग्ने गर्थ्यो । सिँचाइका लागि पर्याप्त पानी बग्दा किसान खुसी थिए । चुरे क्षेत्रको दानव ताल र खैरभट्टीमा पहिरो गएपछि ओराही खोलामा पानीको स्रोत सुक्दै गएको वातावरणविद् रमेशकुमार थापाले बताए । ‘ओराही सुक्दै गएपछि सयौं बिघा क्षेत्रफलका खेतमा सिँचाइ सुविधाबाट किसान वञ्चित भएका छन्,’ बर्दिया राष्ट्रिय निकुञ्जका पूर्वप्रमुख संरक्षण अधिकृत थापाले भने, ‘ठूलो वर्षा हुँदा चुरेको लेदोसहित बाढीले उर्वर भूमि बगाउँदै लगेको छ ।’ चुरेमा दोहन नरोके पर्यावरणीय चक्र नै खलबलिएर मरुभूमीकरण बढ्ने उनले बताए ।

कान्तिपुर दैनिक: अजित तिवारी, श्यामसुन्दर शशि (जनकपुर), भरत जर्घामगर (सिरहा), ओमप्रकाश ठाकुर (सर्लाही), सन्जु पौडेल (रूपन्देही), मनोज पौडेल (कपिलवस्तु), नवीन पौडेल (परासी) र कमल पन्थी (बर्दिया)

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …