तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

छापाबाट

काठमाडौँ ।कोभिड–१९ ले वैशाख लागेयता ३६ दिनमा २ हजार ५ सय ९९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार अपराह्न सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा अहिलेसम्मकै बढी २ सय ४६ जना संक्रमितले ज्यान गुमाएका छन् ।

समयमै अक्सिजन, आईसीयू र भेन्टिलेटर नपाएकाले संक्रमणले बढी मृत्यु भएको विज्ञहरूले दाबी गरेका छन् । ‘आधाजसोको मृत्यु समयमै उपयुक्त चिकित्सा सेवा सुविधा नपाएर भएको देखिन्छ,’ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का पूर्वनिर्देशक डा. जीडी ठाकुरले भने । 

संक्रमणले वैशाख १ गते ३ जनाको मृत्यु हुँदा मृतकको कुल संख्या ३ हजार ६१ थियो । वैशाखको पहिलो साता नै एक दिनमा ज्यान गुमाउनेको संख्या दुई अंक अर्थात् १० माथि पुग्यो, वैशाख २७ पछि तीन अंक अर्थात् सयभन्दा बढीको मृत्यु हुन थाल्यो । ‘दोस्रो लहरमा कोभिडले मृत्यु हुनेको संख्या हरेक साता अप्रत्याशित रूपमा दोब्बरभन्दा बढी भएको छ,’ वरिष्ठ जनस्वास्थ्यविद् डा. राजेन्द्र बीसीले भने, ‘गत वर्ष कोभिडको पहिलो लहरमा यस्तो अवस्था थिएन ।’

ईडीसीडीका पूर्वनिर्देशक डा. ठाकुरले चिकित्सा सेवा सुविधा बेलैमा नपाउँदा धेरै संक्रमितको मृत्यु भएको बताए । ‘उपयुक्त सेवा बेलैमा पाएको भए कोभिडले मृत्यु भएको भनिएकामध्ये करिब आधा जतिलाई बचाउन सकिन्थ्यो,’ उनले भने । डा. ठाकुरले रोग पहिचान नभएर कतिपय संक्रमितको घरमै मृत्यु भएको हुन सक्ने पनि बताए । ‘देशभरिका पालिकामा डेढ महिनायता दर्ता भएको मृत्युको विश्लेषण आवश्यक छ । करिब ९० प्रतिशतसम्म मृत्यु कोभिडसँग सम्बन्धित हुन सक्छ,’ उनले भने ।

कोभिडको दोस्रो लहरअन्तर्गत वैशाख २ देखि ८ गतेसम्म एक सातामा ५१ जनाको संक्रमणले मृत्यु भएको थियो । वैशाख ९ देखि १५ गतेसम्म ९९, वैशाख १६ देखि २२ सम्म २ सय ६४, वैशाख २३ देखि २९ सम्म ७ सय ७७ र वैशाख ३० देखि जेठ ५ सम्म १ हजार ४ सय ५ जनाको मृत्यु भएको छ । कोभिडको पहिलो लहरमा अधिक संक्रमित देखिएका बेला सातामा अधिकतम १ सय ६८ जनाको मृत्यु भएको थियो । पहिलो लहरमा गत कात्तिक १९ गते एक दिनमा सबैभन्दा बढी ३० जनाको मृत्यु भएको थियो ।

विगत दुई सातामा संक्रमितको संख्या लगभग उस्तै रहे पनि मृत्यु हुनेको संख्या तीन गुणाभन्दा बढी देखिएको छ । गत वैशाख २२ गते ८ हजार ६ सय ५ जना संक्रमित देखिएका बेला ५८ जनाको मृत्यु भएको थियो भने जेठ ५ गते बुधबार ८ हजार ६४ जना संक्रमित देखिँदा मृतकको संख्या भने २ सय ४६ पुगेको छ । सक्रिय संक्रमितको संख्या १ लाख १४ हजार ३ सय ६८ पुगेको छ । कोरोनाले हालसम्म ५ हजार ६ सय ५७ जनाको ज्यान लिइसकेको छ ।

आईसीयू र भेन्टिलेटरमा रहेकाहरूको संख्यामा समेत पछिल्ला पाँच सातामा अप्रत्याशित वृद्घि देखिएको छ । नयाँ वर्षकै दिन २० जना भेन्टिलेटरमा सहित ९७ जना आईसीयूमा थिए । ३६ दिनपछि जेठ ५ गते बुधबार ३ सय ८१ जना भेन्टिलेटरमा सहित १ हजार ६ सय १८ जना आईसीयूमा छन् । डा. ठाकुरका अनुसार भेन्टिलेटरमा भएकामध्ये ६० देखि ८० प्रतिशतसम्मको मृत्यु हुने गरेको देखिएको छ ।कान्तिपुर दैनिकमा खबर छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …