तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

हरिप्रसाद भण्डारी

“फेसबुक”

​दाजुले विदेशबाट ल्यापटप पठाइदिएपछि सामनाका खुट्टा भुँइमा रहेनन् । उनी खुसीले फुरुक्क परिन् । बुबाले घरमा इन्टरनेट जोड्नु भयो । दाजुसँग फोटो हेरेरै कुरा गर्न मिल्ने भयो । आमा र भाइ पनि खुसी भए ।

​सामना नौ कक्षामा पढ्छिन् । स्कुलमा आठ कक्षादेखि कम्प्युटर शिक्षा शुरु भएको थियो । उनले कम्प्युटर सम्बन्धी प्रारम्भिक ज्ञान सिकेकी थिइन् । कम्प्युटर खोल्ने, फाइल बनाउने, टाइप गर्ने, सेभ गर्ने, इमेल तथा फेसबुक एकाउन्ट बनाउने, भाइवर तथा स्काइभ डाउनलोड गर्ने र दाजुसँग कुरा गर्ने सबै कुरा उनलाई जानकारी थियो ।

​उनका साथीहरूले पहिलेदेखि नै फेसबुक एकाउन्ट खोलेका थिए । फुर्सद भएको समयमा फेसबुक सम्बन्धी कुरा गर्थे । साथीहरूले फेसबुक सम्बन्धी कुरा गर्दा सामनालाई लोभ लाग्थ्यो । तर घरमा कम्प्युटर नभएको हुनाले फेसबुक एकाउन्ट खोल्न सकेकी थिइनन् ।

​दाजुले ल्यापटप पठाइदिएपछि उनको इच्छा पूरा भयो । उनले पनि फेसबुक एकाउन्ट खोलिन् । राम्रो फोटो खिचेर वालमा हालिन् र चिनेका साथीहरूलाई रिक्वएष्ट पठाइन् । दुई तीन दिनमै उनका धेरै साथी भए । कत्तिले उनलाई साथी बन्न रिक्वएष्ट पठाए । उनले एसेप्ट गरिन् ।

​“फेसबुक खोलेको एक महिना पनि भएको छैन, मेरा साथीहरू त एक हजार नाघिसके ।” एक दिन खुसी हुँदै सामनाले साथीहरूसँग भनिन् ।

​“फेसबुक चलाएको देख्नुभयो भने मामु रिसाउनुहुन्छ । खोल्नै दिनुहुन्न । यो पढ्ने बेला हो । फेसबुक चलाउने बेला होइन भन्नुहुन्छ ।” प्रभाले भनिन् ।

​“हो त नि, मेरी मम्मी पनि कस्ती छुची हुनुहुन्छ । एसएलसी पास नगरी अरु फाल्तु काम नगर भन्नुहुन्छ । तीन चार दिन भयो कम्प्युटर खोल्न पनि भ्याएकी छैन ।” संगीताले पनि आफ्नो भनाइ राखिन् ।

​“मलाई त गाह्रो छैन । मम्मीले केही भन्नु हुन्न । म त मजाले कम्प्युटर चलाएर बस्छु ।” सामनाले सुनाइन् ।

​केही समय फेसबुककै विषयमा कुराकानी भए ।

​फुर्सदको बेला सामना ल्यापटप खोल्थिन् र फेसबुक चलाउथिन् । फेसबुक चलाउँदा उनलाई मजा लाग्थ्यो । समय गएको पनि पत्तै हुँदैनथ्यो । साथीहरूको कमेन्टमा लाइक गर्नु, प्रतिक्रिया दिनु, आफुले पनि कुनै कुरा लेखेर पोष्ट गर्नु उनका रुचीका विषय थिए ।

​साँझ खाना खाएपछि पहिले होमवर्क गर्थिन् । दिउँस सर र म्याडमले पढाएको पाठ दोहोराएर पढ्थिन् अनि फेसबुक चलाउँथिन् । यो सबै गर्दा राति अबेर हुन्थ्यो । बिहान अबेर उठ्थिन् ।

​एक दिन फेसबुक खोलेर हेर्दै थिइन्, म्यासेज बक्समा म्यासेज देखिन् । ‘कस्को म्यासेज होला ?’ मनमनै यसो भन्दै म्यासेज बक्समा क्लिक गरिन् ।

​जनकले पठाएको रहेछ । लेखेको थियो, ‘हाय ! सामना हाउ आर यु ?’

​जनक कक्षा दशमा पढ्थ्यो । उमेर र पढाइमा उनीभन्दा सिनियर थियो । शरीर पनि मोटोघाटो र ज्याङ्गो थियो ।

​म्यासेज पढेपछि उनको छाती ढुकढुक ग¥यो । एक्लै मुस्कुराइन् र लेखिन्, ‘आई एम फाइन, हाउ आर यु ?’

​अरु कसैले उनको बारेमा लेखेको यो पहिलो वाक्य थियो । त्यसैले उनी रोमान्चित भइन् ।

​अर्कोदिन उसले लेखेको थियो, ‘तिमी स्कूलभरिमा सबैभन्दा राम्री देखिन्छ्यौ । तिमीलाई हेरिरहुँजस्तो लाग्छ । एउटै कक्षामा पढ्न पाएको भए कति मजा हुन्थ्यो होला !’

​जनकले राम्री भनेकोमा उनी मनमनै खुसी भइन् । उनले धन्यवादका साथै अरु केही शब्द लेखेर पठाइन् ।

​अर्को दिन स्कूलको चौरमा जनकसँग साक्षातकार भयो । उसले नजिकै आएर भन्यो, ‘हाय सामना ।’ मुस्कुराउँदै उनले जवाफ दिइन्, ‘हाय !’

​साँझ फेसबुकमा आएको म्यासेजले उनको मुटु ढुकढुक ग¥यो । उनी आत्तिइन् । त्यसमा लेखिएको थियो, ‘सामना आइ लभ यू !’ अगाडि लेखिएको थियो, ‘म तिमीलाई धेरै चाहन्छु ।’

​म्यासेज पढेपछि उनको मन बिचलित भयो । उनी डराइन् । मनमनै भनिन्, ‘कस्तो लाज नभएको मान्छे ? अर्कालाई त्यस्तो भन्न सक्ने ।

​अलिकति होमवर्क गर्न बाँकी थियो । त्यो दिन उनलाई होमवर्क गर्न र पढ्न पनि मन लागेन । उनले ल्यापटप बन्द गरिन् र ओछ्यानमा पल्टिन् ।

​उनका अगाडि जनकको अनुहार नाँच्न थाल्थो । ‘हाय सामना !’ उसले बोलेका शब्द उनका कानमा बज्न थाले । उनी बेचैन भइन् ।

​राति सपनामा पनि उसले पिछा छोडेन । एकान्त ठाउँमा भेटेर अँगालो हालुलाजस्तो ग¥यो । उनी डराइन् । उसँग फुत्केर भागिन् । ओरालो बाटोमा दौडदै थिइन्, झण्डै भीरबाट लडिनन् ।

​ब्युँझदा पसिनाले भिजेकी थिइन् । मुख सुकेको र मुटु ढुकढुक गरेको थियो । नजिकै रहेको स्वीच अन गरेर हेरिन्, भित्ते घडीमा रातिको तीन बजेको थियो । पुनः सुत्ने प्रयास गरिन् तर निद्रा लागेन । मनमनै कुरा खेलाइन्, ‘कतै यो कुरा बुबा तथा दाजुले थाहा पाउनुभयो भने ?

​एक दिन इन्दिरा मिसले भनेको कुरा सम्झना भयो—

​‘तिमीहरू अहिले टिन एजमा छौ । राम्रो नराम्रो के हो भन्ने कुरा छुट्याउन नसक्ने अवस्था हो यो । कुनै कारणले गलत बाटोमा लाग्यौ भने जीवन बरबाद हुन्छ । निकै सतर्क भएर अगाडि बढ है ।

​अर्को दिन उनले साथीसँग भनिन्, “त्यो दश कक्षामा पढ्ने जनक छ नि, त्यो पनि मेरो साथी छ । कस्तो जिस्क्याउन खोज्छ । म्यासेज बक्समा के के लेख्छ ।

​“त्यसले त मलाई पनि रिक्वएष्ट पठाएको थियो । एसेप्ट गर्न पनि भ्याएकी छैन ।” प्रभाले भनिन् ।

​“त्यो जनके मोरो, अस्ति बाटोमा भेटिएको थियो, हाय भनेर कर्के नजरले हे¥यो । म त लाजले भुतुक्कै भएँ । केही बोलिन् ।” अनुजाले भनिन् ।

​“त्यसले त मोवाइ पनि बोक्दो रहेछ । अस्ति एक्लै सेल्फी खिच्दै थियो । स्कूल आउँदा पनि सँगै लिएर आउँदो रैछ ।”

​“दश कक्षामा पढ्ने धेरै केटाहरूसँग मोवाइल छ । मैले कत्ति जनासँग मोवाइल भएको देखेकी छु ।” संगीताले भनिन् ।

​“सर र गार्डले कस्तो चाल नपाएका है ।

​“भाइब्रेशनमा राख्छन् होला नि । स्वीचअफ पनि गर्छन् कि !” अनुजाले भनिन् एक दिन सामना एक्लै घर जाँदै थिइन्, बाटोमा जनक भेटियो । ऊ सामनाको नजिकै उभियो । ‘हाय सामना’ यसो भन्दै मुस्कुरायो र दुवै जनाको अनुहार आउने गरी झ्याप्प सेल्फी खिच्यो ।

​सामना हेरेको हेरै भइन् । केही बोल्न सकिनन् । डरले खुट्टा कामे । सेल्फी लिएपछि जनक खित्का छोडेर हाँस्दै त्यहाँबाट भाग्यो ।

​सामना मनभरि पीडाको भारी बोकेर घर गइन् । खाजा खान र पढ्न पनि मन लागेन । एक्लै छटपटाइन् । मनमनै भुटभुटिइन्, ‘कस्तो केटालाई फेसबुकको साथी बनाएछु हँ ?’ अनि निकै पछुतो मानिन् ।

​राति सुत्नुअघि डराइ डराइ फेसबुक खोलिन् । त्यै मोराको म्यासेज रहेछ । लेखेको थियो, ‘म तिमीलाई माया गर्छु । तिमीविना बाँच्न पनि सक्दिन । तिमीसँग डेटिङ जाने ठूलो चाहना छ । यदि तिमीले मेरो आग्रहलाई स्वीकार गर्दिनौँ भने दिउँसो खिचेको सेल्फी फेसबुकमा पोष्ट गर्छु र तिम्रो नाम लिँदै आत्महत्या गर्छु ।

​उनी आकाशबाट खसेजस्तै भइन् । मनमा अनेकौँ डरलाग्दा कुरा खेल्न थाले । ऊभन्दा पहिले आफै मरुँ मरुँ जस्तो लाग्न थाल्यो ।

​रातभरि निद्रा परेन । बिहानीपख यसो निदाएकी थिइन्, अनेकौ नराम्रा सपना देखिन् । नदीमा बगेको, भीरबाट लडेको, सर्पले लखटेको आदि आदि ।

​होमवर्क पनि गरेकी थिइनन् । दिउँसो कक्षामा सरले उभ्याउनु भयो र होमवर्क किन नगरेको भनेर सोध्नुभयो ।

​उनले कुनै जवाफ दिन सकिनन् । सधै होमवर्क गर्ने र राम्ररी पढ्ने सामनाले होमवर्क गर्न छोडेको र पढाइमा ध्यान नदिएको देखेर कक्षाका साथीहरू पनि छक्क परे । दिउँसो टिफिनमा पनि उनी कक्षा कोठामै बसिन् । बाहिर निस्कदा जनकसँग भेट हुने डरले उनलाई सताइरह्यो ।

​बेलुकी डराइ डराइ फेसबुक खोलिन् । म्यासेज बक्समा आएको दृष्य हेरेपछि उनको सास रोकिएलाझै भयो । छाती चरक्क चर्कियो । म्यासेज बक्समा जनकले हेर्न नहुने खालका भिडियोहरू पठाएको थियो । उनले ती भिडियो र फोटाहरू हेर्न सकिनन् । ल्यापटप बन्द गरिन् ।

​उनी रातभरि पनि सुत्न सकिनन् । आफू झन्झन् समस्याको जालोमा कसिँदै गएको आभाष हुन थाल्यो । उनले आफ्नो भविष्य, जीवन, पढाइ सबै कुरा सम्झिन् । उनको मन झन्झन् आत्तिन थाल्यो ।

​लामो मनथनपछि उनले कतै पढेको कुरा सम्झना भयो । उनले पढेकी थिइन्— ‘समस्यालाई दवाएर राख्यो भने त्यसले झन् जटिल रुप ल्याउँछ । त्यसलाई शेयर ग¥यो भने समाधानको उपाय निस्कन सक्छ ।

​‘कोसँग शेयर गर्ने ? बुबाआमासँग ? सर र म्याडमहरूसँग ?’ उनले मनमनै विचार गरिन् । नाम सुन्दै उनको मुटु ढुकढुक गर्न थाल्यो । मनमा कुरा खेले, ‘अँ हँ, बुबा, आमा, सर, म्याडम कसैसँग पनि भन्न सक्दिन म यो कुरा !

​केही समयपछि मनमा अलिकति आशा पलायो । मनमनै विचार गरिन्, ‘साथीहरूलाई भन्नुपर्छ । नत्र म झन्पछि झन् फस्दै जान्छु । यो कुरा बाहिर गयो भने मेरो जीवन बरवार हुन्छ ।

​यो निष्कर्षमा पुगेपछि उनको मन अलि शान्त भयो । उनले लामो सास फेरिन् ।

​शुक्रबारको दिन थियो । दिउँसो स्कूल छुट्टी भएपछि सामनाले प्रभा, जानुका, अनुजा र संगीतालाई एक ठाउँमा बोलाइन् र जरुरी सल्लाह गर्नु छ भन्दै एकान्त स्थानमा लगिन् । सामनाले हामीलाई किन यस्तो ठाउँमा ल्याएकी होलिन् भनेर साथीहरू छक्क परे ।  

​एकान्त स्थानमा पुगेपछि पनि सामना केही बोलिनन् । कुरो कहाँबाट र कसरी शुरु गर्ने भन्ने निष्कर्षमा पुग्न सकिनन् । एक्कासि रुन मन लाग्यो । उनी जोडले रोइन् ।

​साथीहरू झन् छक्क परे । उनका मनमा अनेकौ जिज्ञासाहरू जाग्रित भए ।

​केही समय रोएपछि सामनाले हँुक्क हुँक्क रुँदै आफ्नो कुरा राखिन् ।

​साथीको कुरा सुनेपछि अनुजाले भनिन्, “आचा, त्यो त धेरै बदमास केटा हो । त्यसले कति केटीहरूलाई दुःख दिएको छ । त्यसको जालमा परिछौ दुःख पाउने भयौ ।

​“त्यसो भनेर भएन नि । साथीलाई समस्या परेपछि हामी सबै मिलेर समाधान निकाल्नुपर्छ ।” प्रभाले आफ्नो विचार राखिन् ।

​“मेरो मनमा ठूलो पीडा छ । यो समस्याबाट छटकारा पाइन भने म आत्महत्या गर्न पनि बेर लगाउँदिन ।” रुँदै सामनाले भनिन् ।

​“नरोऊ, हामी सबै मिलेर यो समस्याको साधान निकाल्नुपर्छ ।” संगीताले ढाडस दिइन् ।

​लामो छलफल भयो । अन्त्यमा प्रभाले भनिन्, “पहिले हामी चारै जना मिलेर उसैसँग कुरा गरौँ । यदि उसले हामीले भनेको मान्छ र सामनालाई दुःख दिँदैन भने ठीक छ । यदि आफ्नो बानी सुधार्दैन भने सरलाई भनौँ । अहिले त यसरी दुःख दिनेलाई साइबर क्राइम अनुसार कारवाही गर्न पनि सकिन्छ ।”

​“प्रभाले भनेको ठीक हो । त्यसपछि यस्ता ध्रुतहरूसँगको सम्बन्ध पनि तोडिदिनुपर्छ । अर्थात् फेसबुकबाट अनफ्राइन्ड गर्नुपर्छ ।” अनुजाले थपिन् ।

​अर्को दिन उनीहरू जनकको घरमा गए । ऊ घरको आँगनमा बसेर के गर्दै थियो, प्रभाले बोलाइन् । अलि पर एकान्त स्थानमा गएपछि उनले सबै कुरा गरिन् । प्रभाको कुरा सुनेपछि जनक कालो निलो भयो ।

​चेतावनी स्वरुप संगीताले भनिन्, “अब पनि तिमीले सामनालाई तनाव दिने काम ग¥यौ भने पहिले हामी सरसँग कुरा गर्छौँ, त्यहाँबाट कारबाही भएन भने प्रहरीकोमा उजुरी गर्छौँ । तिमीले हामीलाई अबला नारी सम्झेका छौ ? अब हामी पनि केही जान्ने भएका छौँ । तिमीहरूजस्ताको भण्डाफोर गर्न पछि पर्दैनौँ ।

​युवतीहरूका कुरा सुनेर जनक फताफुतुक्क गल्यो । अबदेखि केही नगर्ने कसम खाँदै कान समातेर उठबस ग¥यो ।

​उसले भन्यो, “एकचोटिलाई माफी देऊ । यो कुरा कसैलाई नभन । मैले पनि केही गर्दिन ।

​सामना र उनका साथीहरू खुशी हुँदै घर फर्के । सामनाले साथीहरूलाई धेरै धेरै धन्यवाद दिइन् । ‘साथी भनेका तिमीहरूजस्तै हुनुपर्छ’ भनेर प्रशंसा गरिन् । आपतमा परेकी साथीलाई सहयोग गर्न सकेकोमा साथीहरू पनि खुशी भए ।

​घर पुग्नासाथ सामनाले जनकलाई अनफ्राइन्ड गरिन् अनि फेसबुकलाई अनलक गरिन् ।

​त्यो रात उनलाई मिठो निद्रा प¥यो । सपनामा उनी सुन्दर फूलहरूले भरिएको बगैंचामा घुमिरहेकी थिइन् ।

साभारः किशोर कथा भाग १

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …